तीते करेली
कृष्णराज शर्मा
‘व्यक्ति, बस्तु र परिस्थितिस यि तीन कुरालाई जस्ताको तस्तै स्वीकार गर । त्यसपछि मात्र निर्णय गर !’ यो वाक्याँश मैले बागलुङमा छ दिन सम्म चलेको योग शिविरमा भागलिंदा सुनेको हुँ । ‘आर्ट अफ लिविङ’का योग प्रशिक्षक काव्य लम्सालले भने– यी तीन कुरालाई जस्ताको तस्तै स्वीकार गर्न नसक्नु मनलाई झन् दुःख दिनु हो । उनले भनेको यो भनाई मैले जसरी बुझें, मनन् योग्य लागेर यहाँ प्रसँग जोडेको हुँ । यहाँ व्यक्ति र बस्तुलाई पर राखेर परिस्थिलाई मात्र जोड दिइएको छ । कतिपय शास्त्र ज्ञानीहरूले घटना परिघटना बाट श्रृजित परिस्थितिलाई जस्ताको तस्तै भन्नु हुन्न भन्छन् । स्वीकृत परिस्थितिलाई हु–बहु सम्प्रेषण गर्दैनन् । किनकि यो सुनेर ऊ दुःखी होला । त्यही भएर अप्रीय घटनालाई परिमार्जन गरेर सुनाउँछन् । यस्ता ज्ञानीहरू भन्छन्– सत्य बोल तर अप्रीय सत्य नबोल ! यस्तो स्थिति कहिले र कुन सीमासम्म राख्ने ? अनि कहिले सम्म झूठो बोल्ने ? मेरो मनमा प्रश्न उब्जे । अप्रीय भएपनि सत्य बोल्दा अरूलाई थप अप्रीय लाग्ने घटना घट्नुबाट जोगाउन सकिन्थ्यो । जाने त गै गो, भै गो । रहनेलाई जानेको सत्य बताउनु जरूरी छ । यहाँ मैले यस्ता शास्त्रीको शास्त्र खण्डन गर्ने घृष्टता गरें । सत्य– सत्य नै हो । सत्य लुकाउनु अर्को पाप हो । सत्यको उजागर गर्नु मानवीय धर्म हो । वक्ताको बाणी सत्य भैदिए समाजमा अरू अप्रीय घटना दोहोरिन नदिने प्रयत्न गर्न सकिन्छ ।
एउटा घटना छ । करिब दुई दशक पहिले काठमाण्डौ स्वयम्भूमा एउटा फ्ल्याट भाडामा लिएर पहाड गाउँका नामी पण्डितका छोरा बस्थे । पण्डितका छोराको धाक रवाफ संगै काठमाण्डौका रैथानेहरू संग हिमचिम बढ्यो । खानपान र आहार बिहारमा परिवर्तन आयो । पढाई चल्दै थियो । सानोतिनो जागिर पनि ठूलै जस्तो थियो । सम्पन्नशालि साथीहरूको अगाडी यिनि पनि बराबरीमा देखिन खोज्थे । पण्डितको छोरो तोरी लाहुरे बनेर रैथानेको हाराहारीमा बराबरी बन्थ्यो । मिठा मिठा भेराईटीमा साँझ रँगीन हुन्थ्यो । औंशीको रात पनि चाँदनी रात बन्थ्यो । समय सँधै अनुकुल भएन । बिस्तारै खल्ति रित्तिदैं गयो । खर्च गर्न नसक्ने देखेपछि पण्डितको छोरो पर्वते र पाखेमा गनिन थाल्यो । घरबाट आएको सामल तुमल र संस्थानको टुहुरे जागिरले काठमाण्डौमा धानिन धौ धौ थियो । रैथानेले सिकाएको लत छोड्न सकेन । दरवारमार्ग धाउने फूर्ती सेलायो । असनको मासाँगल्ली भित्र छिर्न थाल्यो । काठमाण्डौको ‘वास्स’ लाई ’ पासा’ बनायो । एक दिन त यहि वास्स (रक्सी) ले मातेर घरको छतबाट लडेर आफ्नो जीवनको ईहलीला समाप्त पार्यो । त्यसरी मरेको पण्डितको छोरोलाई हृदयघातका कारण मर्यो भनेर पण्डितको पहाड गाउँमा खबर फैलियो । किनकी पण्डित्याईं गर्ने पण्डितको छोराले रक्सि खानु पण्डितको ईज्जतमा धक्का पुग्थ्यो । त्यसकारण पण्डितलाई छोरो मरेर पनि प्रीय मरण सुनाउन खोजियो । मरण घटनाको वास्तविक विवरण भित्र भित्रै सल्कियो । आवरणमा सत्य घटना पटाक्षेप गरियो । यसरी दाज्यूभाई र समाजलाई ढाँट्नु अरू पण्डितका छोराहरू पनि त्यसैगरी मर्दै जाउन् भन्ने सन्देश दिनु हो । केहीक्षण पण्डितलाई सीधा र सत्य घटना सुनाउँदा नमिठो लाग्ला । तर दुरगामी असर राम्रो पर्छ । अरू पण्डितका छोराहरूलाई त्यो लतमा लाग्दा जीवन नै चट् हुनेरहेछ भन्ने पाठ पढ्ने मौका मिल्थ्यो । यहाँ माथी शुरूको वाक्य सँझेर ध्यान दिउँ कि रक्सीले मातेर लडेको आफ्नो छोरालाई जस्ताको तस्तै स्वीकार गर्न नसकेर हृदयघात तर्फ घटनालाई मोडियो । जबकी पण्डितको छोरो रक्सी खाएरै सिद्दिएको हो भन्ने भित्र भित्रै व्याप्त प्रचार थियो । पण्डितको ईज्जत जोगाउन झूठो बोलियो । दुनियाँलाई रक्सी चुरोट नखाउ भन्दै प्रवचन दिनेले छोरालाई नियन्त्रणमा लिन किन सकेनन् ? आफ्नै घर फोहोर बनाएर अर्काको आँगन सफा गर किन भन्नु पर्यो ? पण्डित समाजका सामाजिक अगुवा पनि थिए । यिनी नेता हुँदा हुन् त छोराको लाशमाथी राजनीति गर्दा हुन् । र भन्दा हुन्– छोरो मरेको शोकलाई शक्तिमा परिणत गर्नेछु । पण्डित सामाजिक तर अराजनीतिक थिए । यो आजको समाजको यथार्थ चित्र हो । समाजका अगुवाहरू नै यसमा बढी दोषी छन् । अगुवाहरूले सत्य अगाडी ल्याउनु पर्छ । सत्य छुपाउन लुकाउन हुँदैन । जे हो त्यही भन्न सक्नु पर्दछ ।
त्यस्तै अर्को घटना छ । पुरेत र यजमानको झगडा परेछ । झगडाको कारण पुरेतले यजमानलाई थाङ्नामा सुताउनु रहेछ । पुरेतको गन्हाउने थाङ्नामा सुत्दा सुत्दा दिक्क भएका यजमानले एकदिन थाङ्नो उठाएर फ्याँकिदिए । उनलाई भएको के र’ छ भने, छ–छ महिनामा मोवाईल कम्पनीका मोवाईल सेटहरूमा परिवर्तन आए जसरी कर्मकाण्डमा पनि पुरेतले धमाधम परिवर्तन गर्ने रहेछन् । परार भन्दा पोहोर, पोहोर भन्दा अहिले कर्मकाण्ड छोट्याउँदै आजापूजा गराउँथे । शुभ साईत र तीथि मितिमा पनि आफ्नो अनुकुलता साँध्ने रहेछन् । आँफुले पनि नभ्याउने अरूलाई पनि आफ्नो यजमान कहाँ दैलो टेक्न नदिने ! आँफूले भन्दा अर्कोले गएर पूजा पद्दति राम्रो गर्यो भने आँफ्नो ठगी धन्दा बन्द होला भन्ने डरले यसो गर्दा रहेछन् । यजमानले यो कुरो बुझ्थे तर मुख फर्काई नहाल्ने रहेछन् । उल्टै उल्लू बनाएर खाई पल्केको पुरेतलाई एकदिन यजमानले मुख छाडे । मनभित्रका उकुस मुकुस कुरा पोखे । लामो समय पछि सत्य बाहिर आयो । सत्यको उदघाटन भएपछि ‘पुजनीय’ पुरेत घृणाले लतपतिएको अनुहार सहीत टपरी झोलामा हालेर यजमानको घरबाट टाप कसे ।
शहर बजारमा अहिले यो असन्तुष्टी व्याप्त छ । केही यस्ता पुरेतहरूका कारण बिधि सँगत कर्मकाण्ड गर्ने पुरेतहरू प्रति पनि एउटै खालको लाञ्छना लगाईनु गलत हुन्छ । बरू दुर्गम र भित्रि गाउँहरूमा पुरेतहरूले आफ्नो कर्मको धर्म छोडेका छैनन् तर, शहर बजार र काँठमा धर्म कर्मको मर्म राख्न छाडे । कुन त, हिन्दुधर्म माथी ठूलो प्रहार भैराखेको छ, त्यसमाथी धार्मिक गतिबिधिमा प्रत्यक्ष सरोकार राख्ने गलत पुजारी र पुरेतहरूको कारण हिन्दु ईतर धर्मावलम्विहरूलाई मसला मिलेको छ । बनावटी खुराफात् गर्ने ईशाईहरूलाई त यस्तो मसलादार खाना त राजखान्की हुनै नै भयो । त्यसो भएकोले पुरेतहरूले पुरेत्याईं गर्न पनि कर्मकाण्ड शास्त्र सम्मत र बिधिसम्मत गर्न जरूरी छ । उपरोक्त भनाईलाई आत्मसात् गर्दै परिस्थिति स्वीकार गर्दै सत्य बोल्नु पर्ने आजको आवश्यकता बनेको छ । हिन्दुधर्म शास्त्र बिधि अनुसार गरिने कर्मकाण्डमा पनि भ्रष्टाचार मौलाएको छ । पंडीत र पुरेतहरूको कर्मकाण्डी आचरणमा भ्रष्टता आउनु पनि भ्रष्टाचार नै हो । घुस खानु मात्रै भ्रष्टाचार होईन । पंडीत र पुरेतहरूको विश्वासमा खडेरी पर्नु पनि एक खालको भ्रष्टाचार नै हो । यसलाई रोक्ने निकाय हुँदैन । उजुर बाजुर पनि कतै लाग्दैन । यो त तत्ततले मनन गर्ने कुरा हो । छातीमा हात राखेर म म भन्ने हो । आफ्नो कर्मको धर्म राख्नु नै दण्ड जरिवाना पुरस्कार र प्रशँसा पत्र पाउनु हो । तव मात्रै सुधार हुन्छ । तब मात्रै साँस्कृतिक मूल्य मान्यता र परम्पराको जगेर्ना गर्न सकिन्छ । सनातन हिन्दुधर्म, संस्कृति र परम्पराको अधिक कार्यान्वयनकर्ता पुजारी पण्डित र पुरेतहरू नै हुन् । केही बदमास कर्मकाण्डीहरूको कारण समग्र पुरेतहरूलाई दोष दिन मिल्दैन । यो सानो लेखको त्यो आशय पनि होईन । हो के भने धर्म सँस्कृतिलाई बदनाम गराउन जानी नजानी गरिएका हरकतको पर्दाफास हुनु पर्दछ । एककान दुईकान सुनिंदै आएका सत्य गुनासाहरू मैदानमै पोख्नु पर्ने जरूरी छ । गुनासा सार्वजनिक गर्नु जरूरी छ । ता कि, भविष्यमा धार्मीक गतिविधिमा शुद्धता आवस् ! असत्य कुकृत्यहरूलाई बढावा नदिन सत्य र साँचो बोलौं । नत्र अझ विकृत र अनैतिक धार्मीक कृयाक्लाप हुँदै जानेछन् । जसले गर्दा हाम्रो धर्म सँस्कृतिको विनाशको कारक हामी नै हुनेछौं ।
यि त दैनन्दिन सामाजिक प्रतिनिधि घटना हुन् । राष्ट्रिय स्तरमा घटेका विश्व हल्लाउने घटनामा सत्य थाहा नपाएर मान्छे अलमलमा छन् । घटनाको प्रकृति र पृष्ठभूमीले कुनैपनि त्यस्ता घटनाको कारण र अपराधी पत्ता लाग्न सकेनन् । राजा त्रिभुवन र महेन्द्रको स्वर्गारोहण पनि आज सम्म शँकास्पद मानिन्छ । मदन भण्डारीको जीप दुर्घटनाको पनि सत्य बाहिर आउन सकेको छैन । राजा वीरेन्द्रको वँशनाश हुनेगरी भएको राजदरबार हत्याकाण्डको रहस्य र सत्य के हो ? पुरै जनमानस अन्योलमा छ । तारानाथ रानाभाटको भटटटटट सुनेकाहरू उनले बोल्दा बोल्दै खित्का छोडेर हाँस्थे टिभी सेटको अगाडी । मान्छेको ठूलो हिस्सा त्यसरी हाँस्यो । भनेपछि सत्य कहाँ छ ? पत्याउन सकिने सत्य किन लुक्छ ? परिस्थितिलाई स्वीकार गर्न विवश समयले सत्य किन ढाक्छ ? समयले सत्य किन लुकायो ? समयसँग सत्य किन डरायो ? यि अहँ प्रश्नहरूको सटीक उत्तर नमिले सम्म राष्ट्र समाज र नागरिकले कहिल्यै पनि शान्ति र समृद्धि हात पार्न सक्ने छैनन् । घटित घटनालाई स्वीकार गर्न विवश भएपनि सत्य तथ्य नपाउँदा जीवनमा उत्साह आउँदैन । यसो भयो भने समाज र राष्ट्र पुरै झूठमा बहकिन्छ । झूठको पछि ईमान्दार र नैतिकता डोरिन्न । ईमान जमान र नैतिकता नभएको भूगोलमा बस्ने नागरिकलाई सुख शान्ति र समृद्धिका जस्तासुकै शुभकामनाहरू फगत झूठो लोलोपोतो हो । यसपालीको दशैंमा असत्य माथी सत्य हावी हुन सकोस् । उही पुरानै दिक्दार लाग्ने शुभकामनाहरू कम देख्न र कम सुन्न परोस् !