बागलुङ, १६ असोज – धौलागिरि अञ्चलमै पहिलो आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङको दशौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका सञ्चालन गर्दै आएको संस्थाले धौलागिरि टेलिभिजन सञ्चालनमा सहकार्य गर्दै आएको छ ।
साधारणसभामा बोल्दै डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले सहकारीलाई राज्य सञ्चालनको अंग भनेर मात्र नभई शैक्षिक पाठ्यक्रममा पनि सहकारी बिषयलाई समावेश गराउनुपर्ने बताए । उनले सञ्चार क्षेत्रले समाज परिवर्तन महत्वपूर्ण भूमिका खेल्ने भएकाले आदर्श सञ्चारले सामाजिक रुपान्तरणको अभियानलाई समेत निरन्तरता दिनुपर्ने बताएका थिए । कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष मनकुमारी केसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, समाजसेवी एवं लेखक देवबहादुर श्रेष्ठ, बहुउद्देश्यीय सहकारी संघका सचिव रुद्रबहादुर केसी, नेपाल पत्रकार महासंघ बागलुङका सचिव दिल शिरिष, राष्ट्रिय सहकारी बैँकका बागलुङ शाखा प्रमुख सुरेश खनाल लगायतले बोलेका थिए ।
सो अवसरमा संस्थाका सचिव प्रेम लामिछानेले प्रगती प्रतिवेदन, कोषाध्यक्ष अनन्त खड्काले आर्थिक र लेखा समिति संयोजक मिनबहादुर केसीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले गत आर्थिक वर्षमा १ करोड ५४ लाख ८६ हजार १ सय ९२ रुपैँयाँ आम्दानी गरेको छ । ९ सय जना शेयर सदस्य रहेको संस्थामा हाल २ करोड २५ लाख शेयर, ७ करोड वचत, १० करोड ५० लाख लगानी रहेको छ । कार्यक्रम सहकारीका अध्यक्ष अमर थापाको अध्यक्षता, उपाध्यक्ष अञ्जु जिसीको स्वागत, सल्लाहकार डिलबहादुर कार्कीको धन्यवाद मन्तव्य र प्रबन्धक सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । बन्द सत्रले सहकारीमैत्री नीति नियम निर्माण गर्न, सहकारी क्षेत्रमा लगाईदै आएको कर घटाउन तथा सेवा तथा उत्पादन क्षेत्रका सहकारीहरुलाई राज्यको तर्फबाट सहयोगको व्यवस्था गर्न माग गरेको छ ।
९ जना जेष्ठ नागरिक सम्मानित संस्थाको दशौ वार्षिक साधारणसभाका अवसरमा ९ जना जेष्ठ नागरिकलाई संस्थाले सम्मान गरेको छ । संस्थाको संस्थागत विकास लगायत समाज रुपान्तरणको क्षेत्रमा योगदान गरेको भन्दै संस्थाका ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको संस्थाले जनाएको छ । संस्थाका जेष्ठ शेयर सदस्यहरु देवबहादुर श्रेष्ठ, सिन्दुरकुमारी श्रेष्ठ, हर्कबहादुर खत्री, हरिकला खत्री, रनबहादुर जिसी, नन्दकुमारी जि.सी, कर्णबहादुर कार्की, मती कार्की र प्रेम छोटालाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
यस्तै संस्थामा सर्वोत्कृष्ट कारोबार गर्ने मिनबहादुर केसी, उत्कृष्ट परिवार रत्नबहादुर केसी, सिमा केसी, प्रतिभा केसी र प्रशान्त केसी, उत्कृष्ट जोडी सुरेश प्रसाद श्रेष्ठ र शान्ति श्रेष्ठ, दिर्घकालिन वचततर्फ उत्कृष्ट हुने सुदिप राजभण्डारी, बाल वचततर्फ सदिक्षा कार्की, उत्कृष्ट कर्जा कारोबार गर्ने दुर्गाबहादुर क्षेत्रीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । संस्थामा नियमित कारोबार गर्ने ५० जना भन्दा बढीलाई प्रोत्साहन रकमसंगै सम्मान गरिएको छ ।
‘के सोचे के भयो’ विमोचन
सामाजिक रुपान्तरणको अभियानमा निरन्तर संघर्षरत बागलुङका समाजसेवदी ७६ वर्षीय देवबादुर श्रेष्ठद्वारा प्रकाशित के सोच के भयो, जीवनका भोगाई र अनुभूतिहरु भाग–२ को शनिवार विमोचन गरिएको छ । संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिकमा श्रेष्ठले विगत २ वर्षदेखि साप्ताहिक रुपमा प्रकाशन गर्दै आएका लेखहरुको संगालो ‘के सोचे के भयो भाग–२’ को डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले विमोचन गरे ।
यसभन्दा पहिले २०७० साल असोजमा श्रेष्ठको भाग १ प्रकाशित भैसकेको छ । सहकारी, आर्थिक तथा सामाजिक लगायत धार्मिक, सांस्कृतिक विषयमा हरेक हप्ताको बुधवार लेख प्रकाशित गर्दै आएका श्रेष्ठको पुस्तकमा ७७ वटा लेख समावेश गरिएको छ । भाग १ मा ४८ वटा लेख प्रकाशित गरिएको सम्पादक रामबहादुर जिसीले जानकारी दिए ।
‘सहकारीले जीवनस्तर सुधार’
सहकारी अधिकृत विष्णुप्रसाद शर्माले सहकारी संस्थाहरुले बचत तथा ऋणको कारोवार गरेर मात्र सदस्यहरुको जीवनस्तर माथि उठ्न नसक्ने बताएका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको पाँचौ वार्षिक साधारण सभाको उद्घाटनका क्रममा शर्माले उक्त धारणा राखेका हुन् । शर्माले सहकारी संस्थाहरुले समय सापेक्ष आफुलाई गतिशील, परिवर्तीत, व्यवसायीक र रोजगारीमुलक बनाई गुणस्तरीय सेवा प्रदान गर्न सहकारीलाई आग्रह गरे ।
साधारण सभामा सहकारी अगुवा देववहादुर श्रेष्ठ, जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, एकता सहकारी संस्थाका अध्यक्ष धु्रवप्रसाद शर्मा, नेपाल शिक्षक संघका अध्यक्ष सागर खरेल, सदस्य संस्थाहरुको तर्फवाट बलेवा एकता साकोसका दिपेन्द्र खड्का, घुम्टे साकोसका अध्यक्ष हिमा श्रीस लगाएतले बोलेका थिए । हाल जिल्लामा क्रियाशिल १४९ बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये ८० वटा संस्था आवद्ध भईसकेका छन् ।
भने ९ लाख १० हजार शेयर पुँजी, २७ लाख ३६ हजार बचत, २५ लाग ऋण लगानी र ३८ लाख बराबरको कुल सम्पती रहेको छ । संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको आ.व. ०७२/०७३ को प्रगती र आ.व. ०७३/०७४ को प्रस्तावीत नीति तथा कार्यक्रम सह–सचिव खिमानन्द कँडेल, आ.व. ०७२÷०७३ को आय व्यय तथा आ.व. ०७३/०७४ को प्रस्तावित आय व्यय तथा कार्ययोजना कोषाध्यक्ष प्रमिला राजभण्डारी र लेखा समितिको प्रतिवेदन लेखा संयोजक महेन्द्रसिहं रायमाझिले प्रस्तुत गरेका थिए ।
Previous Articleसत्य किन लुक्न थाल्यो ?
Next Article नेपालले तोड्यो तटस्थता, लियो भारतको पक्ष