काठमाडौं, ५ चैत – भारतको उत्तर प्रदेशको मुख्य मन्त्री योगी आदित्यनाथ बन्ने निश्चित भएको छ। भारती जनता पार्टी (बिजेपी) विधायक दलको शनिबारको बैठकले उनलाई उत्तर प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
गोखरपुरका सांसद् समेत रहेका आदित्यनाथ गोरखनाथ मन्दिरको पीठाधीश हुन्। यसअघि चुनावको नतिजा आएपछि मुख्यमन्त्री बन्ने दौडमा राजनाथ सिंह, मनोज सिन्हा, केशव प्रसाद र सिद्धार्थनाथ सिंह रहेका थिए। तर, सात दिनपछि आदित्यनाथको पल्ला भारी भएपछि उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो।
यसअघि बीजेपी प्रदेश अध्यक्ष केशव प्रसाद मौर्यलाई उत्तर प्रदेशको मुख्यमन्त्री पदमा विजयी गराउन मनोज सिन्हा दिल्ली पुगेर प्रदर्शन गरेका थिए। यस्तै उत्तर प्रदेशको मुख्यमन्त्रीको विवादलाई लिएर विजेपी अध्यक्ष अमित शाहले सांसद आदिनाथलाई चार्टर प्लेनबाट दिल्ली पुर्याएका थिए।
को हुन् आदित्यनाथ ?
योगी आदित्यनाथको जन्म सन् १९७२ मा जुन ७ तारिखमा उत्तराखण्डमा भएको हो। उनले सन् १९९४ फेब्रुअरी १५मा गोरक्षपीठाधीश्वर महंत अवेद्यनाथ जी महाराजबाट शिष्यको रुपमा दीक्षा पाएका थिए।
सानैदेखि तीक्ष्ण स्वभावका उनले हिन्दु धर्मको विकृतिलाई नकार्दै जीवन उपयोगी शिक्षा अपनाउनु पर्नेमा जोड दिँदै आएका थिए। उनले २२ वर्षकै उमेरमा सांसारिक जीवन त्यागेर सन्यासीको जीवनमा प्रवेश गरेका हुन् । साथै उनी विद्यार्थी जीवनमै राष्ट्रवादी आन्दोलन सहभागी भए।
उनी सन्यासी भएपछि समाजमा चल्दै आएको रुढीवादी मान्यतालाई वस्थापित गराउन लागि परे। उनले यसका लागि धर्मस्थलमा बसेर पूजापाठ गर्नुको साट्टो गाउँ गाउँ डुलेर सर्वसाधारणमा जनचेतना जगाउन सरिक भए। यसले उत्तर प्रदेशमा बृहत हिन्दु जागरणको रुप लियो र नयाँ इतिहास स्थापित गरायो।
यसपछि उनी २६ वर्षको उमेरमा गोरखपुर जनताको माग अनुरुप सन् १९९८ मा लोकसभा चुनाव लडेर भारतकै पहिलो युवा सांसद बने। युवा सांसद बनेपछि उनले सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक विकृतिका विरुद्धमा जनचेतानामुलक कार्यक्रम गर्दै गए। त्यसलगत्तै २००४, २००९, २०१४ गरी लगातार चुनाव जितेर चार पटकसम्म लोकसभामा सदस्यको रुपमा काम गर्ने मौका पाए।
संसदमा सक्रियताकै कारण उनलाई केन्द्र सरकारले खाद्य एवं गुणस्तर उद्योग तथा वितरण मन्त्रालय, चीनी तथा खाद्य तेल वितरण, ग्रामीण विकास मन्त्रालय, विदेश मन्त्रालय, सञ्चार मन्त्रालय, सडक विभाग, नागरिक विमान, पर्यटन एवं सांस्कृतिक मन्त्रालयको स्थायी समिति सदस्य र गृह मन्त्रालयको सल्लाहकार समितिमा राखेको छ। यसका साथै काशी हिन्दू विश्वविद्यालय तथा अलीगढ़ विश्वविद्यालय समितिको सदस्यको रुपमा उनलाई सयम समयमा राख्ने गरिएको छ।
व्यवहारमा कुशलता, बोलीमा दृढ़ता र काममा कर्मठता भएकै कारण उनी ३६ शिक्षण एवं चिकित्सकीय संस्थानमा अध्यक्ष, उपाध्यक्ष, मन्त्री तथा प्रबन्धक वा संयुक्त सचिव रहेका छन्।
बहुमुखी प्रतिभा भएका योगीको यौगिक षटकर्म, हठयोग स्वरूप एवं साधना, राजयोग, स्वरूप एवं साधन तथा ‘हिन्दु राष्ट्र नेपाल’ नामक पुस्तक र लेख रचना प्रकाशित भएका छन्।