नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको जिल्ला सम्मेलनका लागि सम्मेलन आयोजक कमिटी गठन भएको छ । शनिवार सम्पन्न अनेमसंघको जिल्ला भेलाबाट यशुदा रोकाको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको हो ।
भेलाबाट देवकुमारी पुनलाई आयोजक कमिटीमा सचिवको जिम्मेवारी दिइएको छ भने सदस्यहरुमा हेमकुमारी गर्बुजा, पशुपति शाही, जानुका अधिकारी, गौमती रामजाली, शारदा हमाल, गौरी थापा, मिना रामजाली, प्रतिक्षा रसाईली, गीता बुढाथोकी, कलदेवी जिसी, दिलमाया रोका, निशा पाईजा, शोभा विक, दुधकुमारी पुन, धनकुमारी सुनार, गंगा पूर्जा र सीता रसाईली रहनुभएको छ ।

आयोजक कमिटीको गठनलगत्तै बसेको पहिलो वैठकले जिल्ला सम्मेलनको तयारीका लागि पालिकास्तरमा भेला, कमिटीहरु गठन तथा सम्मेलन लक्षित विभिन्न गतिविधिहरु सञ्चालन गर्ने निर्णय गरिएको अनेमसंघ म्याग्दीले जनाएको छ । आयोजक कमिटीले आगामी छ महिनाभित्र विधान अनुसार अनेमसंघ म्याग्दीको जिल्ला सम्मेलन सम्पन्न गर्ने भएको छ । भेलाले जिल्ला सम्मेलनलाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी तथा सङ्गठन विस्तारका गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ ।
अनेमसंघ म्याग्दीले आगामी दिनमा पालिकास्तरमा सङ्गठनात्मक गतिविधि तीव्र बनाउँदै जिल्ला सम्मेलनको तयारी अघि बढाउने संयोजक रोकाले बताउनुभयो । भेलालाई सम्बोधन गर्दै अनेमसंघका केन्द्रीय सचिव नरदेवी पुनले जिल्ला भेलाबाट गरिएको निर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्नको लागि सम्मेलन आयोजक कमिटीलाई निर्देशन दिनुभयो । उहाँले यसअघि नेकपा एमाले सरकारमा रहँदा गरेका राम्रा कामहरुको प्रचारप्रसारसँगै अनेमसंघको गतिविधि अगाडि बढाउँदै आम महिलाहरुलाई संघमा आबद्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

अनेमसंघ गण्डकी प्रदेश कमिटी अध्यक्ष खरमाया बिटालुले अनेमसंघ अहिले विभिन्न जिल्लाहरुमा सङ्गठनको पुनर्गठनसँगै सङ्गठनात्मक गतिविधिहरुमा केन्द्रीत भएकाले सोही अनुसार लाग्नुपर्ने बताउनुभयो । भेलालाई नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी र सचिव थमसरा पुनले सम्बोधन गर्दै एमाले अहिले जनवर्गीय सङ्गठनहरुको भेला तथा अधिवेशनलगायत कार्यमा लागेकाले पार्टीको तर्फबाट आवश्यक सहयोग र समन्वय हुने बताउनुभयो । भेला अनेमसंघ म्याग्दीका उपाध्यक्ष पशुपति शाहीको स्वागत र सचिव देवकुमारी पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।