अमृत बास्कुने
साउन २७ गते । अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रास्वपा म्याग्दीले आयोजना गरेको कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखा, प्रदेश अस्पताल बेनी व्यवस्थापन समिति, अस्पताल प्रशासन, स्वास्थ्य स्वयंसेवक, रास्वपाको ¥यापिड एक्सन टिमका स्वयंसेवक तथा पार्टी विभिन्न समितिका सदस्यहरूले सहभागिता रहेको थियो । रास्वपा म्याग्दीका जिल्ला सभापति युवराज रोका मगरले रक्तदान कार्यक्रममा सहभागी सबै रक्तदाता तथा कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने संघसंस्था र स्वयंसेवकप्रति आभार व्यक्त गरेका छन् । उनले रक्तदानजस्तो मानवीय सेवाको कार्यमा युवाहरूको सहभागिता उत्साहजनक रहेको बताए । “रक्तदान जीवनदान हो । मानव सेवामा यहाँहरूको योगदान सदैव प्रेरणादायी रहनेछ,” उनले भने । उनले विशेषगरी आफ्नो अमूल्य समय दिएर रक्तदान गर्ने सबै रक्तदातालाई पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्दै उनीहरूको सहयोग र समर्पणले कार्यक्रम सफल भएको बताए । रक्तदान भनेर धेरै संख्यामा रक्तदाताहरुको कार्यक्रममा सहभागी रहेको भए पनि २० पिण्ट मात्र रगत संकलन गरिएको थियो ।
रास्वपा बेनी नगर सभापति राज केसीले युवा दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा पार्टीका शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको बताए । युवालाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले पार्टीलाई थप उत्साहित बनाएको उनको भनाइ छ । उनका अनुसार रक्तदानमा पार्टीका सदस्य तथा शुभेच्छुकसँगै अन्य व्यक्तिहरूको समेत सहभागिता रहेको थियो ।
रक्त संकलन तथा प्राविधिक व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दी र प्रदेश अस्पताल बेनीले सहयोग गरेका थिए ।
रास्वपाले युवा दिवसको अवसरमा रक्तदानमार्फत सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सन्देश प्रवाह गर्ने प्रयास गरेको जनाएको छ । पछिल्लो समय रक्तको अभावका कारण बिरामी तथा उनीहरूका आफन्तले भोग्नुपर्ने समस्यालाई ध्यानमा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने पार्टीको भनाइ छ ।

