स्थानीय तहको नेतृत्व, जनउत्तरदायित्व र व्यक्तित्व विकासमा रुचि राख्नेहरूलाई लक्षित गरी साभ नेपाल (SAAV Nepal) को आयोजनामा १५ दिने विशेष अनलाइन प्रशिक्षण सुरु भएको छ। भदौ ८ गतेदेखि सुरु भएको प्रशिक्षण हरेक दिन साँझ ८ बजेदेखि ९ः३० बजेसम्म सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
जनप्रतिनिधि बन्न चाहने, स्थानीय सरकार र नेतृत्वको भूमिका बुझ्न चाहने तथा आफूलाई सक्षम, सशक्त र जिम्मेवार नेतृत्वका रूपमा विकास गर्न चाहने व्यक्तिलाई लक्षित गरी प्रशिक्षण सञ्चालन गरिएको हो। प्रशिक्षणमा युवा, सामाजिक संघसंस्थामा आबद्ध व्यक्ति, राजनीतिकर्मी, जनप्रतिनिधि तथा नेतृत्व विकासमा रुचि राख्ने अन्य व्यक्तिलाई समेत सहभागी गराइएको छ।
प्रशिक्षणमा प्रभावकारी नेतृत्व क्षमता अर्थात् लिडरसिप, स्थानीय सरकार सञ्चालन ऐन, नेपालको संविधान २०७२ मा स्थानीय तथा प्रदेश सरकारसम्बन्धी व्यवस्था, जनप्रतिनिधिको अधिकार, कर्तव्य तथा उत्तरदायित्वलगायतका विषयमा प्रशिक्षण दिइँदैछ। त्यस्तै प्रभावकारी भाषण कला, उद्घोषण तथा कार्यक्रम सञ्चालन कलासमेत प्रशिक्षणको विषयवस्तुमा समेटिएको छ।
तालिमका प्रमुख प्रशिक्षक प्रशिक्षक, उत्प्रेरक तथा अनुसन्धाता डा. तुलसी प्रभास खनाल रहनुभएको छ। उहाँसँगै विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकहरूले समेत सहभागीलाई प्रशिक्षण दिइरहेको साभ नेपालले जनाएको छ।
प्रशिक्षणसँगै विशेष मोटिभेसनल सेमिनारसमेत सञ्चालन भइरहेको छ। सेमिनारमा सफलताको सूत्र, सकारात्मक सोच, जीवन मूल्य, सपनाको शक्ति, स्वविकास तथा जीवन व्यवस्थापनका उपयोगी सूत्रलगायतका विषयमा सहभागीलाई उत्प्रेरित गरिने आयोजकको भनाइ छ।
साभ नेपालले नेतृत्व विकाससँगै विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, अभिभावक, महिला, व्यापारी, युवा, राजनीतिकर्मी, जनप्रतिनिधि तथा कर्मचारीको आवश्यकता र रुचिअनुसार विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको जनाएको छ। सकारात्मक सोच, उत्प्रेरणा, बहुबुद्धि सिद्धान्त, भावनात्मक बुद्धिमत्ता, अध्ययनकला, किशोरावस्थाका मानसिक समस्या, तनाव व्यवस्थापन, नेतृत्व विकास, बाल विकास तथा अभिभावक शिक्षा यसका प्रमुख प्रशिक्षणमध्ये हुन्।
त्यसैगरी महिला सशक्तीकरण, उद्यमशीलता, होमस्टे व्यवस्थापन, कृषि, अभिव्यक्ति कला, उद्घोषण कला, स्थानीय जडीबुटीको पहिचान तथा प्रयोग, माइन्युट लेखनलगायतका विषयमा समेत आवश्यकता अनुसार प्रशिक्षण तथा गोष्ठी सञ्चालन गर्दै आएको साभ नेपालले जनाएको छ।
आयोजकका अनुसार प्रशिक्षणलाई जनप्रतिनिधि बन्न चाहने व्यक्तिमा मात्र सीमित नगरी सामाजिक संस्था, युवा तथा नेतृत्वमा रुचि राख्ने व्यक्तिका लागि समेत उपयोगी बनाइएको छ। आफ्नो व्यक्तित्व तथा क्षमता विकास गर्न चाहने व्यक्तिले समेत प्रशिक्षणबाट लाभ लिन सक्ने जनाइएको छ।
स्थानीय तहको निर्वाचनमार्फत जनप्रतिनिधि चयन हुने भए पनि जनप्रतिनिधिको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न स्थानीय सरकारको संरचना, कानुनी व्यवस्था, अधिकार, कर्तव्य, जनउत्तरदायित्व तथा नेतृत्व क्षमताको ज्ञान आवश्यक हुने भएकाले यस्ता प्रशिक्षणले नेतृत्व विकासमा सहयोग पुग्ने आयोजकको विश्वास छ।
साभ नेपालले ‘ज्ञान, सीप र सकारात्मक सोचबाट सक्षम नेतृत्वको निर्माण’ भन्ने उद्देश्यसहित विभिन्न क्षेत्रमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। अनलाइन माध्यमबाट सञ्चालन भइरहेकाले भौगोलिक दूरीका कारण प्रत्यक्ष उपस्थित हुन नसक्ने व्यक्तिले समेत प्रशिक्षणमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
साभ नेपाल ‘Social Awareness through Audio & Visual’ अवधारणाअन्तर्गत सामाजिक जागरण, क्षमता विकास तथा सकारात्मक सोच प्रवद्र्धनका गतिविधिमा सक्रिय रहेको जनाइएको छ।
