अमृत बास्कुने
भदौ ६ गते । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) म्याग्दीले आगामी स्थानीय तह निर्वाचन केन्द्रीत रहेर आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उल्लेख्य सहभागिता रहेको छ । शनिबार बिहान शुरु भएको प्रशिक्षणमा म्याग्दी जिल्ला भित्रका पालिकाका कमिटिका सभापति उपसभापति तथा जिल्ला कमिटी एवम् माथिल्लो कमिटीका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता रहको छ ।
रास्वपा गण्डकीका पूर्व शिक्षण विभाग प्रमुख प्राज्ञ डा. तुलसीराम खनालले प्रशिक्षणको क्रममा कसरी बोल्ने र बोल्नुका लागि के कस्ता तयारी गर्नु पर्छ भन्दै सन्दर्भमा सहजीकरण गर्नुभएको थियो । उहाँले हामीले हरेक काम गर्छौं भन्ने भन्दा पनि आफूले सिकेको जे छ र रुचि जे मा छ त्यही काम गर्न तर्फ लगाव हुन पर्ने बताउनु भएको थियो ।
रास्वपाका कार्यकतौले खाली अरुलाई गाली गरेर मात्रै देश बन्दैन, त्यसैले अहिले एजेण्डा बुझेर जनता माझ जानु पर्ने उहाँले प्रशिक्षणको क्रममा बताउनु भएको थियो । कतिपय सन्दर्भमा बोलीले नै मानिसको उन्नती तथा प्रगतिलाई रोक्ने भएको हुनाले बोल्ने बेलामा अड्कलेर बोल्नु पर्ने उहाँले सुनाउनुभयो । पछिल्लो राजनैतिक घटनाक्रमहरु हेर्दा आम जनताले बालेन भन्दा रबी प्रधानमन्त्री भए हुने भन्ने सम्म चाहना राखेको भन्दै उहाँले शिखरमा पुग्नु ठूलो कुरा नभएर शिखरमा टिकिरहनु मुख्य भएको बताउनुभययो ।
रास्वपा गण्डकी प्रदेश महामन्त्री कृष्णप्रसाद लम्सालले पार्टीको राजनैतिक धारको प्रशिक्षण दिँदै पार्टीको बिधि बिधान र सिद्धान्तका विषयमा जानकारी गराउनु भएको थियो । पार्टीको बिधानले तोकेका विषयबस्तु तथा विधान अनि सिद्धान्तको अन्तिम लक्ष्य के भनेर कसरी निर्धारण गर्न सकिएला भन्ने सन्दर्भमा पनि सहजीकरण गर्नुभएको थियो ।
म्याग्दीका स्थानीय समाजसेवी तथा अगुवा चित्र तिलिजाले समृद्ध म्याग्दी निर्माणका लागि भावी योजनाहरु के के हुन सक्छन् भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो ।
शनिबारको प्रशिक्षणमा मुख्य रुपमा भाषण कसरी गर्ने, मानिसको अगाडी कसरी प्रस्तुत हुने, शब्द चयनका विषय, माइन्युट लेखन सिप तथा समृद्ध म्याग्दी कसरी बनाउने भन्ने विषयमा मुख्य रुपमा प्रशिक्षणको विषय रहेको रास्वपा म्याग्दीका सभापति युवराज रोकाले जानकारी दिनुभयो ।
सभापति रोकाका अनुसार स्थानीय निर्वाचन नजिकिदै गर्दा राजनैतिक एवम् नेतृत्व विकास सम्बन्धी प्रशिक्षण आयोजना गरिएको हो । प्रशिक्षणले राजनैतिक दक्षता हासिल गर्नका लागि भूमिका खेल्ने र आगामी निर्वाचनका लागि तयारी गर्न पनि महत्वपूर्ण हुने उनको भनाई छ । नेतृत्व विकास र प्रभावाकरी निर्णय क्षमता, स्थानीय शासन व्यवस्था र कानुनी जानकारी, योजना तर्जुमा, बजेट तथा श्रोत व्यवस्थापन, समुदाय सँग प्रभावकारी संवाद र समन्वय, समस्या समाधान, पारदर्शीता र जवाफदेहिता एवम् संस्था सुदृढीकरण र दिगो विकास सम्बन्धी विषयमा प्रशिक्षण दिनेछन् ।
