अमृत बास्कुने
गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित मालिका गाउँपालिका–५ देविस्थानको दाङ्गा क्षेत्रभन्दा माथि जंगलको बीचमा एउटा यस्तो ताल छ, जसलाई हेर्दा सामान्य प्राकृतिक तालजस्तो लागे पनि यसको स्वरूप र स्थानीय अनुभवले अनेक प्रश्न जन्माउँछ। चारैतिर जंगल, आसपास रुखबिरुवा, तर तालमा पातपतिङ्गर देखिँदैन। देखिने पानीको मूल छैन, तर वर्षौँदेखि पानी सुक्दैन। मौसमअनुसार पानीको रङ फरक देखिन्छ। तालको छेउमा धार्मिक आस्था जोडिएको मन्दिर छ। खुला मौसममा हिमालका मनोरम दृश्य देखिन्छन्। यही प्राकृतिक, धार्मिक र रहस्यमय विशेषताका कारण गाइखर्क ताल अहिले मालिका गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा अघि बढिरहेको छ।
गाइखर्क ताल मालिका गाउँपालिका–५ देविस्थानको दाङ्खोलाको सिरान र थाप्ले पहाडको काखमा करिब २ हजार ४ सय मिटरको उचाइमा रहेको छ। ताल करिब ४६ मिटर लम्बाइ, ४६ मिटर चौडाइ र तीन मिटर गहिराइको रहेकोमा २०७४/७५ तिर यसको क्षेत्र विस्तार गरी करिब ५५ मिटर लम्बाइ र चौडाइ कायम गरिएको थियो। तालको छेउमा मन्दिर तथा प्रवेशद्वार निर्माण गर्नुका साथै हाडिस खोलाबाट तालसम्म सडक पहुँच विस्तार गरिएको छ ।
तर गाइखर्क तालको चर्चा यसको आकार वा उचाइका कारण मात्रै भएको होइन। यसको सबैभन्दा ठूलो आकर्षण यसको अनौठो प्राकृतिक विशेषता हो।

स्थानीय ८८ वर्षिय सोमबहादुर घर्ती मगरका अनुसार तालमा देखिने गरी कुनै पानीको मूल छैन। आसपासबाट निरन्तर पानी आउने खोल्सा वा मूल पनि देखिँदैन। तर हिउँदमा पनि ताल सुक्दैन र बर्खामा पनि पानीको अभाव हुँदैन। “त्यो गाइखर्क ताल भन्नेमा मूल पनि छैन। हिउँदमा पनि सुक्दैन, बर्खामा पनि सुक्दैन,” घर्ती मगर भन्नुहुन्छ, “झारपस्र्यौला केही पनि देखिँदैन तालको बीचमा। तालको पानीको रङ पनि फरकफरक देखिन्छ।”
तालको अर्को रोचक पक्ष भनेको वरिपरिको जंगल र तालको पानीबीच देखिने फरक हो। जंगलमा रुख छन्, हावाहुरी चल्छ, रुखका पात झर्छन्। तर तालको सतहमा भने पातपतिङ्गर जम्मा भएको देखिँदैन। सामान्यतया जंगलको बीचमा रहेको कुनै पोखरी वा तालमा रुखका पात, साना हाँगा, सेउला वा अन्य जैविक पदार्थ देखिनु अस्वाभाविक होइन। गाइखर्कमा भने स्थानीयले लामो समयदेखि यस्तो दृश्य नदेखेको बताउँदै आएका छन्। यही अनुभवले स्थानीयमा तालप्रति थप जिज्ञासा र विश्वास जन्माएको छ।
घर्ती मगरका अनुसार केही समयअघि तालमा पात तथा सेउला फालेर त्यसको अवस्था बुझ्ने प्रयाससमेत गरिएको थियो। साँझमा तालमा पात तथा सेउला फालिएको थियो। भोलिपल्ट बिहान त्यहाँ पुग्दा अघिल्लो साँझ फालिएका पात तथा सेउला तालमा देखिएनन्। ताल वरिपरि खोज्दा पनि ती पातहरू भेटिएनन्।

स्थानीयका लागि यो सामान्य घटनाभन्दा फरक छ। घर्ती मगरको भनाइमा गाइखर्क तालमा कुनै विशेष शक्ति रहेको विश्वास छ। तालमा पातपतिङ्गर नदेखिनु र फालिएका पातसमेत फेरि नदेखिनुलाई स्थानीयले त्यही शक्तिसँग जोडेर हेर्ने गरेका छन्। “गाइखर्क तालमा एउटा शक्ति नै छ,” उहाँ भन्नुहुन्छ, “त्यसैले त हामीले त्यो तालमा पातपतिङ्गर पनि देख्दैनौँ र त्यहाँ फालिएको पातहरू पनि फेरि देख्न सकिँदैन।”
स्थानीय विश्वासलाई सम्मान गर्दै हेर्दा यो गाइखर्क तालको सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा हो। तर पात तथा सेउला हराउनुको वास्तविक कारण भने वैज्ञानिक अध्ययनबाट मात्रै निश्चित गर्न सकिन्छ। पात पानीमा डुब्दा के हुन्छ, पानीभित्र जैविक पदार्थको विघटन कति छिटो हुन्छ, पानीको रासायनिक संरचना कस्तो छ वा तालको सतह तथा भित्री भागमा त्यस्ता पदार्थ जाने कुनै प्राकृतिक निकास छ कि छैन भन्ने विषयमा अनुसन्धान आवश्यक देखिन्छ।
गाइखर्क तालबारे यसअघि प्रकाशित विवरणहरूले पनि तालमा पानीको मुहान नदेखिने, जंगलको बीचमा रहेर पनि खडेरीमा समेत नसुक्ने र पानी सफा रहने विशेषता उल्लेख गरेका छन्। हावाहुरीले तालमा खसालेका पात चराचुरुङ्गीले लैजाने गरेको स्थानीय भनाइसमेत छ।
त्यो हुँदै गर्दा पनि तालको फरक विशेषता पनि छ । स्थानीय भकबहादुर घर्तीले हाल सम्म जानकारी पाए अनुसार उक्त ताल तीन पटक सुकेको सुनाउनु भयो । तालको पानी सुक्दा मुलुकमै अप्रिय घटनाहरु भएको मान्न सकिने तथ्यहरु सुनिएको उहाँले सुनाउनुभयो । वि.सं. १९९० मा ताल सुक्दा भुकम्प गएको । त्यो भन्दा अगाडी एक पटक ताल सुकेको र उक्त समय भोकमरी लागेको तथा २०५१ सालमा पनि ताल सुकेको र त्यो समय तत्कालिन अवस्थामा मुलुक युद्धमा प्रवेश गरेका घटनाहरु मिल्दा रहेको उहाँको तर्क छ ।
तर स्थानीयले आफैं तालमा पात फालेर गरेको परीक्षणको अनुभवले यस विषयलाई थप अनुसन्धानयोग्य बनाएको छ। यो परीक्षण वैज्ञानिक प्रयोगको मापदण्डअनुसार गरिएको अध्ययन नभए पनि स्थानीय अनुभवका रूपमा यसको आफ्नै महत्व छ। अब सम्बन्धित विज्ञले व्यवस्थित रूपमा परीक्षण गरेमा गाइखर्क तालको यो विशेषताको वास्तविक कारण पत्ता लाग्न सक्छ।
गाइखर्क तालको पानीको रङ परिवर्तन अर्को चर्चित विशेषता हो। बर्खायाममा तालको पानी गाढा निलो देखिने र हिउँदमा रगतजस्तै रातो देखिने गरेको स्थानीयले बताउँदै आएका छन्। कतिपय अध्ययन तथा विशेषज्ञको भनाइमा पानीमा रहेका एल्गी तथा ब्याक्टेरिया, उच्च लवणता र त्यस्ता सूक्ष्मजीवमा हुने क्यारोटिनोइड्सजस्ता पदार्थका कारण रङ परिवर्तन हुन सक्ने सम्भावना औँल्याइएको छ।
तर गाइखर्क तालको पानीको रङ परिवर्तनबारे अझ विस्तृत र स्थानीय परिस्थितिमा आधारित वैज्ञानिक अध्ययन हुन सके यसको कारण अझ स्पष्ट हुन सक्छ। पानीको नमुना लिएर विभिन्न मौसममा परीक्षण गर्ने, पानीको तापक्रम, पीएच, लवणता, खनिज तत्व, सूक्ष्मजीव र एल्गीको अवस्था अध्ययन गर्ने हो भने तालको रङ परिवर्तनको वैज्ञानिक कारण प्रमाणित गर्न सकिन्छ।
यसले गाइखर्क तालको पर्यटन मूल्य अझ बढाउन सक्छ। किनकि एउटै ताल वर्षको फरक समयमा फरक रङमा देखिनु आफैंमा पर्यटकका लागि आकर्षक प्राकृतिक विशेषता हो।
गाइखर्क तालसँग स्थानीय धार्मिक आस्था पनि जोडिएको छ। तालको कुनामा रहेको मन्दिरमा पूजा–आजा गर्ने चलन छ। स्थानीयका अनुसार यो पूजा विशेषगरी भूमिपूजासँग सम्बन्धित छ। ताल र त्यस वरपरको भूमिलाई सम्मान गर्दै धार्मिक विधि गर्ने परम्परा रहेको छ।
तालको छेउमा धार्मिक स्थल हुनु र प्रकृतिसँग जोडिएको स्थानीय विश्वास रहनुले गाइखर्कलाई धार्मिक तथा प्राकृतिक पर्यटनको साझा गन्तव्य बनाउन सकिने आधार तयार गरेको छ। तालको छेउमा बराह देवताको मन्दिर रहेको र स्थानीय धार्मिक विश्वासअनुसार पूजा हुने गरेको छ।
त्यहाँ भेडा तथा बाख्राको पाठाले भोग दिने चलनसमेत रहेको स्थानीय बताउँछन्। धार्मिक आस्थाका कारण टाढाटाढाबाट मानिस पुग्ने गरेको पनि प्रकाशित पाइन्छ छ।
गाइखर्क नाम आफैंमा पनि स्थानीय भूगोल र जीवनशैलीसँग जोडिएको छ। स्थानीयका अनुसार विगतमा यही क्षेत्रमा गाई चराउने गरिन्थ्यो। गाई चराउने खर्क भएकाले यसको नाम गाइखर्क रहन गएको भन्ने स्थानीय भनाइ छ। अर्थात् गाइखर्क नाम कुनै आधुनिक पर्यटन प्रवद्र्धनका क्रममा राखिएको नाम होइन, स्थानीय जीवन र भूगोलसँग जोडिएर पुस्तौँदेखि चलिआएको नाम हो।
यसले गाइखर्क ताललाई एउटा प्राकृतिक सम्पदा मात्र नभई स्थानीय इतिहास र जीवनपद्धतिको एउटा अंशका रूपमा बुझ्नुपर्ने देखाउँछ।
गाइखर्क तालमा पुग्दा प्रकृतिले दिएको अर्को महत्वपूर्ण उपहार हो हिमाली दृश्य। मौसम खुलेका समयमा ताल आसपासबाट विभिन्न हिमाल तथा हिमशृङ्खलाको दृश्य देखिन्छ। जंगलको शान्त वातावरण, तालको पानी, वरिपरिका पहाड र टाढा देखिने हिमालले यहाँ पुग्ने पर्यटकलाई प्राकृतिक दृश्यावलोकनको फरक अनुभव दिन्छ।
गाइखर्कको भौगोलिक अवस्थिति पनि पर्यटनका लागि उपयुक्त देखिन्छ। ताल जंगलको बीचमा भएकाले यहाँ पुग्दा ग्रामीण तथा प्राकृतिक वातावरणको अनुभूति हुन्छ। चराचुरुङ्गीको आवाज, वनस्पति, पहाडी भूगोल र खुला आकाशसँगै तालको दृश्यले यसलाई प्रकृति पर्यटनका लागि आकर्षक बनाउन सक्छ। गाइखर्कलाई देविस्थान क्षेत्रका अन्य ताल, दह, झरना तथा गुफासँग जोडेर पर्यटन विकास गर्न सकिने सम्भावना छ।
मालिका गाउँपालिका–५ का वडा अध्यक्ष मिम पुन गाइखर्क ताललाई पर्यटकीय रूपमा विकास गरेर अगाडि बढाउनुपर्नेमा जोड दिनुहुन्छ। उहाँका अनुसार मालिका गाउँपालिकाभित्र पहिचान गरिएका ३५ वटा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यमध्ये गाइखर्क ताल पनि एउटा महत्वपूर्ण गन्तव्य हो।
गाइखर्कलाई पर्यटकीय रूपमा विकास गर्न वडा र गाउँपालिकाले पछिल्लो समय प्रयास गर्दै आएका छन्। गाउँपालिकाले तालसम्म पुग्ने सडक निर्माण गरेको छ। तालको संरक्षणका लागि तारबार गरिएको छ। तालको छेउमा मन्दिर निर्माण गरिएको छ भने ताललाई सुरक्षित राख्न पक्की पर्खालसहितको घेराबारसमेत गरिएको छ।
स्थानीयका अनुसार गाइखर्कको संरक्षण र पूर्वाधार निर्माणको काम विशेषगरी २०७४ सालपछि अघि बढेको हो। २०७४ सालमा ताल वरिपरि घेराबार गरिएको र त्यसपछि मन्दिर निर्माण गरिएको स्थानीयको भनाइ छ। सडक विस्तार पनि सोही समय आसपास भएको हो।
यसले अहिले गाइखर्क पुग्ने पर्यटकका लागि आधारभूत पहुँच पहिलेभन्दा सहज बनाएको छ। पहिले स्थानीयको पैदल पहुँचमा सीमित रहेको स्थान विस्तारै सडकसँग जोडिँदै गएको छ। तर पर्यटन विकासका लागि सडक मात्र पर्याप्त हुँदैन। तालको प्राकृतिक स्वरूप जोगाउँदै पर्यटकलाई सुरक्षित, व्यवस्थित र वातावरणमैत्री सुविधा उपलब्ध गराउनुपर्ने चुनौती अबको चरणमा छ।
मालिका गाउँपालिकाका पूर्व वडा अध्यक्ष पिपला बुढाका अनुसार दाङ्गा र घरथोकभन्दा माथि रहेको गाइखर्क तालको संरक्षणमा स्थानीय युवा तथा गाउँलेले लामो समयदेखि चासो दिँदै आएका छन्। गाउँपालिकाले पनि स्थापना कालदेखि नै यस क्षेत्रको संरक्षण र विकासमा प्रयास गर्दै आएको उहाँ बताउनुहुन्छ।
स्थानीयको सक्रियता गाइखर्कको अर्को महत्वपूर्ण पक्ष हो। सरकारी निकायले सडक वा घेराबार बनाउन सक्छ, तर कुनै प्राकृतिक सम्पदाको दीर्घकालीन संरक्षण स्थानीय समुदायको सहभागिताबिना सम्भव हुँदैन। गाइखर्कको धार्मिक विश्वास, नाम, पूजा परम्परा, गाई चराउने पुरानो चलन र तालसँग जोडिएका स्थानीय कथा सबै समुदायको सामूहिक स्मृतिका हिस्सा हुन्।
त्यसैले गाइखर्कलाई पर्यटकीय गन्तव्य बनाउँदा स्थानीय समुदायलाई पर्यटनको केन्द्रमा राख्नुपर्ने देखिन्छ। स्थानीय युवालाई पर्यटन गाइडका रूपमा परिचालन गर्न सकिन्छ। स्थानीय महिलालाई होमस्टे तथा स्थानीय खानासँग जोड्न सकिन्छ। स्थानीय कृषि उत्पादन, मौलिक परिकार, हस्तकला तथा सांस्कृतिक कार्यक्रमलाई पर्यटकसँग जोड्न सके तालको पर्यटनले गाउँको अर्थतन्त्रमा प्रत्यक्ष योगदान पु¥याउन सक्छ।
गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार पालिकाभित्र रहेका पर्यटकीय महत्वका स्थानको पहिचान, संरक्षण र प्रचारमा गाउँपालिकाले प्रयास गरिरहेको छ। उहाँका अनुसार गाइखर्क तालसहित पालिकाभित्र रहेका ३५ वटा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेका विषयलाई चालु आर्थिक वर्षभित्र विस्तृत रूपमा लेखन गरी प्रचारप्रसार गर्ने काम भइरहेको छ। यस्तो कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँको भनाइ छ।
मालिका गाउँपालिका आफैं पनि प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न स्थानीय तहका रूपमा परिचित छ। गाउँपालिकाको आधिकारिक विवरणअनुसार वडा नं. ५ देविस्थानसहित विभिन्न वडामा ताल, पोखरी, दह, मठमन्दिर, पाटीपौवा, चौतारा तथा अन्य प्राकृतिक र सांस्कृतिक सम्पदा रहेका छन्। गाउँपालिकाको शैक्षिक योजनामा समेत वडा नं. ५ का प्रमुख पर्यटकीय सम्पदाका रूपमा गाइखर्क ताल र देउताभिर गुफालाई उल्लेख गरिएको छ। यसबाट गाइखर्कलाई एक्लो गन्तव्यका रूपमा भन्दा मालिका गाउँपालिकाको समग्र पर्यटन सर्किटभित्र राखेर विकास गर्न सकिने सम्भावना देखिन्छ।
देविस्थान क्षेत्रमा गाइखर्क तालसँगै विभिन्न झरना, दह, गुफा तथा धार्मिक स्थलहरू छन्। गाइखर्कबाट आसपासका अन्य प्राकृतिक सम्पदासम्म पदमार्ग विकास गर्न सके पर्यटकले एउटै यात्रामा धेरै गन्तव्य अनुभव गर्न सक्छन्। यसका लागि स्पष्ट पदमार्ग, दूरी संकेत, विश्रामस्थल, सूचना पाटी र डिजिटल नक्सा निर्माण आवश्यक हुन्छ।
गाइखर्कको पर्यटन विकासमा अर्को महत्वपूर्ण विषय हो वैज्ञानिक अनुसन्धान। तालको रहस्यलाई पर्यटनको मुख्य कथा बनाउने हो भने त्यसको तथ्यगत आधार पनि बलियो हुनुपर्छ। पानीको मुहान नदेखिए पनि तालमा वर्षभरि पानी कसरी कायम हुन्छ भन्ने विषयमा जलविज्ञानसम्बन्धी अध्ययन गर्न सकिन्छ। तालको भौगर्भिक संरचना अध्ययन गर्न सकिन्छ। पानीको रङ परिवर्तनबारे जैविक तथा रासायनिक परीक्षण गर्न सकिन्छ। पात तथा जैविक पदार्थको अवस्थाबारे पर्यावरणीय अध्ययन गर्न सकिन्छ।
यसरी अनुसन्धान गरियो भने गाइखर्कको ‘रहस्य’ अझ ठूलो आकर्षण बन्न सक्छ। स्थानीयले पुस्तौँदेखि अनुभव गर्दै आएको कुरा वैज्ञानिक तथ्यका रूपमा विश्वसामु प्रस्तुत गर्न सकिन्छ।
तर वैज्ञानिक अध्ययनले स्थानीय विश्वासलाई विस्थापित गर्नु आवश्यक छैन। स्थानीयका लागि तालमा शक्ति छ भन्ने विश्वास उनीहरूको संस्कृति र आस्थाको हिस्सा हो। वैज्ञानिक अनुसन्धानले त्यस विश्वासलाई सम्मान गर्दै प्राकृतिक प्रक्रियाको व्याख्या गर्न सक्छ। यही दुई पक्षबीचको सन्तुलनले गाइखर्कलाई अन्य पर्यटन गन्तव्यभन्दा फरक बनाउन सक्छ।
पर्यटनको नाममा तालको मौलिकता बिगार्न नहुने विषय पनि उत्तिकै महत्वपूर्ण छ। तालको वरिपरि अत्यधिक कंक्रिट संरचना निर्माण गर्ने, प्लास्टिक तथा फोहोर फाल्ने, ठूलो आवाजमा मनोरञ्जन गर्ने वा तालमा अनियन्त्रित मानवीय गतिविधि बढाउने हो भने अहिले गाइखर्कको सबैभन्दा ठूलो आकर्षण रहेको प्राकृतिक शान्त वातावरण नै समाप्त हुन सक्छ।
त्यसैले यहाँको विकास ‘पूर्वाधार धेरै बनाउने’भन्दा ‘प्रकृति जोगाउँदै आवश्यक पूर्वाधार बनाउने’ अवधारणामा आधारित हुनुपर्ने देखिन्छ। तालको वरिपरि संरक्षण क्षेत्र निर्धारण, फोहोर व्यवस्थापन, प्लास्टिक नियन्त्रण, पर्यटकको संख्या र गतिविधिको व्यवस्थापन तथा नियमित सरसफाइ आवश्यक हुन्छ।
गाइखर्कको पर्यटनलाई चार मौसमसँग जोडेर प्रचार गर्न सकिन्छ। वर्षायाममा हरियाली र निलो पानी, हिउँदमा फरक रङ देखिने ताल, मौसम खुलेका बेला हिमालको दृश्य र विभिन्न समयमा देखिने वनस्पति तथा चराचुरुङ्गी यसको प्रचारका आधार बन्न सक्छन्। यसका लागि वर्षभरि फरक मौसममा तालको फोटो तथा भिडियो अभिलेख तयार गर्न सकिन्छ।
तालको इतिहास र स्थानीय कथा पनि दस्तावेजीकरण गर्न आवश्यक छ। गाइ चराउने खर्क भएकाले गाइखर्क नाम रहन गएको कथा, भूमिपूजाको चलन, पाठाले भोग दिने परम्परा, मन्दिर निर्माणको इतिहास, २०७४ सालमा गरिएको घेराबार, सडक विस्तार र स्थानीयले संरक्षणमा खेलेको भूमिका सबै अभिलेखमा राखिनुपर्छ।
यस्ता स्थानीय कथाहरू पर्यटकका लागि केवल मनोरञ्जनका विषय होइनन्। ती कुनै स्थानको पहिचान हुन्। गाइखर्कको कथा गाइखर्कमै जन्मिएको हुनाले त्यसलाई स्थानीयले नै सुनाउन पाउनु यसको पर्यटन विकासको महत्वपूर्ण आधार बन्न सक्छ।
गाइखर्क तालको चर्चा म्याग्दीबाहिर पनि विस्तारै हुन थालेको छ। विभिन्न सञ्चारमाध्यमले यसलाई ‘रहस्यमय’ र ‘अनौठो’ तालका रूपमा समाचार तथा सामग्री प्रकाशित गरेका छन्। पानीको रङ परिवर्तन, मुहान नदेखिनु र जंगलको बीचमा रहेको अवस्थालाई यसको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ।
अब चुनौती भनेको चर्चालाई पर्यटकीय गतिविधिमा बदल्नु हो। समाचारमा आएर मात्र पर्यटक आउँदैनन्। बाटो सहज हुनुपर्छ, गन्तव्यको जानकारी उपलब्ध हुनुपर्छ, सुरक्षित वातावरण हुनुपर्छ र पुगिसकेपछि बस्ने, खाने तथा घुम्ने व्यवस्था हुनुपर्छ। स्थानीय उत्पादन र सेवासँग पर्यटकलाई जोड्न सकियो भने मात्रै पर्यटनले स्थानीय अर्थतन्त्रमा दिगो प्रभाव पार्छ।
गाइखर्कमा दृश्यावलोकनस्थल निर्माण गर्न सकिन्छ। ताललाई माथिबाट हेर्न मिल्ने सुरक्षित स्थान बनाउन सकिन्छ। तालको इतिहास, धार्मिक विश्वास, जैविक विशेषता र स्थानीय कथा समेटिएको सूचना केन्द्र स्थापना गर्न सकिन्छ। तालसम्म पुग्ने बाटोमा स्थानीय वनस्पति र हिमाली दृश्यबारे जानकारी दिने संकेत बोर्ड राख्न सकिन्छ।
त्यसैगरी गाइखर्कको बारेमा वृत्तचित्र निर्माण गर्न सकिन्छ। स्थानीय वृद्धवृद्धाको मौखिक इतिहास र युवाको अनुभव संकलन गरेर डिजिटल अभिलेख बनाउन सकिन्छ। स्थानीय विद्यालयका विद्यार्थीलाई तालको संरक्षण तथा अध्ययनमा सहभागी गराउन सकिन्छ। यसले नयाँ पुस्तालाई आफ्नो गाउँको प्राकृतिक सम्पदासँग जोड्नेछ।
गाइखर्क तालमा वैज्ञानिक अनुसन्धान गर्न चाहने विद्यार्थी तथा अनुसन्धानकर्तालाई पनि आकर्षित गर्न सकिन्छ। जलविज्ञान, जैविक विविधता, वनस्पति, भौगोलिक संरचना र पर्यटनसम्बन्धी अध्ययनका लागि यो स्थान अनुसन्धानको विषय बन्न सक्छ। अनुसन्धानकर्ताले गर्ने अध्ययनलाई स्थानीय सरकार र समुदायले सहजीकरण गरेमा गाइखर्कको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न सहयोग पुग्न सक्छ।
गाइखर्क तालको अर्को सम्भावना ग्रामीण पर्यटन हो। तालसम्म पुग्ने यात्रालाई देविस्थानका गाउँबस्ती र स्थानीय संस्कृतिसँग जोड्न सकिन्छ। गाउँमा होमस्टे सञ्चालन गरेर पर्यटकलाई स्थानीय जीवनशैली अनुभव गराउन सकिन्छ। स्थानीय परिकार, मौलिक गीतसंगीत र परम्परागत संस्कृतिलाई पर्यटनसँग जोड्न सकिन्छ। यसले गाउँमा रोजगारीको अवसर सिर्जना गर्न सक्छ। बाहिर रोजगारीका लागि जाने युवालाई आफ्नै क्षेत्रमा पर्यटनसँग जोडेर आयआर्जनको अवसर दिन सकिन्छ। महिलालाई होमस्टे, खाना, स्थानीय उत्पादन तथा हस्तकलामा जोड्न सकिन्छ। किसानका उत्पादनलाई पर्यटक बजारसँग जोड्न सकिन्छ। तर यी सबै सम्भावनाको केन्द्रमा गाइखर्क तालको संरक्षण हुनुपर्छ। तालको प्राकृतिक अवस्था बिग्रियो भने पर्यटनको आधार नै कमजोर हुन्छ।
गाइखर्कको सबैभन्दा ठूलो सम्पत्ति अहिले पनि त्यसको मौलिकता हो। नदेखिने मूल भएर पनि पानी रहिरहनु, मौसमअनुसार पानीको रङ बदलिनु, जंगलको बीचमा भएर पनि तालमा पातपतिङ्गर नदेखिनु, तालको कुनामा धार्मिक आस्थाको केन्द्र हुनु, गाई चराउने पुरानो खर्कको नाम बोकेर बस्नु र मौसम खुलेका बेला हिमाली दृश्य देखिनु यी सबै पक्ष मिलेर गाइखर्कको आफ्नै कथा बनेको छ। त्यसैले गाइखर्क ताललाई केवल एउटा पोखरी वा पर्यटकीय स्थलको रूपमा विकास गर्नु पर्याप्त हुँदैन। यसलाई प्रकृति, संस्कृति, आस्था, विज्ञान र स्थानीय जीवनसँग जोडिएको सम्पदाका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ।
समबहादुर घर्ती मगरले सुनाउनुभएको पात र सेउला हराउने अनुभव होस् वा स्थानीयले पुस्तौँदेखि मान्दै आएको तालको शक्ति, भूमिपूजाको परम्परा होस् वा पाठाले भोग दिने चलन गाइखर्कको कथा यिनै स्थानीय अनुभवबाट बनेको हो। यी कथाको सम्मान गर्दै त्यसमा वैज्ञानिक खोज जोड्न सकियो भने गाइखर्कको परिचय अझ बलियो बन्न सक्छ।
आज गाइखर्क ताल पर्यटकको ठूलो भीडबाट टाढा छ। तर यही शान्त अवस्था यसको अर्को सम्पत्ति हो। जंगलको बीचमा रहेको तालमा पुग्दा शहरको कोलाहलबाट अलग प्रकृतिसँग साक्षात्कार गर्न सकिन्छ। मौसम खुलेको दिन हिमाल हेर्न सकिन्छ। तालको पानीको रङ नियाल्न सकिन्छ। मन्दिरमा पूजा गर्ने स्थानीय परम्परा बुझ्न सकिन्छ। गाउँको जीवनशैली अनुभव गर्न सकिन्छ।
र सबैभन्दा ठूलो कुरा त्यहाँ पुगेपछि एउटा प्रश्न अवश्य उठ्छ ः जंगलको बीचमा रहेको यो तालमा पानी कहाँबाट आउँछ र वर्षौँदेखि किन सुक्दैन ?
त्यसपछि अर्को प्रश्न उठ्छ ः मौसम फेरिँदा यसको पानीको रङ किन बदलिन्छ ?
अनि अर्को प्रश्न ः जंगलको बीचमा भएर पनि तालमा पातपतिङ्गर किन देखिँदैन ?
यिनै प्रश्नहरू गाइखर्क तालको सबैभन्दा ठूलो पर्यटन कथा बन्न सक्छन्।
तर ती प्रश्नको उत्तर खोज्ने काम अब केवल स्थानीय विश्वासमा सीमित रहनु हुँदैन। सम्बन्धित सरकारी निकाय, विश्वविद्यालय, जलविज्ञ, वातावरणविद्, भूगर्भविद् तथा जैविक अनुसन्धानकर्तालाई जोडेर गाइखर्क तालको विस्तृत अध्ययन गर्नुपर्ने आवश्यकता छ। स्थानीय समुदायले पुस्तौँदेखि जोगाउँदै आएको सम्पदामाथि वैज्ञानिक अनुसन्धान थपिँदा यसको महत्व झन् बढ्नेछ।
मालिका गाउँपालिकाले ३५ वटा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका गन्तव्यको पहिचान गरी तिनको विस्तृत लेखन र प्रचारप्रसार गर्ने काम अघि बढाएको अवस्थामा गाइखर्क ताल त्यस अभियानको महत्वपूर्ण हिस्सा बन्न सक्छ। पालिकाले थालेको पहिचान, संरक्षण र प्रचारको प्रयासलाई स्थानीय समुदायको सहभागिता, वैज्ञानिक अनुसन्धान र व्यवस्थित पर्यटन पूर्वाधारसँग जोड्न सके यसको प्रभाव दीर्घकालीन हुन सक्छ।
गाइखर्कको भविष्य सडक र तारबारले मात्र तय गर्ने छैन। यसको भविष्य स्थानीयको विश्वास, प्रकृतिको संरक्षण, वैज्ञानिक अनुसन्धान, जिम्मेवार पर्यटन र समुदायको आर्थिक सहभागिताले तय गर्नेछ।
देविस्थानको जंगलको बीचमा शान्त बसेको गाइखर्क ताल आज पनि आफ्नै रहस्य बोकेर उभिएको छ। वरिपरि रुख छन्, तर तालमा पात छैन। देखिने मूल छैन, तर पानी सुक्दैन। मौसम फेरिँदा पानीको रङ फेरिन्छ। छेउमा मन्दिर छ, जहाँ भूमिपूजाको परम्परा जीवित छ। स्थानीयको विश्वासमा तालमा शक्ति छ। मौसम खुलेपछि हिमालले यसको सौन्दर्य थपिदिन्छ।
यही कारण गाइखर्क ताल मालिका गाउँपालिका–५ को एउटा ताल मात्र होइन, स्थानीय प्रकृति, संस्कृति, आस्था र कथाको जीवित दस्तावेज हो। संरक्षण र अनुसन्धानसहित व्यवस्थित रूपमा अगाडि बढाउन सके गाइखर्क ताल म्याग्दीको पर्यटन नक्सामा छुट्टै पहिचान बनाउन सक्ने सम्भावना बोकेर बसेको छ।
र सायद यसको सबैभन्दा ठूलो आकर्षण यही हो—गाइखर्कलाई हेर्न जाने मानिसले ताल मात्र देख्दैन, एउटा प्रश्न पनि लिएर फर्किन्छ।
