म्याग्दीको मालिका गाउँपालिका प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा, मगर समुदायको मौलिक जीवनशैली, हिमश्रृङखलाको दृश्यावलोकन तथा कृषि र पर्यापर्यटनका दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको स्थानीय तह हो। गाउँपालिकाभित्र रहेका मालिका थान, प्रभुचेला ध्यानाश्रम, पाथीभरा, बराहताल, विभिन्न सिद्धथान, दुरुलेक, शोले, देउराली, देउताभीरलगायतका धार्मिक तथा प्राकृतिक गन्तव्यलाई व्यवस्थित ढङ्गले विकास र प्रवद्र्धन गर्न सके ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना छ। यही सम्भावनालाई ध्यानमा राख्दै मालिका गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ, मालिका गाउँपालिका बजार इकाइले चालु आर्थिक वर्षभर पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्ने तयारी गरेका छन्। पर्यटनलाई केवल घुमफिरसँग मात्र नभई स्थानीय उत्पादन, रोजगारी, उद्यमशीलता, कला–संस्कृति र समग्र स्थानीय अर्थतन्त्रसँग जोड्ने उद्देश्य राखिएको छ। यसै सन्दर्भमा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजासँग गाउँपालिकाको पर्यटन विकासको दीर्घकालीन सोच, प्रचार–प्रसारको रणनीति, पूर्वाधार विकास, निजी क्षेत्रसँगको सहकार्य तथा स्थानीय समुदायको भूमिकाबारे अमृत बास्कुनेले गरेको विशेष अन्तरवार्ता प्रस्तुत गरेका छौं।
– स्थानीय समुदाय, मालिका गाउँपालिका र उद्योग वाणिज्य संघले चालु आर्थिक वर्षभर पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्ने निर्णय किन र कुन उद्देश्यले गर्नुभएको हो?
मालिका गाउँपालिकाभित्र पर्यटनका लागि सम्भावना भएका धेरै क्षेत्र छन्। तर सम्भावना हुनु मात्र पर्याप्त हुँदैन। ती गन्तव्यको पहिचान, प्रचारप्रसार, पूर्वाधार विकास र पर्यटकलाई त्यहाँसम्म पुग्ने वातावरण निर्माण गर्न आवश्यक हुन्छ। हाम्रो मुख्य उद्देश्य मालिका गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यलाई व्यवस्थित रूपमा चिनाउनु हो। पर्यटनको विकास भयो भने त्यसको प्रत्यक्ष प्रभाव स्थानीय अर्थतन्त्रमा पर्छ। पर्यटक गाउँमा आएपछि होटल तथा होमस्टेमा बस्छन्, स्थानीय उत्पादन खरिद गर्छन्, यातायात प्रयोग गर्छन्, स्थानीय कला–संस्कृतिसँग जोडिन्छन्। यसबाट किसान, व्यवसायी, युवा, महिला तथा विभिन्न समुदायका मानिसले आम्दानी गर्ने अवसर प्राप्त गर्छन्। त्यसैले पर्यटनलाई हामीले केवल पर्यटक ल्याउने विषयका रूपमा हेरेका छैनौँ। यो स्थानीय रोजगारी सिर्जना गर्ने, उत्पादनको बजार विस्तार गर्ने, युवालाई गाउँमै उद्यम गर्न प्रेरित गर्ने र हाम्रो मौलिक कला तथा संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने माध्यम हो। उद्योग वाणिज्य संघ निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भएकाले गाउँपालिकासँगको सहकार्यमा पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्दा यसको प्रभाव अझ व्यापक हुने हाम्रो विश्वास हो। सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य गरेर पर्यटन विकास गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको हो।
– मालिका गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यमध्ये कुन–कुन स्थललाई प्राथमिकताका साथ प्रवद्र्धन गर्ने योजना छ?
मालिका गाउँपालिकामा एउटै प्रकारको पर्यटन होइन, विविध प्रकृतिका पर्यटनको सम्भावना छ। धार्मिक पर्यटन, प्राकृतिक पर्यटन, पर्यापर्यटन, कृषि पर्यटन, सांस्कृतिक पर्यटन तथा पदयात्रासँग जोडिएका गन्तव्य यहाँ छन्। मालिका थान, प्रभुचेला ध्यानाश्रम, पाथीभरा, बराहताल, विभिन्न सिद्धथान, दुरुलेक, शोले, देउराली, देउताभीरलगायतका धार्मिक तथा प्राकृतिक गन्तव्यलाई प्राथमिकतामा राखेका छौँ। बराहतालजस्ता प्राकृतिक गन्तव्यले प्रकृति र साहसिक पर्यटनको सम्भावना बोकेका छन्। मालिका थानलगायत धार्मिक स्थलले धार्मिक तथा आध्यात्मिक पर्यटनको सम्भावना बोकेका छन्। त्यस्तै, मगर समुदायको मौलिक कला, संस्कृति, भाषा, परम्परा र जीवनशैली आफैँमा पर्यटकीय आकर्षण बन्न सक्छ। हामीले एउटा मात्र गन्तव्यलाई ठूलो बनाएर अरूलाई ओझेलमा पार्नेभन्दा मालिका गाउँपालिकाभित्र रहेका विभिन्न गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने सोच बनाएका छौँ। पर्यटक एउटा स्थानमा आएर अर्को स्थानसम्म पुग्न सक्ने वातावरण बनाउन सकियो भने पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ। पर्यटकको बसाइ लम्बिनु भनेको स्थानीय क्षेत्रमा बढी आर्थिक गतिविधि हुनु हो।
– पर्यटन प्रवर्धनका लागि सडक, पदमार्ग, खानेपानी, शौचालय, सूचना केन्द्र तथा अन्य पूर्वाधार विकासमा गाउँपालिकाले के–कस्ता योजना अघि बढाएको छ?
पर्यटनको विकासका लागि पूर्वाधार सबैभन्दा महत्वपूर्ण पक्ष हो। सुन्दर गन्तव्य भएर मात्र पर्यटक आउँदैनन्। त्यहाँ पुग्ने बाटो, पदमार्ग, खानेपानी, शौचालय, बस्ने व्यवस्था, सूचना तथा सुरक्षा आवश्यक हुन्छ। यसलाई ध्यानमा राखेर विभिन्न पर्यटकीय स्थलमा सडक तथा पैदलमार्ग निर्माण र सुधार, खानेपानी तथा शौचालयको व्यवस्था, सूचना प्रवाहका लागि आवश्यक संरचना तथा नक्साङ्कनलगायतका काम अघि बढाएका छौँ। तर सबै काम एकैपटक सम्पन्न गर्न सम्भव हुँदैन। गाउँपालिकाको स्रोत सीमित भएकाले प्राथमिकता निर्धारण गरेर क्रमशः पूर्वाधार विकास गर्दै जाने नीति लिएका छौँ। आगामी वर्षहरूमा पनि पर्यटन क्षेत्रका पूर्वाधारलाई निरन्तरता दिने योजना छ। विशेषगरी पर्यटकीय गन्तव्यसम्म पुग्ने पहुँचमार्ग, पदमार्गको स्तरोन्नति, पर्यटकका लागि आधारभूत सुविधा र सूचना प्रणालीलाई थप व्यवस्थित गर्ने आवश्यकता छ।
– स्थानीय संस्कृति, परम्परा, मगर समुदायको मौलिक जीवनशैली तथा स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने गाउँपालिकाको रणनीति कस्तो छ?
मालिका गाउँपालिकाको पर्यटनको सबैभन्दा ठूलो शक्ति यहाँको प्राकृतिक सुन्दरता मात्र होइन, यहाँको मौलिक संस्कृति पनि हो। मालिका गाउँपालिकामा मगर समुदायको बाक्लो बसोबास छ। मगर समुदायको कला, संस्कृति, भाषा, परम्परा, भेषभूषा, नृत्य, गीत, खानपान र जीवनशैली अत्यन्तै समृद्ध छन्। यी कुरालाई संरक्षण गर्दै पर्यटनसँग जोड्न सकियो भने यसले स्थानीय संस्कृतिको संरक्षण पनि गर्छ र आम्दानीको अवसर पनि सिर्जना गर्छ। हामी पालिकास्तरमा मौलिक लोकसंस्कृतिका प्रतियोगिता तथा कार्यक्रम सञ्चालन गर्ने, स्थानीय कला–संस्कृतिको जगेर्ना गर्ने तथा नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने प्रयास गरिरहेका छौँ। स्थानीय पाठ्यक्रममा खाम भाषाको पठनपाठन गराउने प्रयास पनि यही उद्देश्यसँग जोडिएको छ। भाषा र संस्कृति जोगिएन भने पर्यटनका नाममा हामीले आफ्नो मौलिक पहिचान गुमाउन सक्छौँ। त्यसैले पर्यटन विकाससँगै सांस्कृतिक संरक्षणलाई पनि समान प्राथमिकता दिनुपर्छ। त्यसैगरी स्थानीय कृषि उत्पादन, स्थानीय परिकार, स्लेट ढुङ्गा तथा अन्य स्थानीय स्रोत–साधनलाई पनि पर्यटनसँग जोड्ने सम्भावना छ। पर्यटकले गाउँमा आएर स्थानीय उत्पादन उपभोग गर्ने र खरिद गर्ने वातावरण बनाउन सके पर्यटनको प्रतिफल सीधै गाउँमा पुग्छ।
– निजी क्षेत्र, विशेषगरी उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायी तथा स्थानीय युवासँगको सहकार्यलाई गाउँपालिकाले कसरी अगाडि बढाइरहेको छ?
पर्यटन सरकार एक्लैले विकास गर्न सक्ने क्षेत्र होइन। यसमा निजी क्षेत्र, स्थानीय समुदाय, व्यवसायी, युवा, महिला समूह र पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाको सहभागिता आवश्यक हुन्छ। उद्योग वाणिज्य संघसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धन अभियान अघि बढाउनुको मुख्य कारण पनि यही हो। गाउँपालिकाले पूर्वाधार र नीतिगत वातावरण निर्माण गर्न सक्छ भने निजी क्षेत्रले लगानी, प्रचारप्रसार, व्यवसाय सञ्चालन र सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। स्थानीय युवालाई पनि पर्यटनसँग जोड्नुपर्छ। अहिले युवाको ठूलो हिस्सा रोजगारीको खोजीमा गाउँबाहिर जाने अवस्था छ। पर्यटनबाट स्थानीयस्तरमै आयआर्जनको सम्भावना देखाउन सकियो भने युवालाई गाउँमै रोक्न सकिन्छ। त्यसका लागि आगामी दिनमा निजी क्षेत्र, उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायी र स्थानीय युवासँग उपयुक्त रणनीति बनाएर सहकार्यलाई थप प्रभावकारी बनाउने हाम्रो योजना छ।
– डिजिटल माध्यम, सामाजिक सञ्जाल, वृत्तचित्र, पर्यटन महोत्सव वा अन्य प्रचारात्मक गतिविधिमार्फत मालिकाको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने योजना के छन?
आजको पर्यटन प्रचारको सबैभन्दा प्रभावकारी माध्यम डिजिटल प्लेटफर्म हो। कुनै पर्यटकले गन्तव्य रोज्नुअघि त्यसबारे इन्टरनेट र सामाजिक सञ्जालमा खोजी गर्छ। त्यसैले हाम्रो पर्यटन प्रवद्र्धन पनि परम्परागत प्रचारमा मात्र सीमित हुनु हुँदैन। मालिका गाउँपालिकाका पर्यटकीय स्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न पालिकास्तरीय वृत्तचित्र निर्माण भइसकेको छ। अब त्यसलाई विभिन्न डिजिटल माध्यमबाट व्यापक रूपमा प्रचारप्रसार गर्न आवश्यक छ। त्यस्तै सामाजिक सञ्जालमार्फत पर्यटकीय स्थलका तस्बिर, भिडियो, स्थानीय संस्कृति, मेलापर्व, पूजापाठ, धार्मिक तथा सांस्कृतिक गतिविधि नियमित रूपमा सार्वजनिक गर्न सकिन्छ। स्थानीय स्तरमा हुने मेला, पर्व तथा सांस्कृतिक कार्यक्रमलाई पनि पर्यटन प्रवद्र्धनसँग जोड्नुपर्छ। कुनै धार्मिक वा सांस्कृतिक कार्यक्रमलाई केवल स्थानीय कार्यक्रमका रूपमा सञ्चालन गर्नुको सट्टा बाहिरी जिल्लाका पर्यटकलाई समेत आकर्षित गर्ने गरी आयोजना गर्न सकियो भने त्यसको प्रभाव अझ ठूलो हुन्छ। भविष्यमा वृत्तचित्र, डिजिटल सामग्री, पर्यटन महोत्सव, पदयात्रा, सांस्कृतिक कार्यक्रम तथा सामाजिक सञ्जाल अभियानलाई एकीकृत रूपमा अघि बढाउने सोच छ।
– पर्यटन विकाससँगै स्थानीय युवालाई रोजगारी र उद्यमशीलतामा जोड्ने विषयमा गाउँपालिकाका विशेष कार्यक्रम के–के छन्?
पर्यटन विकासको अन्तिम उद्देश्य पर्यटकको संख्या बढाउनु मात्र होइन। त्यसबाट स्थानीय मानिसले के पाए भन्ने कुरा महत्वपूर्ण हो। हामी युवालाई होटल तथा आतिथ्य सेवासम्बन्धी तालिम, पर्यटनसम्बन्धी जनचेतना तथा सम्भावित पर्यटकीय क्रियाकलापबारे जानकारी दिने कार्यक्रममार्फत पर्यटन उद्यमशीलतामा जोड्न चाहन्छौँ। युवाले होटल, होमस्टे, ट्रेकिङ तथा गाइड सेवा, यातायात, स्थानीय उत्पादन बिक्री, हस्तकला, स्थानीय परिकार, कृषि तथा पर्यापर्यटनलगायत विभिन्न क्षेत्रमा व्यवसाय गर्न सक्छन्। पर्यटक आएपछि उनीहरूलाई सेवा दिने स्थानीय जनशक्ति नै आवश्यक हुन्छ। त्यसैले पर्यटन विकाससँगै सीप विकासलाई पनि अगाडि बढाउनुपर्छ। विशेषगरी युवालाई ‘पर्यटन भनेको बाहिरबाट आउने मानिसका लागि मात्र होइन, आफ्नै गाउँमा उद्यम गर्ने अवसर पनि हो’ भन्ने बुझाउन आवश्यक छ।
– पर्यटन विकासका क्रममा बजेट, पूर्वाधार, लगानी वा अन्य चुनौतीहरू के छन्, र ती समाधान गर्न गाउँपालिकाले कस्ता पहल गरिरहेको छ?
मालिका गाउँपालिकामा पर्यटनको ठूलो सम्भावना भए पनि त्यसअनुसारको विकास गर्न पर्याप्त बजेटको अभाव छ। स्थानीय तहको आफ्नै स्रोत सीमित छ। धेरै गन्तव्य पहाडी तथा दुर्गम क्षेत्रमा रहेका कारण त्यहाँ पूर्वाधार पु¥याउन पनि खर्चिलो हुन्छ। अर्को चुनौती भनेको सम्भावना भएका धेरै गन्तव्यको पर्याप्त प्रचार हुन नसक्नु हो। गन्तव्यको पहिचान र प्रचारप्रसारसँगै त्यहाँ पुग्ने पूर्वाधार पनि आवश्यक हुन्छ। यी समस्या समाधानका लागि सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीच सहकार्य आवश्यक छ। स्थानीय तहको बजेटबाट मात्र सबै काम सम्भव हुँदैन। प्रदेश तथा संघीय सरकारसँग समन्वय गरेर आवश्यक पूर्वाधार विकासका लागि पहल गर्नुपर्छ। निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्नुपर्छ। स्थानीय समुदायलाई पर्यटन व्यवसायमा सहभागी गराउनुपर्छ। पर्यटनलाई छुट्टाछुट्टै योजना होइन, समग्र आर्थिक विकासको योजनाका रूपमा हेर्न सके मात्रै सीमित स्रोतको अधिकतम उपयोग गर्न सकिन्छ।
– मालिका गाउँपालिकालाई आगामी पाँचदेखि दस वर्षभित्र गण्डकी प्रदेशकै आकर्षक ग्रामीण पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने तपाईंको दीर्घकालीन दृष्टिकोण के हो?
हाम्रो दीर्घकालीन लक्ष्य मालिका गाउँपालिकालाई गण्डकी प्रदेशकै उत्कृष्ट ग्रामीण पर्यटन गन्तव्यका रूपमा विकास गर्नु हो। यसका लागि सबैभन्दा पहिले यहाँका प्राकृतिक तथा सांस्कृतिक स्रोतको संरक्षण गर्नुपर्छ। पर्यापर्यटनलाई प्राथमिकता दिनुपर्छ। धार्मिक तथा आध्यात्मिक स्थललाई व्यवस्थित र आकर्षक बनाउनुपर्छ। त्यसैगरी खानी तथा जलविद्युत क्षेत्रका सम्भावनालाई पनि वातावरणीय तथा सामाजिक पक्षलाई ध्यानमा राख्दै समुचित उपयोग गर्न सकिन्छ। हाम्रो उद्देश्य केवल ठूलो संख्यामा पर्यटक ल्याउने होइन। प्रकृति नबिगार्ने, स्थानीय संस्कृति नष्ट नगर्ने र स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने दिगो पर्यटन विकास गर्नु हो। मालिका गाउँपालिकालाई एउटा गन्तव्यका रूपमा मात्र होइन, विभिन्न पर्यटकीय स्थल, संस्कृति, कृषि, प्रकृति र धार्मिक सम्पदालाई जोडिएको पर्यटन क्षेत्रका रूपमा विकास गर्नुपर्छ। यदि आगामी पाँचदेखि दस वर्षसम्म निरन्तर योजना बनाएर पूर्वाधार विकास, प्रचारप्रसार, निजी क्षेत्रको लगानी र स्थानीय समुदायको सहभागितालाई अघि बढाउन सकियो भने मालिका गण्डकी प्रदेशको आकर्षक ग्रामीण पर्यटन गन्तव्य बन्न सक्छ भन्ने हाम्रो विश्वास छ।
– अन्त्यमा, मालिका गाउँपालिकाको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा अवलोकन गर्न चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ?
मालिका गाउँपालिकामा पर्यटकलाई आकर्षित गर्ने सबैभन्दा ठूलो सम्पत्ति यहाँको प्राकृतिक सौन्दर्य हो। गाउँपालिकाका धेरै स्थानबाट माछापुच्छ्रे, अन्नपूर्ण र नीलगिरिलगायतका हिमशृङ्खलाको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। तर हिमालको दृश्य मात्र यहाँको आकर्षण होइन। यहाँ झरना, तालतलैया, खोलानाला, हरियाली वनजंगल, वन्यजन्तु, जडीबुटी, धार्मिक तथा ऐतिहासिक स्थल र विविध जातजातिको मौलिक कला तथा संस्कृति पनि छन्। मालिकामा आएर प्रकृतिलाई नजिकबाट अनुभव गर्न सकिन्छ। धार्मिक तथा आध्यात्मिक स्थलमा पुगेर शान्तिको अनुभूति गर्न सकिन्छ। स्थानीय समुदायसँग घुलमिल भएर उनीहरूको जीवनशैली, कला, संस्कृति, भाषा, खानपान र परम्पराबारे बुझ्न सकिन्छ। त्यसैले स्वदेशी तथा विदेशी पर्यटकलाई म आग्रह गर्न चाहन्छु—म्याग्दी आउँदा मालिकालाई पनि आफ्नो यात्राको गन्तव्य बनाउनुहोस्। यहाँका हिमाल, पहाड, वनजंगल, तालतलैया, धार्मिक स्थल र स्थानीय संस्कृति अवलोकन गर्नुहोस्। स्थानीय उत्पादन प्रयोग गर्नुहोस्, स्थानीय समुदायसँग जोडिनुहोस् र मालिकाको मौलिकतालाई अनुभव गर्नुहोस्। हामी पर्यटकलाई केवल घुम्न आउने पाहुनाका रूपमा होइन, मालिकाको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाका साझेदारका रूपमा स्वागत गर्न चाहन्छौँ। मालिकाको पर्यटन विकास भनेको केवल पर्यटक बढाउनु होइन—स्थानीय अर्थतन्त्र बलियो बनाउनु, युवालाई गाउँमै अवसर सिर्जना गर्नु, स्थानीय उत्पादनको बजार विस्तार गर्नु र पुस्तौँदेखि जोगिँदै आएको हाम्रो कला, संस्कृति तथा पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउनु हो। त्यसैले गाउँपालिकाको नेतृत्वमा निजी क्षेत्र, स्थानीय समुदाय, युवा र सबै सरोकारवालाको सहकार्यबाट पर्यटन विकासलाई अभियानकै रूपमा अघि बढाउने हाम्रो प्रतिबद्धता छ।
