घरभित्रको हिंसा धेरैजसो घरको चार पर्खालमै थुनिन्छ। पीडितका आँसु आफन्तकै दबाब, सामाजिक प्रतिष्ठाको डर, आर्थिक निर्भरता र न्यायसम्म पुग्ने कठिन यात्राबीच हराइरहन्छन्। यही यथार्थका कारण घरेलु हिंसा, लैङ्गिक हिंसा, बालविवाह, पारिवारिक विवाद तथा विभिन्न प्रकारका सामाजिक विभेदका घटनाहरू सार्वजनिक तथ्याङकभन्दा धेरै गहिरा र जटिल छन्। पीडितका लागि सबैभन्दा ठूलो आवश्यकता केवल कानुनी उपचार मात्र होइन, सुरक्षित आश्रय, मनोसामाजिक परामर्श, स्वास्थ्य सेवा र पुनः सामान्य जीवनमा फर्किने विश्वास पनि हो।
यही आवश्यकतालाई केन्द्रमा राखेर बेनी नगरपालिकाले सञ्चालनमा ल्याएको अल्पकालीन सेवा केन्द्र हिंसामा परेका महिला, बालबालिका तथा अन्य प्रभावित नागरिकका लागि अस्थायी तर अत्यन्तै महत्वपूर्ण सहाराका रूपमा स्थापित हुँदै गएको छ। मन्त्रालय र नगरपालिकाको साझेदारीमा सञ्चालित यस केन्द्रले पीडितलाई निश्चित बढीमा ४५ दिन सम्म र आवश्यक भएमा थप १५ दिन सम्म सुरक्षित आवास उपलब्ध गराउनुका साथै स्वास्थ्य परीक्षण, आवश्यक उपचार, मनोसामाजिक परामर्श, कानुनी परामर्श तथा पुनःस्थापनाका लागि आवश्यक समन्वय सेवा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। संकटको घडीमा पीडितलाई संरक्षण, परामर्श र आत्मविश्वास दिलाउने यो सेवा स्थानीय सरकारको मानवीय उत्तरदायित्वको एक महत्वपूर्ण अभ्यासका रूपमा समेत हेरिएको छ। अर्कोतर्फ, स्थानीय सरकार सञ्चालन ऐनले परिकल्पना गरेको न्यायिक समिति नागरिकलाई छिटो, सहज र कम खर्चिलो न्याय उपलब्ध गराउने स्थानीय संयन्त्र हो। सामान्य प्रकृतिका विवादलाई अदालतसम्म पुग्नुअघि नै संवाद, मेलमिलाप र कानुनी प्रक्रियामार्फत समाधान गर्ने जिम्मेवारी बोकेको यस समितिले समुदायमा न्यायप्रतिको पहुँच विस्तार गर्नुका साथै सामाजिक सद्भाव कायम राख्न पनि उल्लेखनीय भूमिका खेलिरहेको छ। विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायका नागरिकलाई न्यायको अनुभूति दिलाउन न्यायिक समितिको प्रभावकारिता स्थानीय शासनको सफलतासँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो।
हिंसाका घटना न्यूनीकरण गर्ने प्रयास, पीडितमैत्री सेवा प्रवाह, न्यायिक समितिको कार्यसम्पादन, मेलमिलापको अभ्यास, सेवा केन्द्र सञ्चालनका चुनौती, उपलब्धि तथा आगामी योजनाबारे जानकारी लिन हामीले बेनी नगरपालिकाकी उपप्रमुखसँग विस्तृत कुराकानी गरेका छौँ। प्रस्तुत छ, अल्पकालीन सेवा केन्द्र र न्यायिक समितिको वर्तमान अवस्था, अनुभव र भविष्यका योजनामाथि केन्द्रित रहेर ज्योति लामिछानेसँग अमृत बास्कुनेले गरेको कुराकानीको संपादित अंश ः

प्रश्न: बेनी नगरपालिकामा सञ्चालन भइरहेको अल्पकालीन सेवा केन्द्रको स्थापना किन आवश्यक ठानियो ? यसले हालसम्म कस्ता नागरिकलाई सेवा प्रदान गरिरहेको छ ?
उत्तरः– यो अल्पकालिन सेवा केन्द्र भनेको लैंगिक हिंसाबाट पिडीत दिदिबहीनीहरुका लागि उहाँहरुलाई केही समय सम्म पुनस्थापना हुनु भन्दा पहिला राख्नका लागि हो । हामीले यहाँ राख्दा आवश्यक कानुनी तथा आवश्यक उपचार गर्ने हो र उहाँहरुको आवश्यकता के छ त्यो अनुसार सहयोग गर्ने हो । माथि मन्त्रालय देखि नै स्थापना प्रयास भएको हुनाले हाम्रो दायित्व पनि यसमा धेरै नै छ । स्थापना काल देखि हाल सम्म ९८ जनाले यहाँ हामीले सञ्चालन गरेको केन्द्रबाट सेवा लिएका छन ।
प्रश्न:घरेलु हिंसा, लैङ्गिक हिंसा तथा अन्य पीडित महिलाहरूका लागि अल्पकालीन सेवा केन्द्रले कस्ता सेवा तथा सहयोग उपलब्ध गराउँदै आएको छ ?
उत्तरः– आवश्यक सहयोग आवश्यक रहेको भनेर पिडीत भएर आउने दिदीबहीनीहरु, न्यायीक समितिमा आउने उजुरीहरुमा छलफलका क्रममा उनीहरुलाई सेल्टर दिन पर्ने भयो भने पनि हामीले त्यहाँ राख्ने गर्दछांैं । कतिपय सन्दर्भमा प्रहरीबाट पनि अल्पकालिन सेवाकेन्द्रमा सेल्टरका लागि पठाउने गरेको छ । प्रहरीमा मुद्दा चलेका जघन्य अपराधका घटनाहरु, कानुनी उपचारमा आउँदै गर्दा पनि यहाँको आश्रयमा आउने गर्दछन् । त्यस्तै अस्पतालमा उपचारका लागि आएका हिंसा पिडीत बिरामीहरु पनि हाम्रोमा बस्न आउँछन् । सडकबालबालिकाहरु पनि सेल्टरमा राखिने गरेको छ । सेवाको हिसाबले हेर्दा त्यहाँ बसुन्जेल सबै प्रकारका सेवा उपलब्ध गराइन्छ । स्वास्थ्य उपचार, मनोपरामर्स सेवा, सिप सँग जोड्ने काम पनि गर्दछौं । खासमा त्यहाँ बसेर निस्केका महिलाहरुलाई बिउ पुँजी दिएर पठाउने पनि हामीले गरेका छौं । कम्तीमा सेल्टरमा आएर बाहिर निस्कदै गर्दा उसको क्षमताले भ्याए सम्मको दक्ष बनाएर पडाउने हामीले प्रयास गरी रहेका हुन्छौं ।

प्रश्न:न्यायिक समितिमा सबैभन्दा बढी कुन प्रकृतिका उजुरीहरू आउने गरेका छन् ? पछिल्ला वर्षहरूमा उजुरीको अवस्था कस्तो छ ?
उत्तरः– अहिले हामीले यो आर्थिक वर्षको केस हेर्दा लेनदेनका जोडीएर आएका छन्, त्यस्तै पैसा दिएका तमसुक भएका नतिरेका, सिमाना बिबादका केसहरु पनि आउने गरेकामा हामीले हाम्रो पालिकाकै अमिन लगेरै टुंगोमा पुगाएका छौं । मजदुरले तलब नपाएको अवस्थाहरु पनि उजुरीका रुपमा धेरै आउने घटना मध्येका हो । परिवारका, बालबालिकाका केसहरु पनि आउछन् । सम्बन्ध विच्छेद गर्न हिडेकाहरुलाई जोडीलाई समेत बोलाएर मिलापत्र गराएर पनि पठाएका छौं । अहिले उनीहरुले पारिवारीक फोटो सामाजिक सञ्जालमा हालेको देख्दा पनि आनन्द लाग्छ । हामी खुशी हुने भनेकै हामीले गरेको कामले देखाएको प्रभाबाट त हो ।
न्यायिक समितिमार्फत विवाद समाधान गर्दा मेलमिलाप र न्याय सम्पादन प्रक्रियालाई कसरी प्रभावकारी बनाइएको छ ?
उत्तरः– मेलमिलापकर्ताहरुबाट मेलमिलाप गराउने भन्ने निती छ । मेलमिलाप केन्द्र पनि वडा तह सम्म छ । बेनीको हकमा मेलमिलापकर्ता मार्फत् मात्रै नभएर न्यायीक समिति मार्फत पनि मेलमिलापलाई नै जोड दिएका छौं । बालबालिकाको हकमा सम्बेदनसिल केसहरुमा बाहेक सकभर मेलमिलापलाई नै जोड दिएका छौं ।
प्रश्न:महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि बेनी नगरपालिकाले हाल के–कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ?
उत्तरः– महिला हिंसा तथा बालबालिकाको हिंसाको कुरा भनेको कानुनी रुपमा नै बर्जित केस हो । महिला हिंसा भनेको कमजोरी पनले बढी हुने गरेको देखिने गरेको छ । आर्थिक तथा सामाजिक रुपमा भएको कमजोरीले हिंसाको रुप लिने गरेको हो । हामीले महिलाहरुलाई सक्षम बनाउनका लागि आमा सँग उपमेयर कार्यक्रम सञ्चालन गरेका छौं । सिपमुलक कार्यक्रमहरु गर्दै आएका छौं । किशोरी शसक्तीकरण कर्याक्रमहरु पनि यसैको उदाहरण हो ।

प्रश्न:बालविवाह, बहुविवाह तथा महिला हिंसाका घटनाहरूको अवस्था बेनी नगरपालिकामा कस्तो छ ? यस्ता घटनाहरू नियन्त्रणका लागि स्थानीय सरकारले कस्ता पहल गरिरहेको छ ?
उत्तरः– बालबिबाहको तथ्याङ्क नै त हामी संग एकिन छैन तर पनि हामीले जनचेतनाकै हिसाबले काम गर्दै आएका छौं । हामीले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका समयमा पनि सचेतना गराउने गरेका छौं । विद्यायलमा पढ्ने बालबालिका, आमा समूहलाई सचेत गराउने गरेका छौं । बालबिबाह अहिले खासै थाहा छैन, कहिकतै लुकीछिपी भएको हो भने थाहा भएन नत्र भने हामी त्यसलाई शुन्य सहनशिलताका साथ काम गर्दै अगाडी बढेका छौं ।
प्रश्न:अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी तथा सार्वजनिक सेवामा पहुँच सुनिश्चित गर्न नगरपालिकाले कस्ता कार्यक्रम अघि बढाएको छ ?
उत्तरः– हाम्रो पालिका भित्र दुई वटा श्रोत केन्द्र छन्, बहिरा र बौद्धिक अपाङ्गता भएका श्रोत केन्द्र छन् । तर पनि कतिपय अभिभावकले आफ्ना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई घरबाट बाहिर ननिकाल्ने गरेको पनि पाइयो । कतिपय परिवारले आफ्ना सन्ताहरुलाई बाहिर जान नदिने लाजका कारण यस्तो गर्ने गरेको पनि पाइयो । त्यसैले हामीले बौद्धिक अपाङ्गता डे केयर सेन्टर सुरु गरेका छौं । बेनी नगरपालिका भित्र अपांगता भएका व्यक्तिहरुको अवस्था हेर्दा नगरपालिकामा कुल ४३५ जना अपांगता परिचयपत्र प्राप्त व्यक्तीहरु रहेछन् । जसमा क बर्गको ४३। ख बर्गको २४६, ग बर्गको ११५ र घ बर्गको ३९ले परिचयपत्र पाएका छन् । अझै पनि केही छुटेको हुन सक्ला तर पनि हामीले सकभर नछुटाइ तथ्याङ्क निकाल्ने काम गरेका छौं । साथै हामीले कस्तो सम्म पनि भेट्यौं भने, समाजमा माथिल्लो तहका मानिनेहरुले पनि आफ्नो परिवारका सदस्यहरुमा भएको अपांगता पनि लुकाएको पाइयो । त्यस्तो पाए पछि शिविर नै सञ्चालन गरेर सचेतना गराउने र परिचयपत्र पनि बितरण गर्ने काम पनि गरियो । उनीहरुको अधिकार, परिवारले कसरी हेरचाह गर्ने भन्ने पनि सचेतना गरेका छौं, अपांगता न्यूनिकरणका लािग पनि सचेतना पनि सञ्चालित छन् । अपांगता भए पछि भन्दा पनि हुनै नदिनका लागि के गर्न सकिन्छ भनेर पनि हामीले अभियान चलाउने गरेका छौं । अपांगता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने सहायता सामग्रीहरु पनि नगरपालिकाले वार्षि कार्यक्र बनाएरै बितरण गर्ने गरेका छ ।
प्रश्न:महिला उद्यमशीलता, नेतृत्व विकास तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा बेनी नगरपालिकाले के–कस्ता उपलब्धि हासिल गरेको छ ?
उत्तरः– अहिले हामीले आमा समूह सँग उपमेयर कार्यक्रम गरेका छौं । यो कार्यक्रम अन्तरगत वडामा ठूलै बजेटको कार्यक्रम गर्ने गरेका छौं । प्रत्येक वर्ष एउटा वडामा ठुलै बजेटको सिप सँग जोड्ने र बजारीकरण गर्ने तर्फ लागेका छौं । स्थानीय श्रोत साधनको प्रयोग गरेर निरन्तर सिपमा जोड्दै छौं । यस वर्षको कार्यक्रमको अवस्था भन्नुपर्दा अहिले ७ र ८ मा कार्यक्रम चलीरहेको छ । बेनी नगरपालिका ५ तातोपानी कुण्डमा डुब्दा लगाउने कपडा पहिला बाहिरबाट आउथ्यो अहिले त्यहीका आमाहरुले पनि उत्पादन गर्न थाल्नु भएको छ । त्यो हामीले सञ्चालन गरेको आमा समूह सँग उपमेयर कार्यक्रमकै प्रभाव हो । सिंगामा तरकारी खेतीबाट उत्पादीत तरकारीलाई सुकाएर बजार पठाउने काम भएको छ ।
प्रश्न:आगामी दिनमा न्यायिक समिति, अल्पकालीन सेवा केन्द्र तथा महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको हितका लागि बेनी नगरपालिकाको प्राथमिकता र योजना के–के छन् ?
उत्तरः– न्यायीक समितिबाट मेलमिलापकर्ताहरुलाई सक्रिय बनाउने प्रयासमा छौ । अब नयाँ मेलमिलापकर्ता उत्पादन गर्ने र सक्रिय बनाउने प्रयासमा छौं । महिला उद्यमशिलताको क्षेत्रमा पनि काम गर्दै छौं । अब हामीले बजेटमा ध्यान दिनु पर्ने छ । अपांगताको क्षेत्रमा पनि सहायता सामग्रीहरुका लागि पनि बजेटिङ गरेका छौ । श्रोत साधनको सिमाले सोचे जस्तो काम गर्न सकिएको छैन तर पनि हामी सँग भएको अवस्था हेर्ने हो भने निकै राम्रो काम गरेका छौं । जति गरीएको छ न्यायोचित तबरले नै गरेका छौं भन्ने लाग्छ । जे जति हामीले गर्नेछौं त्यो प्रयाप्त नभए पनि व्यवहारीक रुपमा पुग्ने गरी गर्दै छौं ।
