म्याग्दीको पश्चिमी भू–भागमा अवस्थित मालिका गाउँपालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक सम्पदा, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीले भरिपूर्ण क्षेत्र हो। यहाँका डाँडाकाँडा, वनजंगल, झरना, हिमशृंखलाको मनोरम दृश्य, परम्परागत बस्ती र धार्मिक आस्थाका केन्द्रहरू पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिन्छन्। तर यति धेरै सम्भावना हुँदाहुँदै पनि धेरै पर्यटकीय गन्तव्यहरू अझै ओझेलमै छन्। पर्याप्त प्रचार–प्रसार, पूर्वाधार विकास, लगानी र योजनाबद्ध प्रवद्र्धनको अभावले यी प्राकृतिक तथा सांस्कृतिक सम्पदाले अपेक्षित पहिचान र लाभ पाउन सकेका छैनन्।
पर्यटन केवल घुमफिरको विषय मात्र होइन, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने र गाउँको समग्र विकासलाई गति दिने महत्वपूर्ण आधार पनि हो। यसका लागि स्थानीय सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र समुदायबीचको सहकार्य अपरिहार्य छ। विशेषगरी स्थानीय बजार र व्यवसायसँग प्रत्यक्ष जोडिएको उद्योग वाणिज्य संघको भूमिका पर्यटन प्रवद्र्धनमा अझ प्रभावकारी हुन सक्छ।
यिनै विषयलाई केन्द्रमा राखेर म्याग्दी उद्योग वाणिज्य संघ मालिका बजार इकाइका अध्यक्ष लेकबहादुर पुनसँग अमृत बास्कुनेले मालिका गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूको वास्तविक अवस्था, पर्यटन विकासका सम्भावना, चुनौती, आवश्यक पूर्वाधार, निजी क्षेत्रको भूमिका तथा भविष्यका योजनाबारे गरिएको विशेष कुराकानी यहाँ प्रस्तुत गरेका छौँ।
मालिका गाउँपालिकाभित्र रहेका प्रमुख पर्यटकीय सम्भावनाहरू के–के हुन् ? ती सम्भावनाहरूलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने तपाईंको दृष्टिकोण के छ ?
उत्तर ः वडागत रुपमा अध्ययन गर्दा क्रमशः वडा नम्बर १ निस्कोटमा मनै लोभ्याउने हिमालको छायामा टल्कने बराही ताल, प्राकृतिक सौन्दर्य बोकेको राताम्य गुराँस, लहरै देखिने अनगिन्ती हिमाल, मनोकांक्षा प्राप्ति हुने शिद्ध (ठुल) देवता थान, भालु गुफा, स्याल गुफा रहेको छ । त्यसैगरी २ नम्बर वडा रुममा स्लेट ढुङ्गा खानी, दुरलेक मन्दिर रहेको छ । त्यस्तै मालिका गाउँपालिकाको ३ नम्बर वडा डाँडागाउँमा रमणिय शोले डाडा, स्वादिस्ट ट्राउट माछा पालन केन्द्र रहेको छ । ४ नम्बर वडा ओखरबोटमा तामाखानी रहेको छ भने ५ नम्बर वडा देविस्थानमा देउताभिर, रमणिय बालचौर पनि त्यही पर्छ । मालिका गाउँपालिकाको केन्द्र समेत रहेको वडा नम्बर ६ मा भने नेपाल मात्र नभएर विश्वमै चर्चीत मध्येको एक भाले बास्ने ताल, प्रशिद्ध मालिकाधुरी तथा ७ नम्बर वडामा पनि निकै चर्चित स्थलहरु छन् । त्यस मध्ये भन्नु पर्दा प्रख्यात प्रभु चेलास्थल वडा नम्बर ७ को मुख्य पर्यटकीय केन्द्र हो । हामीले पर्यटकीय स्थलहरुको पहिचान गर्ने र त्यसको उजागर गर्नका लागि धेरै प्रयास गर्न जरुरी छ र त्यसले पनि यहाँका प्रमुख प्रर्यटकिय स्थल र सम्भावना बोकेका ठाउँहरुको प्रचार प्रसारमा टेवा पुग्छ । यसको विकासको लागि समग्र रुपमा भन्नु पर्दा मालिका गाउँपालिका, म्याग्दी उद्योग बाणिज्य संघ, म्याग्दी उद्योग वाणिज्य संघको मालिका बजार इकाइले वार्षिक कार्यक्रम बनाएर मिडिया, संचारकर्मीबाट देश बिदेशमा प्रचार प्रसार लगायतका कार्यहरु गर्नु जरुरी छ । त्यसैगरी मालिका गाउँपालिका तथा धवलागिरी गाउँपालिकाको पनि सहभागीता र सहकार्यमा पर्यटन बर्ष मनाउँदै बिभिन्न स्थानिय सांस्कृतिक नृत्यद्वारा पर्यटन स्वागत् कार्यक्रम गरेर यसलाई अझै धेरै प्रचार प्रसार गरेको खण्डमा सबैलाई राम्रो हुने आंकलन गर्न सकिन्छ ।
हालसम्म मालिका गाउँपालिकाका पर्यटकीय स्थलहरूको विकास र प्रवद्र्धन कस्तो अवस्थामा छ ? के यो पर्याप्त छ ?
उत्तर ः मालिका गाउँपालिका क्षेत्र भित्रको पर्यटनको वारेमा हेर्नु पर्दा हाल सम्मको अवस्थाको वास्तविकता हेर्दा विदेशी पर्यटकहरु यही मालिका गाउँपालिका हुँदै धवलागिरी तथा अन्य हिमाल आरोहणको लागि जाने गरेका छन् । विदेशी पर्यटकहरु सामान्यतया मालिका गाउँपालिका भित्र एकदुई दिन रोकीएको अवस्था हामीले पाउन मुस्कील नै छ । तर ऋषिमुनिहरु भने प्रभुचेला दर्शन गर्न आउनु हुने गरेको भने छ । त्यस्तै स्थानीय तथा आन्तरीक पर्यटकहरु मालिका धुरीमा पुजाको लागि आवतजावत गरेको पाईन्छ । यसको विकास र प्रबद्र्धनको लागि समग्र मालिका गाउँपालिका, उद्योग बाणिज्य संघ, पर्यटन विकास बोर्ड, राजनीतिक दल, बुद्धिजीवी सर्कल, पत्रकार, मिडियाकर्मी, सुरक्षा निकायको बृहद छलफल पछिको दिगो निर्णय पछि यो क्षेत्रमा ठूलो सम्भावना रहेको छ । यी माथि उल्लेखित काम गरेको खण्डमा भने हामीले पर्यटन क्षेत्रको बारेमा शतप्रतिशत गरेको भनेर भन्न सक्ने अवस्था रहन्छ ।
पर्यटन क्षेत्रको विकासमा देखिएका मुख्य चुनौतीहरू के–के हुन् ? (जस्तैः पूर्वाधार, पहुँच, प्रचार–प्रसार, लगानी आदि)
उत्तर ः पहिलो कुरा यसको सम्भावना विकासको लागि जन स्तरमा चेतनाको विकास हुनु जरुरी छ । जस्तै सम्मान, सत्कार, मनोरञ्जन, पछि स्मरणीय कोशेली जस्ता विषयमा हामीले निकै ध्यान पुगाउनु पर्ने देखिन्छ । चुनौतिको सन्दर्भमा भन्नुपर्दा त मुख्यतया हाम्रो क्षेत्र सम्म आइपुग्ने सडक, सञ्चार र सुचना, गाउँपालिकाले बार्षिक कार्यक्रममा नराख्नु वा सम्बन्धित निकायमा पहल नहुनुको कारण संगसंगै लगानीमा पनि कमि हुनु हो । यस क्षेत्रमा पूर्वाधार विकास मुख्य चुनौती हो । मानिसहरु आएनन् मात्रै भनेर भएन उनीहरु आउनका लागि सहज सडक सञ्जाल हुन पर्छ र उनीहरुका लागि व्यवस्थीत बास पनि चाहिन्छ । त्यसैले गर्दा हाम्रो यस क्षेत्रमा भएका पर्यटकीय स्थलहरुको चर्चा मात्रैले पनि पुग्दैन चर्चा सँगै त्यो ठाउँ सम्म पुग्ने उचित सडक सञ्जाल र उचित स्वागत सत्कारका साथै व्यवस्थीत र आरामदायी वासको पनि मुख्य चुनौती देखिन सक्छ । त्यस्तो चुनौतीको सामना गर्ने भन्दा पनि चुनौती हटाएर हामी अगाडी बढ्नु पर्छ र त्यसका लागि हामीले पनि प्रयास गरेका छौं । बासका लागि होटल तथा रेष्टुरेन्टहरु पनि प्रयाप्त मात्रामा रहेका छन् । अब हामीले बुझ्नु पर्ने कुरा के हो भने यहाँ भएका पर्यटन व्यवसायीलाई अझै थप व्यवसायीक बनाउने र यो पेशामा पनि धेरै सम्भावना छ भन्ने देखाउँदै नयाँ व्यवसायीहरुलाई यसमा आकर्षित बनाउनु पर्ने हुन्छ ।
मालिका गाउँपालिकाभित्रका महत्वपूर्ण पर्यटकीय स्थलहरूको पहिचान र ब्रान्डिङ गर्न के–कस्ता प्रयासहरू भइरहेका छन् ?
उत्तर ः यसको विकासको लागि उद्योग बाणिज्य संघले जिल्लासंग आवश्यक छलफल, पहल र सुचना कार्यक्रमको लागि वडा, पालिकामा प्रपोजल पेशको लागि सुझाव संकलन कार्य तत्कालै गर्न कार्य समिति मा छलफल, पहल गर्ने कार्य भएको छ। यस मालिका गाउँपालिका भित्र जन्मेर विश्वका बिभिन्न क्षेत्रमा छरिएर रहेका नागरिकहरुलाई पनि हामीले यहाँको प्रचारका लागि आग्रह गरेका छौं । अब हामीले चाँडैनै मालिका गाउँपालिका भित्रका कम्तिमा पनि २० वटा पर्यटकीय क्षेत्र पहिचान गरेर त्यसको घोषणा गर्दै छौं । पर्यटकीय क्षेत्रको पहिचान र घोषणा सँगै त्यसको प्रचारमा पनि हामीले सञ्चार माध्यम सँग सहकार्य गरेर अगाडी बढ्ने योजना बनाएका छौं । अब चाँडै नै यसको बारेमा हजुरहरु सबैले जानकारी पाउनु हुनेछ । यस कार्यले मालिका गाउँपालिकाको पर्यटकीय स्थलको पहिचान, तथा प्रवद्र्धन गर्नुका साथै ब्राण्डका रुपमा पनि विकास गर्ने हामीले सोच बनाएका छौं ।
स्थानीय स्तरमा उद्योग तथा व्यापारको अवस्था कस्तो छ ? पर्यटनसँग यसको सम्बन्धलाई कसरी जोडेर अघि बढाउन सकिन्छ ?
उत्तर ः म्याग्दी उद्योग बाण्ज्यि संघको मालिका गाउँपालिका इकाई क्षेत्र अन्तर्गतका ब्यापार ब्यवसायलाई हेर्दा कोभिड पछिको अवस्था नाजुक छ । बजारबाट पलायन हुनेको संख्यामा बृद्धि भएको बजारको संख्यामा घट्दो छ । उधोग, ब्यापारलाई उकास्न, सरल कर्जाको ब्यवस्था, शान्त, स्वच्छ वातावरण संगै व्यापक पर्यटन प्रवद्र्धन विकासमा आवश्यक पहल कदमले मात्र ब्यापार सम्भावना छ । किनकि पर्यटन र ब्यापार नङ मासुको जस्तै सम्बन्ध र एक अर्कोको परिपुरक हुन । यसरी जोडेर हेर्न सकिन्छ । अझै भन्नु पर्दा त पर्यटन भनेको पनि एउटा निकै मजबुत र भरपर्दो उद्योग हो । यो उद्योगले हाम्रो समग्र विकासमा निकै ठूलो टेवा पुगाउने गर्दछ । पर्यटन व्यवसाय नै समग्र अर्थतन्त्रको मुख्य पाटो भएको हुनाले पर्यटन ब्यापारको निकै महत्वपूर्ण पाटो हो । पर्यटन उद्योगको विकास हुनासाथ ब्यापारको पनि बिकास हुन्छ । पर्यटकको आगमनले उद्योग, ब्यापार, कृषि तथा अन्य व्यवसायलाई पनि प्रत्यक्ष सरोकार राख्ने भएको हुनाले हामीले यस तर्फ सोच बिचार गरेर अगाडी बढ्ने बढाउने विषयमा पनि मनन गरेका छौं ।
परम्परागत कला, संस्कृति तथा स्थानीय उत्पादनहरूको संरक्षण र प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघले कस्तो भूमिका खेलिरहेको छ ?
उत्तर ः पर्यटन प्रवद्र्धन विकासमा परम्परागत कला, सस्कृतिले पनि ठुलो भूमिका खेलेको हुन्छ । त्यसैले यसको संरक्षण गर्न र स्थानीय उत्पादनलाई प्रोत्साहित उत्पादनमा बृद्धि गर्नको लागि बजार व्यवस्थापन र पुरुस्कृत गर्न आत्मनिर्भर बनाउने उद्देश्यका लागि अनुदानको लागि पालिका, जिल्लामा पहल गर्ने, बिउ मल कीटनाशक औषधिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण र समन्वय गर्ने काम भएको छ । दर्ता कर चुक्ताको आवश्यक सहयोगको लागि पनि कार्य भै थप बिश्वास जित्न सफलता प्राप्ति भएको छ । हाम्रो मुल ध्येय भनेकै उद्योग, कला र व्यापारको प्रवद्र्धन भएको हुनाले पनि यस क्षेत्रमा हाम्रो सोच, उद्देश्य र लक्ष्य निर्धारण गरीएको छ । कुनै पनि हालतमा कला संस्कृतिको संरक्षण सम्बद्र्धन र प्रवद्र्धनमै हामी केन्द्रीत भएर अगाडी बढ्ने योजना हाम्रो रहेको छ । यसकालागि पनि हामीले पहलकदमी चाली रहेको अवस्था हो ।
स्थानीय उत्पादन (जस्तैः कृषि उपज, हस्तकला आदि) लाई बजारसँग जोड्न कस्ता पहलहरू भइरहेका छन् ?
उत्तर ः पहिलो कुरा त स्थानीय उत्पादन तथा हस्तकला निर्माण नै ह्रास वा कमि हुदै गएको सन्दर्भमा जस्को लागि स्थानीय सरकार लगायत देशले नै कृषि उपज र हस्तकला निर्माण गर्न नया रणनीति अपनाउन, उत्पादनमा बृद्धि गर्न उद्योग बाणिज्य संघ मालिकाले पहल गर्ने काममा निरन्तरता दिएको छ । केहि मात्रामा भएका उत्पादनको बजारीकरण गर्न र जोड्न यातायातको निरन्तरता र सहज वातावरण बनाउन पहल भएको छ । हामीले उत्पादीत बस्तुको बजारीकरणका लागि पहल गरी रहेका हुन्छौं । यदि कसैले आफूले उत्पादन गरेको सामग्रीको बारेमा जानकारी गराएको खण्डमा उनीहरुको उत्पादनलाई बजार सम्म पुगाउने वा बिक्रेता सँग समन्वय गरेर उनीहरुको सामग्री बिकाउनका लागि पन हाले पहल गर्ने गरेका छौं ।
पर्यटक आकर्षित गर्नका लागि आवश्यक सेवा–सुविधा (होटल, होमस्टे, यातायात, गाइड आदि) को अवस्था कस्तो छ ? के सुधार आवश्यक छ ?
उत्तर ः पर्यटक आकर्षित गराउनका लागि जनस्तरबाट चेतनाको विकास हुन जरुरी हुन्छ । त्यसपछि पर्यटकको इच्छा, चाहना र रोजाईको बिषय संगै उपयुक्त होमस्टे वा वासस्थानको आवश्यकता पर्ने हुँदा सुविधा सम्पन्न होटेल र गाइड लाइनको ब्यबस्थापन हुन्छ तर जुन पर्यटन विकासको लागि पदमार्ग, निरन्तर यातायातको लागि सुरक्षित सडकको विकास संगै प्रचार प्रसारको उत्तिकै भुमिका रहने भएकोले स्थानीय सरकारले बृहद गुरुयोजना बनाई निरन्तरता दिएमा यो प्रचुर सम्भावना सुधार हुने देखिन्छ ।
आगामी दिनमा मालिका गाउँपालिकालाई पर्यटन तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्न तपाईंका प्राथमिक योजना के–कस्ता छन् ?
उत्तर ः मालिका गाउँपालिकाको केन्द्र दरवङ म्याग्दी जिल्लाको दोस्रो सदरमुकाम वा ब्यापारिक केन्द्रको रुपमा चिनिने गर्द छ । साबिकको १४ वटा गाउँ विकास समितिको मुल प्रवेशद्वार र दुई जिल्लाको प्रवेश नाका जस्तो गरिमा बोकेको मालिका गाउँपालिकाको दर्वाङ बजारको यो सुनसान, ब्यापारिक चिन्तन, सिधा यातायात र ब्यापार जसमा बिभिन्न द्ववार प्रणाली कर, ब्यापारिक भेदभाव, वेवास्ता सरकार र ब्यापारिक आवाजको सुक्ष्म सुनुवाइ आदिलाई अध्ययन गर्दै ब्यापारिक ऐक्यबद्धता हुदै आगामी दिनमा बिभिन्न निकाय स्थानीय सरकार ओझेलमा रहेका कृषक, कालिगढ, बुद्धिजीवी सर्कल, पत्रकार, मिडियाकर्मी, सुरक्षा निकायको बृहद छलफल पछिको योजनामा पर्यटन स्थल अध्ययन, गुरुयोजना सहितको बजेटको ब्यबस्थापन, प्रत्येक वडामा भेला सहित आत्मआलोचना सहित समिक्षा, पालिका, जिल्ला संग समन्वय र सुझाव पत्रकार भेला सहिद प्रचारप्रसार गर्ने र मालिका बासी बैदेशिक सञ्जाल वनाई मालिकालाई पर्यटन र ब्यापारिक हब बनाउने समग्र संघको योजना छ । यति मात्रै होइन हाम्रो यही मालिका गाउँपालिकाको केन्द्र हुँदै बागलुङ तथा रुकुम सम्म पुग्ने सडक पनि व्यवस्थीत गर्न सकिन्छ भने यही रुट हुँदै धवलागिरी गाउँपालिकाको गुर्जा हुँदै डोल्पा जोड्ने सडक निर्माण गर्न सकियो भने पनि निकै राम्रो हुन्छ । यता देखि डोल्पा जोडीएको खण्डमा डोल्पाली नागरिकहरुका लागि झण्डै २ सय किलोमिटर छोटो रुट यही मार्गबाट पर्छ । त्यसैले हामीले यहाँ मात्रै मालिका भित्रको नभएर कर्णाली प्रदेशको डोल्पा सम्म पनि म्याग्दीलाई सिधा सवारी सञ्जाल जोडेर अगाडी बढ्ने तर्फ पनि लाग्ने योजना हो । त्यसका लागि हाम्रो मात्र चाहना र पहलले नहुने भएको हुनाले जिल्ला, प्रदेश र संघिय सरकार सँग पनि समन्वय र लविङका लािग पनि हामीले प्रयास गर्नेछौं ।
मालिका गाउँपालिकाको पर्यटन र व्यापार प्रवद्र्धनका लागि स्थानीय सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्य कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने तपाईंको सुझाव के छ ?
उत्तर ः उद्योग बाण्ज्यि संघ भनेकै उद्योग कला तथा व्यापार प्रवद्र्धन गर्नकै लागि हो । हामीहरुले पनि यही क्षेत्रमा काम गर्दै आएका छौं र हाम्रो मुख्य योजना भनेको पनि यही हो । उद्योग बाणिज्य संघले जुन पर्यटन प्रवद्र्धन, ब्यापारिक चिन्तन गरेको छ यसको जस तथा फाइदा पालिकामा हुन्छ । किनकि जति ब्यापार ब्यवसाय बढ्यो उति बढी राजस्व पनि बृद्धि हुन्छ । स्थानीय व्यापारीहरुको उन्नती भनेको स्थानीय सरकारको पनि उन्नती हो । हामीले जे जति काम गरेका हुन्छन् त्यो अनुसार राज्यलाई राजश्व तिरिने भएको हुनाले पनि हामीले हरेक कामको पछाडी सहकार्य र समन्वय जोडीएकै हुन्छ । त्यसैले हामीले अहिलेको अवस्थामा पनि स्थानीय, प्रदेश र संघिय सरकार सम्म पनि समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने योजना हो र त्यो अनुसार नै चल्ने मा हामी विश्वस्त छौं । र अन्त्यमा मालिका गाउँपालिका क्षेत्रको पर्यटन विकास र यहाँको समग्र अवस्थाको बारेमा आफ्नो धारणा राख्ने मौका दिनु भएकोमा तपाईहरुलाई पनि धेरै धेरै धन्यवाद ।
