अमृत बास्कुने
बाबाले बोलाएपछि म दौडिन्थेँ।
“ए…!”
त्यो एउटा आवाज काफी हुन्थ्यो।
के काम थियो, किन बोलाउनुभयो, के गल्ती भयो—केही सोध्ने आँट हुँदैनथ्यो। पहिले पुगिन्थ्यो, अनि मात्र कुरा सुनिन्थ्यो।
आमाले रिसाएर आँखा तर्नुभयो भने त झन् शरीरभरि पसिना आउँथ्यो।
हामीलाई बाबाआमासँग डर लाग्थ्यो।
तर त्यो डरभित्र माया थियो।
घरमा बाबाको निर्णय अन्तिम हुन्थ्यो। आमाको कुरा पनि आदेशजस्तै लाग्थ्यो। हामीलाई “किन?” भनेर प्रश्न गर्न सिकाइएको थिएन। “हुन्छ” भन्न सिकाइएको थियो।
बाबाले भनेपछि खेत जानुपर्थ्यो।
आमाले भनेपछि घाँस काट्नुपर्थ्यो।
पढ्न भन्यो भने पढ्नुपर्थ्यो।
साँझ घर फर्किन ढिलो भयो भने ढोकामै उभिएर स्पष्टीकरण दिनुपर्थ्यो।
त्यो बेला हामीलाई लाग्थ्यो—हाम्रा बाबाआमा कति कडा छन्!
आज सम्झन्छु, उनीहरू कडा थिएनन्।
उनीहरूसँग विकल्प कम थियो।
उनीहरूको संसार सीमित थियो। परिवार, खेतबारी, गाउँ, समाज र आफ्नो जिम्मेवारी। छोराछोरी बिग्रिए भने छिमेकीले के भन्लान् भन्ने डर थियो। छोराछोरी गलत बाटोमा लागे भने समाजले औँला उठाउला भन्ने डर थियो।
त्यसैले उनीहरूले हामीलाई नियन्त्रण गरे।
हामीले त्यसलाई अनुशासन भन्यौँ।
समय फेरियो।
हामी हुर्कियौँ।
गाउँबाट बजार आयौँ। बजारबाट शहर पुग्यौँ। हातमा मोबाइल आयो। संसार घरभित्र पस्यो।
हामीले सोचेका थियौँ—अब हाम्रा छोराछोरीलाई हामीले जस्तो दुःख दिनु पर्दैन।
उनीहरूलाई स्वतन्त्र बनाउनेछौँ।
उनीहरूको कुरा सुन्नेछौँ।
उनीहरूसँग साथी बनेर बस्नेछौँ।
तर एउटा दिन अचानक महसुस भयो—
हामी आफ्ना छोराछोरीसँग डराउन थालेछौँ।
छोरा मोबाइलमा के गर्दैछ, सोध्न डर लाग्छ।
छोरी राति अबेरसम्म अनलाइन छे, “किन नसुतेको?” भन्न डर लाग्छ।
“पढाइ कस्तो भइरहेको छ?” भन्दा झर्किन्छ कि भन्ने डर।
“यो साथी को हो?” भन्दा “तपाईंलाई के मतलब?” भन्छ कि भन्ने डर।
हामी उनीहरूलाई सम्झाउन खोज्छौँ।
उनीहरू हामीलाई पुरानो पुस्ता ठान्छन्।
हामी भन्छौँ—
“मोबाइल अलि कम चलाऊ।”
उनीहरू भन्छन्—
“तपाईंलाई टेक्नोलोजीको के थाहा?”
हामी भन्छौँ—
“समयमै घर आऊ।”
उनीहरू भन्छन्—
“म बच्चा होइन।”
हामी चुप लाग्छौँ।
किनकि हामीलाई डर लाग्छ—
कतै धेरै कडा भएर बोल्दा उनीहरू हामीसँग टाढा नहोऊन्।
हामीलाई डर लाग्छ—
कतै उनीहरूले हामीसँग आफ्ना कुरा भन्न छोडिदिए भने?
कतै उनीहरूलाई समस्या पर्दा हामीलाई सम्झिएनन् भने?
कतै उनीहरू प्रेममा परे र हामीलाई बताएनन् भने?
कतै उनीहरू निराश भए र हामीलाई थाहा नै भएन भने?
हामीलाई छोराछोरी बिग्रन्छन् भन्ने डरभन्दा पनि
उनीहरू हामीबाट टाढा हुन्छन् कि भन्ने डर बढी लाग्छ।
हामीले आफ्ना बाबाआमाबाट लुकाएर धेरै कुरा गरेका थियौँ।
तर आज हाम्रा छोराछोरीले हामीबाट के–के लुकाइरहेका छन् भन्ने सोच्दा राति निद्रा खुल्छ।
हामीले प्रेमपत्र लुकाएर राख्थ्यौँ।
उनीहरूले पूरा सम्बन्ध लुकाएर राख्न सक्छन्।
हामी रेडियोमा गीत सुन्थ्यौँ।
उनीहरू संसारभरिका गीत, भिडियो र विचार बोकेर हिँड्छन्।
हामीलाई गाउँका पाँच जना मान्छेको विचारले असर गर्थ्यो।
उनीहरूलाई हजारौँ अपरिचित मान्छेको प्रतिक्रिया, लाइक र कमेन्टले असर गर्छ।
हामीसँग गलत बाटो रोज्ने अवसर कम थियो।
उनीहरूसँग अवसर पनि धेरै छन्, प्रलोभन पनि धेरै।
हामीलाई बाबाको रिससँग डर लाग्थ्यो।
उनीहरूलाई हाम्रो रिसभन्दा पनि आफ्नै संसार गुम्ने डर लाग्छ।
त्यसैले हामी पनि चुप लाग्छौँ।
कहिलेकाहीँ छोराछोरीको कोठाको ढोकामा पुगेर फर्किन्छौँ।
मनमा धेरै प्रश्न हुन्छन्।
तर मुखबाट एउटा मात्र निस्कन्छ—
“खाना खान्छौ?”
उनीहरू भन्छन्—
“अहिले पर्दैन।”
हामी फर्किन्छौँ।
भान्सामा राखेको खाना चिसिँदै जान्छ।
र हाम्रो मन पनि।
कहिलेकाहीँ म आफ्नै बाबालाई सम्झन्छु।
बाबाले कहिल्यै सोध्नुभएन—
“तिमीलाई मसँग डर लाग्छ?”
तर उहाँको अनुहार हेरेर हामीले आफ्नो गल्ती बुझ्थ्यौँ।
आज म आफ्नो छोराछोरीलाई हेर्छु।
उनीहरूलाई मसँग डर लागोस् भन्ने चाहन्नँ।
तर उनीहरूले मेरो कुरा पनि सुनून् भन्ने चाहन्छु।
यहीँनेर हाम्रो पुस्ता अलमलिएको छ।
हामीले पुरानो कठोरता छोड्यौँ।
तर नयाँ अभिभावकत्व कसरी गर्ने भन्ने पूर्ण रूपमा सिकिसकेका छैनौँ।
हामी आफ्ना छोराछोरीलाई स्वतन्त्रता दिन चाहन्छौँ।
तर स्वतन्त्रताको सीमारेखा कहाँ हो, हामी आफैँ निश्चित छैनौँ।
हामी उनीहरूको साथी बन्न खोज्छौँ।
तर कहिलेकाहीँ उनीहरूलाई साथीभन्दा बढी अभिभावक चाहिन्छ।
हामी उनीहरूलाई “तिमी जे चाहन्छौ, त्यही गर” भन्छौँ।
तर मनभित्र चाहन्छौँ—
“हामीले भोगेको दुःख तिमीले नभोग।”
उनीहरूलाई असफल हुन दिन चाहन्छौँ।
तर उनीहरू असफल हुँदा हाम्रो मन उनीहरूभन्दा पहिले टुट्छ।
उनीहरूलाई आफ्नो निर्णय गर्न दिन चाहन्छौँ।
तर गलत निर्णय गरे भने जीवनभर पछुताउलान् कि भन्ने डरले हामी रातभरि सोचिरहन्छौँ।
शायद यही हाम्रो पुस्ताको सबैभन्दा ठूलो विडम्बना हो।
हामी बाबाआमासँग डराउने अन्तिम पुस्ता हौँ।
र
आफ्ना छोराछोरीसँग डराउने पहिलो पुस्ता।
तर यो डर छोराछोरीसँगको होइन।
यो डर हो—सम्बन्ध टुट्ने डर।
यो डर हो—आफू असल अभिभावक बन्न नसकिएको डर।
यो डर हो—आफूले माया गर्दागर्दै पनि आफ्ना छोराछोरीले आफूलाई नबुझेको डर।
र सबैभन्दा ठूलो डर—
एक दिन उनीहरू ठूलो भएर आफ्नो जीवनमा व्यस्त हुँदा,
हामीलाई सम्झिने समय नै नहोस् कि?
त्यस दिन हामीसँग घर हुनेछ।
कोठाहरू हुनेछन्।
पुराना फोटोहरू हुनेछन्।
उनीहरूले बाल्यकालमा बनाएका चित्रहरू हुनेछन्।
तर घरभित्र उनीहरूको आवाज हुनेछैन।
त्यसैले आज म आफ्ना छोराछोरीलाई एउटा कुरा मात्र भन्न चाहन्छु—
म तिमीलाई नियन्त्रण गर्न चाहन्नँ।
म तिमीलाई रोक्न पनि चाहन्नँ।
म केवल यति चाहन्छु—
तिमी जहाँ गए पनि,
जति ठूलो भए पनि,
जति आधुनिक भए पनि,
जिन्दगीले जति चोट दिए पनि,
घर फर्किने बाटो नबिर्स।
किनकि तिमीले हामीलाई पुरानो पुस्ता ठाने पनि,
हामी तिम्रो भविष्य बुझ्न नसक्ने हुन सक्छौँ,
तर तिम्रो दुःख बुझ्न चाहने मान्छे हौँ।
हामीसँग सबै प्रश्नको उत्तर नहुन सक्छ।
तर तिम्रो आँसु देख्दा हाम्रो मन अझै दुख्छ।
तिमी हामीसँग असहमत हुन सक्छौ।
हामीसँग रिसाउन सक्छौ।
हामीलाई गलत पनि भन्न सक्छौ।
तर कृपया—
हामीसँग कुरा गर्न भने नछोड।
किनकि हामी बाबाआमासँग डराएर हुर्किएका मानिस हौँ।
हामीलाई डरको भाषा थाहा छ।
तर अब हामी आफ्ना छोराछोरीलाई
डर होइन, विश्वासको भाषा सिकाउन चाहन्छौँ।
सायद यहीँबाट एउटा पुस्ताको गल्ती अर्को पुस्तामा दोहोरिनबाट रोकिन्छ।
र सायद त्यस दिन,
हामी साँच्चिकै भन्न सक्नेछौँ—
“म बाबाआमासँग डराउने अन्तिम पुस्ता थिएँ, तर मेरा छोराछोरी मसँग डराउनु नपर्ने पुस्ता बने।”
