गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चलचित्र निर्देशक, वृत्तचित्र निर्माता तथा सञ्चारकर्मी भुपेन्द्र बानियाँलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा मनोनयन गरेको छ।
गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ बमोजिम माननीय मुख्यमन्त्रीज्यूको असार २२ गतेको निर्णयअनुसार चार वर्षका लागि मनोनयन गरिएका बानियाँले बिहीबार (असार २५ गते) गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहल, पोखरामा आयोजित एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रतिष्ठानका कुलपति कुसुमाकर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवमनोनीत प्राज्ञ सभा सदस्यहरूको पदस्थापनसमेत गरिएको थियो।
म्याग्दीको बेनी नगरपालिका–६ स्थायी घर भई हाल पोखरा महानगरपालिका–९, चिप्लेढुङ्गा निवासी बानियाँ विगत डेढ दशकदेखि चलचित्र, वृत्तचित्र, फोटोग्राफी, दृश्य–श्रव्य सञ्चार तथा सांस्कृतिक दस्तावेजीकरणको क्षेत्रमा निरन्तर सक्रिय छन्। उनी ‘क्रियटिभ मिडिया प्रोडक्सन’का संस्थापक तथा निर्देशक हुन्।
उनले हालसम्म नेपालका विभिन्न भाषा, कला, साहित्य, संस्कृति, पर्यटन, सम्पदा तथा सामाजिक विषयवस्तुहरूमा केन्द्रित रहेर ८० भन्दा बढी वृत्तचित्र र २०० भन्दा बढी म्युजिक भिडियोहरूको सफल निर्देशन तथा निर्माण गरिसकेका छन्।
लोकनृत्य कलाकारका रूपमा आफ्नो सांस्कृतिक यात्रा प्रारम्भ गरेका बानियाँले म्याग्दी काली एफएममार्फत रेडियो पत्रकारिताको सुरुवात गरेका थिए। विगत लामो समयदेखि फोटोग्राफी, सिनेमाटोग्राफी, वृत्तचित्र निर्माण, अभिनय तथा डिजिटल मिडियामार्फत नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा क्रियाशील बानियाँ हाल लोकप्रिय पोडकास्ट ‘हाम्रो अड्डा’ (Hamro Adda Podcast) का सञ्चालक तथा प्रस्तोतासमेत हुन्।
मनोनयनपछि प्रतिक्रिया दिँदै प्राज्ञ सभा सदस्य बानियाँले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई सम्मानपूर्वक स्वीकार गर्दै गण्डकी प्रदेशको कला, भाषा, साहित्य, चलचित्र तथा सांस्कृतिक सम्पदाको संस्थागत संरक्षण, प्रवर्द्धन र अभिलेखीकरणमा आफ्नो अनुभव र क्षमताले भ्याएसम्म योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले विशेषगरी मौलिक एवं रैथाने सांस्कृतिक सम्पदाको डिजिटल अभिलेखीकरण गर्ने, चलचित्र तथा वृत्तचित्रमार्फत गण्डकी प्रदेशको पहिचानलाई विश्वमाझ पुर्याउने, युवा कलाकार तथा स्रष्टाहरूको क्षमता अभिवृद्धि गर्ने र नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा आकर्षित गर्ने कार्यक्रमहरूलाई आफ्नो कार्यकालमा प्राथमिकताका साथ अघि बढाउने बताए।
