गणेश नेपालीको
शरीरसंगै
जलेको थियो
राज्यको
नागरिकप्रतिको उत्तरदायित्व पनि।
उसकाे शरीरको धुवाँ
आकाशतिर हाेइन
सिधै
सत्ताका ढोकाहरूमा ठोक्किँदै
राज्यलाई सोधिरह्यो—
“कति गहिरो हुनुपर्छ
एउटा नागरिकको पीडा
तिम्रो कानसम्म पुग्न?”
देश
भूकम्पले मात्र ढल्दैन
नागरिकको विश्वास
भत्किँदा पनि ढल्छ।
यदि
आफ्नो पीडाभन्दा
आगोमाथि
बढी विश्वास हुन थाल्यो भने
त्यो हार
मानिसको होइन
राज्यको हो।
ए सरकार
भनिदेउ न
“नागरिकले
कति पटक मर्नुपर्छ
राज्य एक पटक ब्युँझिन?”
