अमृत बास्कुने
हातले धनुषको प्रत्यञ्चा(धनुको डोरी) विस्तारै तान्छ । आँखा लक्ष्यको केन्द्रमा अडिन्छ । शरीर स्थिर हुन्छ । वरिपरि केही क्षण सन्नाटा छाउँछ । त्यसपछि औँलाबाट फुत्किएको तीरले हावालाई चिर्दै आफ्नो गन्तव्य समाउँछ । लक्ष्यको केन्द्रमा पुगेर तीर गाडिने बित्तिकै वरिपरिबाट तालीको गडगडाहट सुनिन्छ । अनुभवी खेलाडी मुस्कुराउँछन् । नयाँ पुस्ताले सिक्ने उत्साह देखाउँछन् । वृद्धहरूले आफ्ना पुर्खाको सम्झना गर्छन् । यो दृश्य कुनै अन्तर्राष्ट्रिय आर्चरी प्रतियोगिताको मात्र होइन । यो नेपालको हिमाली सभ्यताभित्र अझै जीवित रहेको एउटा प्राचीन सांस्कृतिक अभ्यासको दृश्य हो । थकाली समुदायले यसलाई आज पनि ‘तारा हान्ने’ भन्छ ।
विश्वले आधुनिक खेलका रूपमा स्वीकार गरेको आर्चरी र थकाली समुदायको तारा हान्ने बीच उद्देश्य एउटै देखिए पनि आत्मा फरक छ । एउटा पदक जित्ने प्रतिस्पर्धा हो भने अर्को पुस्तौँदेखि पुस्तौँसम्म संस्कृतिलाई जीवित राख्ने अभियान हो । एउटा खेल हो भने अर्को जीवनदर्शन पनि हो ।

आज मुस्ताङको थाकखोला क्षेत्रबाट सुरु भएको यो परम्परा म्याग्दी, पर्वत, कास्की, बागलुङ, काठमाडौं र विदेशसम्म पुगेका थकाली समुदायसँगै बाँचिरहेको छ । विशेषतः म्याग्दीको बेनीस्थित थकाली सेवा समितिको प्राङ्गण अहिले पनि यस परम्पराको एउटा जीवन्त अभ्यासस्थल बनेको छ । हरेक अभ्याससँगै तीर मात्र उड्दैन; इतिहास पनि पुनः स्मरण गरिन्छ ।
मानव सभ्यताको पहिलो प्रविधिमध्ये एक
धनुषबाँडको इतिहास मानव सभ्यताको विकाससँगै जोडिएको छ । पुरातत्वविद्हरूका अनुसार करिब १० हजारदेखि १२ हजार वर्षअघि मानिसले धनुष र तीरको प्रयोग गर्न थालेका थिए भन्ने प्रमाणहरु पुरात्विक तथ्यहरुबाट अनुमान लगाउन सकिन्छ । डेनमार्कको होल्मेगार्डमा भेटिएको धनुको पुरातात्विक अध्ययनले ९ हजार वर्ष पुरानो भएको निक्र्यौल निकालेको थियो । त्यस्तै जर्मनीको स्टेलमुर क्षेत्रमा भेटिएका काठका धनुषहरु ११ हजार वर्ष पुरानो भएको तथ्यहरु पुरात्वको अध्ययन रिपोर्टले देखाएको थियो । अफ्रिकामा भेटिएका बाँणका टुप्पाहरुको अध्ययनबाट ६० देखि ७० हजार वर्ष पुरानो देखिए पनि धनुषकै अवषेशहरुको अध्ययनबाट हेर्दा भने १५ हजार वर्ष हाराहारी देखिन्छ । कतिपय शिकार गरिएका जनावरका हड्डीहरुमा भेटिएको दागको अध्ययनबाट पनि यस्ता प्रमाणहरु भेटिएका देखिन्छ । त्यसअघि मानिसले ढुङ्गा, भाला र हातहतियारको भरमा शिकार गर्थे । धनुषको आविष्कारले भने मानिसलाई टाढाबाट शिकार गर्ने क्षमता दियो । यसले जीवन रक्षा मात्र होइन, खाद्य सुरक्षामा पनि ठूलो परिवर्तन ल्यायो ।
मानव इतिहासमा धनुष केवल हतियार थिएन । यो बुद्धि, धैर्य, दूरीको अनुमान, सन्तुलन र एकाग्रताको संयोजन थियो । त्यसैले संसारका प्रायः सबै प्राचीन सभ्यतामा धनुषबाँडलाई सम्मानका साथ हेरिएको पाइन्छ । पूर्वीय सभ्यतामा यो युद्धकलाको आधार बन्यो । युरोपमा सैनिक प्रशिक्षणको अनिवार्य अंग रह्यो । जापानले यसलाई आध्यात्मिक साधनाका रूपमा विकास गरेर क्युडो बनायो । भुटानले राष्ट्रिय खेलको रूपमा जोगायो । विश्वका धेरै आदिवासी समुदायले यसलाई आज पनि सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गरिरहेका छन् । धनुषबाट नेपाल पनि यसबाट अलग रहन सकेन ।

नेपालमा धनुषबाँडको आफ्नै इतिहास
नेपालको भूगोलले हजारौँ वर्षसम्म मानिसलाई जंगल, हिमाल र वन्यजन्तुसँग प्रत्यक्ष सम्बन्धमा राख्यो । हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने समुदायका लागि शिकार केवल मनोरञ्जन थिएन; त्यो जीवन निर्वाहको माध्यम थियो । मुस्ताङ, म्याग्दी, मनाङ, डोल्पा, हुम्ला, जुम्ला, बाजुरा, रुकुमलगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने समुदायले धनुषबाँडलाई पुस्तौँसम्म प्रयोग गरे । समय परिवर्तनसँगै शिकार घट्यो । कानुनी व्यवस्था बदलियो । आधुनिक हतियार आए । तर धनुषको सीप हराएन । धनुषको प्रयोग शिकारका लागि हुने अवस्थालाई यसले सांस्कृतिक रूप लिन थाल्यो । थकाली समुदायले यसलाई सबैभन्दा व्यवस्थित रूपमा संरक्षण गरेको समुदायमध्ये एक मानिन्छ ।
थाकखोलाको सामाजिक इतिहाससँग जोडिएको परम्परा
मुस्ताङको थाकखोला क्षेत्र केवल भौगोलिक क्षेत्र होइन; यो व्यापार, संस्कृति र सभ्यताको ऐतिहासिक केन्द्र पनि हो । तिब्बत र नेपालको व्यापारिक मार्गमा पर्ने भएकाले यहाँका मानिसहरू साहसी, मेहनती र संगठित थिए । व्यापारका लागि लामो दूरी यात्रा गर्ने, हिमाली भेग पार गर्ने र जंगलको जोखिम सामना गर्ने क्रममा धनुषबाँडको सीप आवश्यक थियो । त्यही सीप बिस्तारै अभ्यास, प्रतिस्पर्धा र सामुदायिक परम्परामा बदलिँदै गयो । यही कारण थकाली समुदायमा तारा हान्नु कहिल्यै केवल खेल बनेन । यसले सामाजिक सम्बन्ध, सामूहिकता र सांस्कृतिक निरन्तरताको जिम्मेवारी पनि बोकेको छ । आज पनि थकाली समुदायका धेरै अग्रजहरू एउटा कुरा दोहो¥याउँछन् “धनुषबाँड हाम्रो पुर्खाले छोडेको सम्पत्ति हो; यसलाई बचाउनु हाम्रो जिम्मेवारी हो ।“

तारा हान्ने नाम किन?
आधुनिक पुस्ताले यसलाई आर्चरी भन्छ । तर थकाली समुदायमा अझै पनि यसको लोकप्रिय नाम ‘तारा हान्ने’ नै हो । यस शब्दको उत्पत्तिबारे विभिन्न स्थानीय व्याख्या पाइन्छन् । कतिपयका अनुसार टाढाबाट सानो लक्ष्यमा निशाना लगाइने भएकाले यसलाई ’तारा’सँग तुलना गरिएको हो । अर्का थरीले लक्ष्यको केन्द्रलाई स्थानीय भाषामा ’तारा’ भन्ने गरेको उल्लेख गर्छन् । जुन व्याख्या सही भए पनि एउटा कुरा स्पष्ट छ थकाली समाजमा ‘तारा हान्ने’ भन्ने शब्दले केवल खेललाई जनाउँदैन । यसले सम्पूर्ण सांस्कृतिक अभ्यासलाई जनाउँछ । त्यसैले प्रतियोगिता सुरु हुनुअघि खेलाडीहरू ‘आर्चरी खेल्न जाऔँ’ भन्दा पनि ‘तारा खेल्न जाऔँ’ भन्न रुचाउँछन् ।

आधुनिक आर्चरी र थकाली तारा खेल
विश्वभर खेलिने आर्चरी वैज्ञानिक नियममा आधारित छ । दूरी निश्चित हुन्छ । उपकरण अन्तर्राष्ट्रिय मापदण्डअनुसारका हुन्छन् । अंक प्रणाली कम्प्युटरले गणना गर्छ । तर थकाली समुदायको तारा खेलमा सबैभन्दा ठूलो महत्व परम्परालाई दिइन्छ । यहाँ जितभन्दा सहभागिता ठूलो हुन्छ । प्रतिस्पर्धाभन्दा सम्बन्ध महत्वपूर्ण हुन्छ । पुरस्कारभन्दा समुदायको एकता मूल्यवान् हुन्छ । त्यसैले एउटै मैदानमा वृद्ध, युवा र किशोरहरू एकसाथ अभ्यास गरिरहेका देखिन्छन् । अनुभवी खेलाडीले नयाँ पुस्तालाई धनुष समाउने तरिका सिकाउँछन् । गल्ती सुधारिदिन्छन् । सफल निशानामा सबैले बराबरी खुसी मनाउँछन् ।

म्याग्दीमा परम्पराको निरन्तरता
आज म्याग्दीको बेनीस्थित थकाली सेवा समिति परिसर तारा खेलको एउटा महत्वपूर्ण केन्द्र बनेको छ । विशेष पर्व, वार्षिक सभा, कुलपूजा तथा सामुदायिक कार्यक्रमका अवसरमा यहाँ प्रतियोगिता आयोजना गरिन्छ । नियमित अभ्यास पनि जारी रहन्छ । यसले खेलाडी उत्पादन गर्नेभन्दा धेरै ठूलो काम गरिरहेको छ समुदायलाई जोड्ने । शहरमा बसाइँ सरेका, व्यवसायमा व्यस्त भएका र वैदेशिक रोजगारीबाट फर्किएका सदस्यहरू पनि अभ्यासका दिन यही मैदानमा भेटिन्छन् । पुराना साथी भेटिन्छन् । नयाँ पुस्ताले अग्रजसँग चिनजान गर्छ । यही कारण धेरै सदस्यका लागि तारा खेल अभ्यासभन्दा बढी सामाजिक पुनर्मिलनको अवसर बनेको छ । पहिलो दृष्टिमा तारा खेल सामान्य धनुषबाँड प्रतियोगिताजस्तो देखिए पनि यसको आफ्नै भाषा, आफ्नै नियम र आफ्नै संस्कृति छ । पुस्तौँदेखि चलिआएका केही शब्द यस्ता छन्, जसको अर्थ थाहा नपाई तारा खेललाई बुझ्न सकिँदैन । ती शब्दमध्ये सबैभन्दा चर्चित शब्द हुन सर, काँडल र तिप्लु खोल ।
थकाली समुदायमा यी शब्द केवल खेलका प्राविधिक शब्द होइनन्, दक्षता, प्रतिष्ठा र अनुभवका प्रतीक हुन् । खेलाडीले आफ्नो जीवनभर सम्झने उपलब्धिमध्ये सबैभन्दा ठूलो उपलब्धि ‘तिप्लु खोल’ मानिन्छ ।
तिप्लु खोल—खेलाडीको सपना
तारा खेलमा एक खेलाडीले आफ्नो पालोमा दुईवटा तीर अर्थात् ‘सर’ प्रहार गर्छ । लक्ष्यको केन्द्रमा रहेको मुख्य बिन्दुलाई स्थानीय भाषामा ‘खोल’ भनिन्छ । यदि खेलाडीले प्रहार गरेका दुवै सर सोही काँडलमा पुगेर लागे भने त्यसलाई ‘तिप्लु खोल’ भनिन्छ । यो कुनै सामान्य उपलब्धि होइन । यसको लागि हातको शक्ति मात्र पर्याप्त हुँदैन । लक्ष्यको दूरी, हावाको दिशा, धनुषको तनाव, शरीरको सन्तुलन र मानसिक एकाग्रता सबै मिल्नुपर्छ । अनुभवी खेलाडीहरू भन्छन तिप्लु खोल भाग्यले साथ दिनुपर्छ, तर त्यसअघि वर्षौँको अभ्यास अनिवार्य हुन्छ ।
यही दुर्लभ उपलब्धि केही समयअघि म्याग्दीमा हालै अभ्यास तथा मैत्रीपूर्ण प्रतिस्पर्धाका क्रममा गौराज भण्डारीले हासिल गरे । उनी स्वयंका लागि पनि त्यो क्षण भावुक थियो । उनले सम्झँदै भने, मैले तारा खेल्न थालेको धेरै वर्ष भयो । तिप्लु खोल हान्नु खेलाडीका लागि ठूलो उपलब्धि हो । करिब १८ वर्षपछि फेरि दुवै सर खोलमा लगाउन सफल भएँ । त्यो क्षण अझै पनि अविस्मरणीय छ ।
उनको सफलतापछि मैदानभरि ताली बजेको थियो । वरिष्ठ खेलाडीहरूले बधाई दिए । युवा खेलाडीहरू उत्साहित बने । एक खेलाडीको सफलताले सम्पूर्ण समुदायको खुसीमा रूपान्तरण भएको त्यो दृश्य तारा खेलको वास्तविक विशेषता पनि हो ।
प्रतिस्पर्धाभन्दा सम्बन्ध ठूलो
अहिले संसारभर खेलहरू व्यावसायिक बन्दै गएका छन् । जित र हारले खेलाडीको भविष्य निर्धारण गर्छ । तर थकाली समुदायको तारा खेलमा अझै पनि सम्बन्धले प्रतिस्पर्धालाई जितेको छ । थकाली सेवा समितिका सचिव दिलिप गौचन नियमित अभ्यासका क्रममा सबै पुस्ता एकै ठाउँमा भेला हुने गरेको बताउँछन् । उनका अनुसार, “तारा खेल थकाली समुदायमा परापूर्वकालदेखि चल्दै आएको परम्परा हो । अहिले संसारले यसलाई आर्चरी भनेर अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिरहेको छ । हामी भने नियमित रूपमा थकाली सेवा समितिको प्राङ्गणमा अभ्यास गर्छौं । यसले प्रतियोगिताको तयारी त गराउँछ नै, त्यसभन्दा पनि साथीभाइबीच भेटघाट, अनुभव आदानप्रदान र सामाजिक सम्बन्धलाई अझ बलियो बनाउने काम गर्छ ।“ गौचनको भनाइले एउटा महत्वपूर्ण तथ्य उजागर गर्छ तारा खेलको वास्तविक शक्ति पुरस्कारमा होइन, समुदायलाई जोड्ने क्षमतामा छ ।
अभ्यास जसले पुस्ता जोड्छ
बेनीस्थित थकाली सेवा समितिको प्राङ्गणमा अभ्यास भइरहेका बेला एउटा रोचक दृश्य देख्न सकिन्छ । एउटै लाइनमा उभिएका वृद्ध, युवा र किशोर खेलाडी । कसैले धनुष समाउन सिक्दैछन् । कसैले प्रत्यञ्चा कसरी तान्ने भन्ने अभ्यास गर्दैछन् । कसैले अनुभवी खेलाडीसँग लक्ष्य मिलाउने उपाय सोधिरहेका छन् । यसरी एउटा पुस्ताले अर्को पुस्तालाई सीप हस्तान्तरण गरिरहेको हुन्छ । कुनै औपचारिक प्रशिक्षण केन्द्रबिना नै दशकौँदेखि ज्ञानको निरन्तरता कायम छ । यही मौखिक परम्पराले तारा खेललाई आजसम्म जीवित राखेको हो ।
शिकारको सम्झना, संस्कृतिको संरक्षण
खेलाडी रमेश फगामी तारा खेलको इतिहासलाई मानव जीवनसँग जोडेर हेर्छन् । उनले भने, “परापूर्वकालमा मानिसले जीविका चलाउन शिकार खेल्थे । त्यसका लागि धनुषबाँड आवश्यक सीप थियो । अहिले त्यो आवश्यकता छैन । तर हामीले अभ्यासलाई निरन्तरता दिएका छौं । साथीभाइ भेट्ने अवसर पनि हुन्छ । त्यसैले यो परम्परा सहज रूपमा अघि बढिरहेको छ । मानव सभ्यताको विकाससँगै यसको प्रयोग बदलिएको छ, तर यसको महत्व भने उस्तै छ ।“ फगामीको अनुभवले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ—यदि समुदायले आफ्नो इतिहाससँग जोडिएका सीपलाई जोगाएन भने भविष्यका पुस्ताले आफ्नो विगत कसरी बुझ्ने? सायद यही प्रश्नको उत्तर खोज्दै थकाली समुदायले तारा खेललाई जीवन्त राखिरहेको छ ।
नयाँ पुस्ताको जिम्मेवारी
समाज परिवर्तनसँगै युवापुस्ताको रुचि पनि परिवर्तन भइरहेको छ । मोबाइल, इन्टरनेट र डिजिटल मनोरञ्जनको संसारमा परम्परागत खेलहरूलाई आकर्षक बनाइराख्नु चुनौतीपूर्ण बन्दै गएको छ । तर युवा पुस्ताका प्रतिनिधि सुमन शेरचन आशावादी छन् । उनले भने, “पहिले यो सीप शिकारका लागि प्रयोग हुन्थ्यो । अहिले खेलको रूपमा विकास भएको छ । यसको निरन्तरताका लागि थकाली समुदायको अग्रसरतामा सबैले खेलिरहेका छन् । नयाँ पुस्ताले पनि यसलाई अपनाउनुपर्छ भन्ने हाम्रो प्रयास छ ।“ शेरचनको भनाइले तारा खेलको भविष्य नयाँ पुस्ताको सहभागितामै निर्भर रहेको संकेत गर्छ ।
खेलभित्र लुकेको अनुशासन
तारा खेल हेर्दा सहज देखिए पनि यसको अभ्यास कठिन छ । खेलाडीले शरीरको सन्तुलन कायम राख्नुपर्छ । हातको बल समान हुनुपर्छ । लक्ष्यमा आँखा स्थिर राख्नुपर्छ । हतार वा आत्तिने बानीले लक्ष्य चुक्न सक्छ । अनुभवी खेलाडीहरू भन्छन्, तारा खेलले मानिसलाई तीनवटा कुरा सिकाउँछ धैर्यता, अनुशासन र आत्मविश्वास । सायद यही कारण धेरै वृद्ध खेलाडीहरू आज पनि नियमित अभ्यास गर्छन् । उनीहरूका लागि यो केवल खेल होइन, दैनिक जीवनको अनुशासन पनि हो ।
मौलिकता जोगाउने प्रयास
विश्वभर आर्चरी आधुनिक खेलको रूपमा विकसित भइरहेको छ । अत्याधुनिक धनुष, कार्बन फाइबरका तीर, डिजिटल स्कोरिङ र वैज्ञानिक प्रशिक्षणले यसलाई नयाँ उचाइमा पु¥याएको छ । तर थकाली समुदायको तारा खेलको शक्ति आधुनिक उपकरणमा होइन; यसको मौलिकतामा छ । स्थानीय शब्दावली, परम्परागत शैली, सामूहिक सहभागिता र सांस्कृतिक वातावरण नै यसको वास्तविक सम्पत्ति हुन् । यही सम्पत्तिलाई जोगाउन समुदाय निरन्तर सक्रिय देखिन्छ ।
तारा खेललाई केवल प्रतिस्पर्धाका रूपमा होइन, सांस्कृतिक सम्पदाका रूपमा अगाडि बढाउने प्रयास नै यसको सबैभन्दा ठूलो उपलब्धि हो ।
इतिहासको एउटा रोचक सत्य के हो भने मानिसले आफ्नो जीवन जोगाउन सिकेका धेरै सीपहरू समयसँगै संस्कृतिमा रूपान्तरण भएका छन् । आगो बाल्ने तरिका, ढुङ्गे हतियार बनाउने कला, घोडा चढ्ने सीप, परम्परागत नृत्य र धनुषबाँडको प्रयोग यी सबै कुनै समय दैनिक जीवनका आवश्यकता थिए । आज तीमध्ये धेरै मानव सभ्यताको सांस्कृतिक सम्पदा बनेका छन् ।
थकाली समुदायको ‘तारा हान्ने’ परम्परा पनि त्यही निरन्तरताको एउटा ज्वलन्त उदाहरण हो । हिजो वनजंगलमा जीविकोपार्जनको माध्यम बनेको धनुषबाँड आज समुदायको सामूहिक स्मृति, सांस्कृतिक गौरव र पहिचानको प्रतीक बनेर बाँचेको छ ।
भुटानबाट सिक्न सकिने पाठ
दक्षिण एसियामा धनुषबाँडलाई सबैभन्दा व्यवस्थित रूपमा जोगाउने देश हो भुटान । त्यहाँ आर्चरी केवल खेल होइन, राष्ट्रिय पहिचानको हिस्सा हो । गाउँदेखि राजधानीसम्म प्रतियोगिता हुन्छन् । राष्ट्रिय पर्वहरूमा आर्चरी अनिवार्य हुन्छ । विदेशी पर्यटकहरूलाई पनि यो परम्परा आकर्षणको केन्द्र बनेको छ । नेपालको हिमाली समाज, विशेषगरी थकाली समुदायमा जोगिएको तारा खेल पनि सम्भावनाका हिसाबले कम महत्वपूर्ण छैन । फरक यति हो कि यसले अझै संस्थागत संरक्षण, अभिलेखीकरण र राष्ट्रिय पहिचानको अवसर पाएको छैन । यदि स्थानीय, प्रदेश र संघीय सरकार, सांस्कृतिक संस्थाहरू तथा खेलकुद निकायले समयमै यसतर्फ ध्यान दिए भने तारा खेल पनि नेपालको मौलिक सांस्कृतिक खेलका रूपमा स्थापित हुन सक्छ ।
पर्यटनसँग जोडिने ठूलो सम्भावना
मुस्ताङ र म्याग्दी नेपालको प्रमुख पर्यटकीय गन्तव्य हुन् । यहाँ आउने अधिकांश पर्यटक हिमाल, प्राकृतिक दृश्य र थकाली संस्कृतिको अनुभव लिन चाहन्छन् । तर संस्कृति केवल संग्रहालयमा राखेर देखाउने वस्तु होइन । संस्कृति त मानिसले बाँचिरहेको जीवन हो । यदि तारा हान्ने प्रतियोगितालाई निश्चित तालिकाअनुसार सञ्चालन गर्ने, पर्यटकलाई अवलोकन र सहभागिताको अवसर दिने, परम्परागत पोशाक, संगीत, खानपान र तारा खेललाई एउटै सांस्कृतिक प्याकेजमा प्रस्तुत गर्ने हो भने यसले पर्यटनमा नयाँ आयाम थप्न सक्छ ।
विदेशी पर्यटकले थकाली खाना मात्र होइन, थकाली जीवनशैली पनि अनुभव गर्न चाहन्छन् । त्यहाँ तारा खेल एउटा आकर्षक सांस्कृतिक अनुभव बन्न सक्छ ।
अभिलेखीकरणको अभाव
तारा खेलको सबैभन्दा ठूलो चुनौती यसको मौखिक परम्परा हो । आजसम्म यसको इतिहास, नियम, स्थानीय शब्दावली, प्रतियोगिताको विकासक्रम, प्रयोग हुने सामग्री र समुदायभित्र भएका परिवर्तनबारे व्यवस्थित दस्तावेज कमै तयार भएका छन् । धेरै कुरा अझै पनि अग्रजहरूको स्मृतिमा सीमित छन् ।
यदि आजका पुस्ताले ती अनुभव अभिलेख गरेनन् भने भोलिका पुस्ताले धेरै महत्वपूर्ण जानकारी गुमाउन सक्छन् । यसका लागि विश्वविद्यालय, अनुसन्धान संस्था, संस्कृति विभाग तथा स्थानीय तहले अध्ययनलाई प्राथमिकता दिन आवश्यक देखिन्छ । वृत्तचित्र निर्माण, फोटो अभिलेख, भिडियो दस्तावेज र पुस्तक प्रकाशनले पनि यो परम्परालाई दीर्घकालीन संरक्षण गर्न सहयोग पु¥याउनेछ ।
विद्यालयबाट सुरु हुनुपर्छ संरक्षण
संस्कृति बचाउने सबैभन्दा प्रभावकारी माध्यम शिक्षा हो । यदि विद्यालयका अतिरिक्त क्रियाकलापमा तारा खेलको परिचय गराउने, प्रदर्शन प्रतियोगिता सञ्चालन गर्ने र स्थानीय इतिहाससँग जोडेर अध्ययन गराउने हो भने नयाँ पुस्तामा यसको आकर्षण बढ्न सक्छ । यसले उनीहरूलाई आफ्नो समुदायको इतिहाससँग जोड्नेछ । अहिले धेरै युवाले आर्चरीको नाम त सुनेका छन्, तर आफ्नै गाउँ–समुदायमा पुस्तौँदेखि खेलिँदै आएको तारा खेलबारे पर्याप्त जानकारी छैन । यो दूरी घटाउनु अहिलेको आवश्यकता हो ।

खेलभन्दा धेरै ठूलो सम्पदा
तारा खेललाई केवल खेलको आँखाले हेर्नु यसको महत्वलाई सानो बनाउनु हुनेछ । यसले समुदायलाई जोड्छ । यसले पुस्तालाई जोड्छ । यसले इतिहासलाई वर्तमानसँग जोड्छ । यसले मानिसलाई आफ्नो पहिचान सम्झाइरहन्छ । त्यसैले यसको मूल्य पदक, ट्रफी वा पुरस्कारले मापन गर्न सकिँदैन ।
अन्तिम निशाना
म्याग्दीको बेनीस्थित थकाली सेवा समितिको प्राङ्गणमा साँझ पर्न थालेको छ । अभ्यास सकिने बेला भएको छ । खेलाडीहरू धनुष समेट्दैछन् । कसैले आजको निशानाबारे समीक्षा गरिरहेको छ । कसैले अर्को अभ्यासको मिति तय गरिरहेको छ । केही वृद्धहरू नयाँ पुस्तालाई साना–साना सुझाव दिइरहेका छन् । ती दृश्य हेर्दा लाग्छ यहाँ तीर मात्र उडिरहेको छैन, एउटा सभ्यता पनि अघि बढिरहेको छ । गौराज भण्डारीले १८ वर्षपछि ’तिप्लु खोल’ हानेको क्षण केवल व्यक्तिगत उपलब्धि थिएन; त्यो एउटा परम्पराको निरन्तरताको प्रतीक थियो । दिलिप गौचनले अभ्यासलाई भेटघाट र समुदाय जोड्ने माध्यम भनेका छन् । रमेश फगामीले यसलाई शिकारको सीपबाट संस्कृतिमा रूपान्तरण भएको इतिहासका रूपमा व्याख्या गरेका छन् । सुमन शेरचनले नयाँ पुस्ताको सहभागितालाई भविष्यको आधार मानेका छन् ।
यी सबै भनाइ जोड्दा एउटा स्पष्ट सन्देश निस्कन्छ तारा खेल जीवित छ, किनकि समुदायले यसलाई जीवित राख्न चाहेको छ । समय परिवर्तन हुनेछ । धनुषको स्वरूप फेरिन सक्छ । नियमहरू परिमार्जन हुन सक्छन् । आधुनिक आर्चरी अझ विकसित हुँदै जानेछ । तर जबसम्म थकाली समुदायका बालबालिकाले आफ्ना बुबा–हजुरबुबासँगै धनुष समाउनेछन्, जबसम्म लक्ष्यको काँडलमा तीर लाग्दा गाउँभरि ताली बज्नेछ, जबसम्म ’तिप्लु खोल’ एउटा गौरवपूर्ण उपलब्धिका रूपमा सम्झिइनेछ, तबसम्म तारा खेल केवल खेल रहने छैन ।
यो नेपालको हिमाली सभ्यताको जीवित दस्तावेज हुनेछ । तीरले लक्ष्य मात्र भेट्दैन । तीरले इतिहासलाई वर्तमानसँग जोड्छ । तीरले पुस्तालाई संस्कृतिसँग जोड्छ । र, तीरले हामीलाई सम्झाइरहन्छ, आधुनिक बन्नु आवश्यक छ, तर आफ्ना जरा बिर्सनु कहिल्यै हुँदैन ।
