भारी वर्षापछि असोज १० गते कालीगण्डकी नदीमा आएको बाढीपहिरो र कटानले म्याग्दीमा पर्ने विद्युत् प्रसारण लाइन र जलविद्युत् आयोजनामा क्षति पुगेको छ । कालीगण्डकी नदीमा आएको बाढीले सडकसहित कटान गर्दा हालै मात्र परीक्षण उत्पादन थालेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको टेलरेसको गेट भत्काएको छ भने विद्युत्गृहभित्र पानी पसेर दुई वटा उपकरणमा क्षति पुगेको छ । विद्युत्गृह स्थलमा निर्माण गरिएको ‘स्विचयार्ड’ पनि नदी कटानको उच्च जोखिममा परेको छ ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाले परीक्षण उत्पादन थालेको दुई दिनमै बाढीले क्षति पुर्याएपछि उत्पादन बन्द हुन पुगेको बताउनुभयो । विद्युत्गृहबाट बाहिर पानी फाल्ने टेलेरेस गेट बाढीले बगाएको र विद्युत्गृहभित्र हिलोसहितको पानी पसेर दुई वटा उपकरणमा क्षति पुगेको छ । आयोजनाले अघिल्लो हप्ता परीक्षण उत्पादन थालेको थियो । अघिल्लो बुधबार मात्रै उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । १५ दिनको परीक्षण उत्पादन सम्पन्न गरेपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरे पनि बाढीले क्षति पु¥याएपछि अब एक महिनापछि मात्र व्यावसायिक उत्पादन सुरु गर्न सकिने प्रबन्ध सञ्चालक केसीले बताउनुभयो ।
यसै गरी कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी कोरिडोरको २२० केभी क्षमताको दाना–कुस्मा प्रसारण लाइनका दुई वटा टावर बगाएको छ । कालीगण्डकीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–१, दोवाको भिरकाटपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले जानकारी दिनुभयो ।
प्रसारण लाइन र टावरमा क्षति पुगेपछि राहुघाटको ‘स्विचयार्ड’ देखि दानासम्मको प्रसारण लाइन बन्द हुन पुगेको छ ।
दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारण सेवा बन्द भएको छ ।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको पोखरा ग्रिड महाशाखाका प्राविधिकसहितको टोलीले क्षतिग्रस्त प्रसारण लाइन र टावरको स्थलगत अनुगमन सुरु गरी क्षतिको विवरण सङ्कलन थालेको छ । ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले प्रसारण लाइन र टावरमा पुगेको क्षतिको स्थलगत निरीक्षण गरी विद्युत् आपूर्ति गराउने वैकल्पिक उपायको खोजी र प्रसारण लाइन पुनर्निर्माणको कामलाई अघि बढाउन प्राविधिकसहितको टोली क्षतिग्रस्त प्रसारण लाइन स्थलमा परिचालन गरिएको जानकारी दिनुभयो ।
