असोज ८ देखि सुरु भएको निरन्तर वर्षाका कारण गण्डकी प्रदेशमा विभिन्न जलविद्युत् आयोजना बन्द हुन पुगेका छन् । त्यसै गरी गण्डकीसहित लुम्बिनी, मधेश तथा कर्णाली प्रदेशका प्रसारण तथा वितरण सञ्जाल पनि अवरुद्ध भएका छन् ।
खास गरी कालीगण्डकी नदी प्रवाह क्षेत्रमा बाढीका कारण प्रसारण लाइन विच्छेद भएको तथा सुरक्षाका लागि आयोजना बन्द गर्नु परेका कारण आइतबार करिब एक हजार मेगावाटसम्म विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राप्त पछिल्लो विवरण अनुसार बाढीका कारण मुख्य रूपमा २२० केभी क्षमताको कालीगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध हुँदा उक्त प्रसारण लाइनमार्फत प्रवाह हुने १३ वटा उत्पादन केन्द्रका ३५८ मेगावाट विद्युत् उत्पादन बन्द गरिएको प्राधिकरणले जनाएको छ । यसबाहेक म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँमा रहेका थप १४ वटा उत्पादन केन्द्रका करिब ६३० मेगावाट क्षमताका विद्युत् उत्पादन केन्द्रसमेत नदीमा अत्यधिक बहाबका कारण बन्द गुर्न परेको छ ।
यसरी समग्रमा करिब एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कालीगण्डकीको बाढीले केही दिनपहिले मात्रै उत्पादन सुरु गरिएको राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमा क्षति पुर्याएको छ ।
कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्राधिकरणले जनाएको छ । त्यस्तै कुस्मा–नयाँ बुटवल खण्डमा समस्या आएको छ । बाढीको जोखिमका कारण कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अप्पर दोर्दी, माथिल्लो मर्स्याङ्दी , मध्य मर्स्याङ्दी , मर्स्याङ्दी , मोदीलगायतका जलविद्युत् केन्द्रको उत्पादन सुरक्षाका लागि बन्द गरिएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार यो प्रसारण लाइन मर्मत गर्न केही दिन लाग्ने छ । अन्य सम्भाव्य स्थानमा टोली परिचालन भइरहेको उहाँले जानकारी दिनुभयो ।
बाढीपहिरोका कारण अन्य २२० केभी, १३२ केभी, ३३ केभी तथा ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ । यसका कारण मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङ पूर्ण रूपमा विद्युत्विहीन बन्न पुगेका छन् । प्युठान, रुकुमपूर्व र रोल्पामा पनि आइतबार विद्युत् अवरुद्ध हुन पुगेको छ । डुबानका कारण मधेश प्रादेशिक कार्यालय अन्तर्गत पनि विभिन्न स्थानमा ७८ थान पोल ढलेका छन् भने १४ थान वितरण ट्रान्सफर्मरमा क्षति पुगेको छ ।
प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन, वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिनुभयो । सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
सडक पनि अवरुद्ध भएका कारण केही क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्थामा सम्भव भएसम्म वैकल्पिक व्यवस्थाबाट आपूर्ति सञ्चालन गर्ने र अवरुद्ध सेवा यथाशीघ्र पुनर्स्थापना गर्ने गरी प्राधिकरणले आफ्ना सबै सम्बन्धित कार्यालय तथा प्राविधिक टोलीलाई परिचालन गरिएको छ ।
प्राकृतिक विपत्का कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै कर्मचारी तथा प्राविधिक जनशक्तिको सुरक्षालाई प्राथमिकतामा राखेर मात्र मर्मत तथा पुनर्स्थापनाको काम अघि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएको प्राधिकरणले जनाएको छ । गोरखापत्रअनलाइनबाट
