शेयर सदस्य सङ्ख्याका हिसाबले नेपालकै ठुलो सहकारीमध्ये एक मानिएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्वाचनमा धाँधली भएको आरोप लागेको छ। कोशी प्रदेशका झापा, इलाम, पाँचथर, सुनसरी, मोरङ र उदयपुर गरी छ जिल्लालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको संस्थाको सञ्चालक समितिको निर्वाचन गत असोज १० गते भएको थियो।
नौ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समितिका लागि आगामी चार वर्षका लागि भएको निर्वाचनमा व्यवस्थापन र निर्वाचन उपसमितिले एउटा पक्षलाई जिताउन संस्थाका कर्मचारी तथा स्रोतसाधन प्रयोग गरेको आरोप लगाउँदै सरोकारवाला तथा नियामक निकायमा उजुरी परेको छ।
निर्वाचित अध्यक्ष छवि खतिवडाको समूहलाई प्रभाव पार्ने गरी संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरी, निर्देशक दिनेशबहादुर निरौला र निर्वाचन उपसमितिका संयोजक खगेन्द्र खरेलले ८० मध्ये अधिकांश सेवा केन्द्रका प्रमुख तथा कर्मचारीलाई प्रयोग गरेको आरोप छ। कर्मचारीले मतदान केन्द्रबाहिर प्यानलको नाम उल्लेख गरिएको चिर्कटो वितरण गरी मत हाल्न लगाएको दाबी गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
संस्थाले छ जिल्लाका ८० सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ। संस्थामा १ लाख ९७ हजार ५५२ भन्दा बढी शेयर सदस्य र करिब आठ हजार कर्मचारी रहेको जनाइएको छ। संस्थाको स्थिर पुँजी २० अर्ब रुपियाँभन्दा बढी रहेको दाबी गरिएको छ।
निर्वाचनमा कर्मचारीलाई एउटा पक्षका उम्मेदवारको पक्षमा मत माग्न बाध्य बनाइएको आरोप लगाउँदै विभिन्न पक्षबाट विरोध भएपछि कोशी प्रादेशिक सहकारी रजिस्ट्रारको कार्यालय, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी मन्त्रालयलगायतका निकायमा उजुरी परेको जनाइएको छ।
निर्वाचनमा धाँधली भएको दाबी गर्ने पक्षले छ जिल्लाका ८० सेवा केन्द्रमा नमुना मतपत्रमा एउटा समूहको नाममा रेजा लगाई सोही प्यानलमा मतदान गर्न आग्रह गरिएको प्रमाण नियामक निकायमा पेस गरेको जनाएको छ।
निर्वाचनअघि नै केही उम्मेदवारले निर्वाचन एकपक्षीय हुन लागेको भन्दै नियामक निकाय, व्यवस्थापन पक्ष र निर्वाचन उपसमितिको ध्यानाकर्षण गराएका थिए। अध्यक्ष पदका उम्मेदवार उपेन्द्रप्रसाद ओलीले निर्वाचनअघि नै कर्मचारीको प्रयोग रोक्न तथा सञ्चालकका शैक्षिक योग्यता सहकारी नियमन प्राधिकरणको सूचनाअनुसार प्रमाणीकरण गरेर मात्र निर्वाचन गराउन माग गरिएको बताउनुभयो।
निर्वाचनका दिन अधिकांश मतदान केन्द्रमा कर्मचारीले एउटा प्यानलको पक्षमा मत मागेको र चिर्कटो वितरण गरी मत हाल्न लगाएको भिडियो सार्वजनिक भएपछि आफूहरू विरोधमा उत्रिएको ओलीले बताउनुभयो।
अर्का उम्मेदवार भरतकुमार गिरीले पनि सहकारीका कर्मचारी निर्वाचनमा पूर्ण रूपमा तटस्थ रहनुपर्नेमा एउटा समूहको पक्षमा मत मागेको र चिर्कटो तथा सूची वितरण गरेको पाइएपछि विरोध गरिएको बताउनुभयो।
यसैबिच, निर्वाचित अध्यक्ष खतिवडाको शैक्षिक योग्यतामाथिसमेत प्रश्न उठाइएको छ। उहाँसँग नेपालको नभई भारतको शैक्षिक संस्थाको प्रमाणपत्र रहेको भन्दै छानबिन गर्न माग गरिएको छ।
संस्थाका शेयर सदस्य भोला भण्डारीले कर्मचारीको व्यापक प्रयोग गरी निर्वाचन एकपक्षीय रूपमा गराइएको आरोप लगाउनुभयो। अर्का शेयर सदस्य विष्णुप्रसाद भट्टराईले निर्वाचनका क्रममा संस्थाले एकपक्षीय काम गरी अन्य उम्मेदवार र शेयर सदस्यको भावनामा खेलवाड गरेको बताउनुभयो।
यता, संस्थाका निर्देशक दिनेशबहादुर निरौलाले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित रूपमा सम्पन्न भएको दाबी गर्नुभएको छ। उहाँले शिक्षक महासंघ झापाका प्रतिनिधि तथा सरकारी कर्मचारीलाई मतदान अधिकृतका रूपमा परिचालन गरिएको र निर्वाचनको स्वतन्त्र अनुगमनसमेत भएको बताउनुभयो।
निर्वाचन उपसमितिका अनुसार कुल ३७ हजार ६६८ मत खसेको थियो। त्यसमध्ये १ हजार २७५ मत बदर भएको थियो। अध्यक्षका उम्मेदवार छवि खतिवडाले २१ हजार ९८४, उपेन्द्रप्रसाद ओलीले ७ हजार ३९७ र भरतकुमार गिरीले ४ हजार २६३ मत प्राप्त गर्नुभएको थियो।
संस्थाले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयबाट विनियम संशोधन गराई वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षलगायतका पदमा समेत निर्वाचन गराएको जनाइएको छ। सहकारीसम्बन्धी प्रचलित व्यवस्थाअनुसार सञ्चालक समितिमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य रहने व्यवस्था रहेको छ। गोरखापत्र अनलाइनबाट साभार
