सुदापकाे माटोले
सिर्जनाकाे उज्यालो जन्मायाे
बाल्यकालकाे स्मृतिलाई
लीलबहादुर क्षेत्रीले
” बसाइँ” उपन्यास कृतिमा जीवन दिए
पहाडी जनजीवनकाे आँसु,
गाउँको पीडा
र माटोको सुगन्ध बोकेर
यहीँ कतै अाज पनि
माेटे कार्की र झुमाहरू घुमिरहे झैं लाग्छ।
आङ्दिममा
बिहानीको घाम झुल्कदा हाेस या
हमरजुङलाई
बादलले अँगालो हाल्दा
ओख्रेमा भूईंकुहिराले लुकामारी खेल्छ
फाक्चामाराका पाखामा
हावाले पनि लाेकगीत गाउँछ
प्रीय छथर—
जब यहाँ
गुम्बाकाे घण्टी बज्छ
झाक्रीकाे ढ्याङ्ग्राे
यहाँको संस्कृति जीवन्त राख्न
पुर्खाकाे कथा सुनाइरहन्छ
मार्गा पाेखरी
पर्खिरहेछ पर्यटक
च्याङलुङ गुफा
जाेगाउन खाेजिरहेछ
युगाै पुराना सभ्यताकाे कथा ।
यहाँका पहाड , वन , खाेलाहरू चुपचाप छैनन्
निरन्तर
पुर्खाको स्मृति,
सभ्यताको कथा
र प्रकृतिको अनन्त गीत गाइरहेका छन् ।
प्रीय छथर
व्यापारको लोभमा
मार्गा पाेखरीहरूमा
विकासे डाेेजर नचलाेस्
तिम्रा माङहिममा
मुन्धुमको स्वर
पुस्तौँसम्म गुञ्जिरहोस्।
सभ्यता उभ्याउने हाम्रा पहाडहरू
पहिचान जाेगाउने हाम्रा संस्कृतिहरू
संस्कृति बचाउने माटोलाई प्रेम गर्नेहरू हुन्
जाे तिमीले गर्दै अाइरहेका छाै
त्यसैले तिमी एउटा उज्यालो अध्याय हाै
र प्रकृतिले लेखेको सुन्दर कविता हाै ।
मायाँमितु न्यौपाने
