म्याग्दी/म्याग्दीको मालिका गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम एवम् बजेट पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको नीति तथा कार्यक्रमपछि उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले आगामी आवका लागि बजेट पेश गरेकी थिइन् ।
गाउँपालिकाले चालुतर्फ ३४ करोड ३० लाख १९ हजार र पुजीगततर्फ १४ करोड ५५ लाख ८९ हजार गरी कुल ४८ करोड ८६ लाख ८ हजार बजेट पारित गरेको हो ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरपुनले प्रस्तुत गरेको ४८ करोड ८६ लाख ८ हजारको प्रस्तावित आयव्य गाउँसभाबाट पारित भएको हो ।
गाउँपालिकाले संघिय सरकार समानिकरण अनुदानबाट ८ करोड ८९ लाख, गण्डकी प्रदेश सरकार समानीकरण अनुदान १ करोड ६ लाख ७७ हजार, संघीय सरकार राजश्व बाँडफाँडबाट ९ करोड ३ लाख ६३ हजार प्राप्त हुने अनुमान गरेको छ ।
त्यसैगरी गण्डकी प्रदेश राजश्व बाँडफाँडबाट ८७ लाख ६८ हजार, संघीय सरकार सशर्त अनुदान चालुतर्फ २० करोड ७४ लाख, पुँजिगततर्फ ५० लाख, संघीय सरकारको समपुरक पुजीगततर्फ २ करोड ६ लाख, संघिय सरकारको विशेष अनुदान पुजीगत तर्फ ९२ लाख, चालुतर्फ ७७ लाख प्राप्त हुने आगामी बजेटमा उल्लेख छ ।
त्यसैगरी गण्डकी प्रदेश सरकारको समपुरकतर्फ पुँजिगततर्फ ६० लाख, प्रदेश सरकारको विषेश अनुदान चालुतर्फ ४० लाख, गाउँपालिकाको आन्तरिक आय १ करोड र सिंचित कोषमा चालु वर्षबाट आगामी वर्षका लागि सर्ने बजेट २ करोड रहने अनुमान गरिएको छ ।
गाउँपालिकाले वडा नं. ६ छ्यारछ्यारेमा आयोजना गरेको सभाले नीति कार्यक्रम, बजेट तथा विभिन्न विधेयकहरु तथा प्रतिवेदनहरु समेत पारित गरेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिए ।
मालिका गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम एवम् बजेट पास गरेसँगै म्याग्दीका २ पालिकाले आगामी आर्थिक वर्षका लागि बजेट एवम् नीति तथा कार्यक्रम पास गरेका छन् ।
यसअघि रघुगंगा गाउँपालिकाले देशमै पहिलो बजेट पािरत गरेको थियो । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा असार ४ गते सम्पन्न २१ औं गाउँ सभाले ५६ करोड ४ लाख २० हजार सात सय रुपैयाँ बराबरको बजेट सार्वजनिक सँगै पारित गरेको थियो ।
