हिमाली जिल्ला म्याग्दीमा जटिल रोगबाट ग्रसितहरुको पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार झण्डै ६० प्रतिशत बिरामीहरु मृगौला सम्बन्धी रहेका छन् । जिल्लाको स्थानीय तहहरुमा भएको पछिल्लो अध्यावधिक तथ्यहरु अनुसार कुल २९० जना जटिल रोगका बिरामहरु मध्ये अधिकांश झण्डै ६० प्रतिशत बिरामीहरु मृगौला सम्बन्धी समस्याका रहेका हुन् ।
जिल्लाका छ वटा स्थानीय तहका रहेका जटिल प्रकृतिका रोगका बिरामीको तथ्याङ्क अनुसार मृगौला सम्बन्धी बिरामीको संख्या एक सय ६९ जना रहेका छन् । जसमा मृगौला फेल एक सय आठ, डाइलाइसिस गर्ने ५६ जना र मृगौला प्रत्यारोपण गरेका ५ जना रहेका छन् । त्यस्तै क्यान्सरका बिरामी ८९ जना, पाठेघर क्यान्सरका ५ जना, अण्डकोष क्यान्सर १ जना, थाइराइड क्यान्सर ६ जना, मेरुदण्ड पक्षघात १५ जना र स्तन क्यान्सरका बिरामीहरु ५ जना रहेका छन् ।
प्रादेशिक अस्पताल बेनीका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.हेमन्त बाँस्तोलाले म्याग्दीमा मृगौलाको समस्या सामान्य भन्दा बढी नै रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यो समस्या हुनुमा प्रेसरको समस्या, औषधिको प्रयोग बढी हुने कारण हुन सक्छ । सामान्यतया हिमाली जिल्ला भएको कारण पनि चिसोमा बढी प्रेसर बढ्ने र मानिसले औषधिको प्रयोग अलिक बढी गर्ने हुँदा पनि मृगौलामा समस्या बढ्छ । म्याग्दीका नागरिकहरु बैदेशिक रोजगारीमा जाने काम बढी गर्ने पानीको प्रयोग कम हुने र औषधिको प्रयोग बढी हुने गर्दा पनि मृगौलामा प्रत्यक्ष असर पर्छ ।
म्याग्दीको कतिपय क्षेत्रमा प्रयोग गर्ने पानीको पनि उचित अनुसन्धान गर्ने हो भने पनि केही कारण पत्ता लाग्न सक्छ । कतिपय पानीमा भएका तत्वहरु पनि मानिसमा प्रेस बढाउने र मृगौलामा समस्या निम्त्याउने हुन सक्ने भएकाले त्यसको पनि उचित अनुसन्धान तथा परीक्षण गरियो भने पनि केही कारण खुल्न सक्ने डा.बाँस्तोलाको भनाई छ ।
म्याग्दीको प्रादेशिक अस्पताल बेनीमा ३८ बिरामीले डाइलाइसिस गरी रहेको निमित्त मेसु बाँस्तोलाको भनाई छ । डाइलाइसिसका लागि निवेदन दिएर पर्खाइमा रहेका बिरामीहरुलाइ पनि अब फेरी थप मेसीन जडान गरेर बिरामी संख्या थप्ने तयारी भै रहेको उहाँको भनाई छ ।
जिल्ला भित्र रहेका जटिल रोगका बिरामीहरुलाई स्थानीयतहले पनि राम्रो सँग सहजीकरण र सहयोग गर्दै आएका छन् । मंगला गाउँपालिकामा रहेका जटिल रोगका ४२ जना बिरामीहरुलाइ मासिक रुपमा उपचारमा सहयोग पाँच हजार गर्दै आएको छ । मृगौला प्रत्यारोपण तथा डाइलाईसिस गराउने २० जना, क्यान्सरका २० जना र मेरुदण्ड पक्षघातका २ जना गरी ४२ जनाले राहत पाउने गरेको मंगला गाउँपालिकाका स्वास्थ्य शाखाका बालकृष्ण शर्माको भनाई छ ।
बेनी नगरपालिका स्वास्थ्य शाखाका खगराज न्यूरेले क्यान्सरका ६८, डाइलाइसिस १२ जना, मृगौला प्रत्यारोपण १ जना र मेरुदण्ड पक्षघातका १ जनाले महिनाको पाँच हजार रुपियाँका दरले पाउने गरेको बताउनुभयो ।
त्यसैगरी धवलागिरी गाउँपालिकामा रहेका डाइलाइसिसका २० जना, क्यान्सरका १३ जना, मृगौला फेल १ जना, पाठेघर क्यान्सर २ जना, मेरुदण्ड पक्षघात २ जना र स्तन क्यान्सरका १ जनालाई पालिकाले स्वास्थ्य सुविधा दिने गरेको स्वास्थ्यशाखाकी सम्झना केसीले बताउनुभयो ।
रघुगंगा गाउँपालिकामा मृगौला डाइलाईसिसका १६ जना, मेरुदण्ड पक्षघातका ४ जना र २८ जना क्यान्सर पिडीतले नियमित रुपमा मासिक पाँचहजार राहत लिइ रहेका छन् ।
अन्नपुर्ण गाउँपालिकामा मृगौला प्रत्यारोपणका ४ जना, डाइलाईसिस १० जना, मृगौला फेल ३ जना, थाइराइड क्यान्सर १ जना, मेरुदण्ड पक्षघात २ जना र क्यान्सरका १८ जना गरी ३८ जनालाई सुविधा दिइएको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो ।
मालिका गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीका अनुसार मिर्गौला डायलाइसिस १४ जना, थाइराइड क्यान्सर र अन्य विभिन्न प्रकारका क्यान्सरका ५÷५ जना, स्तन क्यान्सरबाट ४ जना, मेरुदण्ड पक्षघातबाट ४ जना, पाठेघरको मुखको क्यान्सरबाट ३ जना, पाठेघरको भित्री तहको क्यान्सर, तीव्र रक्त क्यान्सर, मस्तिष्कको ट्युमर, कलेजोको क्यान्सर, कलेजोको जटिल समस्या र अण्डकोषको क्यान्सरबाट १÷१ जना बिरामीले जनही पाँचहजारका दरले सुविधा लिने गरेका छन् ।
