अमृत बास्कुने
“जीवनमा सबैभन्दा ठूलो खुसी पैसा कमाउनु होइन, आफ्नै गाउँमा बसेर सम्मानका साथ काम गर्न पाउनु रहेछ ।’’ मालिका गाउँपालिका–१, निस्कोट डाँसा सिरदिका ४४ वर्षीय गंगाराम पौडेलले यति भनिरहँदा उनको अनुहारमा देखिएको मुस्कानमा दुई दशक लामो संघर्षको कथा लुकेको थियो । त्यो मुस्कान कुनै रातारात प्राप्त सफलताको परिणाम थिएन । त्यसको पछाडि थियो– बीस वर्षसम्म परदेशको गर्मीमा बगेको पसिना, हजारौं रातको एक्लोपन, परिवारबाट टाढा बितेका चाडपर्व, मनभरि बोकेको घर फर्किने सपना र अन्ततः आफ्नै माटोमा केही गरेर देखाउने दृढ अठोट ।
नेपालका हजारौं युवाजस्तै गंगाराम पनि रोजगारीको खोजीमा विदेशिएका थिए । गाउँमा अवसर सीमित थियो । परिवारको आर्थिक अवस्था बलियो थिएन । आम्दानीका स्रोत न्यून थिए । घरमा जिम्मेवारी थपिँदै गएको थियो । यही बाध्यताले उनलाई २०५८ सालमा मलेसियाको बाटो देखायो ।
विदेश जानुअघि उनले गाउँका डाँडापाखा, खेतबारी, मेलापात र आफन्तसँग बिताएका दिनहरू सम्झँदै विमान चढेका थिए । उनलाई थाहा थियो, विदेश पैसा कमाउने ठाउँ हो, तर परिवारबाट टाढा रहने पीडाको कुनै मूल्य हुँदैन । मलेसियामा उनको जीवन सोचेजस्तो सहज भएन । भाषा फरक, संस्कृति फरक, मौसम फरक । बिहानदेखि बेलुकासम्मको कठोर श्रम, सीमित आराम र भविष्यका लागि बचत गर्ने चिन्ताले दिन बित्थे । पाँच वर्ष पाँच महिना उनले त्यही संघर्ष दोहोर्याए ।
त्यसपछि उनको यात्रा बहराइन पुग्यो । त्यहाँ एक वर्ष काम गरे । फेरि कतार पुगे । कतारमा साढे चार वर्ष बिताए । त्यसपछि संयुक्त अरब इमरेष्ट(युएइ)को आबुधाबीमा चार वर्ष र अन्तिम चरणमा ओमानमा छ वर्ष काम गरे । यसरी हेर्दा उनको वैदेशिक जीवन एउटा देशबाट अर्को देशमा अवसर खोज्दै बितेको दुई दशक लामो यात्रा थियो । विदेशमा रहँदा एउटा कुरा भने कहिल्यै बदलिएन । त्यो थियो– घर फर्किने सपना ।
हरेक दशैंमा गाउँ सम्झिन्थे । तिहारमा देउसीभैलोको आवाज सम्झिन्थे । सन्तान हुर्किरहेको खबर फोनबाट सुन्थे । बाबु भएर पनि छोराछोरीको बालापनसँगै हिँड्न नपाउनु उनको जीवनको सबैभन्दा ठूलो पीडा थियो ।
आज उनका जेठा छोरा २० वर्षका भइसकेका छन् । उनले कक्षा १२ उत्तीर्ण गरिसकेका छन् । कान्छो छोरा १७ वर्षका छन् र कक्षा ११ मा अध्ययनरत छन् । १२ वर्षीया छोरी कक्षा ७ मा पढ्दै छिन् । उनीहरू हुर्कँदै गर्दा बाबु धेरैजसो समय हजारौं किलोमिटर टाढा थिए ।
गंगाराम भन्छन्, “विदेशमा पैसा कमाइयो, तर सन्तानको बाल्यकाल फेरि फर्केर आउँदैन रहेछ ।“ त्यही अनुभूतिले उनको सोच परिवर्तन गरिदियो । विदेशमा जति कमाए पनि आफ्नै गाउँमा सम्मानका साथ बस्न सके त्यसको आनन्द अलग हुने विश्वास उनमा बढ्दै गयो । यही सोचेर २०७७ सालमा अन्ततः उनले स्थायी रूपमा नेपाल फर्किने निर्णय गरे । धेरैले फेरि विदेश जान सुझाव दिए । कतिपयले नेपालमा व्यवसाय गरेर केही हुँदैन पनि भने । तर उनले यो पटक आफ्नो निर्णय बदल्न चाहेनन् ।

नेपाल फर्किएपछि उनले केही दिन गाउँको परिवेश नियाले । विदेशमा सिकेको अनुशासन, समयको महत्व र सेवा गर्ने शैलीलाई आफ्नै गाउँमा प्रयोग गर्न सकिन्छ भन्ने विश्वास उनमा जागिसकेको थियो । यही समयमा उनलाई तत्कालीन मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुवेदीले भेटे । सुवेदीले विदेशबाट फर्किएका युवाले फेरि विदेश जाने सोच त्यागेर गाउँमै व्यवसाय गर्नुपर्ने सुझाव दिए । “रोजगारी खोज्ने होइन, अब रोजगारी दिने मानिस बन्नुपर्छ,“ सुवेदीले दिएको त्यो सल्लाह गंगारामको जीवनको मोड बन्यो । सुवेदीले केवल सल्लाह मात्र दिएनन् । सहकारीमार्फत ऋणको व्यवस्था मिलाउन सहयोग गरे । आवश्यक व्यक्तिहरूसँग चिनजान गराइदिए । आत्मविश्वास बढाइदिए । गाउँमै सम्भावना छ भन्ने विश्वास दिलाए ।
गंगाराम भन्छन्, “कहिलेकाहीँ एउटा मानिसले दिएको हौसलाले जीवनको बाटो नै बदलिदिन्छ । मैले त्यही हौसला पाएको थिएँ ।“ परदेशबाट फर्किएका धेरै नेपालीसँग पूँजी हुन्छ, अनुभव पनि हुन्छ । तर आत्मविश्वास हुँदैन । जोखिम उठाउने आँट हुँदैन । गंगारामले त्यो डर जिते । उनले विदेशको कमाइलाई खर्च गर्ने होइन, लगानी गर्ने निर्णय गरे । त्यही निर्णयले केही समयपछि दरवाङ बजारमा एउटा नयाँ यात्राको सुरुवात गरायो ।
२०७८ सालमा गंगाराम पौडेलले दरवाङ बजारमा “प्रकृति मोटर पाट्र्स तथा वर्कसप“ सञ्चालनमा ल्याए । व्यवसाय सुरु गर्दा उनीसँग ठूलो भवन थिएन, धेरै उपकरण थिएनन् र कर्मचारीको लामो टोली पनि थिएन । थियो त केवल विदेशमा कमाएको केही पूँजी, कामप्रतिको इमानदारी र ग्राहकको विश्वास जित्ने अठोट ।
सुरुका दिन सजिला थिएनन् । नयाँ व्यवसाय भएकाले ग्राहकको विश्वास जित्न समय लाग्यो । मोटरसाइकल मर्मत गर्ने वर्कसप त थियो, तर त्यसलाई टिकाइराख्न निरन्तर मेहनत आवश्यक थियो । बिहान सबेरैदेखि बेलुकासम्म उनी आफैं वर्कसपमा खटिन्थे । कुनै काम सानो वा ठूलो भन्ने सोच राखेनन् । ग्राहकले मोटरसाइकल लिएर आउँदा उनी त्यसलाई आफ्नै सामानजस्तै सम्झेर मर्मत गर्थे ।
विदेशमा रहँदा सिकेको एउटा बानी उनले व्यवसायमा पनि लागू गरे—समयको सम्मान । ग्राहकलाई जति समयमा काम सकिन्छ भनियो, त्यही समयमा सक्न प्रयास हुन्थ्यो । गुणस्तरमा सम्झौता नगर्ने र व्यवहारलाई सबैभन्दा ठूलो पूँजी मान्ने उनको स्वभावले विस्तारै ग्राहकको विश्वास जित्न थाल्यो ।
दरवाङ बजार हुँदै पश्चिम म्याग्दीका विभिन्न गाउँमा दैनिक सयौं मोटरसाइकल गुड्छन् । पहाडी भूगोल, उकालो–ओरालो र कच्ची सडकका कारण मोटरसाइकलमा समस्या आइरहन्छ । पहिले सामान्य मर्मतका लागि पनि टाढासम्म पुग्नुपर्ने अवस्था थियो । आवश्यक पार्टपुर्जा सजिलै पाइँदैनथ्यो । गंगारामले यही अभावलाई अवसर बनाए ।
आज “प्रकृति मोटर पाट्र्स तथा वर्कसप“ पश्चिम म्याग्दीका धेरै सेवाग्राहीको पहिलो रोजाइ बनेको छ । मालिका गाउँपालिका, धवलागिरि गाउँपालिका र आसपासका क्षेत्रका सर्वसाधारण तथा व्यवसायीले यहाँबाट सेवा लिइरहेका छन् । मोटरसाइकल मर्मतदेखि आवश्यक पार्टपुर्जा उपलब्ध गराउनेसम्मको सेवा एकै ठाउँमा पाइने भएपछि स्थानीय बासिन्दालाई सहज भएको छ ।
मालिका गाउँपालिका–५ का वडा अध्यक्ष पथबहादुर रोका भन्छन्, “गाउँपालिकाको कार्यालय अगाडि सञ्चालनमा रहेको यो व्यवसायले पश्चिम म्याग्दीका धेरै सेवाग्राहीलाई ठूलो सुविधा दिएको छ । सामान्य मर्मतका लागि पनि टाढा धाउनुपर्ने बाध्यता धेरै हदसम्म हटेको छ । “गंगारामका लागि व्यवसाय भनेको नाफा कमाउने माध्यम मात्र होइन । उनी यसलाई समाजप्रतिको जिम्मेवारी पनि मान्छन् । त्यसैले आज उनको वर्कसपमा परिवारका तीन सदस्यसँगै बाहिरका चार जनाले नियमित रोजगारी पाएका छन् ।
एक समय आफैं रोजगारी खोज्दै पाँच देश चहार्ने व्यक्ति आज सात जनाको जीविकोपार्जनको आधार बनेका छन् । यो परिवर्तन केवल व्यक्तिगत सफलता होइन, स्थानीय अर्थतन्त्रमा परेको सकारात्मक प्रभाव पनि हो । गंगाराम प्रायः भन्ने गर्छन्, “विदेशमा मैले अरूको कम्पनीका लागि काम गरेँ । अहिले आफ्नै गाउँमा बसेर आफ्नै पसिनाले अरूलाई पनि काम दिन पाउँदा सन्तुष्टि मिल्छ ।“ उनी विदेशलाई अस्वीकार गर्दैनन् । बरु विदेशले सिकाएको अनुशासन, मेहनत, बचत गर्ने बानी र समयको मूल्यलाई आफ्नो सफलताको आधार मान्छन् । “विदेश जानु नराम्रो होइन,“ उनी भन्छन्, “तर विदेशबाट फर्किएपछि त्यहाँ सिकेको अनुभव आफ्नै देशमा प्रयोग गर्न सकियो भने त्यसको अर्थ अझ ठूलो हुन्छ ।“
गंगारामको सफलतामा परिवारको साथ पनि उत्तिकै महत्वपूर्ण छ । श्रीमती यामकुमारी पौडेलले व्यवसाय सञ्चालनमा निरन्तर साथ दिएकी छन् । विदेशमा हुँदा घर सम्हाल्ने जिम्मेवारीदेखि अहिले व्यवसायमा सहयोग गर्ने भूमिकासम्म उनले परिवारको बलियो आधार बनेर साथ दिएकी छन् ।
घरमा रहेका तीन दाजुभाइमध्ये गंगाराम सबैभन्दा कान्छा हुन् । एक जना दिदीसहितको संयुक्त पारिवारिक परिवेशमा हुर्केका उनले सानैदेखि मेहनत गर्न सिकेका थिए । त्यही संस्कारले जीवनका कठिन मोडहरू पार गर्न बल दिएको उनी बताउँछन् ।
विदेशमा कमाएको रकम खर्च गरेर विलासी जीवन बिताउने सोच उनले कहिल्यै बनाएनन् । कमाइलाई बचत गरे । नेपाल फर्किएपछि पनि व्यवसायबाट भएको आम्दानीलाई विस्तारै लगानी गर्दै गए । त्यसकै परिणामस्वरूप उनले दरवाङ बजारमा आफ्नै घर खरिद गरेका छन् । यो घर केवल इँटा, सिमेन्ट र छानाको संरचना होइन । यसमा मलेसियाको पसिना, बहराइनको संघर्ष, कतारको मेहनत, आबुधाबीको अनुशासन, ओमानको धैर्य र नेपाल फर्किएपछि गरेको अथक परिश्रमको कथा जोडिएको छ ।
तत्कालीन वडा अध्यक्ष सन्तोष सुवेदी गंगारामलाई सम्झँदा खुसी व्यक्त गर्छन् । उनका अनुसार विदेशबाट फर्किएपछि छोटो समयमै व्यवसायमा यति राम्रो प्रगति गर्ने उदाहरण मालिका गाउँपालिकामा निकै कम छन् । “गंगारामको सफलताले विदेशबाट फर्किएका धेरै युवामा आत्मविश्वास बढाएको छ,“ उनी भन्छन् । “अवसर खोज्न मात्र होइन, अवसर सिर्जना गर्न पनि सकिन्छ भन्ने उदाहरण उनले दिएका छन् ।“
नेपालमा अहिले पनि धेरै युवाको सपना विदेश पुग्ने हुन्छ । कतिपयका लागि त्यो आवश्यकता पनि हो । तर विदेशको कमाइ जीवनभर विदेशमै खर्चिनु मात्र अन्तिम उपलब्धि होइन भन्ने सन्देश गंगारामको जीवनले दिन्छ । विदेशबाट फर्किएपछि आफ्नै गाउँमा सम्भावना खोज्न सकिन्छ, सानो व्यवसायलाई ठूलो बनाउन सकिन्छ र अरूका लागि पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विश्वास उनले व्यवहारमै प्रमाणित गरेका छन् ।
आज दरवाङ बजारमा वर्कसपमा आउने हरेक ग्राहकसँगै गंगारामको आत्मविश्वास पनि बढिरहेको छ । बिहान वर्कसप खोल्दा उनलाई विदेशका ती वर्षहरू सम्झना आउँछन् । तर अहिले ती सम्झनामा पीडा कम र गर्व बढी छ । किनकि उनले परदेशमा बगाएको पसिनालाई आफ्नै माटोको उर्वर भविष्यमा रूपान्तरण गरेका छन् ।
जीवनमा सफलता सधैं ठूलो अवसरबाट सुरु हुँदैन । धेरैजसो सफलता एउटा सानो निर्णयबाट सुरु हुन्छ । गंगारामका लागि त्यो निर्णय थियो—“अब विदेश होइन, आफ्नै गाउँमा केही गर्छु ।“
आज उनको कथा केवल एउटा व्यक्तिको सफलताको कथा होइन । यो गाउँ फर्किएका युवाको सम्भावना, श्रमको सम्मान, परिवारको साथ, सही मार्गदर्शन र आत्मविश्वासले असम्भव देखिने यात्रालाई पनि सम्भव बनाउन सक्छ भन्ने प्रेरणादायी दस्तावेज हो ।
म्याग्दीका डाँडाकाँडाबाट उडेर पाँच देश पुगेका गंगाराम पौडेल अन्ततः फेरि आफ्नै माटोमा फर्किए । फर्केर उनले केवल एउटा वर्कसप खोलेनन्, उनले आशाको एउटा ढोका खोले । त्यो ढोकाले आज धेरै युवालाई एउटा सन्देश दिइरहेको छ ।
“विदेशले कमाइ दिन सक्छ, तर आफ्नै माटोले पहिचान दिन्छ । मेहनत, इमानदारी र आत्मविश्वासका साथ अघि बढ्ने हो भने सफलता खोज्न संसार डुल्नुपर्दैन, कहिलेकाहीँ त्यो आफ्नै गाउँको बाटोमै प्रतीक्षा गरिरहेको हुन्छ ।“
