पश्चिम म्याग्दीको प्रवेशद्वारका रूपमा परिचित दरवाङ बजारमा पुग्ने जो कोहीको नजर सहजै बजारको बीचभागतर्फ अवस्थित भगवती मन्दिरमा पुग्छ । पहिलो दृष्टिमा यो एउटा सामान्य धार्मिक मन्दिरजस्तो देखिए पनि यसको इतिहास पल्टाएर हेर्दा यसले केवल देवी भगवतीको आराधना मात्र नभई पश्चिम म्याग्दीको सामाजिक विकास, शिक्षाको सुरुआत, बसाइँसराइको इतिहास, समुदायको एकता र पुस्तौंदेखि जोगिँदै आएको सांस्कृतिक परम्पराको लामो कथा बोकेको पाइन्छ । धार्मिक आस्थाले जन्माएको एउटा सानो मन्दिर समयसँगै पश्चिम म्याग्दीको चिनारी बनेको छ । यहाँ दैनिक रूपमा स्थानीय भक्तजन पूजा गर्न पुग्छन् भने बडादशैंको नवदुर्गा र चैते दशैंका अवसरमा मन्दिर परिसर श्रद्धालुले भरिभराउ हुन्छ । देवी भगवतीप्रतिको आस्था, शान्त वातावरण र इतिहासले भरिएको यो स्थल अहिले मालिका गाउँपालिकाले पहिचान गरेका ३५ प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक महत्वपूर्ण गन्तव्य पनि बनेको छ ।
चैत्राष्टमी तथा नवदुर्गाको समयमा मन्दिरमा पुगेर केहीबेर बस्दा घण्टीको मधुर ध्वनि, धूपको सुगन्ध, आरतीको प्रकाश र वरिपरि फैलिएको धार्मिक वातावरणले मनलाई एकाएक शान्त बनाइदिन्छ । यही कारण यहाँ आउने धेरै श्रद्धालुले केवल पूजा गरेर मात्र होइन, केही समय ध्यान, प्रार्थना र आत्मिक शान्तिको अनुभूति गर्दै फर्किने गरेका छन् ।
दरवाङ भगवती मन्दिरको इतिहास अध्ययन गर्ने हो भने यसको तथ्यहरु झण्डै आठ दशक पुरानो मानिन्छ ।
जिल्ला विकास समिति म्याग्दीका पूर्व सभापति ओमप्रकाश शेरचनका अनुसार उनका पिता शेरबहादुर शेरचनले आफ्ना सन्तान प्राप्तिको कामना गर्दै धार्मिक कार्यहरू गर्ने क्रममा वि.सं. २००० सालतिर दरवाङ बजारको छेउमा भगवती मन्दिर निर्माण गरेका थिए । त्यसबेला दरवाङ अहिलेको जस्तो व्यवस्थित बजार थिएन । केही घर, खेतीयोग्य जमिन र नदी किनारको बस्तीका बीचमा एउटा धार्मिक केन्द्र बनाउने सोच स्वयंमा दूरदर्शी निर्णय थियो ।
ओमप्रकाश शेरचनको जन्म वि.सं. २००७ सालमा भएको हो । उनका अनुसार आफ्नो जन्मअघि नै उनका पिताले धार्मिक विश्वासका साथ मन्दिर निर्माण गरिसकेका थिए । आफूले बाबुबाट संरक्षणको जिम्मेवारी पाएको र अहिले आफ्ना छोरा दोरन शेरचनले मन्दिरको रेखदेख गरिरहेको उनी बताउँछन् । यसरी मन्दिर निर्माण गर्ने परिवारमा पनि संरक्षणको जिम्मेवारी तीन पुस्तादेखि निरन्तर चलिरहेको छ ।
स्थानीय अग्रज भिमेन्द्र गौचनका अनुसार दरवाङमा बसाइँसराइ गरेर आएका थकाली समुदायका अगुवाहरूको अग्रसरताले नै वि.सं. २००० सालतिर मन्दिर निर्माण सम्भव भएको हो । उनका अनुसार शेरबहादुर शेरचन, जगतबहादुर तुलाचनलगायतका अगुवाहरूले धार्मिक र सामाजिक केन्द्रको आवश्यकता महसुस गर्दै यस क्षेत्रमा बसोबास विस्तार गरेका थिए । वि.सं. २००० मा जन्मीएका भिमेन्द्रको पनि यो मन्दिर संग निकट अनि गहिरो साइनो जोडिएको छ ।
भिमेन्द्र गौचनका अनुसार उनका बाबु तेजबहादुर गौचन वि.सं. १९९१ सालतिर दरवाङ आएका थिए भने शेरबहादुर शेरचन र जगतबहादुर तुलाचन वि.सं. १९९२ सालतिर दरवाङमा बसाइँ सरेका थिए । नयाँ बस्ती बसाल्ने क्रममा उनीहरूले धार्मिक, सामाजिक र सांस्कृतिक जीवनलाई व्यवस्थित बनाउन भगवती मन्दिर निर्माणलाई प्राथमिकता दिएका थिए ।
शेरबहादुर शेरचनले आफ्नै मनोकामना पूरा होस् भन्ने विश्वासका साथ मन्दिर निर्माण गरेका थिए । पछि आफ्ना छोरा जन्मिएपछि आफ्नो इच्छा पूरा भएको अनुभूति गर्दै उनले उक्त मन्दिर व्यक्तिगत सम्पत्तिका रूपमा नराखी गाउँ समाजकै नाममा हस्तान्तरण गरेका थिए । यही कारण यो मन्दिर सुरुदेखि नै समुदायको साझा धार्मिक धरोहरका रूपमा विकास हुँदै आएको पाइन्छ । पश्चिम म्याग्दीको दरवाङक्षेत्र मात्र नभएर यहाँ वरीपरी पनि यति व्यवस्थीत भगवति मन्दिर नरहेको गौचनले सुनाए ।
दरवाङ भगवती मन्दिरको अर्को महत्वपूर्ण विशेषता यसको पुजारी परम्परा पनि हो । मन्दिर निर्माणपछि मराङबाट टिकाराम उपाध्यायलाई विशेष रूपमा ल्याएर पूजा आराधनाको जिम्मेवारी दिइएको थियो । त्यसपछि उनका छोरा जयश्वर सुवेदीले पुजारीको जिम्मेवारी सम्हाले । अहिले जयश्वरका छोरा जीवनाथ सुवेदीले नियमित नित्यपूजा गर्दै आएका छन् । अहिले जयश्वर र जीवनाथले दरवाङमा रहेका दुई वटा महत्वपूर्ण मन्दिरहरुमा नित्य पुजा गर्दै आएका छन् ।
मन्दिर स्थापना गर्ने परिवार तीन पुस्तामा पुगेको छ भने पुजारीको जिम्मेवारी पनि तीन पुस्तादेखि एउटै परिवारले सम्हाल्दै आएको तथ्य आफैंमा दरवाङ भगवती मन्दिरको दुर्लभ विशेषता हो । पुस्ता फेरिए पनि पूजा, परम्परा र आस्था भने कहिल्यै फेरिएको छैन ।
पुजारी जीवनाथ सुवेदीका अनुसार अहिले पनि मन्दिरमा नियमित नित्यपूजा हुने गरेको छ । विशेषगरी बडादशैंको नवदुर्गा र चैते दशैंमा ठूलो पूजाआजा हुने गर्दछ । ती अवसरमा मालिका गाउँपालिका मात्र नभई म्याग्दीका विभिन्न स्थान तथा अन्यत्रबाट समेत श्रद्धालु दर्शनका लागि आउने गर्छन् । धार्मिक तथा ऐतिहासीक महत्वको भए पनि अझै यसको जति प्रचारप्रसार हुन पर्ने हो त्यो हुन नसकेको तर्फ भने ध्यान पुग्न नसकेको जस्तो पनि भान हुने गरेको छ ।
उनी भन्छन्, पहिले मन्दिर अहिलेको स्थानमा थिएन । म्याग्दी नदी किनारतर्फ डिलमा रहेको मन्दिर नदी कटानका कारण भत्किएपछि हालको स्थानमा सारिएको हो । वास्तवमा दरवाङ भगवती मन्दिरको इतिहास नदीसँग पनि जोडिएको छ । सुरुमा म्याग्दी नदी किनारमा निर्माण गरिएको मन्दिर नदीमा आएको बाढी र कटानले क्षतिग्रस्त बनायो । प्राकृतिक विपत्तिका कारण पुरानो मन्दिर जोगाउन नसकिएपछि स्थानीयवासी फेरि एकजुट भए ।
ओमप्रकाश शेरचनका अनुसार वि.सं. २०४० को दशकको अन्तिम तिर मन्दिरमा क्षती शुरु भए पछि मन्दिर स्थानान्तरण गरिएको थियो । त्यसपछि हाल रहेको स्थानमा पुनः निर्माणको प्रक्रिया अघि बढ्यो । हालको अवस्थामा रहेको मन्दिरको सन्दर्भमा भिमेन्द्र गौचनका अनुसार म्याग्दी नदीको बाढीबाट मन्दिरमा ठूलो क्षति पुगेपछि उनी मन्दिर निर्माण समितिको अध्यक्ष बनेर वि.सं. २०५२ सालमा हालको मन्दिर निर्माण सम्पन्न गरिएको हो । अहिले मन्दिर रहेको स्थानमा जटिल पहरा काटेर जग तयार पारिएको थियो । स्थानीयको श्रमदान, सहयोग र धार्मिक विश्वासका कारण पुनः निर्माण सम्भव भएको उनले सम्झन्छन् ।
धर्म संस्कृति संगै सामाजिक उत्तरदायित्व मात्रै नभएर अन्य धेरै कुराहरु पनि जोगिन्छन् । दरवाङमा रहेको भगवती मन्दिरको इतिहाससँग जोडिएको अर्को महत्वपूर्ण अध्याय पश्चिम म्याग्दीको शिक्षाको इतिहास हो ।
स्थानीय अग्रजहरूका अनुसार मन्दिर स्थापना भएपछि शेरचन परिवारले विद्यालयका लागि जग्गा उपलब्ध गराएको थियो । त्यसपछि वि.सं. २००८ साल मंसिरमा जनप्रिय विद्यालय स्थापना गरिएको थियो । यसरी हेर्दा पश्चिम म्याग्दीमा औपचारिक शिक्षाको उज्यालो फैलाउन दरवाङ भगवती मन्दिरको स्थापना अप्रत्यक्ष रूपमा आधार बनेको देखिन्छ ।
सुरुमा मन्दिरसँगै विद्यालय सञ्चालन गरिएको थियो । तर पछि नदी कटानका कारण मन्दिर क्षतिग्रस्त भएपछि विद्यालय पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो । आज पनि विद्यालयको इतिहास सम्झँदा स्थानीयले मन्दिरको योगदानलाई पहिलो स्थानमा राख्ने गरेका छन् ।
भिमेन्द्र गौचन स्वयं जनप्रिय विद्यालयका विद्यार्थी हुन् । आफैले पढेको विद्यालयलाई व्यवस्थीत बनाउनका लागि पनि उनले योगदान दिएका थिए । विद्यालय व्यवस्थापन समितिको लामो समय सम्म अध्यक्ष भएका पनि थिए । उनले वि.सं. २०३३ सालदेखि लगातार १६ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर विद्यालयको नेतृत्व गरेका थिए । त्यसपछि वि.सं. २०६३ सालदेखि पुनः तीन वर्ष अध्यक्ष बनेर विद्यालयको विकासमा योगदान दिएका थिए ।
भिमेन्द्रले दरवाङको इतिहास सम्झँदा उनी वि.सं. १९७९ सालको भीषण पहिरोको प्रसंग पनि सुनाउँछन् । उनका अनुसार त्यसबेला आएको विनाशकारी पहिरोमा करिब तीन सय हाराहारी मानिसको ज्यान गएको थियो । केही गाउँ त लगभग समाप्त भएका थिए । एउटा गाउँमा दुई जना मात्र जीवित बचेको स्थानीय पुस्ताले सुनाउँदै आएको उनी बताउँछन् । त्यसपछि विस्तारै नयाँ बस्ती बस्दै गयो र धार्मिक तथा सामाजिक संरचनाहरू निर्माण हुँदै गए ।
आज पनि दरवाङ भगवती मन्दिर कुनै ठूलो आर्थिक स्रोतको भरमा सञ्चालन भएको छैन । ओमप्रकाश शेरचनका अनुसार अहिले मन्दिरको औपचारिक व्यवस्थापन समिति सक्रिय छैन । तर स्थानीय समुदायको अपनत्व नै यसको सबैभन्दा ठूलो शक्ति बनेको छ । पुजारी जीवनाथ सुवेदीका अनुसार मन्दिरका पुजारीका लागि कुनै निश्चित तलब वा सुविधा छैन । भक्तजनले चढाउने भेटी र श्रद्धाबाट प्राप्त रकमबाट नै पुजारीको सामान्य व्यवस्थापन हुँदै आएको छ । श्रद्धा, विश्वास र सेवाभावले नै पुस्तौंदेखि यो धार्मिक परम्परा निरन्तर चलिरहेको छ ।
धार्मिक दृष्टिले मात्र होइन, सांस्कृतिक र पर्यटनका हिसाबले पनि दरवाङ भगवती मन्दिरको महत्व दिनप्रतिदिन बढिरहेको छ । दरवाङ बजार पुग्ने अधिकांश आन्तरिक पर्यटक यहाँ पुग्न चाहने प्रकारको वातावरवण सृजना गर्न सकेको खण्डमा अझै धेरै यस मन्दिरको प्रचारप्रसार हुने जनविश्वास रहेको छ ।
मालिका गाउँपालिकाका पर्यटकीय गन्तव्यहरू घुम्ने योजना बनाउने जो–कोहीका लागि यो मन्दिर यात्रा प्रारम्भ गर्ने शुभ स्थलका रूपमा समेत स्थापित हुनु पर्ने देखिन्छ । धार्मिक तथा शैक्षिक इतिहासको धरोहर रहेको यो मन्दिरको संरक्षण र उचित प्रचार नै आजको मुख्य आवश्यकता रहेको मालिका गाउँपालिका ६ का पूर्व अध्यक्ष सन्तोष सुवेदीको भनाई छ । आफू अध्यक्ष भएको समयमा मन्दिरको मर्मतका लागि बजेट व्यवस्था गरेका सुवेदीले मन्दिरको प्रचारका लागि पनि आफूले प्रयास गरेको र अरुले पनि गर्नु पर्नेमा जोड दिन्छन् । हाल जनप्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुवेदीले दरवाङ क्षेत्रको शैक्षिक इतिहासको जग हाल्ने पनि यही मन्दिर भएको हुनाले संरक्षण सम्बद्र्धनका साथै प्रचार गर्नुपर्नेमा जोड दिए ।
दरवाङ बजारकै छेउमा भएको हुँदा जो कोही पनि सहजै पुग्न सकिने, ऐतिहासिक पृष्ठभूमि बोकेको, प्राकृतिक वातावरणले घेरिएको र धार्मिक आस्थाले भरिएको यो मन्दिरमा पुग्दा केवल देवीको दर्शन मात्र हुँदैन, पश्चिम म्याग्दीको इतिहास, संघर्ष, बसाइँसराइ, शिक्षा र समाज निर्माणको एउटा जीवित अध्याय पनि पढ्न पाइन्छ । धेरै धार्मिक स्थलहरू केवल पूजा गर्ने ठाउँ हुन्छन् । केही ऐतिहासिक स्थलहरू केवल इतिहास सुनाउँछन् । तर दरवाङ भगवती मन्दिर त्यस्तो दुर्लभ धरोहर हो जहाँ धर्म, इतिहास, शिक्षा, समाज र संस्कृतिले एउटै आँगन साझा गरेका छन् ।
मालिका गाउँपालिका तथा म्याग्दी उद्योग बाणिज्य संघको संयुक्र प्रयासमा मालिका गाउँपालिकाका ३५ प्रमुख गन्तव्यको पहिचान गरी प्रचारप्रसार अभियान थालेको अवस्थामा आन्तरीक तथा बाह्य पर्यटकहरुले यात्रामा दरवाङ भगवती मन्दिर केवल एउटा ’स्टप’ होइन, यात्राले अनिवार्य रूपमा समेट्नुपर्ने गन्तव्य हो । यहाँको दर्शनले श्रद्धा बढाउँछ, इतिहासले सोच्न बाध्य बनाउँछ र पुस्तौंदेखि जोगिँदै आएको आस्थाले आफ्नै संस्कृतिप्रति गर्व गर्ने अवसर प्रदान गर्छ ।
मालिका गाउँपालिका ६ का वडा अध्यक्ष पथबहादुर रोकाले पश्चिम म्याग्दी पुग्दै हुनुहुन्छ भने केही समय छुट्याएर दरवाङ भगवती मन्दिर अवश्य पुग्नु पर्ने बताउँछन् । यहाँको शान्त वातावरणमा बसेर इतिहास सुन्नुहोस्, पुस्तौंदेखिको आस्थाको आरतीको उज्यालो हेर्नुहोस् र मनमनै भगवती मातासँग प्रार्थना गर्नुहोस् । सम्भवतः त्यसपछि तपाईंले महसुस गर्नुहुनेछ दरवाङको यात्रा भगवती मन्दिरको दर्शनबिना पूर्ण हुन सक्दैन । यही कारण यो मन्दिर केवल मालिका गाउँपालिकाको मात्र होइन, समग्र म्याग्दी जिल्लाकै धार्मिक, ऐतिहासिक र पर्यटकीय गौरवका रूपमा स्थापित हुँदै आएको छ । धार्मिक तथा शैक्षिक इतिहासको साँक्षी रहेको यो मन्दिरमा एक पटक अवश्य पुग्नुहोस ।
