अमृत बास्कुने
मंगला गाउँपालिकामा चालु आर्थिक वर्षका लागि स्वीकृत भएका कुल एक सय ५४ वटा योजनाहरु कार्यान्वयनको अन्तिम चरणमा प्रवेश गर्दैछन् । गाउँपालिकाले आफ्नो मुड भन्दा पनि माग अनि आवश्यकताको आधारमा छनोट गरेर कार्यान्वयन चरणमा प्रवेश गरेको हुँदा समग्र विकासको स्पष्ट संकेत देखिएको छ । गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुद तथा सामाजिक क्षेत्रलाई समेत पूर्ण सन्तुलित रूपमा समेट्दै बजेट विनियोजन गरेको छ । गाउँपालिकाले छनौट गरेका योजनाहरू केवल संरचना निर्माणमा सीमित नभई जीवनस्तर सुधारसँग प्रत्यक्ष जोडिने देखिन्छ ।
गाउँपालिकाका अनुसार कुल एक सय ५४ योजना मध्ये ९५ वटा योजना भवन तथा सडकतर्फ केन्द्रित छन् । यसबाट स्थानीय तहको प्राथमिकता अझै पनि आधारभूत पूर्वाधार विकासमै केन्द्रित रहेको भन्ने देखिन्छ । जुन हिमाली जिल्ला म्याग्दीको दुर्गम तथा जोखिम युक्त भौगोलिक अवस्थालाई हेर्दा आवश्यक पनि मानिन्छ ।
काउले कृषक समूह भवन निर्माणका लागि गाउँपालिकाले ८ लाख बिनियोजन गरेको थियो । उक्त भवन निर्माणको लागि उपभोक्ता समिति मार्फत सम्झौता भै सकेको छ । पाँच लाख लागतमा महबिसौना बालविकास भवन निर्माणका लागि पनि उपभोक्ता समितिले सम्झौता गरेर काम अगाडी बढाएको छ । त्यसैगरी सिर्जनशील कृषि तथा पशुपंक्षी कृषक समूह भवन यस निर्माणको काम सकिएको छ । यस वर्ष गाउँपालिकाबाट बिनियोजन भएको रकम ८ लाख लागतको निर्माण गर्नु पर्ने जति भवन निर्माण सम्पन्न भै सकेको मंगला गाउँपालिकाका योजना अधिकृत तथा सूचना अधिकारी सुदर्शन पौडेलले जानकारी दिए । ७ लाख लागतमा चाङ्गा आमा समूह भवन निर्माण सम्पन्न भै सकेको छ । १७ लाखको लागतमा कुहुँ मालिका आमा समूह सामुदायिक भवन निर्माणका लागि सिल कोटेसन भएको छ । सामुदायिक भवन योजनाहरूले सामुदायिक सशक्तीकरण र सामाजिक पूँजी निर्माणमा टेवा पु¥याउन मद्दत गर्ने अपेक्षा गर्न सकिन्छ । त्यस्तै गरिब तथा आवासविहीनलाई आवास निर्माण सहयोगका लागि ४ लाख लागतको योजना रहेको छ । यसले लक्षित वर्गमा प्रत्यक्ष राहत दिने अपेक्षा गरिएको छ । यस प्रकारको योजनाहरु सहि स्थानमा पर्न सकेको खण्डमा हरेक प्रकारले राम्रो हुने अपेक्षा गर्न सकिने मंगला गाउँपालिकाका प्रवक्ता एकजित रोकाले बताए ।

मंगला गाउँपालिका ४ मा सामुदायिक स्वास्थ्य इकाइ भवन यस वर्ष विनियोजन गरिएको १८ लाखको काम हाल सकिएको वडा अध्यक्ष लालबहादुर रोकाले बताउनुभयो । ४ नम्बर वडामा विभिन्न १४ भन्दा बढी योजनाहरु यस वर्ष कार्यान्वयनमा गै रहेको समेत उहाँको भनाई छ ।
गाउँपालिकाले समावेशी तबरले सबै क्षेत्रमा लगानी गर्दै आएको छ । चालु आर्थिक वर्षमा पनि गाउँपालिकाले शिक्षा क्षेत्रतर्फ पनि उल्लेख्य लगानी गरेको देखिन्छ । गाउँपालिकाले मंगला गाउँपालिका ३ मा रहेको महेन्द्र रत्न माध्यमिक विद्यालयको छात्रावास भवन निर्माणका लागि ८ लाख बिनियोजन गरेको छ । महेन्द्र रत्न माध्यमिक विद्यालयमा अध्ययन गर्ने टाढाका विद्यार्थीहरु एवम् निम्न आयस्तर भएका विद्यार्थी लक्षित गरी छात्रावास सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक कृष्णलाल सापकोटाले बताउनुभयो । विद्यालयको छात्रवास निर्माण गर्नका लागि चालु आर्थिक वर्षमा ४८ लाख रुपैंया बजेट बिनियोजन भएको छ ।
गाउँपालिका भित्रका विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको सुरक्षाकालागि विभिन्न विद्यालय घेराबार तथा मर्मत गर्नका लागि यस वर्ष गाउँपालिकाले १ लाखदेखि ५ लाखसम्मका योजनाहरु निर्माण गरेर कार्यान्वयनमा लगेको छ । गाउँपालिकाले शारदा मावि छिस्वाङ, शिद्धशान्ति मावि हिदी लगायतका विद्यालयमा घेराबार योजना यस वर्ष रहेका छन् ।

मंगला गाउँपालिका ५ छिस्वाङको शारदा माध्यमिक विद्यालयमा भवन तथा घेरावार निर्माण गरिँदै छ । विद्यालयको पूर्वाधार निर्मण तर्फ शारदा माध्यमिक विद्यालयलाई १२ लाख विनियोजन भएको छ । यसले कक्षा व्यवस्थापन तथा शैक्षिक सुधारका कार्यक्रमहरूले सिकाइ वातावरणमा सुधार ल्याउने देखिन्छ । यद्यपि बजेटको आकार हेर्दा अझै पनि ठूलो संरचनात्मक रूपान्तरणभन्दा मर्मत र सुधारमा बढी जोड दिइएको विश्लेषण गर्न सकिन्छ । गाउँपालिकाले सडक तथा भवन निर्माणमा ठूला योजनाहरु निर्माण भन्दा पनि मर्मत र स्तरोन्नती तथा पुनःनिर्माणमै ध्यान दिएको जस्तो पनि देखिएको छ ।
पूर्वाधारतर्फ सबैभन्दा ठूलो बजेट मोटरबाटो तथा सडक योजनामा केन्द्रित रहेको छ ।

सिम कोत्रवाङ खुम्लिया पैयुपाटा कुहुँ पूर्णगाउँ टोड्के मोटरबाटोका लागि गाउँपालिकाबट यस वर्ष १ करोड ५० लाख ४५ हजार ४६५ बजेट बिनियोजन गरीएको छ । गत वर्ष देखिनै निर्माणधीन सडकको काम यो वर्ष पनि जारी नै रहेको छ । त्यस्तै सडक अन्तरगत नै भुर्जुला काउले मोटरबाटो २० लाखमा सिल कोटेसन मार्फत कार्यान्वयनको चरणमा पुगेको छ । नौ लाख ५० हजार लागतमा निर्माण हुने भोर्लेनी भेड़ाबारी रोहोटे सडकको काम पनि छिट्टै शुरु हुने चरणमा पुगेको छ । १७ लााख लागतको थाइवाङ–तुसारपानी मोटरबाटो स्तरोन्नतिको काम सिल कोटेसन मार्फत सम्पन्न भै सकेको छ । त्यसैगरी यही वर्षमा रणवाङ–दरुङ–हिदी सडकको ठेक्का मार्फत सम्झौता भएको छ । उक्त सडकका लागि गाउँपालिकाले २९ लाख ५ हजार बिनियोजन गरेको छ ।
गाउँपालिका भित्रको ठुलो मध्येको एक पुल्चोक–पिपलबोट–पाँखु–धारा–टिकाबाङ मोटरबाटोको पनि ठेक्का मार्फत सम्झौता भएको छ । गाउँपालिकाले चाल आर्थिक वर्षका लागि ९१ लाख बजेट बिनियोजन गरेको यो सडकको काम पनि चालु आर्थिक वर्ष भित्रै सक्ने गरी आफूहरुले काम अगाडी बढाएको निर्माण व्यवसायीले बताएको योजना अधिकृत पौडेलले जानकारी दिनुभयो । सडकको स्तरोन्नती तथा निर्माण जस्ता योजनाहरूले यातायात पहुँच विस्तारमा ठूलो प्रभाव पार्नेछन् । यसले उत्पादन लागत घटाउने, बजार पहुँच बढाउने र स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ । गाउँपालिका भित्र उत्पादीत सामग्रीहरुलाई बजारीकरण गर्नका लागि पनि यस्ता योजनाहरुले निकै राम्रो प्रभाब पार्ने देखिन्छ । गाउँपालिकाले ल्याउने योजना र यसले थालेका जनपक्षिय र विकासका योजनाले स्थानीय जनताको उत्पादन बढाउने र यसले सकारात्मक प्रभाप पार्ने अपेक्षा गर्न सकिने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।
गाउँपालिकाले आफ्ना नागरिकको जिवनस्तर उकास्न तथा गाउँपालिका भित्रका सबैजसो स्थानमा उचित खेतीपाती गर्नकालागि आवश्यक पूर्वाधार तयार गर्न तर्फ पनि केन्द्रीत भएको छ । नेपाल कृषि प्रधान मुलुक भएको हुनाले यहाँ अधिकांश नागरिकहरु कृषि मै निर्भर रहेका छन् । यस्तो अवस्थामा कृषि उत्पादन बढाउनकालागि नै प्रयास गर्नु पर्ने देखिन्छ । सिंचाइ तथा कृषि क्षेत्रमा पनि उल्लेख्य लगानी देखिन्छ । कोत्रवाङ माझकुलो सिंचाइ आयोजना ७ लाखमा निर्माण सम्पन्न हुँदै छ । त्यसैगरी रणवाङ सिंचाइ आयोजना ५ लाख, कुकुरनिसौना सिंचाइ योजना २ लाख जस्ता योजनाले कृषि उत्पादनमा स्थायित्व ल्याउने देखिन्छ । यसले वर्षामा निर्भर कृषि प्रणालीलाई क्रमशः सुधार गर्ने संकेत दिन्छ ।
खानेपानीतर्फ छ्यारछ्यारे तल्लो वकुनी योजना ५ लाख, कस्केरी खानेपानी मर्मत २ लाख, विभिन्न योजनाहरुले आधारभूत सेवा विस्तारमा सहयोग पु¥याउनेछन् । यद्यपि साना–साना बजेटका धेरै योजना छरिएका कारण प्रभावकारिता कति हुन्छ भन्ने प्रश्न पनि उठ्छ ।
युवा तथा खेलकुदको क्षेत्रमा पनि गाउँपालिकाले योजना बनाएको देखिन्छ । यस वर्ष खेलकुद तथा युवा क्षेत्रमा गिरी स्मृति युवा क्लब खेलमैदान २ लाख ५० हजार, पखेर खेलमैदान ३ लाख, न्यु लालिगुरास युवा क्लब खेलमैदान स्तरोन्नति र लाल युवा क्लब खेलमैदान स्तरोन्नतीका लागि पाँचपाँच लाख लगायतका योजनाले युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने र खेल कौशल विकासमा योगदान पु¥याउने देखिन्छ ।
गाउँपालिकाले पर्यटनको क्षेत्रमा पनि प्रसस्त कामहरु विगत देखि नै गर्दै आइ रहेको छ । यसै शिलशिलामा पर्यटन तथा वातावरण संरक्षणतर्फ मंगला इन्द्रेणी पार्क पूर्वाधार तथा ढल व्यवस्थापनका लागि ४ लाख यो वर्ष छुट्टीएको छ । बस्ती संरक्षण तथा पहिरो नियन्त्रणका लागि विभिन्न योजनाहरुमा ३ लाख ९ लाख सम्म विनियोजन गरिएको छ । धार्मिक आस्थाका केन्द्रहरु मन्दिर पूर्वाधार व्यवस्थापनमा पनि यो वर्ष वजेट विनियोजन गरिएको छ । गाउँपालिकाले समावेस गरेका विकास निर्माण लगायतको क्षेत्रका योजनाले दीर्घकालीन रूपमा पर्यावरणीय सन्तुलन र पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाको बजेट कार्यान्वयन अवस्थाबारे गाउँपालिकाका योजना अधिकृत सुदर्शन पौडेलले हालसम्म ७८ योजना उपभोक्ता समिति मार्फत, ६ योजना ठेक्का प्रक्रियाबाट, ६ योजना सिलबन्दी दरभाउबाट र ५ योजना कोटेशनमार्फत गरी कुल ९५ योजना कार्यान्वयनमा गइसकेका छन् । बाँकी ५४ योजना कार्यान्वयनमा जाने चरणमा रहेको बताउनुभयो ।
समग्र विश्लेषण गर्दा मंगला गाउँपालिकाको योजना वितरण पूर्वाधारमुखी भए पनि सामाजिक क्षेत्रलाई पनि पूर्ण रूपमा केन्द्रमा राखेरै कार्यक्रम तय गरीएको छ । मुख्य रुपमा हेर्ने हो भने गाउँपालिकाले यस वर्ष सडक र भवनमा बढी लगानी गरेको देखिन्छ । यसले तत्कालीन भौतिक विकास सुनिश्चित गर्नेछ भने शिक्षा, कृषि, स्वास्थ्य, खेलकुद र खानेपानीका योजनाहरूले दीर्घकालीन रूपमा जनताको जीवनस्तर उकास्ने आधार तयार गर्ने देखिन्छ । यद्यपि साना बजेटका धेरै योजनाहरू छरिएको अवस्थाले प्रभावकारिता र गुणस्तरमा चुनौती ल्याउन सक्ने भएकाले कार्यान्वयनको गुणस्तरमा विशेष ध्यान दिनु आवश्यक देखिन्छ ।

