बेनी, म्याग्दी — जिल्ला आर्चरी संघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका–८, कालीपुलमा बिहीबार राति सम्पन्न चौथो साधा धनुषबाण प्रतियोगिताको उपाधि धवलागिरी युथ क्लब मुदिले जितेको छ।

प्रतियोगितामा मोहन पोखरा हाउजिङ दोस्रो र बेनी ए टिम तेस्रो भएका छन्। विजेता धवलागिरी युथ क्लबले ७५ हजार, दोस्रो भएको मोहन पोखरा हाउजिङले ५० हजार र तेस्रो भएको बेनी ए टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। तीनवटै स्थान हासिल गर्ने टोलीलाई नगद पुरस्कारसँगै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि मालिका युथ क्लब जुग्जाका सचिव राजकुमार घर्तीले प्राप्त गरेका छन्। २१ डोरको खेलमा उनले ४२ वटै सर लक्ष्यमा प्रहार गरेका थिए। त्यसैगरी सात खोल प्रहार गरेका नरमान पुन बेस्ट खोलर घोषित भएका छन्। उत्कृष्ट खेलाडी र बेस्ट खोलर दुवैलाई जनही दुई हजार पाँच सय रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

विजेता तथा उत्कृष्ट खेलाडीलाई जिल्ला आर्चरी संघका सचिव खिम पुन, प्रतियोगिताका खेल संयोजक नारायण गर्बुजा र संघका अध्यक्ष दम पुनले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा करिब पाँच लाख रुपैयाँ आम्दानी र साढे तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।
जिल्ला आर्चरी संघका अध्यक्ष दम पुनले जिल्लामै उत्पादन भएका खेलाडी राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा समेत सहभागी हुन थालेको बताए। संघबाटै प्रशिक्षण र अवसर पाएका खेलाडीले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनुले जिल्लामा आर्चरी खेलको सम्भावना देखाएको उनको भनाइ छ।

खेल प्रतिभाको प्रस्फुटन, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेलको राष्ट्रियस्तरमा पहिचान विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पुनले बताए। स्थानीयस्तरमा प्रतियोगिता सञ्चालन गर्दा नयाँ खेलाडी उत्पादन र पुराना खेलाडीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उनको विश्वास छ।
मंसिर ७ गतेदेखि सुरु भएको प्रतियोगिताले परम्परागत धनुषबाण खेलको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा यसको आकर्षण बढाउनसमेत सहयोग पुर्याएको आयोजकको अपेक्षा छ।
