दिपा बुढाथोकी
बेनी, म्याग्दी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा महिलाको मानसिक स्वास्थ्यसम्बन्धी मनोसामाजिक विमर्श कार्यक्रम बेनीमा सम्पन्न भएको छ। बेनी नगरपालिका–८ नम्बर वडा कार्यालय र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको संयुक्त आयोजनामा कालीगण्डकी आमा समूहको सभाहलमा कार्यक्रम गरिएको हो ।
बेनी नगरपालिका–८ का वडा सदस्य यामबहादुर बानियाँले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष दिलु बितालु, प्रदेश अस्पताल बेनीका मेडिकल अफिसर डा. रामु सापकोटा र मनोसामाजिक परामर्शकर्ता पबिना पुर्जाले सहजीकरण गरेका थिए । आमा समुहका सदस्य तथा अन्य सरोकारवाला महिलाहरुको सहभागिता रहेको कार्यक्रममा मनोसामाजिक विमर्षका विविध पक्षमा सहजीकरण गरिएको थियो ।
कार्यक्रममा प्रशिक्षक दिलमायाँ बिटालुले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको महत्व, उद्देश्य र आवश्यकताबारे जानकारी गराउँदै कुनै पनि प्रकारको हिंसा सहेर बस्न नहुने बताइन । हिंसा भएमा त्यसविरुद्ध आवाज उठाउन र हिंसामुक्त समाज निर्माणका लागि सबैले सक्रिय भूमिका निर्वाह गर्न उनले आग्रह गरेकी थिइन ।
त्यसैगरी, महिलाको मानसिक स्वास्थ्य, मनोसामाजिक अवस्था तथा लैङ्गिक हिंसाले महिलाको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा पार्ने प्रभावका विषयमा छलफल गरिएको थियो । हिंसाबाट प्रभावित महिलालाई मनोसामाजिक सहयोग, पारिवारिक साथ र सामाजिक संरक्षण आवश्यक हुनेमा पनि जोड दिइएको थियो ।
कार्यक्रममा सहभागी महिलाहरूले लैङ्गिक हिंसा नगर्ने, नसहने र आफू वा अरूमाथि कुनै प्रकारको हिंसा भएमा त्यसविरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाएका थिए । हिंसाका घटना लुकाउने वा सहेर बस्ने प्रवृत्तिको अन्त्य गर्दै महिला अधिकार र आत्मसम्मानको संरक्षणमा एकजुट भएर लाग्ने उनीहरूको प्रतिबद्धता थियो ।
कालीगण्डकी आमा समूहकी अध्यक्ष रामकुमारी गौचन पुनको अध्यक्षता र समूहकी सचिव गौरी थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिन्छ । नोभेम्बर २५ महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस र डिसेम्बर १० अन्तर्राष्ट्रिय मानव अधिकार दिवस हो । सन् १९९१ देखि सुरु भएको यस अभियानले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य, समानता र मानव अधिकारको सुनिश्चितताका लागि जनचेतना फैलाउँदै आएको छ ।
कार्यक्रममा सहभागी महिलाहरूले लैङ्गिक हिंसा नगर्ने, नसहने र आफू वा अरूमाथि हिंसा भएमा त्यसविरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाएका थिए । हिंसामुक्त समाज निर्माणका लागि महिला स्वयं सचेत र सशक्त हुनुपर्ने तथा परिवार र समुदायले पनि साथ दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

