अमृत बास्कुने
मंसिर १२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको बढ्दो असरसँगै हिमाली तथा पहाडी जिल्लामा देखिने विपद् जोखिम न्यूनीकरण, खानेपानी तथा सिँचाइ संरचनाको पुनर्निर्माण र ऊर्जा प्रसारण लाइनको विस्तारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित सरोकारवालासँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उनले स्थानीय तह, प्रदेश सरकार र संघीय निकायबीच समन्वय गर्दै म्याग्दीका समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । शनिबार म्याग्दी आइपुगेका मन्त्री श्रेष्ठले विभिन्न स्थानको स्थलगत निरिक्षण समेत गरेका थिए ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुविन श्रेष्ठले जिल्लाको समग्र अवस्था, विपद्पछिको जोखिम र निजी क्षेत्रका सरोकारबारे मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । उनले भदौ र असोजमा आएका बाढीपहिरो तथा हिमताल विस्फोटको सम्भावित जोखिमले म्याग्दीको कालीगण्डकी, म्याग्दी, रघुगंगा, मिस्त्री र घारखोला आसपासका जलविद्युत् आयोजना, बस्ती, बजार क्षेत्र र रणनीतिक सडकहरूमा गम्भीर खतरा निम्त्याएको उल्लेख गरे । रसुवा र भोटेकोसीको घटनालाई पूर्वचेतावनीका रूपमा लिँदै हिमतालहरूको अध्ययन, पूर्वसूचना प्रणाली (साइरन र सेन्सर) जडान, तटबन्ध तथा पहिरो नियन्त्रण, कोरोला नाका र बेनी–दरबाङ–ढोरपाटन सडकको स्तरोन्नति, जलविद्युत् आयोजनाको सेयर वितरणलाई पारदर्शी र जिल्लावासीमैत्री बनाउनुपर्ने, ग्रामीण क्षेत्रमा एबीसी केबल प्रयोग तथा सहरी क्षेत्रमा स्मार्ट मिटर जडान गर्नुपर्ने माग उनले राखे ।

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्षले बाढीपहिरोका कारण संस्थाको करिब १४ किलोमिटर मुख्य प्रसारण पाइपलाइनमा ठूलो क्षति पुगेको जानकारी दिए । त्यसबाट बेनी बजारसहित बेनी नगरपालिकाका वडा नम्बर २, ७ र ८ का १ हजार २ सय १६ घरधुरी तथा दैनिक करिब २५ हजार उपभोक्ता प्रत्यक्ष प्रभावित भएको र खानेपानी अभावले दैनिक जनजीवन, स्वास्थ्य, सरसफाइ तथा व्यवसायमा गम्भीर असर परेको उनले बताए । पुनर्निर्माणका लागि करिब १५ करोड रुपैयाँ लागत अनुमान गरिएकामा अल्पकालीन रूपमा पानी सञ्चालन गर्न खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखराबाट करिब १३ करोड रुपैयाँको टेन्डर आह्वान भइसकेको जानकारी दिँदै उनले स्थायी तथा दिगो संरचना निर्माण, वैकल्पिक स्रोतको खोजी र नियमित अनुगमनमा सहयोग गर्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले म्याग्दीको पत्रकारिता क्षेत्रले भोगिरहेका चुनौतीबारे अवगत गराए । जिल्लामा सञ्चालित दुईवटा दैनिक पत्रिका बन्द भएको, तीनवटा साप्ताहिक पत्रिका र अनलाइन माध्यम सञ्चालनमा रहेको उल्लेख गर्दै उनले हिमाली जिल्लाका सञ्चारमाध्यमको संरक्षण, लोककल्याणकारी विज्ञापन, प्रेस तथा सञ्चारसम्बन्धी कानुन निर्माण र स्थानीय सरोकारका मुद्दाको सम्बोधनमा ध्यान दिन आग्रह गरेका थिए । साथै, जिल्लामा संघीय कार्यालय स्थापना र विपद् संकटग्रस्त क्षेत्र घोषणाप्रति आभार व्यक्त गर्दै ती कार्यालयमार्फत म्याग्दीका योजनालाई प्राथमिकता दिन अनुरोध गरेका थिए ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीका प्रमुख चन्द्र कुमार शाहले विपद्का कारण सिँचाइ, नदी नियन्त्रण र खानेपानी क्षेत्रमा पुगेको क्षतिको विवरण प्रस्तुत गरेका थिए । छवटा पालिकासँग समन्वय गरी संकलित तथ्यांकका आधारमा सिँचाइ तथा नदी नियन्त्रणतर्फ करिब ४ करोड ८१ लाख रुपैयाँ, खानेपानी पाइपलाइनतर्फ ४६ लाख ५० हजार रुपैयाँ र बाढीबाट क्षतिग्रस्त संरचनातर्फ ८१ लाख रुपैयाँको लागत अनुमान तयार गरी सम्बन्धित निकायमा माग गरिएको उनले जानकारी दिए । अन्नपूर्ण र धवलागिरि क्षेत्रमा राहत वितरण जारी रहेको र ती क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको उनले बताए ।

अन्तरक्रियामा उठेका विषयमा जवाफ दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले म्याग्दीमा जलविद्युत् आयोजना र बाढीपहिरोबाट पुगेको क्षतिको अवस्थाले सबैलाई संवेदनशील बनाएको बताएका थिए । जलवायु परिवर्तनका कारण बढ्दो विपद् सामना गर्न जलवायु अनुकूलित पूर्वाधार निर्माण, हिमतालहरूको अनुगमन र तथ्यांक संकलनलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका थिए । ऊर्जा क्षेत्रमा प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखिएको, जलविद्युत् आयोजनाहरूको सामाजिक उत्तरदायित्व (सीएसआर÷सीएसपी) तथा स्थानीय सरोकारका गुनासा सुनुवाइ र नियमनलाई प्रभावकारी बनाइने, तथा खानेपानी र सिँचाइका योजनामा कानुनी र प्राविधिक सीमाभित्र रहेर समन्वय र सहजीकरण गरिने उनले स्पष्ट पारे ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीका सभापति युवराज रोकाले गरेका थिए । कार्यक्रममा पर्वतका प्रतिनिधिसभा सदस्य सागर भुसाल, बागलुङ क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य सोम शर्मा, स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद, रास्वपा गण्डकी प्रदेशका सभापति नविन त्रिपाठी, महामन्त्री कृष्ण प्रसाद लम्साल, उपमहामन्त्री अशोक खड्काथोकी, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख डिलकुमारी खत्री, निमित्ति प्रमुख जिल्ला अधिकारी कुल प्रसाद आचार्य, मन्त्री महावीर पुनको सचिवालय म्याग्दीका संयोजक चित्र तिलिजा पुनलगायत जनप्रतिनिधि, सुरक्षाकर्मी, उद्योगी–व्यवसायी र सञ्चारकर्मीको उपस्थिति थियो ।
