अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको समुद्री नाकाबन्दी इरानविरुद्धको युद्धमा प्रयोग गरिएको नयाँ रणनीति मानिएको छ।
यसको उद्देश्य अहिलेसम्म पूर्ण रूपमा प्रमाणित नभएको एक धारणा परीक्षण गर्नु रहेको छ जुन अमेरिकाको शक्तिशाली दबाबले अन्ततः इस्लामिक गणतन्त्र इरानलाई झुकाउनेछ।
यो रणनीति एउटा सरल अवधारणामा आधारित छ। इरानको तेल निर्यात र त्यहाँको सामान्य जीवन धान्ने आयातलाई रोक्दा समाजिक संरचना नै कमजोर हुनेछ।
यसले सरकारमाथि यस्तो दबाब सिर्जना गर्नेछ कि उसले आफ्नो आणविक कार्यक्रम स्थायी रूपमा त्याग्न अमेरिकाको माग स्वीकार गर्न बाध्य हुनेछ।
वाशिङ्टनमा यो तर्कसंगत देखिन्छ। कुनै पनि देश—चाहे उग्र धार्मिक शासन होस् वा पश्चिमी लोकतन्त्र—यदि उसले खाद्य, ऊर्जा र रोजगारीजस्ता आधारभूत आवश्यकतामा पहुँच सुनिश्चित गर्न सकेन भने धराशायी हुन सक्छ।
अमेरिकी अधिकारीहरूले तेहरानमा बढ्दो महँगी, रोजगारी गुम्नु र अभाव देख्दा दुई हप्ताको नाकाबन्दी सफल भइरहेको निष्कर्ष निकालिरहेका छन्।
ट्रम्पले बुधबार भने, ‘नाकाबन्दी अत्यन्त प्रभावकारी छ। उनीहरूको अर्थतन्त्र गम्भीर समस्यामा छ, लगभग मृत अवस्थामा पुगेको छ।’ सिएनएनका अनुसार उनी यो योजनाबाट यति सन्तुष्ट छन् कि यसलाई अझ लामो समयसम्म जारी राख्ने तयारीसमेत गरेका छन्।
यो रणनीतिको एक कारण भनेको जमिनमा सैनिक पठाएर वा निरन्तर बमबारी गरेर अमेरिकी जनधनको क्षति बेहोर्नु नपरोस् भन्ने हो। अर्को कारण भनेको इरानले होर्मुज जलमार्ग बन्द गरेर सिर्जना गरेको विश्वव्यापी संकटपछि कमजोर बनेको आर्थिक दबाबलाई पुनः स्थापित गर्नु हो।
अमेरिकी अर्थतन्त्र इरानको भन्दा निकै ठूलो भएकाले यो प्रतिस्पर्धा समान देखिँदैन। तर यसअघि अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणले इरानको सैन्य क्षमतामा ठूलो क्षति पुर्याए पनि युद्धमा स्पष्ट रणनीतिक विजय हासिल गर्न सकेको थिएन।
अब ट्रम्पको यो रणनीतिले दुई महत्वपूर्ण प्रश्नहरूको सामना गर्नुपर्नेछ। पहिलो, अमेरिकामा बढ्दो लागत—जस्तै इन्धनको मूल्य ४ डलरभन्दा माथि पुग्नु र महँगी बढ्ने सम्भावना—कति समयसम्म अमेरिकी जनता र राजनीतिज्ञहरूले सहन सक्छन् भन्ने हो। मध्यावधि चुनावअघि नै मतदाताहरू महँगी र आर्थिक अवस्थाप्रति असन्तुष्ट देखिएका छन्।
दोस्रो प्रश्न भनेको यो योजना इरानको वास्तविक अवस्थाबारे सही जानकारी र तर्कमा आधारित छ कि छैन भन्ने हो। वाशिङ्टनमा प्रायः मध्यपूर्वका समाजलाई अमेरिकी सोचअनुसार प्रतिक्रिया दिने अनुमान गरिन्छ, जुन धेरैपटक गलत सावित भएको छ।
ट्रम्पले अनुमान गरेका छन् कि इरानका नेताहरू—जो आफ्नै जनतामाथि कडा नीति अपनाउने इतिहास भएका छन्—अन्ततः आर्थिक दबाबकै आधारमा निर्णय लिनेछन्।
यसैबीच इरानको अर्थतन्त्र गम्भीर संकटमा परेको संकेतहरू बढिरहेका छन्। वाल स्ट्रिट जर्नलका अनुसार युद्धका कारण लाखौँ मानिस बेरोजगार भएका छन्, खाद्यान्नको मूल्य अत्यधिक बढेको छ र इन्टरनेट बन्द हुँदा अनलाइन अर्थतन्त्र प्रभावित भएको छ।
महँगी उच्च स्तरमा पुगेको छ र रातो मासुजस्ता आधारभूत खाद्य पदार्थसमेत सर्वसाधारणका लागि पहुँच बाहिर गएको छ। मध्यपूर्वका सञ्चारमाध्यमहरूले खाद्य अभाव र खाद्य सुरक्षामा खतरा बढ्दै गएको चेतावनी दिएका छन्।
नाकाबन्दी कसरी असफल हुनेछ ?
नाकाबन्दी किन असफल हुन सक्छ भन्ने प्रश्न अहिले सबैभन्दा महत्वपूर्ण बहस बनेको छ। यदि अली खामेनीको हत्या जस्तो ठूलो घटना वा हप्तौँसम्मको निरन्तर बमबारीले पनि इरानका नेताहरूलाई झुकाउन सकेन भने, केवल आर्थिक संकटले उनीहरूलाई निर्णय बदल्न बाध्य पार्नेछ भन्नेमा शंका उठ्नु स्वाभाविक छ।
इरानको इस्लामिक गणतन्त्रको दृढता र अडान लामो समयदेखि परिचित छ। इरानले दशकौँदेखि पश्चिमी प्रतिबन्धहरू सामना गर्दै आएको छ। सन् १९८० को दशकमा इराक सँगको आठ वर्ष लामो युद्धमा करिब १० लाख मानिसको ज्यान गएको थियो, तर पनि देशले आत्मसमर्पण गरेन।
जब–जब विरोध प्रदर्शनले ठूलो रूप लिन खोज्यो, सरकारले सडकमा आफ्ना समर्थक समूह पठाएर कठोर दमन गर्दै आएको छ।
इस्लामिक क्रान्तिपछि करिब ४७ वर्षदेखि इरानको शासनको मूल आधार नै अमेरिकाविरुद्धको प्रतिरोध रहँदै आएको छ। यस्तो अवस्थामा, इरानले झुक्नुको सट्टा सामाजिक संकट स्वीकार गर्न सक्छ भन्ने सम्भावना पनि उत्तिकै बलियो देखिन्छ।
चर्चित लेखक तथा राजनीतिक विश्लेषक त्रिता पार्सीका अनुसार अमेरिकी प्रशासनहरूले बारम्बार एउटै गल्ती दोहोर्याएका छन्—दबाब बढाएर इरानलाई झुकाउन सकिन्छ भन्ने विश्वास।
उनले भने, ‘अमेरिकाले सधैं त्यस्तो एउटा उपाय खोज्छ जसले इरानलाई अचानक झुकाउँछ वा ढाल्छ भन्ने आशा गर्छ, तर प्रायः हरेक पटक त्यो प्रयास असफल हुन्छ।’
यो सोच डोनाल्ड ट्रम्पको अभिव्यक्तिमा पनि देखिन्छ। उनले भनेका छन् कि इरानले ‘हामी हार मान्छौँ’ भन्नु मात्र आवश्यक छ।
यदि इरानले वास्तवमै त्यस्तो निर्णय लियो भने, अमेरिकासँगको करिब आधा शताब्दी लामो तनाव अन्त्य हुन सक्छ। तर यदि त्यसो भएन भने, फेरि एकपटक इरानको सहनशीलताले अमेरिकाको शक्तिशाली दबाबलाई पनि निष्प्रभावी बनाउन सक्छ भन्ने कुरा प्रमाणित हुनेछ।
