नेपाली खेलकुदमा खेलाडीले परिवारको साथ विरलै पाउछन् । पुराना जो कोही खेलाडीलाई सोध्ने हो भने खेल्न जाँदा परिवारले गाली गर्ने देखी सजाय दिने सम्मका किस्सा अझै सुन्न पाइन्छ ।
समयसंगै त्यो अवस्थामा केही कमी आएपनि अझै परिवारले छोराछोरी खेलाडी बनुन भनेर लागेको पाइदैन् । तर, म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँका ४२ वर्षिय सबहादुर गोतामेको घरको कहानी भने विपरित छ । उनी भलिबल खेल्न रुचाउछन् । भलिबल प्रतिको उनको मोहले आफुलाई मात्र होइन परिवारका अन्य सदस्यलाई समेत त्यतै धकेले । उनको टिम हो ‘घर परिवार टिम’ यो टिमले हालसम्म पाँच वटा प्रतियोगितामा उपाधि जितिसकेको छ ।
उनको कप्तानीमा टिम अझै सक्रिय छ । कप्तान गोतामेकै तीन छोरा टिमका मुख्य खेलाडी हुन । ति बाहेक ३ बैकल्पिक खेलाडी छन् । गाउँघरमा हुने मेला पर्व होस् या सामान्य फुर्सद, या त कुनै प्रतियोगिता नै पारिवारिक टिम सहभागी नभएको क्षण छैन् ।
नेपाली नयाँ वर्ष २०८३ सालको अवसरमा धवलागिरी गाउँपालिकाको मुनामा जारी मेलामा उनको टिम सहभागी छ । त्यस्तै मालिका गाउँपालिका ७ बिममा आयोजित कासिराम जुगजाली स्मृती एचवाइसी कप नयाँ वर्ष मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रममा पनि टिम दर्ता भएको छ । सबै खेलका लागि तयारी गरेको सबहादुर गोतामे बताउछन् । परिवारको कान्छो सदस्य १७ वर्षिय केशव टिमका सेटर हुन भने अन्य तीनै जना स्पाइकर ।
सबहादुरको छोराहरु परिवारको टिममा मात्रै होइन विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा अब्बल सावित हुँदै आइरहेका छन् । पछिल्लो दुई वर्ष धवलागिरी गाउँपालिकाको टिमबाट जिल्लास्तरीय हुँदै म्याग्दी टिमबाट प्रदेश स्तरीय खेलमा समेत सहभागी भएको केसवको भनाई छ । सबहादुरको टिममा आफ्ना छोराहरु कहिल्यै छुट्दैनन् । ४२ वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव र अन्य तीन जना छिमेकीलाई लिएर भलिबलको टिम पुरा गर्ने गरिएको नरेश सुनाउँछन् ।

परिवारका कान्छा सदस्य केशब जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा हालै सम्पन्न म्याग्दी कप भलिबल प्रतियोगिताकै उत्कृष्ट सेटर हुन् । अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि लगातार दोश्रो वर्ष म्याग्दी जिल्लाको टिमबाट प्रदेश स्तरीय प्रतियोगिताका लागि समेत केशब छनौट भएका छन् ।
परिवारको पाको सदस्य अर्थात् बुबा सबहादुर सानैदेखि भलिबल खेल्दै आएको भए पनि औपचारीक रुपमा आफू १८ वर्षको उमेर पुगेपछि भलिबल खेलेको उनले सुनाए । जेठा छोरा नरेशले बुबाको खेल कलाबाट प्रभावित भएर भलिबल खेल्न सिकेका र घरपरिवारकै टिम बनाएर प्रतियोगिता खेल्ने गरेको बताए ।
कक्षा १२ उत्तीर्ण गरेपछि माथिल्लो अध्ययन तर्फ नलागेका नरेशले आफ्नो पारिवारीक मुख्य पेसा घोडा व्यवसायलाई सघाइ रहेका छन् । उनले आफ्नोमा पालिएका घोडामा सामान ओसारपसार गर्ने गर्छन् भने भाइहरु नवीन र केशव धनजनता माध्यमिक विद्यालय मुना फलियागाउँको कक्षा १२ मा अध्ययनरत छन् । एक जना ६ वर्षकी बहिनी पनि मुनामै पढ्दै गरेको नरेसले बताए । गोतामेको घरपरिवार भलिबल समूहले हालै धवलागिरि गाउँपालिका–७ धारापानी र धवलागिरी गाउँपालिका वडा नं २ खोरियामा आयोजित प्रतियोगितामा उपाधि जितेको नविनले बताए ।
उनीहरु भलिबलमा मात्र होइन अन्य प्रतियोगितामा समेत उत्तिकै अब्बल छन् । नवीन र केशवले धवलागिरि गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङसिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ तीन/तीनवटा स्वर्ण पदक हात पार्दै उत्कृष्ट खेलाडी बनेका थिए । उता नरेश भलिबल संगै राष्ट्रिय स्तरको राष्ट्रपति रनिङसिल्डमा गण्डकीबाट सटपुट र ज्याभलीन थ्रोमा सहभागि भएका थिए ।
हिमाली जिल्ला म्याग्दीका अधिकांश घरपरिवारबाट वैदेशीक रोजगारीमा जाने प्रचलन रहेको छ । सबहादुर पनि बैदेशिक रोजगारीका लागि कतारमा बसेर फर्किएपछि घोडा पाल्न थालेका थिए । ‘अहिले पनि मेरोमा आठवटा घोडा छ, त्यही घोडामा बोकाएर तरकारी र फलफूल बिक्रीका लागि गाउँठाउँमा पुग्ने र मागका आधारमा सामाग्री ढुवानी गर्ने गरेको छु’ सबहादुरले भने, ‘फुर्सदको समय र मेलाजात्रामा हाम्रो परिवार सहितको टोली भलिबल प्रतिस्पर्धा गर्न जान्छ । बैशाखमा नयाँ वर्षको उपलक्षमा धेरै ठाउँमा मेला हुने भएकोले यो महिना भलिबल तिर जान्छौं त्यस पछि अरु काम गर्ने होला ।’

उनीहरुको खेल मन पराएर दर्शकले आर्थिक संगै खेल पोशाक सहयोग गर्ने गरेको छ । मुना घर भई हाल अस्ट्रेलियामा रहेका इम रोकाले केही समय अगाडी २७ हजार मूल्यबराबरको जर्सी सेट उपलब्ध गराएका थिए ।
त्यसैगरी अमेरिकामा रहेका दलबल रोका, टेक रसाइली र अस्ट्रेलियाबाट ठहरबहादुर भण्डारीले पनि जर्सी सहयोग गरेका छन् । ‘सहयोगले हामीलाई भलिबल खेलमा निरन्तर सक्रिय हुन हौसला मिल्नुका साथै उत्साह पैदा भएको छ’, सबहादुरले भने, ‘शारीरिक अवस्थाले साथ दिँदासम्म भलिबल खेलमा निरन्तर सक्रिय रहनेछु।’
नयाँवर्षको उपलक्षमा हुने प्रतियोगिताहरुमा जानका लागि हाल हङकङ बसोबास गर्ने मनकुमारी पुनबाट २० हजार, रोमानियामा रहनुभएका पूर्णबहादुर पाइजाले ५ हजार, अमेरिकामा रहनुभएका गंगा घर्तीबाट ६ हजार आर्थिक सहयोग मिलेको सबहादुरको भनाई छ ।
परिवारको तर्फबाट खेलीएको मध्ये धवलागिरी गाउँपालिका मुनाको दरमा दशैंको समयमा खशी पुरस्कार रहेको प्रतियोगिता पहिलो पटक बिजेता भएको थियो । त्यस पछि धेरै स्थानमा सहभागिता जनाएको भए पनि पाँच पटक बिजेता भै सकेको र कयौं पटक उत्कृष्ट खेलाडीको उपाधि जितेको नरेश गोतामेले सुनाए ।
भलिबल खेलमा टिम पुग्ने र खेल्ने तथा निरन्तरताको पनि कुरा आउँछ तर एकै घरका चार जनाले एउटा वडाकै भलिबल खेललाई थेग्नु पनि सकारात्मक पक्ष भएको धवलागिरी गाउँपालिका ३ मुनाका मदन मल्लले बताउछन् । उनले भने ‘घरको मुलीले छोराहरुलाई नै लिएर टिम बनाउनुले अहिलेको अवस्थामा खेलप्रतिको मायालाई देखाउछ । वास्तवमै परिवारले खेलकुदमा साथ दिए छोरा÷छोरीले देशका लागि खेल्न सक्ने रहेछन भन्ने उदाहरण यो परिवार बन्न सक्छ ।’
