अमृत बास्कुने
म्याग्दी जिल्लाको पश्चिम–उत्तरी भूभागमा अवस्थित धवलागिरी गाउँपालिका केवल एक स्थानीय तह मात्र होइन, प्राकृतिक सम्पदा, कृषि सम्भावना, जैविक विविधता र ग्रामीण सभ्यताको अनुपम संगमस्थल पनि हो । विश्वकै सातौँ अग्लो हिमाल धवलागिरीको काखमा फैलिएको यो भूगोलले वर्षौंदेखि यहाँका बासिन्दालाई जीविकोपार्जनको आधार समेत दिएको छ । कठिन भौगोलिक अवस्था, सीमित पूर्वाधार र दुर्गम बस्तीहरूका बाबजुद यहाँका नागरिकले कृषिलाई जीवनको अभिन्न अंग बनाएका छन् ।
हामीहरुले धेरै समय भोगेर आयौं र अहिले पनि धेरै प्रयोग पनि गर्दै आएका छौं । आज जब नेपालले कृषि आत्मनिर्भरता, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणको बहस गरिरहेको छ । त्यही समयमा धवलागिरी गाउँपालिका कृषि विकासको एउटा महत्वपूर्ण मोडमा उभिएको छ । यहाँका खेतबारीमा फल्ने मकै, कोदो, आलु, फापर, रायो, अकबरे खुर्सानी, सुन्तला र विभिन्न जडीबुटीहरू केवल उत्पादन मात्र होइनन्, सम्भावित समृद्धिका आधार पनि हुन् । यसको उचित व्यवस्थापन र उचित रेखदेख सँगै स्तरीकरणका साथै उचित परीक्षण सहित बजारीकरण गर्न सक्ने सम्भावना पनि धेरै छ ।
स्थानीय सरकार, किसान, कृषि प्राविधिक तथा सरोकारवालाहरूको संयुक्त प्रयासले धवलागिरीलाई कृषिको नयाँ केन्द्र बनाउने संकेत देखिन थालेका छन् । तर सम्भावनासँगै चुनौतीहरू पनि छन् । उत्पादन छ तर बजारको समस्या छ । जमिन छ तर श्रमिक अभाव छ । जडीबुटी छ तर अनुसन्धानको कमी छ । उत्पादन बढ्दै छ तर प्रशोधन उद्योगको अभाव छ । यिनै यथार्थ, सम्भावना, चुनौती र अवसरहरूको सेरोफेरोमा धवलागिरी गाउँपालिकाको कृषि क्षेत्रको विस्तृत चित्र प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

धवलागिरी ः भूगोलले दिएको अनुपम उपहार
धवलागिरी गाउँपालिकाको सबैभन्दा ठूलो शक्ति यसको विविध भौगोलिक बनावट हो । एउटै गाउँपालिकाभित्र तल्लो पहाडदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भूगोल पाइन्छ । यही कारणले यहाँ विभिन्न प्रकारका बाली, फलफूल, तरकारी र जडीबुटी उत्पादन गर्न सकिने वातावरण बनेको छ ।
तल्लो भेगमा मकै, कोदो, गहुँ, धान, सुन्तला र तरकारी राम्रो उत्पादन हुन्छ । मध्यम पहाडी क्षेत्रमा फलफूल र नगदे बालीको सम्भावना छ भने माथिल्लो भेगमा आलु, फापर, अकबरे खुर्सानी, रायोको बिउ तथा शितोष्ण तरकारी उत्पादनका लागि उपयुक्त वातावरण छ । नेपालका धेरै स्थानीय तहमा एउटा वा दुईवटा कृषि उत्पादन मात्र प्रमुख हुने अवस्था छ । तर धवलागिरीमा उत्पादनको विविधता नै यसको विशेषता हो । यही विविधताले भविष्यमा कृषि अर्थतन्त्रलाई मजबुत बनाउन सक्छ । ताकममो तल्लो फाँटमा धान तथा सुन्तला उत्पादन हुने क्षेत्र छ भने गुर्जामा स्याउ खेती गर्न पनि सकिन्छ ।

परम्परागत कृषिको इतिहास
धवलागिरीका अधिकांश परिवारको मुख्य पेशा परम्परागत रूपमा कृषि नै रहँदै आएको छ । विगतमा यहाँको कृषि प्रणाली आत्मनिर्भर जीवनशैलीमा आधारित थियो । परिवारलाई वर्षभरि पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले मकै, कोदो, गहुँ, फापर तथा आलु खेती गरिन्थ्यो । पशुपालन कृषि प्रणालीसँग जोडिएको थियो । रासायनिक मल र विषादीको प्रयोग अत्यन्त न्यून थियो । स्थानीय बिउ, गोठेमल र परम्परागत ज्ञानका आधारमा खेती गरिन्थ्यो । उत्पादन धेरै नहुने भए पनि खाद्य सुरक्षा कायम रहने अवस्था थियो । तर समयसँगै बसाइँसराइ, वैदेशिक रोजगार, उपभोग शैलीमा परिवर्तन तथा बजार अर्थतन्त्रको प्रभावले कृषि प्रणाली पनि बदलिन थाल्यो ।
बदलिँदो समय, बदलिँदो कृषि
आज धवलागिरीमा कृषि केवल जीविकोपार्जनको माध्यम मात्र छैन । धेरै किसानले यसलाई आम्दानीको स्रोतका रूपमा लिन थालेका छन् । स्थानीय सरकारले व्यावसायिक कृषिलाई प्राथमिकतामा राखेपछि किसानहरूमा पनि उत्साह थपिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशमबहादुर पुनका अनुसार निर्वाचनपछि स्थानीय आवश्यकता र परम्परागत कृषिलाई आधुनिक प्रणालीसँग जोड्ने प्रयास भइरहेको छ । उनका अनुसार गाउँपालिकाले क्षेत्रगत सम्भावनाका आधारमा कृषि कार्यक्रम सञ्चालन गरिरहेको छ । “हामीसँग सम्भावना धेरै छ,” उनी भन्छन्, “त्यसलाई अनुसन्धान, योजना र बजारसँग जोड्ने प्रयास गरिरहेका छौँ ।”

आलु ः धवलागिरीको नगदे भविष्य
धवलागिरी गाउँपालिकामा अहिले सबैभन्दा बढी सम्भावना देखिएको कृषि उत्पादनमध्ये आलु अग्रस्थानमा छ । गुर्जा, लुलाङ र मराङ क्षेत्रमा आलु उत्पादनका लागि पकेट क्षेत्र निर्माण गरिएको छ । हिमाली हावापानी, उर्वर माटो र पर्याप्त चिस्यानका कारण यहाँ उत्पादन हुने आलुको स्वाद र गुणस्तर राम्रो मानिन्छ । नेपालमा आलुको माग वर्षेनी बढिरहेको छ । होटल, रेस्टुरेन्ट, चिप्स उद्योग तथा घरायसी प्रयोगका कारण यसको बजार स्थिर छ । यदि उत्पादनलाई भण्डारण, प्रशोधन र बजारसँग जोड्न सकियो भने आलु धवलागिरीको आर्थिक मेरुदण्ड बन्न सक्छ । कृषि विज्ञहरूका अनुसार आलु खेतीमा आधुनिक प्रविधि, उन्नत बिउ तथा सिंचाइ सुविधा थप्न सकिए उत्पादन दोब्बर हुन सक्ने सम्भावना छ ।
सुन्तला ः पहिचानको पुनर्जागरण
म्याग्दी जिल्लाको नामसँग सुन्तलाको सम्बन्ध पुरानो हो । धवलागिरी गाउँपालिकाका ताकम, मुदी, बास्वोट र नाउरा क्षेत्रहरू सुन्तला उत्पादनका लागि उपयुक्त मानिन्छन् । कृषि प्राविधिक कुलबहादुर खत्रीका अनुसार गाउँपालिकाले सुन्तला नर्सरी स्थापना तथा बिरुवा उत्पादनमा विशेष जोड दिएको छ । स्थानीय स्तरमै बिरुवा उत्पादन हुँदा लागत घट्ने र गुणस्तरीय बिरुवा उपलब्ध हुने अपेक्षा गरिएको छ । सुन्तला खेतीबाट किसानले एकैपटक ठूलो आम्दानी लिन सक्ने भएकाले यसलाई नगदे बालीका रूपमा विकास गर्न सकिन्छ । तर रोग व्यवस्थापन, बगैंचा संरक्षण तथा बजार व्यवस्थापनमा थप लगानी आवश्यक छ ।

मुना लगायतका क्षेत्रमा मकै उत्पादन अझै पनि प्रमुख कृषि गतिविधि हो । मकै यहाँको खाद्य संस्कृतिसँग जोडिएको बाली हो । ढिँडो, रोटी, च्याख्ला लगायतका परिकारका लागि मकै अपरिहार्य मानिन्छ । त्यस्तै कोदोबाट बन्ने ढिँडो तथा अन्य परम्परागत खाद्य पदार्थले स्थानीय खाद्य सुरक्षामा महत्वपूर्ण भूमिका खेलेका छन् । आज विश्वभर ‘अर्गानिक’ र ‘मिलेट’ उत्पादनको माग बढिरहेको अवस्थामा धवलागिरीको कोदो र मकै अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सक्ने सम्भावना राख्छ ।
फापर ः स्वास्थ्य र बजार दुवै
उच्च पहाडी क्षेत्रमा उत्पादन हुने फापर अहिले स्वास्थ्यप्रेमी उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ । फापरबाट बन्ने ढिँडो, रोटी, पिठो तथा अन्य परिकार बजारमा महँगो मूल्यमा बिक्री भइरहेका छन् । धवलागिरीको फापरलाई ब्रान्डिङ गर्न सकिए यो नयाँ आर्थिक अवसर बन्न सक्छ ।
अकबरे खुर्सानी र रायोको बिउ ः सानो उत्पादन, ठूलो आम्दानी
कृषि प्राविधिक कुलबहादुर खत्रीका अनुसार धवलागिरीको माथिल्लो भेग अकबरे खुर्सानी र रायोको बिउ उत्पादनका लागि अत्यन्त उपयुक्त छ । बिउ उत्पादन सामान्य कृषि उत्पादनभन्दा बढी लाभदायक मानिन्छ । नेपालले अझै ठूलो मात्रामा तरकारी तथा बालीका बिउ आयात गरिरहेको अवस्थामा धवलागिरीले स्वदेशी बिउ उत्पादनको केन्द्र बन्ने सम्भावना बोकेको छ ।
बनबडे ः अनुसन्धानको प्रतीक्षामा रहेको हरियो सम्पदा
धवलागिरीको कृषि सम्भावनाबारे चर्चा गर्दा स्थानीय रूपमा पाइने “बनबडे” को चर्चा नगरी अपूर्ण हुन्छ । ठाउँ अनुसार फरक नामले चिनिने यो तरकारीका लागि प्रयोग हुने बनस्पतीलाई कतिपय ठाउँहरुमा भँडभँडे, बनबाडे, बनमारे जस्ता नामले चिनिन्छ । मुना निवासी मदन मल्लका अनुसार गाउँपालिकाका धेरैजसो कान्ला र वन क्षेत्रमा बनबडे प्रशस्त मात्रामा पाइन्छ । तर यसको वैज्ञानिक अध्ययन हुन सकेको छैन । यदि यसको पोषण तत्व, औषधीय गुण र व्यावसायिक सम्भावनाबारे अनुसन्धान गर्न सकियो भने यो स्थानीय अर्थतन्त्रको नयाँ आधार बन्न सक्छ । नेपालमा धेरै वनस्पति अनुसन्धानपछि करोडौँको व्यवसाय बनेका उदाहरण छन् । बनबडे पनि त्यस्तै सम्भावना बोकेको स्थानीय सम्पदा हुन सक्छ ।

जडीबुटी ः धवलागिरीको हरियो सुन
धवलागिरी गाउँपालिकाको अर्को महत्वपूर्ण सम्भावना जडीबुटी हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने विभिन्न बहुमूल्य जडीबुटीहरूले यस क्षेत्रलाई विशेष बनाएका छन् । उपाध्यक्ष पुनका अनुसार गाउँपालिकाले जडीबुटीको सम्भावना पहिचान गर्दै अनुसन्धान र प्रवद्र्धनका लागि पहल गरिरहेको छ । जडीबुटी केवल संकलन गरेर बेच्ने वस्तु होइन । यसको प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र निर्यातमार्फत ठूलो आर्थिक लाभ लिन सकिन्छ । यदि स्थानीय स्तरमै प्रशोधन उद्योग स्थापना गर्न सकियो भने किसानको आम्दानी उल्लेखनीय रूपमा बढ्न सक्छ । धवलागिरी गाउँपालिकामा ढकायो, बाँको, सतुवा, यार्सागुम्बा जस्ता बनस्पती प्रयाप्त पाइन्छ । यसलाई उचित तबरले व्यवस्थीत गर्दै बजारीकरण गर्नु आजको आवश्यकता हो ।
महिलाको काँधमा टिकेको कृषि
धवलागिरीको कृषि प्रणालीमा महिलाको योगदान अत्यन्त महत्वपूर्ण छ । पुरुषहरू वैदेशिक रोजगार तथा शहरमुखी हुँदा खेतीपातीको अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन् । बिउ छर्ने, गोडमेल गर्ने, मल हाल्ने, उत्पादन भित्र्याउनेदेखि बिक्रीसम्मका काममा महिलाको सक्रिय भूमिका छ । महिला कृषकहरूलाई लक्षित तालिम, प्रविधि र सहुलियत कार्यक्रमले कृषि उत्पादनमा थप वृद्धि गर्न सक्ने देखिन्छ ।
कृषि र पर्यटनको सम्बन्ध
धवलागिरी हिमाल, गुर्जा, मुदी, लुलाङ तथा अन्य गाउँहरू पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र हुन् । यदि कृषि र पर्यटनलाई जोड्न सकियो भने नयाँ सम्भावना सिर्जना हुन सक्छ । सुन्तला बगैंचा, आलु खेती, फापरका खेत, स्थानीय परिकार तथा जडीबुटी पर्यटनका आकर्षण बन्न सक्छन् । विश्वका धेरै देशमा कृषि पर्यटन सफल भएको छ । धवलागिरीमा पनि ‘फार्म स्टे’, स्थानीय उत्पादनको स्वाद तथा कृषि अनुभवमा आधारित पर्यटन विकास गर्न सकिन्छ ।
कृषि यान्त्रीकरण ः आवश्यकताको माग
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माका अनुसार कृषि यान्त्रीकरणका कार्यक्रम अन्तिम चरणमा पुगेका छन् ।
कृषिमा श्रमिक अभाव बढ्दै गएको अवस्थामा यान्त्रीकरण अनिवार्य बनेको छ । आधुनिक उपकरणले उत्पादन लागत घटाउनुका साथै उत्पादकत्व बढाउन सहयोग गर्छ ।
विषादी साक्षरता र सुरक्षित कृषि
गाउँपालिकाले विषादी साक्षरता कार्यक्रम सञ्चालन गरेर सुरक्षित कृषि उत्पादनमा पनि ध्यान दिएको छ । रासायनिक विषादीको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्य र वातावरणमा असर पार्ने भएकाले किसानलाई सचेत बनाउने प्रयास गरिएको छ । भविष्यमा जैविक उत्पादनलाई ब्रान्डिङ गर्न सकियो भने धवलागिरीका उत्पादनले विशेष बजार पाउन सक्छन् ।
बसाइँसराइ ः कृषि क्षेत्रको ठूलो चुनौती
धवलागिरीका धेरै गाउँमा युवा जनशक्ति घट्दै गएको छ । वैदेशिक रोजगार, अध्ययन तथा रोजगारीका लागि शहरतिर बसाइँसराइ हुँदा खेतीयोग्य जमिन बाँझो बन्ने क्रम बढेको छ । कृषि क्षेत्रमा लगानी बढे पनि श्रमिक अभावले अपेक्षित परिणाम दिन कठिन भइरहेको छ ।
बजार ः उत्पादनभन्दा ठूलो चुनौती
किसानले उत्पादन गरे पनि उचित मूल्य नपाउने समस्या अझै कायम छ । सडक सञ्जाल, ढुवानी खर्च, संकलन केन्द्रको अभाव तथा बजार व्यवस्थापनका कमजोरीका कारण किसान प्रभावित हुने गरेका छन् । उत्पादनसँगै बजार सुनिश्चित गर्न सकिए मात्र कृषि व्यवसाय दिगो बन्न सक्छ ।

भण्डारण र प्रशोधन उद्योगको खाँचो
धवलागिरीमा उत्पादन बढ्दै जाँदा भण्डारण र प्रशोधन उद्योगको आवश्यकता झन् बढेको छ । आलु चिप्स उद्योग, सुन्तला जुस उद्योग, जडीबुटी प्रशोधन केन्द्र तथा स्थानीय खाद्य पदार्थ उत्पादन केन्द्र स्थापना गर्न सकियो भने मूल्य अभिवृद्धि हुनेछ ।
जलवायु परिवर्तनको प्रभाव
जलवायु परिवर्तनले धवलागिरीको कृषि क्षेत्रलाई पनि असर गरिरहेको छ । अनियमित वर्षा, असिनापानी, खडेरी तथा नयाँ रोगहरूको समस्या बढ्दै गएको किसानहरू बताउँछन् । यसको सामना गर्न जलवायुमैत्री कृषि प्रविधि आवश्यक छ ।
गाउँपालिकाको भूमिका ः समभाव र सम्भावना
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माका अनुसार गाउँपालिकाले सबै वडालाई समान दृष्टिले हेरेर कार्यक्रम छनोट गर्ने गरेको छ । उत्पादनको सम्भावना र स्थानीय आवश्यकतालाई आधार बनाएर योजना सञ्चालन गरिन्छ । फलफूल बिरुवा वितरण, कृषि यान्त्रीकरण, विषादी साक्षरता तथा विभिन्न उत्पादनमुखी कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
भविष्यको मार्गचित्र
धवलागिरी गाउँपालिकाले अब उत्पादन केन्द्रित कार्यक्रमसँगै मूल्य शृङ्खला विकासमा ध्यान दिनुपर्ने देखिन्छ । अनुसन्धानमा लगानी, जडीबुटी विकास नीति, कृषि पर्यटन, बिउ उत्पादन केन्द्र, कृषि प्रशोधन उद्योग, कोल्ड स्टोर निर्माण, डिजिटल बजार प्रणाली, युवा कृषक प्रोत्साहन कार्यक्रम यस्ता योजनाले धवलागिरीलाई कृषि समृद्धिको नमुना बनाउन सक्छ ।
निष्कर्ष ः सम्भावनाबाट समृद्धितर्फ
धवलागिरी गाउँपालिका आज एउटा ऐतिहासिक अवसरको संघारमा उभिएको छ । यहाँको भूगोल, जैविक विविधता, मेहनती किसान, कृषि परम्परा र स्थानीय सरकारको सक्रियताले भविष्यप्रति आशावादी बनाएको छ । कान्लाभरि उम्रिने बनबडे, लेकमा पाइने जडीबुटी, गुर्जाको आलु, ताकमको सुन्तला, माथिल्लो भेगको अकबरे खुर्सानी, मुनाको मकै र कोदो—यी सबै केवल उत्पादन होइनन्, धवलागिरीको सम्भावित समृद्धिका आधारस्तम्भ हुन् । यदि अनुसन्धान, उत्पादन, प्रशोधन, बजार र पर्यटनलाई एउटै विकास शृङ्खलामा जोड्न सकियो भने धवलागिरी गाउँपालिका निकट भविष्यमा म्याग्दी मात्र होइन, गण्डकी प्रदेशकै कृषि विकासको उदाहरणीय मोडेल बन्न सक्नेछ । हिमालको काखमा रहेको यो गाउँपालिका तब केवल प्राकृतिक सौन्दर्यका लागि मात्र होइन, कृषि समृद्धिको सफल कथाका लागि पनि चिनिनेछ ।
