अमृत बास्कुने/म्याग्दी
हिमालको काखमा अवस्थित अन्नपूर्ण गाउँपालिका प्राकृतिक सुन्दरताका लागि मात्र होइन, दुर्गम भूगोल र छरिएर रहेका बस्तीका कारण सेवा प्रवाहका चुनौतीका लागि पनि परिचित छ । यहाँका नागरिकले वर्षौँदेखि स्वास्थ्य सेवाका लागि लामो दूरी तय गर्नुपर्ने, सामान्य उपचारका लागि समेत सदरमुकाम वा पोखरासम्म धाउनुपर्ने, विशेषज्ञ सेवा त झन् कल्पनाभन्दा बाहिरको विषय बन्ने अवस्थासँग जुध्दै आएका छन् । तर पछिल्ला वर्षहरूमा स्थानीय सरकार स्थापना भएपछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गरिएका लगानी र कार्यक्रमहरूले ग्रामीण स्वास्थ्य सेवाको स्वरूप परिवर्तन गर्ने प्रयास थालेका छन् ।
आर्थिक वर्ष २०८१÷८२ मा अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सञ्चालन गरेका कार्यक्रमहरू त्यसको प्रमाणका रूपमा देखिएका छन् । चालु आर्थिक वर्षमा पनि निकै उत्साहसाथ कार्यक्रम सञ्चालनमा रहेका छन् । स्वास्थ्य चौकीको क्षमता अभिवृद्धिदेखि गाउँघर क्लिनिक, निःशुल्क भिडियो एक्स–रे सेवादेखि औषधि व्यवस्थापन, विद्यालय स्वास्थ्य नर्स कार्यक्रमदेखि मानसिक स्वास्थ्य प्रवद्र्धनसम्मका कार्यक्रमले गाउँपालिकाले स्वास्थ्यलाई केवल उपचारको विषयका रूपमा नभई समग्र सामाजिक विकासको आधारका रूपमा बुझेको संकेत गर्छ ।
बजेट विवरणमा समावेश कार्यक्रमहरू हेर्दा गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि करोडौँ रुपैयाँ लगानी गरेको देखिन्छ । हाल सम्म कार्यक्रमहरू सम्पन्न भएको संकेत मान्ने हो भने स्वास्थ्य क्षेत्रका अधिकांश योजनाहरू कार्यान्वयनको चरण पार गरिसकेका छन् । यसले बजेट विनियोजन मात्रै होइन, कार्यान्वयनतर्फ पनि गाउँपालिकाले ध्यान दिएको देखाउँछ ।

स्वास्थ्य सेवाः विकासको आधार
स्वास्थ्य राम्रो नभएसम्म विकासका अन्य सूचकहरू बलिया हुन सक्दैनन् । विद्यालय जाने बालबालिकादेखि खेतबारीमा काम गर्ने किसान, व्यवसायी, कर्मचारी, ज्येष्ठ नागरिक र गर्भवती महिलासम्म सबैका लागि स्वास्थ्य पहिलो आवश्यकता हो । ग्रामीण नेपालमा अझै पनि धेरै रोगहरू उपचारको अभावमा जटिल बन्ने गरेका छन् । समयमै परीक्षण, उपचार र परामर्श नपाउँदा सामान्य रोगले समेत ठूलो समस्या निम्त्याउने अवस्था रहिआएको छ । यही वास्तविकतालाई मध्यनजर गर्दै अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि सारेको देखिन्छ ।
गाउँपालिकाको स्वास्थ्य नीति हेर्दा उपचारभन्दा पनि रोकथाम, जनचेतना, नियमित परीक्षण तथा समुदायमै सेवा पु¥याउने अवधारणालाई प्राथमिकता दिइएको देखिन्छ । यो आधुनिक सार्वजनिक स्वास्थ्य व्यवस्थापनको महत्वपूर्ण पक्ष हो ।

रोग लाग्नु अघि रोकथाममा जोड
स्वास्थ्य क्षेत्रमा खर्च बढ्दै जाँदा संसारभर रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने रणनीतिलाई प्राथमिकता दिन थालिएको छ । अन्नपूर्ण गाउँपालिकाले पनि यही सोचलाई आत्मसात् गर्दै स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको देखिन्छ । ग्रामीण क्षेत्रमा परम्परागत रूपमा शारीरिक श्रम बढी हुने भएकाले जीवनशैलीजन्य रोग कम देखिने मान्यता थियो । तर पछिल्ला वर्षहरूमा खानपानको परिवर्तन, शारीरिक गतिविधिमा कमी र बजारमुखी जीवनशैलीका कारण मधुमेह, उच्च रक्तचाप, मोटोपना तथा मुटुरोगका बिरामी अन्यत्र बढिरहेका छन् । त्यसबाट अछुतो अन्नपुर्ण पनि नहुन सक्छ । त्यसैले स्वास्थ्य विज्ञहरूका अनुसार जनचेतनामूलक कार्यक्रमले दीर्घकालीन रूपमा उपचार खर्च घटाउने, नागरिकको स्वास्थ्य अवस्था सुधार गर्ने तथा उत्पादनशील जनशक्ति कायम राख्न मद्दत गर्छ । गाउँपालिकाले यस्ता कार्यक्रम सञ्चालन गर्नु दूरदर्शी कदमका रूपमा लिन सकिन्छ ।

गाउँघरमै स्वास्थ्य सेवा पुर्याउने प्रयास
स्वास्थ्य संस्थामा बिरामी आउने प्रतीक्षा गर्ने पुरानो सोचभन्दा बाहिर निस्केर स्वास्थ्य सेवा समुदायसम्म पु¥याउने अवधारणा अहिले विश्वव्यापी अभ्यास बनेको छ । अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको गाउँघर क्लिनिक कार्यक्रम यही अवधारणाको प्रतिनिधि कार्यक्रम हो भन्दा फरक पर्दैन । दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य चौकीसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था अझै विद्यमान छ । विशेषगरी वृद्धवृद्धा, गर्भवती महिला, अशक्त व्यक्ति तथा आर्थिक रूपमा कमजोर परिवारका लागि स्वास्थ्य संस्थासम्म पुग्नु आफैँमा चुनौती हुन्छ । गाउँघर क्लिनिकले स्वास्थ्यकर्मीलाई समुदायमा पु¥याएर आधारभूत स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा स्वास्थ्य शिक्षा उपलब्ध गराउन सहयोग गर्छ । यसले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै रोगको प्रारम्भिक पहिचान गर्न पनि मद्दत पु¥याउँछ ।
औषधि अभाव अन्त्य गर्ने प्रयास
नेपालका अधिकांश ग्रामीण स्वास्थ्य संस्थाले भोग्ने साझा समस्या औषधिको अभाव हो । बिरामी स्वास्थ्य संस्थासम्म पुग्छ तर औषधि नपाउँदा निजी मेडिकल पसल धाउनुपर्ने अवस्था अझै धेरै ठाउँमा देखिन्छ । अन्नपूर्ण गाउँपालिकाले आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधि खरिद, आयुर्वेदिक औषधि खरिद तथा स्वास्थ्य संस्थाका लागि आवश्यक सामग्री व्यवस्थापनमा बजेट विनियोजन गरेको देखिन्छ । औषधिको नियमित आपूर्ति हुन सकेमा सामान्य रोगको उपचार स्थानीय तहमै सम्भव हुन्छ । यसले नागरिकको आर्थिक भार कम गर्नुका साथै अस्पतालमा हुने अनावश्यक चाप पनि घटाउँछ ।
विद्यालय स्वास्थ्य नर्स कार्यक्रमः भविष्यको स्वास्थ्यमा लगानी
बालबालिकाको स्वास्थ्यमा गरिएको लगानी वास्तवमा भविष्यमा गरिएको लगानी हो । विद्यालय स्वास्थ्य नर्स कार्यक्रमले यही उद्देश्य पूरा गर्ने प्रयास गरेको देखिन्छ । विद्यालय उमेर समूहमा देखिने कुपोषण, रक्तअल्पता, सरसफाइ सम्बन्धी समस्या, किशोरावस्थाका शारीरिक तथा मानसिक परिवर्तन, महिनावारी स्वास्थ्य तथा यौन तथा प्रजनन स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्न विद्यालय स्वास्थ्य नर्स कार्यक्रम प्रभावकारी मानिन्छ । नेपालका धेरै विद्यालयमा विद्यार्थीले सामान्य स्वास्थ्य समस्या हुँदा पनि उचित परामर्श पाउने व्यवस्था छैन । विद्यालयमा स्वास्थ्य नर्सको उपस्थितिले विद्यार्थीको स्वास्थ्य सुरक्षामा नयाँ आयाम थप्न सक्छ ।
मातृ स्वास्थ्यमा विशेष प्राथमिकता
गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य कुनै पनि समाजको स्वास्थ्य अवस्थाको महत्वपूर्ण सूचक हो । नेपालले मातृ मृत्युदर घटाउन उल्लेखनीय प्रगति गरे पनि दुर्गम क्षेत्रमा अझै चुनौतीहरू कायम छन् । अन्नपूर्ण गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क भिडियो एक्स–रे सेवा, निःशुल्क ल्याब सेवा तथा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेको छ । गर्भावस्थामा नियमित जाँच नगराउँदा उच्च रक्तचाप, रक्तअल्पता, भ्रुणको असामान्य अवस्था लगायतका जोखिम समयमै पत्ता लाग्न सक्दैनन् । निःशुल्क परीक्षण सेवाले आर्थिक अभावका कारण स्वास्थ्य जाँचबाट वञ्चित हुने महिलालाई राहत पु¥याउने अपेक्षा गरिएको छ ।
पोषण सुधारः स्वस्थ पुस्ता निर्माणको आधार
स्वास्थ्य क्षेत्रको अर्को महत्वपूर्ण पक्ष पोषण हो । कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन असर पार्छ । गर्भवती महिला, सुत्केरी आमा तथा पाँच वर्षमुनिका बालबालिकालाई लक्षित पोषण कार्यक्रमहरू ग्रामीण क्षेत्रमा अझै अत्यन्त आवश्यक छन् । पोषण सुधारले शिशु मृत्युदर घटाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा शिक्षण सिकाइको स्तर सुधार गर्ने विश्वास गरिन्छ । अन्नपूर्ण गाउँपालिकाले पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरेर स्वास्थ्यलाई बहुआयामिक रूपमा हेरेको देखिन्छ ।
नसर्ने रोगको बढ्दो चुनौती
एक समय नेपालमा संक्रामक रोग प्रमुख स्वास्थ्य समस्या मानिन्थ्यो । अहिले अवस्था बदलिएको छ । मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मिर्गौलासम्बन्धी समस्या तथा क्यान्सरजस्ता नसर्ने रोग तीव्र रूपमा बढिरहेका छन् । यस्ता रोगहरू लामो समयसम्म लक्षण नदेखिई शरीरभित्र विकसित हुने भएकाले समयमै परीक्षण आवश्यक हुन्छ । गाउँपालिकाले नसर्ने रोग नियन्त्रण तथा जनचेतना कार्यक्रम सञ्चालन गर्नुको उद्देश्य पनि यही देखिन्छ ।
यदि प्रारम्भिक चरणमै रोग पहिचान गर्न सकियो भने उपचार प्रभावकारी र कम खर्चिलो हुन्छ । त्यसैले नियमित स्वास्थ्य परीक्षण संस्कृतिको विकास आवश्यक छ ।
मानसिक स्वास्थ्य प्राथमिकतामा
ग्रामीण समाजमा मानसिक स्वास्थ्यबारे खुला रूपमा कुरा गर्ने संस्कृति अझै विकास हुन सकेको छैन । धेरै मानिस तनाव, डिप्रेसन, चिन्ता तथा अन्य मानसिक समस्याबाट पीडित भए पनि उपचार खोज्दैनन् । अन्नपूर्ण गाउँपालिकाले मानसिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रमलाई बजेटमा समावेश गर्नु सकारात्मक पक्ष हो । पछिल्ला वर्षहरूमा आत्महत्याका घटनाले राष्ट्रिय चिन्ता बढाइरहेका बेला समुदायस्तरमै मानसिक स्वास्थ्यबारे सचेतना फैलाउनु आवश्यक देखिएको छ । मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसरह महत्व दिन थालिनु आधुनिक स्वास्थ्य व्यवस्थापनको संकेत हो ।
आयुर्वेद र आधुनिक स्वास्थ्य सेवाको समन्वय
नेपालमा आयुर्वेदिक उपचार पद्धतिको लामो इतिहास छ । ग्रामीण क्षेत्रमा अझै धेरै नागरिक आयुर्वेदिक सेवाप्रति विश्वास राख्छन् । गाउँपालिकाले आयुर्वेदिक औषधि खरिद तथा आयुर्वेद सेवा प्रवद्र्धनका कार्यक्रमलाई पनि समेटेको देखिन्छ । यसले आधुनिक र परम्परागत उपचार प्रणालीबीच सन्तुलन कायम गर्ने प्रयास भएको संकेत गर्छ ।
स्वास्थ्यकर्मी बिना स्वास्थ्य सेवा सम्भव छैन
भवन, उपकरण र औषधि भए पनि दक्ष जनशक्ति बिना स्वास्थ्य सेवा प्रभावकारी बन्न सक्दैन । नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी टिकाइराख्नु ठूलो चुनौती मानिन्छ । अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्यकर्मी प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको देखिन्छ । यस्तो प्रोत्साहनले स्वास्थ्य संस्थामा जनशक्ति टिकाउन तथा सेवा गुणस्तर सुधार गर्न सहयोग पुग्न सक्छ । विशेषगरी दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा दिनु स्थानीय सरकारका लागि आवश्यक लगानी हो ।
विपन्न नागरिकका लागि उपचार सहायता
रोगले केवल स्वास्थ्य मात्र होइन, आर्थिक अवस्था पनि प्रभावित बनाउँछ । गम्भीर रोग लागेका धेरै परिवार उपचार खर्चकै कारण गरिबीमा धकेलिने गरेका छन् । गाउँपालिकाले विपन्न तथा जटिल प्रकृतिका बिरामीलाई उपचार सहायता उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्नु सामाजिक न्यायको दृष्टिले महत्वपूर्ण मानिन्छ । यस्ता कार्यक्रमले स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न मद्दत गर्छन् ।
स्वास्थ्य पूर्वाधार विस्तारको आवश्यकता
हाल सञ्चालन भएका कार्यक्रम महत्वपूर्ण भए पनि दीर्घकालीन समाधानका लागि स्वास्थ्य पूर्वाधार अझ बलियो बनाउनुपर्ने आवश्यकता छ । विशेषज्ञ चिकित्सक सेवा, आधुनिक ल्याब, डिजिटल स्वास्थ्य प्रणाली, टेलिमेडिसिन, एम्बुलेन्स सञ्जाल तथा आपत्कालीन उपचार सेवाको विस्तार आगामी दिनमा अझ आवश्यक देखिन्छ ।

परिणाममुखी लगानीको अपेक्षा
स्वास्थ्य क्षेत्रमा करोडौँ रुपैयाँ लगानी हुनु आफैँमा उपलब्धि होइन । त्यसले नागरिकको जीवनमा कति परिवर्तन ल्यायो भन्ने कुरा महत्वपूर्ण हुन्छ । यदि कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भएका छन् भने स्वास्थ्य संस्थामा बिरामीको पहुँच बढेको हुनुपर्छ, मातृ तथा शिशु स्वास्थ्य सुधारिएको हुनुपर्छ, औषधि अभाव घटेको हुनुपर्छ, रोगको प्रारम्भिक पहिचान बढेको हुनुपर्छ । त्यसैगरी समुदायमा स्वास्थ्य चेतना विस्तार भएको हुनुपर्छ । यी सूचकहरूले मात्र लगानीको वास्तविक प्रभाव देखाउँछन् ।
स्वास्थ्यलाई केन्द्रमा राखेको स्थानीय सरकार
अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य क्षेत्रका कार्यक्रमहरू हेर्दा स्थानीय सरकारले स्वास्थ्यलाई विकासको आधारभूत क्षेत्रका रूपमा लिएको स्पष्ट हुन्छ । स्वास्थ्य चौकीको क्षमता अभिवृद्धिदेखि गाउँघर क्लिनिक, विद्यालय स्वास्थ्य नर्स, मातृ स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोग नियन्त्रण, आयुर्वेद सेवा तथा विपन्न नागरिक उपचार सहायता जस्ता कार्यक्रमले स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउने प्रयास गरेको देखिन्छ ।
दुर्गम हिमाली भूगोलमा बसोबास गर्ने नागरिकका लागि स्वास्थ्य सेवा अझै चुनौतीपूर्ण विषय भए पनि गाउँपालिकाले अघि सारेका कार्यक्रमहरूले स्वास्थ्य सेवालाई नागरिकको घरदैलो नजिक पु¥याउने आधार तयार गरिरहेका छन् । चुनौती अझै बाँकी छन्, तर स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गरिएको लगानीले अन्नपूर्ण गाउँपालिकाले ‘स्वस्थ नागरिक, समृद्ध गाउँपालिका’को लक्ष्यतर्फ महत्वपूर्ण कदम चालेको सन्देश दिएको छ ।अन्नपूर्ण गाउँपालिका, म्याग्दी गाउँ कार्यपालिकाको कार्यालयको आ.व. ः २०८२÷८३ मा स्वास्थ्य तर्फ बिनियोजित बजेट (रु हजारमा)
घोरेपानी स्वास्थ्य प्रवद्र्धन कार्यक्रम ः ३,२५ (सम्पन्न)
बजार अनुगमन खर्च ः १,५०
दोवा स्वास्थ्य चौकी सामाग्री खरिद ः ५०
एक्युट माउण्टेण्ट सिकनेस तालिम (स्वास्थ्यकर्मि तथा व्यवसायी) ः ३,००(सम्पन्न)
१ विद्यालय १ स्वास्थ्यकर्मि (विधार्थि तथा अविभावक स्वास्थ्य शिक्षा तथा परिक्षण) ः ३,००(सम्पन्न)
म.स्वा.स्व. सेविकाहर मासिक समिक्षामा खाजा खर्च र प्रोत्साहन मासिक रु १०००० ः ८,४९(सम्पन्न)
स्वास्थ्य शिविर कार्यक्रम – मानसिक – ः ७,००
न्यूनतम सेवा मापदण्ड कार्यक्रम संचालन तथा सामग्री व्यवस्थापन ः २,०० (सम्पन्न)
गाउँघर क्लिनिक तथा खोप सेवा संचालनार्थ यातायात खर्च ः २,५० (सम्पन्न)
स्वास्थ्य संस्थाहरु संचालन तथा व्यवस्थापन ः ५,०० (सम्पन्न)
पालिकाका जनप्रतिनिधीसंग सुनौला १००० दिनका आमाहरु ः ३,७० (सम्पन्न)
गर्भवती तथा सुत्केरी आमाहरुको लागि निशुल्क भिडीयो एक्सरे तथा ल्याब सेवा व्यवस्थापन ः २,५० (सम्पन्न)
निशुल्क वितरणको लागि औषधि तथा औषधिजन्य मालसामानहरुको व्यवस्थापन ः २०,०० (सम्पन्न)
आयुर्वेदिक औषधी खरिद ः ५,०० (सम्पन्न)
५ शैया अस्पताल स्वास्थ्य चौकी (दोबा र हिस्तान औल) को लागि सामाग्री व्यवस्थापन ः ८,००
स्वास्थ्य संस्थाहरुको लागि ल्याब उपकरण तथा अन्य व्यवस्थापन ः ५,०० (प्रकृयामा)
स्वास्थ्य संस्थाहरुमा गेट तथा सन्देशमुलक बोर्डहरु निर्माण ः १०,०० (प्रकृयामा)
पाउद्वार स्वास्थ्य इकाई व्यवस्थापन ः ४,०० (सम्पन्न)
स्थानीय तहका स्वास्थ्य शाखा, स्वास्थ्य चौकी, प्राथमिकक स्वास्थ्यकेन्द्र, अस्पताल तथा आयुर्वेद औषधालयहरुमा कार्यरत स्थायी कर्मचारीहरुको स्वीकृत दरवन्दी अनुसारको तलब, महंगी भत्ता र पोषाक भत्ता ः ३,५७,०० (सम्पन्न)
नियमित तथ्याङ्कको गुणस्तर वृद्धिका लागि स्वास्थ्य संस्थाहरुको मासिक बैठक, डाटा भेरिफिकेशन तथा भ्यालिडेशन एवम् अर्धवार्षिक र वार्षिक समिक्षा ः २,०० (चलिरहेको)
राष्ट्रिय महिला स्वास्थ्य स्वयंसविका कार्यक्रम (पोसाक प्रोत्साहन र यातायात खर्च) ः १६,०० (सम्पन्न)
महिला सामुद स्वास्थ्य स्वयम्सेविकाहरुलाई नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण ः ६०(सम्पन्न)
मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्माहत्या रोकथाम सम्बन्धि जनचेतना कार्यक्रम ः ५०(सम्पन्न)
विश्व रक्तचाप दिवस तथा आत्महत्या न्यूनीकरण दिवस मनाउने ः २० (सम्पन्न)
स्वास्थ्य चौकी (आधारभुत स्वास्थ्य सेवा केन्द्र) को न्युनतम सेवा मापदण्ड कार्यक्रम (अभिमुखीकरण, समिक्षा, फलो अप, अनुगमन तथा सुदृढिकरण समेत) ः १,०८ (सम्पन्न)
समुदाय स्तरमा नसर्ने रोग सम्बन्धि स्क्रिनिङ्ग (फागुन महिना) तथा जनचेतना कार्यक्रम सञ्चालन ः १,५० (सम्पन्न)
सिविआइएमएनसिआइ कार्यक्रम (कार्यक्रम समिक्षा, स्थलगत अनुशिक्षण) ः १,०० (सम्पन्न)
स्थानीय तहको साझेदारीमा नियमित खोप सुदृढीकरण, नियमित खोपमा विद्यालय केन्द्रित खोप अभियान सञ्चालन, सरसफाई प्रवद्र्धन कार्यक्रम निरन्तरता, खोपबाट बचाउन सकिने रोगहरुको खोजपडताल तथा निगरानी, पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि व्यवस्थापन खर्च ः ६,३३ (सम्पन्न)
स्थानिय तह मार्फत मातृ तथा नवशिशु कार्यक्रम सञ्चालन ः १०,९९ (सम्पन्न)
म स्वास्थ्य मेरो सामुदाय स्वास्थ्य घर टोलमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम ः ४,६० (सम्पन्न)
स्थानिय तह तर्फ मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, रक्तसंचार, न्यानो झोला, सुरक्षित निशुल्क गर्भपतन र नवजात शिशुको निशुल्क उपचार कार्यक्रम ः ३,०० (सम्पन्न)
मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरूलाई औषधि उपचार खर्च बापत मासिक रु ५ हजार दरले उपलब्ध गराइने रकम ः १६,४० (सम्पन्न)
प्रजनन रुग्णता स्वास्थ्य सेवा (भिआइए) ः १,३४ (सम्पन्न)
किशोरकिशोरी स्वास्थ्य सेवामैत्री स्वास्थ्य संस्था, महिनावारी सरसफाइ ः ९० (सम्पन्न)
आयुर्वेद सेवा कार्यक्रम (आयुर्वेद औषधालय ) ः ६,०० (सम्पन्न)
जुनोटिक रोगहरु, एएमआर सम्बन्धि पैरवी तथा अभिमुखीकरण कार्यक्रम ः २०
पोषण कार्यक्रम ः ४,८४ (सम्पन्न)
परिवार योजना सेवा ः ६० (सम्पन्न)
क्षयरोगका जोखिम समूह तथा स्वास्थ सेवाको पहुच कम भएका समुदायमा सकृय क्षयरोग खोजपडताल कार्यक्रम र पि.बि.सि बिरामीका घरपरिवारका सदस्यहरुको सम्पर्क परीक्षण ः १,०५ (सम्पन्न)
आकस्मिक अवस्थामा औषधि एवं ल्याब सामाग्री ढुवानी र स्थलगत अनुशिक्षण तथा सुपरिवेक्षण तथा क्षयरोग कार्यक्रमको योजना तर्जुमा तथा कोहर्ट विश्लेषण ः ९
आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाको लागि औषधि खरिद ः ११,९२ (सम्पन्न)
कुल जम्मा ः ५,४३,४४
