हिमाल र पहाडको काखमा फैलिएको रघुगंगा गाउँपालिका प्राकृतिक सौन्दर्यले जति समृद्ध छ, भौगोलिक जटिलताले उति नै चुनौतीपूर्ण पनि छ । छरिएर रहेका बस्ती, दुर्गम भूगोल, सडक पहुँचको सीमितता, स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने लामो समय र विशेषज्ञ स्वास्थ्य सेवाको अभाव ग्रामीण स्वास्थ्य क्षेत्रका पुराना चुनौती हुन् । यस्ता चुनौतीबीच स्थानीय सरकारको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा गरिएको लगानीले अहिले गाउँपालिकाको स्वास्थ्य सेवामा उल्लेखनीय परिवर्तन ल्याउने प्रयास गरिरहेको छ । खोपदेखि क्यान्सरसम्म, गर्भवतीदेखि ज्येष्ठ नागरिकसम्म, स्वास्थ्य चौकीदेखि डिजिटल स्वास्थ्य प्रणालीसम्म फैलिएको स्वास्थ्य अभियानले नागरिकको मनमात्र जितेको छैन भरोसा पनि बढेर गएको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा रघुगंगा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सञ्चालन गरेका कार्यक्रमहरूको सूची हेर्दा स्वास्थ्य सेवा अब केवल बिरामीको उपचारमा सीमित नरहेको स्पष्ट देखिन्छ । खोप कार्यक्रम, मातृ तथा शिशु स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोग नियन्त्रण, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, महिला स्वास्थ्य स्वयंसेविका सशक्तीकरण, स्वास्थ्य सूचना प्रणाली, महामारी पूर्वतयारी तथा विपन्न नागरिकको उपचार सहयोगसम्म स्वास्थ्य कार्यक्रमको दायरा विस्तार भएको छ । स्वास्थ्य संस्थाका नयाँ भवन, स्वास्थ्य संस्थामा रहेको सरसफाइ तथा कर्मचारीको मुस्कान सहितकको सेवाले गर्दा नै स्थानीय सरकार भनेको जनताको आफ्नै घरको सरकार हो भन्ने मनैदेखि बनाएका छ ।

स्वास्थ्य शाखाले गाउँपालिकाको स्रोत र संघीय सरकारको सशर्त अनुदानमार्फत करोडौँ रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गरेको छ । यी कार्यक्रमहरूको लक्ष्य केवल सेवा उपलब्ध गराउनु मात्र होइन, नागरिकको घरदैलोमै स्वास्थ्यको पहुँच पु¥याउनु, जोखिममा रहेका समुदायलाई संरक्षण गर्नु र दीर्घकालीन रूपमा स्वस्थ समाज निर्माण गर्नु हो ।

स्वास्थ्यलाई प्राथमिकतामा राखेको स्थानीय सरकार
स्थानीय सरकार गठनअघि अधिकांश स्वास्थ्य कार्यक्रम केन्द्र वा प्रदेशको निर्देशनमा सञ्चालन हुने गर्थे । स्थानीय आवश्यकताअनुसार कार्यक्रम छनोट र कार्यान्वयन गर्ने अधिकार सीमित थियो । तर स्थानीय सरकारको अवधारणाले स्वास्थ्य क्षेत्रलाई स्थानीय आवश्यकता अनुसार व्यवस्थापन गर्ने अवसर दिएको छ । रघुगंगा गाउँपालिकाले स्वास्थ्यलाई विकासको आधारभूत क्षेत्रका रूपमा ग्रहण गरेको देखिन्छ । स्वास्थ्य सेवा राम्रो नभएसम्म शिक्षा, कृषि, पर्यटन वा आर्थिक विकासका अन्य क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न सक्दैनन् भन्ने बुझाइका साथ गाउँपालिकाले स्वास्थ्यमा निरन्तर लगानी बढाएको छ । स्वास्थ्य शाखाको कार्यक्रम विवरणले देखाउँछ कि गाउँपालिकाले रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने, समयमै पहिचान गर्ने र समुदायमै सेवा पुर्याउने रणनीतिलाई प्राथमिकता दिएको छ । कार्यक्रमहरु स्वास्थ्य शाखाबाट कार्यान्वयनमा जाने भए पनि त्यसको मुल मुहान भनेको रघुगंगा गाउँपालिका हो र यसले समग्र जनताको हित र जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर काम गरेको भन्ने प्रष्ट हुन्छ ।

खोप कार्यक्रमः रोग उन्मूलनको आधार
बालबालिकाको जीवन रक्षा गर्ने सबैभन्दा प्रभावकारी स्वास्थ्य कार्यक्रममध्ये खोप कार्यक्रम अग्रपंक्तिमा पर्छ । खोपका कारण विश्वभर लाखौँ बालबालिकाको ज्यान बचिरहेको छ । रघुगंगा गाउँपालिकाले पनि खोपबाट बचाउन सकिने रोगहरूको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलनलाई विशेष महत्व दिएको छ । खोपबाट बचाउन सकिने रोगहरूको सर्भिलेन्स, नमूना संकलन, ढुवानी, रिपोर्टिङ युनिट सञ्चालन, स्वास्थ्य संस्थाका फोकल पर्सनलाई अभिमुखीकरण तथा समीक्षा बैठकका लागि ७० हजार रुपैयाँको कार्यक्रम तय भएकोमा सम्पन्न भै सकेको छ ।

गाउँपालिकामा भएको पूर्णखोप कार्यक्रम अन्तरगत जन्मेदेखि १५ महिना भित्रका ११५ जनाले नियमित खोप लगाइ रहेका छन् । त्यस्तै १६ महिना देखि ५९ महिना भित्रका बालबालिका ५५३ जना बालबालिकाले पूर्ण खोपा पाएका र उनीहरु सँग खोपकार्ड समेत रहेको छ ।
यसका अतिरिक्त नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि सूक्ष्म योजना अद्यावधिक, घरधुरी सर्वेक्षण, वडा तथा पालिका घोषणा, सहजीकरण तथा अनुगमनका लागि छुट्टै कार्यक्रम सञ्चालन गरिएको छ । संघीय अनुदानमार्फत विद्यालय केन्द्रित खोप अभियान, खोपबाट बचाउन सकिने रोगको निगरानी तथा पूर्ण खोप सुनिश्चितताका लागि ६ लाख ३३ हजार रुपैयाँ वार्षिक बजेट खर्च गर्ने लक्ष सहितको कार्यक्रम सम्पन्न गरिएको छ ।
रघुगंगा गाउँपालिका भित्र रहेका १० वटा माध्यमिक विद्यालयहरुमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । चालु आर्थिक वर्षमा गाउँपालिका भित्रका १० विद्यालयमा २८ वटा स्वास्थ्य शिक्षा कक्षा सञ्चालन गर्दा पोषण स्वास्थ्य शिक्षालाई प्राथमिकता दिएर कार्यक्रम गरिएको रघुगंगा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्रप्रसाद जैसवालको भनाई छ ।
खोप कार्यक्रमले बाल मृत्युदर घटाउनुका साथै दीर्घकालीन रूपमा स्वास्थ्य खर्च कम गर्न सहयोग पु¥याउँछ । त्यसैले गाउँपालिकाको यो लगानीलाई भविष्यमा गरिएको लगानीका रूपमा हेर्न सकिन्छ । हरेक वर्ष हुने पूर्ण खोप शुनिश्चितता तथा दिगोपानका लागि स्वास्थ्यकर्मी, तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको मेहनत निकै महत्वपूर्ण छ ।

मानसिक स्वास्थ्य र नसर्ने रोगः नयाँ चुनौतीसँगको सामना
एक समय ग्रामीण नेपालमा संक्रामक रोग प्रमुख स्वास्थ्य समस्या मानिन्थ्यो । अहिले परिस्थिति बदलिएको छ । उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर, कोलेष्ट्रोल, थाइराइड, मिर्गौला रोग तथा मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा बढिरहेका छन् ।
रघुगंगा गाउँपालिकाले मानसिक स्वास्थ्य समस्या तथा नसर्ने रोगहरूको स्क्रिनिङ र व्यवस्थापनका लागि एक महिने अभियान सञ्चालन गरी ३ लाख रुपैयाँ खर्च गरेको छ । यस अभियानमा स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमै पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको थियो । यो अभियानले ग्रामिण भेकका दुरदराजमा रहेका जनताले आफ्नो सरकार घरमै आएको महशुष गरेको प्रतिकृया दिएका थिए ।
गाउँपालिकाको चालु आर्थिक वर्ष रहेको कार्यक्रम अन्तरगत नसर्ने रोग स्कृनिङ गर्ने क्रममा ३० वर्ष माथिका नागरिकलाई मधुमेह, मृगौला परीक्षण, मोटोपना, प्रेसरको परीक्षण गरिएको थियो। उक्त स्वास्थ्य परीक्षणमा गाउँपालिका भित्रका २८ सय ५५ जनाले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्यसेवा लिएकाहरु मध्ये उच्च रक्तचाप २९३, मधुमेह ११३, मृगौला १२३, मोटोपना ४१२ जनामा पहिचान भएको थियो । यी मध्ये गम्भीर प्रकृतिका १०६ जनालाई थप उपचारका लागि माथिल्लो स्वास्थ्य संस्थामा रिफर गरिएको थियो ।

त्यसैगरी “अध्यक्षसँग ज्येष्ठ नागरिक” कार्यक्रम अन्तर्गत घर–घरमा स्वास्थ्यकर्मी परिचालन गरी नसर्ने रोगको स्क्रिनिङ, व्यवस्थापन तथा मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्न ५ लाख रुपैयाँ खर्च गरिने कार्यक्रम चालु आर्थिक वर्षमा तय गरिएको थियो । यो कार्यक्रम विशेष गरी ज्येष्ठ नागरिक लक्षित रहेको देखिन्छ । घरबाट स्वास्थ्य संस्था सम्म पनि पुग्न मुस्कील हुने जेष्ठनागरिकहरुलाई लक्षित गरेर गरिएको यो कार्यक्रमले आफ्नो समाज र राज्यका लागि योगदान गरेका जेष्ठ नागरिकले पनि आफ्नो अपनत्व महशुष गर्ने मौका पाएका छन् ।
अध्यक्ष सँग जेष्ठ नागरिक कार्यक्रम अन्तरगत ६८ वर्ष माथिका नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त कार्यक्रममा ४ हजार २ सय २५ जनाको परीक्षण गरिएको थियो । गत बैशाख मसान्त सम्मको यो तथ्याङ्कले पनि नागरिक प्रतिको पालिकाको दायित्वलाई झल्काउँछ ।
३० वर्ष माथिका महिलाहरुको प्रजनन रुग्णता सम्बन्धी परीक्षणमा १५३ जनाको स्वास्थ्य परीक्षण गरिएको र उक्त परीक्षणमा ७ जना महिलामा संकास्पद पाठेघर क्यान्सरको समस्या भेटिएको थियो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नसर्ने रोग तथा मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरणका लागि ६० हजार रुपैयाँ खर्च गरिएको छ । उक्त कार्यक्रममा गाउँपालिका भित्र रहेका ७४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखिकरण गरिएको थियो ।
चालु आवमा मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतना कार्यक्रमका लागि ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सामुदायिक स्तरमा नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा जनचेतना कार्यक्रम सञ्चालन गर्न १ लाख ५ हजार रुपैयाँ खर्च गरिएको छ । यी कार्यक्रमहरूले स्वास्थ्य सेवा अब अस्पताल केन्द्रित मात्र नभई समुदाय केन्द्रित हुँदै गएको संकेत गर्छन् । स्वास्थ्य क्षेत्रमा बिनियोजन गर्ने रकम अंकमा मात्र नभएर जनजिविका र जीवन मरण सँग समेत सम्बन्धीत हुने भएकोले पनि यो क्षेत्रमा बजेट अन्यत्र भन्दा बढीनै बिनियोजन गर्ने गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको भनाई छ । उक्त कार्यक्रम अन्तरगत गाउँपालिका भित्रका १२१ जनालाई एआइ सहितको प्रविधिबाट छातीको एक्सरे सहित क्षयरोग परीक्षण गरिएको थियो।

गर्भवती महिला र नवजात शिशुको सुरक्षामा विशेष जोड
मातृ तथा शिशु स्वास्थ्य कुनै पनि स्वास्थ्य प्रणालीको सफलता मापन गर्ने प्रमुख सूचक हो । ग्रामीण क्षेत्रमा अझै पनि समयमै स्वास्थ्य सेवा नपाउँदा गर्भवती महिला तथा नवजात शिशुले जोखिम भोग्नुपरेको अवस्था छ । रघुगंगा गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण प्रवद्र्धनका लागि “पोषिलो खाना कोसेली झोला” कार्यक्रम सञ्चालन गरी ५ लाख रुपैयाँ खर्च गरेको छ । यो कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मी सहित उपाध्यक्षको घरभेट कार्यक्रममार्फत सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री उपलब्ध गराइएको थियो । त्यसैगरी घरमा हुने प्रसूति न्यूनीकरण गर्दै “शून्य होम डेलिभरी” लक्ष्य प्राप्त गर्न पूर्ण संस्थागत सुत्केरी अभियान सञ्चालन गरिएको छ । प्रसूति सेवा केन्द्र विस्तार, बर्थिङ सेन्टरका लागि उपकरण खरिद, बहस, पैरवी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गर्भवती महिलालाई प्रसूति सेवा केन्द्रसम्म आउन–जान यातायात सहयोग तथा प्रसुति प्रतिक्षागृह विस्तार गर्न २ लाख रुपैयाँ विनियोजन गरिएको छ । सुत्केरी महिलाका लागि पोषिलो खानपान उपलब्ध गराउने व्यवस्था समेत यस कार्यक्रम अन्तर्गत गरिएको छ ।
गाउँपालिका भित्र रहेका पाखापानी, झिँ, पिप्ले, भगवतीको बर्थिङसेन्टरमा प्रतिक्षागृह निर्माण गरिएको । उक्त स्थानमा खाना पकाउने खानो भाँडाकुडा सहित व्यवस्था गरिएको छ । साथै वर्थिङसेन्टर चिमखोलामा पनि बिस्तारको चरणमा रहेको प्रमुख प्रशासकिय अधिकृत कुलराज पौडेलको भनाई छ ।

संघीय सरकारको मातृ तथा नवजात शिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, रक्तसञ्चार, न्यानो झोला, सुरक्षित गर्भपतन तथा नवजात शिशुको निःशुल्क उपचार कार्यक्रमका लागि १८ लाख १८ हजार रुपैयाँ खर्च भइरहेको छ ।
गाउँपालिकाले आफ्नौ क्षेत्र भित्रका स्वास्थ्यसंस्थामा सुत्केरी हुन आउनेलाई २८ सय रुपियाँका दरले उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा ९ जनाले उक्त सेवा लिएका छन् । रघुगंगा गाउँपालिका भित्रका बर्थिङसेन्टरमा सुत्केरी भएकाहरुका लागि मात्रै यो सेवा लागु हुन्छ ।
स्थानीय तहमार्फत सञ्चालन हुने मातृ तथा नवशिशु कार्यक्रमका लागि थप ११ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
पिप्ले र झिँमा आमा सुरक्षा कार्यक्रम अन्तरगत एकएक जना कर्मचारी व्यवस्था गरिएको छ र यो रकमबाट पोशाक भत्ता पनि कर्मचारीले पाउँछन् । जसले आमाहरुलाई सुरक्षित तबरले गर्भावस्था र सुत्केरी अवस्थामा ध्यान दिनका लागि महत्वपूर्ण भुमिका खेल्छ ।
गर्भवती तथा सुत्केरी महिलाहरुको पोषण प्रवद्र्धनका लागि स्वास्थ्यकर्मी सहित उपाध्यक्ष भेटघाटमा अहिले सम्म गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी भएका ९ जना र त्यसबाहेक अन्यत्र पनि स्वास्थ्य संस्थामा गर्भजाँच गर्ने तथा सुत्केरी हुनेले समेत यो सेवा मार्फत सुविधा लिएका छन् ।
महिला स्वास्थ्य स्वयंसेविकाः ग्रामीण स्वास्थ्य सेवाको मेरुदण्ड
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य प्रणालीका आधारस्तम्भ मानिन्छन् । खोप, पोषण, सुरक्षित मातृत्व, परिवार योजना, स्वास्थ्य शिक्षा तथा जनचेतना अभियानमा उनीहरूको योगदान अमूल्य छ । रघुगंगा गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका दिवस, अर्धवार्षिक तथा वार्षिक समीक्षा कार्यक्रमका लागि २ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि १ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ ।
उक्त कार्यक्रम अन्तरगत वार्षिक तथा अर्धवार्षिक समिक्षा ७४ जना बीच गरिएको तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नै स्वास्थ्य बिमामा लाग्ने रकमको आधा रकम गाउँपालिकाले व्यहोर्नुका साथै उनीहरुलाई सञ्चारखर्च समेत उपलब्ध गराईएको छ । उनीहरुले भिटामिन ए अभियान कार्यक्रम सञ्चालन भएको समयमा थप यातायात खर्च समेत पाउने गरेकोमा त्यो रकम ७४ जनालाई भुक्तानी गर्ने गरिएको छ ।
त्यसैगरी सम्मानजनक बिदाइ, सञ्चार खर्च तथा राष्ट्रिय अभियानमा खटिएबापत अतिरिक्त यातायात खर्चका लागि ३ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको छ । संघीय सरकारको कार्यक्रम अन्तर्गत पोशाक, प्रोत्साहन तथा यातायात खर्चका लागि ७ लाख २० हजार रुपैयाँ खर्च गरिएको छ । यसले स्वयंसेविकाहरूको मनोबल बढाउने तथा स्वास्थ्य सेवाको निरन्तरतामा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
७४ जना महिला स्वास्थ्य स्वयंसेविकाले पोशाक, प्रोत्साहन तथा यातायात खर्च लिएको र २ जनाले जनही २० हजार नगद र सम्मानपत्र सहित सम्मानजनक विदाई गरिएको ।

स्वास्थ्य संस्थामा औषधि र उपकरणको पहुँच
बिरामी स्वास्थ्य चौकी पुगेर औषधि नपाउनु स्वास्थ्य प्रणालीको कमजोरी मानिन्छ । गाउँपालिकाले यस अवस्थालाई सुधार्न औषधि तथा स्वास्थ्य सामग्री खरिदमा विशेष ध्यान दिएको देखिन्छ । स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइबाट निःशुल्क वितरणका लागि आवश्यक औषधि, सर्जिकल सामग्री, प्रयोगशाला सामग्री तथा मानसिक स्वास्थ्यसम्बन्धी औषधि खरिदमा १५ लाख रुपैयाँ खर्च गरिएको छ । संघीय सरकारको कार्यक्रम अन्तर्गत आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधि खरिदमा ११ लाख ८७ हजार रुपैयाँ खर्च गरिएको छ ।
गाउँपालिकाले सामग्री खरीद गरेर सम्बन्धीत स्वास्थ्य संस्थामा पठाइ सकेको छ । ८ वटा स्वास्थ्यचौकी, १० वटा सामुदायिक स्वास्थ्य इकाइमा औषधीहरु पठाइ सकिएको हो ।
औषधि, खोप तथा अन्य सामग्री ढुवानीका लागि १ लाख ५० हजार रुपैयाँ तथा आकस्मिक अवस्थामा औषधि र ल्याब सामग्री ढुवानीका लागि ९५ हजार रुपैयाँ खर्च गरिएको छ । यी कार्यक्रमहरूले दुर्गम स्वास्थ्य संस्थामा पनि नियमित सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
डिजिटल स्वास्थ्य प्रणालीतर्फको यात्रा
स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ । रघुगंगा गाउँपालिकाले स्वास्थ्य चौकीहरूमा इलेक्टेनिक हेल्थ म्यानेजमेन्ट इन्फमेसन सिस्टम(इएचएमआइएस) कार्यक्रम सुरु गर्न ६ लाख रुपैयाँ विनियोजन गरेको छ । यसका अतिरिक्त स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तथा आपूर्ति व्यवस्थापन सूचना प्रणालीका लागि आवश्यक अभिलेख, प्रतिवेदन फाराम, रजिस्टर, फ्लेक्स तथा प्रिन्ट सामग्री व्यवस्थापनमा २ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ ।
नियमित तथ्याङ्कको गुणस्तर सुधार, डाटा भेरिफिकेसन तथा भ्यालिडेसनका लागि २ लाख रुपैयाँ खर्च गरी कार्यक्रम सम्पन्न गरिएको थियो । यस कार्यक्रम अन्तरगत समिक्षा तथा मासिक रुपमा बैठक बसेर यसलाई प्रभावकारी तबरले लैजाने काम गरियो । स्वास्थ्यचौकी प्रमुखहरुको उपस्थितिमा हरेक महिना यो कार्यक्रम हुँदै आएको छ ।
यस कार्यले डिजिटल प्रणालीले भविष्यमा स्वास्थ्य सेवा अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्यकर्मीमा लगानी
स्वास्थ्य सेवा प्रभावकारी बनाउन दक्ष जनशक्ति अपरिहार्य हुन्छ । गाउँपालिकाले नर्सिङ कर्मचारीहरूको क्षमता विकासका लागि क्लिनिकल मेन्टोरिङ तथा स्थलगत अनुशिक्षण कार्यक्रम सञ्चालन गरी १ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । वर्थिङ सेन्टरका लागि लक्षित गरेर बिनियोजित बजेटमा गरिएको यो कार्यक्रम झिँ, पिप्ले, पाखापानी, भगवतीका कर्मचारीहरुलाई समेटेर अनुशिक्षण तथा तालिम गरियो । यस कार्यक्रममा वर्थिङसेन्टरका कर्मचारीको सहभागिता थियो ।
स्वास्थ्य सेवा छुटेका सेवाग्राहीको ट्रेसिङ गरी सेवा पहुँच बढाउन स्वास्थ्यकर्मीलाई सञ्चार खर्चका लागि मोबाइल टपअप सुविधा उपलब्ध गराइएको छ । स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनका लागि मसलन्द खर्चमा २ लाख ७० हजार रुपैयाँ खर्च गरिएको छ । गाउँपालिका भित्र रहेका १८ वटै स्वास्थ्य संस्थामा कार्यक्रम भएको स्वास्थ्यचौकीलाई २० हजार र सामुदायिक स्वास्थ्य इकाइलाइ १० हजारका दरले उपलब्ध गराईएको छ ।
गाउँपालिकाले आफ्नो पालिका भित्र ठूलो लगानी मध्येको एक १० वटा सामुदायिक स्वास्थ्य इकाइ र ४ वटा बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब, चाडपर्व खर्च र पोशाक भत्तामा गरिएको छ । यसका लागि ७० लाख रुपैयाँ खर्च भएको छ । १० वटा स्वास्थ्य इकाइमा २० जना कर्मचारी, वर्थिङ सेन्टरमा ९ जनालाई तलब, पोशाक भत्ता नियमित रुपमा बितरण भै रहेको छ । यो बजेट गाउँपालिकाको आफ्नो बजेट हो ।
संघीय सरकारतर्फबाट स्वास्थ्य शाखा, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, अस्पताल तथा आयुर्वेद औषधालयमा कार्यरत स्थायी कर्मचारीको तलब तथा भत्ताका लागि ३ करोड ५७ लाख रुपैयाँ खर्च भइरहेको छ ।
विपन्न तथा दीर्घरोगी बिरामीका लागि राहत
स्वास्थ्य उपचारको आर्थिक भार धेरै परिवारका लागि ठूलो चुनौती हो । मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार रुपैयाँ दरले औषधि उपचार सहायता उपलब्ध गराउन १५ लाख ४० हजार रुपैयाँ खर्च गरिएको छ । यो कार्यक्रमले गम्भीर रोगसँग संघर्ष गरिरहेका परिवारलाई प्रत्यक्ष राहत पु¥याएको छ । गाउँपालिकाले २०८२ चैत सम्म ४५ जना बिरामीहरुलाई रकम भुक्तानी गरेको छ । जटिल दिर्घरोगी गाउँपालिका भित्र ४५ जना रहेकोमा मृगौला डाइलासिस १६ जना, ४ जना मेरुदण्ड पक्षघात र २५ जना क्यान्सर पिडीत रहेका छन् । त्यस्तै ३ जना क्यान्सरका बिरामीहरु चालु वर्षको बैशाख पछि थपिएका छन् ।
महामारी नियन्त्रणदेखि स्वास्थ्य शिविरसम्म
कोभिड–१९ को अनुभवपछि महामारी पूर्वतयारीको महत्व झन् बढेको छ । गाउँपालिकाले आरआरटी टिम गठन, पुनर्गठन, अभिमुखीकरण तथा महामारी नियन्त्रणका लागि आवश्यक सामग्री खरिदमा १ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । आरआरटी अभुमिखिकरण सकिएको छ स्वास्थ्यचौकी प्रमुखहरु ८ जना उक्त कार्यक्रममा सहभागी भएका थिए ।
स्वास्थ्य परीक्षण शिविर सञ्चालनका लागि ७ लाख रुपैयाँ विनियोजन गरिएको छ । क्षयरोग जोखिम समूहमा सक्रिय खोजपड्ताल, जुनोटिक रोग तथा एएमआर सम्बन्धी जनचेतना कार्यक्रम, आइएमएनसिआइ कार्यक्रम, रक्तचाप दिवस तथा आत्महत्या न्यूनीकरण दिवस लगायतका कार्यक्रमले स्वास्थ्य सेवालाई व्यापक बनाएका छन् ।
निष्कर्ष
रघुगंगा गाउँपालिकाको स्वास्थ्य क्षेत्रका कार्यक्रमहरू हेर्दा स्थानीय सरकारले स्वास्थ्यलाई केवल सेवा होइन, विकासको आधारका रूपमा लिएको स्पष्ट हुन्छ । खोप कार्यक्रमदेखि मानसिक स्वास्थ्यसम्म, पोषणदेखि डिजिटल स्वास्थ्य प्रणालीसम्म, मातृ तथा नवशिशु स्वास्थ्यदेखि ज्येष्ठ नागरिक सेवा तथा क्यान्सर बिरामी सहयोगसम्म फैलिएको कार्यक्रम संरचनाले स्वास्थ्य सेवाको दायरा उल्लेखनीय रूपमा विस्तार गरेको छ ।
दुर्गम भौगोलिक अवस्थाका बाबजुद गाउँपालिकाले करोडौँ रुपैयाँ स्वास्थ्य क्षेत्रमा लगानी गरेर नागरिकको घरदैलोमै सेवा पुर्याउने प्रयास गरेको छ । चुनौती अझै बाँकी छन् । विशेषज्ञ जनशक्ति, थप पूर्वाधार, गुणस्तरीय उपकरण र दिगो वित्तीय स्रोतको आवश्यकता अझै कायम छ । तर अहिले सञ्चालन भइरहेका कार्यक्रमहरूले रघुगंगा गाउँपालिका स्वस्थ, सुरक्षित र सचेत समुदाय निर्माणको दिशामा दृढतापूर्वक अघि बढिरहेको सन्देश दिएका छन् ।
