सन्जय घिमिरे
नेपाल जाँदैछ कहाँ?
ठान्नुहोला, चुनावका मुखमा किन म अलि अमूर्तजस्तो लाग्ने यो प्रश्नको जवाफ खोजिरहेको छु? चुनावका मुखमा नेपालमा अहिले जेजस्ता लहर, लहड र चटकहरू चलेका छन्, त्यो देख्दा के तपाईं कोही कसैको मनमा पनि यो प्रश्न उब्जिएको छैन– नेपाल जाँदैछ कहाँ?
उब्जनु पर्ने हो।
आजको दिनमा यत्तिको पनि प्रश्न मनमा उब्जिएको छैन भने पढालेखा जो कसैको विवेक र संवेदनशीलतामाथि नै प्रश्न गर्नु पर्ने हुन्छ। मेरो चेतले भन्छ– नेपाल जाँदैछ कहाँ भनेर जवाफ खोज्नुपर्ने सबैभन्दा सही समय नै यही हो।
यो ऐतिहासिक र करोडौँ मूल्यको जवाफ खोज्दै गर्दा हातमा छ, बीपी कोइरालाको जेल जर्नल, जहाँ एक ठाउँमा बीपी भनिरहेका छन्– ‘प्रजातन्त्रमा ‘व्यक्तिगत उग्रवाद’ सम्भव हुन्छ यद्यपि त्यो प्रणाली (प्रजातन्त्र) उग्रवादमा आधारित हुँदैन’ (जेल जर्नल, पृष्ठ १६३)।
यो वाक्यमा म टक्क रोकिएको छु। रोकिनु पर्ने खास कारण छ।
बीपीले प्रजातन्त्रमा ‘सम्भव मात्र’ ठानेको व्यक्तिगत उग्रवाद आज नेपालको प्रजातन्त्रको अनिवार्य सर्त बन्ने तरखरमा छ। र, सबैभन्दा बढ्ता डर यसैको छ। डर यसकारण छ कि– नेपालको आजको चुनावी राजनीतिमा ‘व्यक्तिगत उग्रवाद’ अलि बढ्तै रफ्तारमा छ। र, प्रजातन्त्र यसैमा आधारित होला कि जस्तो छ। अ(सामाजिक) सञ्जाल (सीके लालको शब्द सापट) र कतिपय ठिकठाकै मिडियाहरूले समेत परिवर्तनका नाममा ‘व्यक्तिगत उग्रवाद’लाई धुन्धान विशेषता वा गुणका रूपमा चित्रण गरिरहेका छन्।
व्यक्तिगत उग्रवादको आजको रफ्तारलाई यसैगरी छाडा छोड्ने हो भने प्रजातन्त्रको मात्रै होइन, देशकै भविष्य तिलमिलाउने म देखिरहेको छु। त्यो पनि अलि छिट्टै। सपार्न पो समय लाग्छ, बिग्रन त के समय लाग्छ र? सप्रेको पो शनै–शनै थाहा हुन्छ, बिग्रन त एक्कासि पनि सक्छ, थाहै नपाई। यसरी कि जसरी एकैदिनमा सिंहदरबार, संसद् भवन र सर्वोच्च सकियो।
कतिपय स्वनामधन्य विश्लेषकहरू परिवर्तनका कुरा गर्छन्, पुस्ताका कुरा गर्छन्, समयका कुरा गर्छन्। बीपी कोइराला राजनीतिमा लाग्दा पनि ‘केटै थिए’ भन्छन्। र ‘केटाहरूलाई’ बढी नै भरोसा गरेर काँधमा बोक्न खोज्छन्। तर तिनले यो चाहिँ भन्दैनन्– बीपी कोइराला कृष्णप्रसाद कोइरालाका छोरा हुन् (कृष्णप्रसाद को हुन्, चिनाउनतिर अहिले म लागिनँ), बीपी कोइराला उमेरमै विश्वका एकसेएक राजनीतिक नेताहरूसँग दोहोरो संवाद गर्ने हैसियत/क्षमता राख्थे, बीपीमा कम उमेरदेखि नै उम्दा सैद्धान्तिक/राजनीतिक/दार्शनिक चेत र अध्ययन थियो।
यति पनि भनिरहनु पर्छ र– अलिक नाक चुच्चो भएको, सुलुत्तको अग्लो ज्यान भएको र राजनीतिमा लागेको हरेक मान्छे बीपी हुँदैन।
यति पनि भनिरहनु पर्छ र– गालादेखि चिउँडासम्म ड्याम्म फुलेका दाह्री पालेको, अलिक डम्मको ज्यान भएको र राजनीतिमा लागेको हरेक मान्छे कार्ल मार्क्स हुँदैन।
कसैले कसैको नाक अलिक चुच्चो र सुलुत्त परेको जिउ देखेर उसलाई बीपी जस्तो भन्यो भने के जिद्धी गर्नु?
कसैले कसैको गालादेखि चिउँडासम्म डम्म फुलेका दाह्री देखेर उसलाई कार्ल मार्क्स जस्तो भन्यो भने के जिद्धी गर्नु?
तै, जिद्धी तिनैको छ, समय तिनैको छ, हल्लाखल्ला तिनैको छ। नेपालमा समय त्यति ठिक चलिरहेको छैन।
कांग्रेस सभापति गगन थापा अनलाइनखबरसँगको पछिल्लो अन्तर्वार्तामा भनिरहेका थिए– ‘हाम्रो सबैभन्दा ठूलो चुनौती समय र नोइज (हल्लाखल्ला) हो। अहिले बजारमा यति धेरै हल्लाखल्ला छ कि हाम्रा गम्भीर कुराहरू तलसम्म पुर्याउनै कठिन भइरहेको छ।’
हो पनि।
तै, हल्लाखल्लाका बीच, गगन शान्त ‘मधुर लोकतान्त्रिक धुन’ रचना गर्न खोजिरहेका छन्। गगनलाई सफलता मिलोस्, मेरो कामना छ। र, म जस्ता टाढाका मान्छेले पनि सुन्न पाऊँ नेपाली लोकतन्त्रको एउटा सुरिलो धुन। र, सुन्दासुन्दै निदाउन पाइयोस्।
तर आजको दुर्भाग्य! नेपाली समाज र राजनीति– सैद्धान्तिक चेत, आदर्श, दर्शन, अनुभव, आवश्यकता र सुरिलोभन्दा पनि सोसल मिडियाको एल्गोरिदमको मूर्खतापूर्ण हल्लाखल्ला र भासमा दिनप्रतिदिन गिर्दो छ।
गगनकै शब्द सापट लिएर भन्दा ‘मान्छेलाई लाग्छ, म स्मार्ट भएँ, तर वास्तवमा ऊ सोसल मिडियाको एल्गोरिदमको इकोच्याम्बरभित्र मूर्ख बनिरहेको छ।’
मूर्ख पनि यसरी कि ‘मौतका कुँवा’ भित्र मोटरसाइकल हुँइक्याउने मान्छे सबैभन्दा बढी शक्तिशाली र देशकै लायकको ठानिन थालेको छ। र, उसैले बढी ‘लाइक’ खाइरहेको छ।
चटकजस्तो! बाँसको लिंगोको टुप्पामा कोही भगवान बोकेर सहर डुलाउन निस्केको छ! र, हुल भगवानको दर्शन गर्न सडकमा उर्लिएको छ।
ढिलोचाँडो भगवान पनि दुर्घटनामा र बाँसको लिंगो बोक्ने वा हेर्न आउनेहरूको भगवानमाथिको विश्वास पनि दुर्घटनामा पर्ने खतरा छ।
रूप, अवतार, हर्कत, पुस्ता, समय र परिवर्तनका नाममा गरिने औसत सस्तामस्ता हर्षबढाइँ वा विश्लेषणहरूले दीर्घकालमा कति खतरनाक परिणामहरू निकाल्छन्, कि त इतिहासले जान्यो, कि त भविष्यले जान्नेछ। यो कुरा चुनावको मुखमा नेपालीजनले वर्तमानमै जानून् भन्ने म चाहन्छु। यसैले म आज यो लेखिरहेको छु– नेपाल जाँदैछ कहाँ?
मनमा उत्पन्न यो प्रश्नकै कारण म आज मत दिन तयार बसेका नेपाली मतदाताहरूसँग सिधा ठाडो र एकोहोरो संवाद गर्नेछु। मलाई थाहा छ– कतिपयका लागि यो संवाद अप्रिय हुन सक्छ।
आजको अप्रियतासँग मलाई डर छैन, जति डर भविष्यमा हुन सक्ने सम्भावित दुर्घटनासँग छ।
आजको मेरो यो ठाडो संवादको एक बिम्बात्मक पात्र हुन्– बालेन शाह, जो ‘सोसल मिडिया’को ‘एल्गोरिदम’को नेपाली ‘इकोच्याम्बर’का आजका एक नायक हुन्, जसलाई परिवर्तनको ‘सिम्बोल’ र भावी प्रधानमन्त्रीका रूपमा चित्रण गरिएको छ। भलै प्रधानमन्त्री यसै भइँदैन।
मैले आजसम्म कति पनि बुझ्न नसकेको कुरा के हो भने बालेन कसरी परिवर्तनका सिम्बोल भए? मैले आजसम्म कति पनि बुझ्न नसकेको कुरा के हो भने बालेन शाह कसरी प्रधानमन्त्रीका धुन्धान लायक भए?
बालेनका पछि मान्छे किन दौडिरहेका छन्? यो त झन् मेरो दिमागले अलिकति पनि खुट्याउन नसकेको विषय हो। कुनै एउटा पनि सर्वस्वीकार्य गुण नभएको मान्छेका पछाडि किन भिड लागिरहेको छ, छक्क पर्नु छ। भिड र बालेनबीचको सम्बन्धको मनोविज्ञान के हो मलाई ठ्याक्कै थाहा छैन। खासमा बालेनका गुण के हुन्, थाहा नपाउने म मात्र हुँ कि अरु पनि, म भन्न सक्दिनँ।
के बालेन धुन्धानका विद्वान हुन्?
होइन।
के बालेन धुन्धानका आविष्कारक हुन्?
होइन।
के बालेनमा असाध्यै ठूलो वक्तृत्वकला छ, जसले एक निमेषमा लाखौँ जनालाई मन्त्रमुग्ध बनाउँछ र सिर्जनात्मक काममा लगाउँछ?
यो पनि होइन।
के बालेन आफ्ना पेसाका धुरन्धर हुन्?
होइन। मैले जानेसम्म त उनी ठिकठाकै औसत इन्जिनियर हुन्।
के बालेन देशदुनियाँका एक सफल व्यापारी हुन्?
यो पनि होइन।
के बालेन देशदुनियाँको राजनीति, कूटनीति र अर्थनीतिक विज्ञ हुन्?
यो पनि होइन।
के बालेन, कतै केही लेखेर, बोलेर र काम गरेर वाह भनिएका प्रमाणित पात्र हुन्?
यो पनि होइन।
के बालेन कुनै सिद्धान्त वा दर्शनका प्रतिपादक वा व्याख्याता हुन्?
यो त हुँदै होइन।
के बालेनमा देश बनाउने ठोस प्रकट भिजन छ?
अहिलेसम्म प्रकट छैन।
के बालेनले नेपाली समाज र गाउँलाई बुझेका छन्?
केको बुझ्नु! बल्ल त स्याँस्याँ गर्दै पाथीभरा उक्लेका छन्, बल्ल त झापा झरेका छन्, बल्ल त बाटामा खीर खाँदै दैलेख र अछाम देखेर फर्केका छन्– एउटा ‘एडभेन्चर’ पूरा गरेर। भरखर गाउँतिर ‘एडभेन्चर’ गर्दै गरेका बालेनले गाउँ कहिले बुझ्ने? गाउँलेको मनोविज्ञान कहिले बुझ्ने? समाज कहिले बुझ्ने? समाजको मनोविज्ञान कहिले बुझ्ने र तिनका लागि योजना बनाउने? नेपाल गाउँहरूको देश हो, जसले गाउँ बुझेको छैन, उसले नेपाल बुझ्दैन। नेपाल नबुझेको मान्छेले नेपाल बनाउँछ कसरी? हिजोआज कतिपयमा एउटा भ्रम छ– ‘मान्ठा’ र ‘सुइना’ शब्द जान्दा कर्णाली जानियो। ‘बड्डा’ र ‘ढोग दियाँ’ शब्द जान्दा सुदूरपश्चिम जानियो। कठै!
लौ मानेँ, बालेन गाउँ बुझ्दैछन्। के उसो भए बालेनसँग राजनीतिक चेत र संघर्षको लामो अनुभव छ?
अहँ, यो पनि छैन।
के बालेन ठूला गुरु वा पण्डित हुन्?
यो पनि होइन।
के बालेनमा लोभलाग्दो पूर्वीय अनुशासन, व्यावहारिक र शिष्टाचार छ, जो हाम्रा बच्चाहरूलाई यस्तो पो हुनुपर्छ भनेर सिकाउन सकौँ?
कठै, कहाँ हुनु!
यी केही पनि नभएका बालेन उसोभए के हुन् त, जसका पछाडि भिड लाग्छ?
अहिलेसम्म बालेन शाह सौखले औसत र्यापर, पेसाले औसत इन्जिनियर र राजनीतिले काठमाडौँ महानगरका औसत एक मेयर हुन्, जसमा बरु कतिपय शैलीगत समस्या छन्।
आजका दिनसम्म बालेन जम्माजम्मी यत्ति हुन्।
यत्तिका पछाडि मान्छे दौडेको देखेर, यत्तिलाई पनि स्वर्णिम वाग्ले समेत भएको राष्ट्रिय स्वतन्त्र पार्टीले गुरु थापेको देखेर म आश्चर्यमा छु।
यसैले आज मलाई प्रश्न गर्न मन लागेको हो– नेपाल जाँदैछ कहाँ?
सोध्नुहोला– पुराना दलका नेताहरूमा के धुन्धान गुणहरू थिए र? तिनले पो के नापेका थिए र?
प्रश्न सही हो।
हो, मानेँ– ती धुन्धानका थिएनन्।
तर मेरो प्रतिप्रश्न छ– अब पनि के तपाईं यत्तिका पनि गुण नभएका मान्छेलाई स्वीकार्न तयार हुनुहुन्छ? के देशको प्रधानमन्त्री हुन खोज्ने मान्छेमा एकादुई नै सही, सर्वस्वीकार्य गुणहरू हुनु पर्दैन?
मेरो दृष्टिमा बालेन बीपीले भने जस्तो व्यक्तिगत उग्रवादका एक प्रतिनिधि पात्र हुन्, जो प्रजातन्त्रमा सम्भव भइरहेको छ। लहड वा लहरमा परेर, सम्भव मात्र ठानिएको व्यक्तिगत उग्रवादले प्रजातन्त्र नै आधारित हुनेगरी कथं जित्यो भने देशको र प्रजातन्त्रको दुर्भाग्य हो, दुर्घटना हो।
सम्भावित वा कल्पनातीत दुर्घटनाको भारी रास्वपा भन्ने पार्टीले आजैदेखि बढ्ता किन बोकेको होला?
रास्वपाले बोक्यो, कृपया जनताले नबोक्नुहोला। काँध भिजेपछि मात्र कसलाई बोकेर हिँडिएछ भन्ने थाहा पाउनु बुद्धिमानी होइन।
व्यक्तिगत उग्रवाद एकादुईमा मात्रै सीमित भए खासै केही थिएन। अहिले त नेपालमा व्यक्तिगत उग्रवाद जताततै उर्लेर आइरहेको म देखिरहेको छु। व्यक्तिगत उग्रवादका अरु पनि प्रशस्त पात्रहरू देखिएका छन् नेपालको चुनावी बजारमा। ती पात्रहरू ‘खरानीको जस’ लिएर चुनावी बजारमा देखा परेका छन्। र, हुल तिनैलाई ‘वाह क्याबात’ भनिरहेको छ। यस्तै देखेर मलाई टाढाबाट प्रश्न गर्न मन लागेको हो– नेपाल जाँदैछ कहाँ?
व्यक्तिगत उग्रवाद त छँदैछ। छ ‘खरानी जस’ लिनेहरूको होड पनि। र छन् त्यसमाथि दाउ थाप्ने जगदीश खरेलहरू।
अस्तिसम्म दलमा जान्नँ भन्ने, हिजोसम्म यो दलमा जाऊँ कि त्यो दलमा छिरौँ भनेर जोखना हेर्ने र आज आफू छिरेकै दिन आफ्ना दलबाहेक अरु बेकार भन्दै दाउ थाप्ने जगदीश खरेल वा यस्तैले आज नेपाली राजनीतिलाई प्रयोगशाला पनि बनाइरहेका छन्। आए आँप गए झटारो जस्तो।
के देश र राजनीति एक चुनावको राम रमाइलोको विषय हो? नाम कस–कसको लिऊँ? एउटा अर्को पात्रको नाम लिऊँ है त।
ऋषि धमला।
म यिनलाई उनका पत्रकारिताका सुरुका दिनहरूदेखि नै जान्दछु। रौतहट ४ को उम्मेदवार बनेर आज धमलाले जे कुरा भन्दै र जे हर्कत गर्दै आएका छन् ती कुरा सुन्दा र देख्दा डर लागिरहेको छ– कतै यिनले जिते भने…।
डराउनु पर्ने धेरै कारण छन्। कुनै बेला भनौँला।
एकैछिन है त, यी धमलाले भन्ने गरेका केही नमुना कुरा सुनौँ :
–म रौतहट ४ लाई विश्वमा चिनाउँछु।
–मलाई गिरिजाबाबुले उहिल्यै रौतहटबाट चुनाव लड्न भन्नु भएको थियो।
–सात दल र माओवादीको बाह्रबुँदे सहमतिको कुरा मिलाउन गिरिजाप्रसादले मलाई दिल्ली पठाउनु भयो र मैले कुरा मिलाएँ।
–भदौ २३/२४ पछि सबैलाई सहमतिमा ल्याउने म हुँ। यस्तै–यस्तै।
श्रीमती एलिजाका कुरा त के सुनाउनु र? के तपाईं कोही धमलाका कुरा पत्याउनु हुन्छ?
पत्याउनु भयो भने मान्नुस् बित्यास पर्यो। कृपया नपत्याउनु होला।
बरु सोध्नुहोला :
–रौतहट ४ लाई विश्वमा चिनाउने भनेको के हो? के गर्ने भनेको हो?
–गिरिजाबाबुले उहिल्यै चुनाव लड्नु भन्दा किन नलडेको?
–भारतीय प्रधानमन्त्री मनमोहन सिंह लगायत भारतका एकसेएक नेताहरूका पनि सम्मानका पात्र गिरिजाप्रसाद कोइरालाले चक्र बास्तोला, लोकराज बराल जस्तालाई छोडेर ज्ञान र भाषाबिनाको धमलाको सहयोग लिए होलान् त?
धमलालाई उचाल्नुअघि यो पनि सोच्नुस्– यी किन प्रभु साहको शरणमा गए? आम जनता पार्टीको सिद्धान्त धुन्धान मन परेर? वा कारण अरु केही छ? यिनलाई किन प्रभु साहले लिए? यिनमा अहिले एक्कासि रौतहटवासीप्रति किन यो सारो प्रेम उर्लेर आयो?
यही मौकामा अर्को पनि प्रश्न गरिहालौँ– के तपाईं धमला–पत्नी एलिजा गौतमलाई कतैबाट वामपन्थी चेत भएका प्रभु शाहको आम जनता पार्टीको उपाध्यक्ष हुन लायक देख्नुहुन्छ? यी कसरी र किन उपाध्यक्ष भइन् होला?
के यी सब चक्कर देखेर तपाईंहरूका मनमा प्रश्न उठ्दैन– नेपाल जाँदैछ कहाँ?
कारण जस्ता हुन्, मिडियाका मान्छे धमलाले यो चुनावमा बढ्तै चर्चा पाएका छन्। कतै चर्चाको प्रभावमा परेर रौतहटका जनताले धमलालाई नजिताऊन्। व्यक्ति धमलाप्रति मेरो केही भन्नु होइन तर धमला प्रवृत्तिले कथं जित्यो भने यो अर्को दुर्भाग्य हुनेछ। धमला पनि व्यक्तिगत उग्रवादको अर्को एउटा नमुना हुन्।
पुराना दलका नेताहरूलाई लाख गाली गर्नुस्, तर धमलाजस्ता नमुनाहरूलाई जिताएर नेपालको लोकतन्त्रलाई कृपा गरेर व्यक्तिगत उग्रवादबाट बचाउनुस्। देश र प्रजातन्त्रमा अनहोनी हुन नदिनुस्।
लौ अनहोनी नै भयो, एकछिन सोच्नुस् त– बालेन प्रधानमन्त्री, संसदमा आशिका तामाङ, ऋषि धमला, एलिजा गौतम, रिमा विश्वकर्मा, महावीर पुन, बब्लु गुप्ता, सुदन गुरुङ, अमरेश सिंह, प्रकाश सपुत यस्तै अनेक–अनेक। के यहाँ तपाईं कोही कसैले नेपालमा प्रजातन्त्रको, समृद्धिको, धुन्धानको तस्बिर देख्नुहुन्छ?
छातीमा हात राखेर एकछिन स्वास रोकेर तपाईं आफैँलाई सोध्नुस्, के तपाईं कोही कसैलाई लाग्छ– यिनले नेपालको प्रजातन्त्र धान्ने ताकत राख्छन्?
के तपाईंहरू अझै पनि तिनलाई मत दिन तयार हुनुहुन्छ?
टाढाबाट म के बढी भनौँ– अस्तिको पञ्चायतले एउटी नानीमैयाँ दाहाल धान्यो, हिजोको प्रजातन्त्रले एकादुई खोभारी रायहरू धान्यो, आजको लोकतन्त्रले दर्जनौँ नानीमैयाँ दाहालहरू धान्न सक्दैन। मत दिँदा यति चाहिँ ख्याल गर्नुहोला।
(लेखक/पत्रकार सन्जय घिमिरे अमेरिकाको टेक्सासमा बसोबास गर्छन्। उनका थप लेख यो पेजमा पढ्न सकिन्छ।)
