नेपालको साविक पश्चिमाञ्चल क्षेत्रको धवलागिरी अञ्चलको चार जिल्ला मध्य भागमा अवस्थीत पूर्वमा पर्वत, कास्की, मनाङ, पश्चिम र दक्षिणमा बागलुङ उत्तरमा मुस्ताङ, डोल्पा बिचमा सामुन्द्रिक सतह देखी ७८२ मिटर देखी ८१९७ मिटर अग्लो धवलागिरी हिमाल सम्म कुल २२९७.०६१ किलोमिटरमा लुकेर बसेको छ । कुल क्षेत्रफल मध्ये १० प्रतिशत मात्र खेती योग्य जमीन ५ प्रतिशत चरन क्षेत्र ४० प्रतिशत जंगल र ४५ प्रतिशत अग्ला पहाड भिर, हिमाल बगर क्षेत्रले ओगटेको छ । २०७८ को जनगणना अनुसार म्याग्दीको जनसंख्या एक लाख ७ हजार ३३ छ । पाँच सय ७९ गाउँ तथा बस्ती जसमध्ये ३९ प्रतिशत मगर जातीको बाहुल्य रहेको र त्यस पछि क्षत्री, कामी, बाहुन, सार्की, दमाइ, छन्त्याल, थकाली, नेवार, गुरुङ आदी जाती, जनजातीको बसोबास रहेको छ ।
पर्यटकीय सम्पदा भनेको पर्यटकहरुलाई भ्रमण गर्न मनोरञ्जन प्रदान गर्न आकर्षणगर्ने बस्तु तथा स्थानहरु हुन् । म्याग्दी विश्वमानै छैठौं अग्लो धवलागिरी हिमालको जिल्लाको रुपमा चिनिन्छ । यहाँका मनमोहक हिमश्रृङ्खला पहाड, नदि, झना, भौगोलिक वनावटले भरिपूर्ण छ । यस जिल्ला जैविक तथा साँस्कृतिक विविधताको पनि धनी छ । विभिन्न जाती एवम् समुदायहरुको आ–आफ्नोभाषा संस्कृती, नाचगान, चालचलन, भेषभुष, जीवनसैली, चाडपर्व पनि पर्यटकहरुका लागि आकर्षकका बस्तुहरुहुन् । हाम्रा प्राचिन स्मारक, मन्दिर, देवालय, धार्मिक स्थल, गुम्बा, पुरातात्वीक महत्वका वस्तु तथा सम्पदाले पर्यटकको मन लोभ्याउँन सक्छन् । यी सम्पूर्ण पर्यटकीय वस्तुहरुको पहिचान र विकास गर्न सके मात्र पर्यटन क्षेत्रको विकास सम्भव छ ।
म्याग्दी जिल्लाका पर्यटकीय संसाधन
१. हिमाल
हिमालय पर्वत श्रेणी पर्यटकहरुका लागि संसारकै प्रमुख आकर्षणका वस्तु हुन् । नेपालमा पर्यटकको प्रमुख आकर्षण हिमाल नै हो । म्याग्दी जिलला पनि हिमालय पर्वतमालाको लागि समृद्ध छ । म्यागदीको झण्डै ३६% भुभाग हिउँले ओगट्ने गर्दछ । विश्वप्रसिद्ध धौलागिरी हिमश्रृङ्खलाको सम्प”र्ण भाग अन्नप”र्ण हिमालकोझण्डै एक तिहाई भाग म्याग्दीमा नै पर्दछन् भने निलगिरी साउथ लगायत धौलागिरी प्रथम ८१९७ धौलागिरी दोश्रो ७७५१ धौलागिरी तेश्रो ७७१५ धौलागिरी चौथो ७६६१ धौलागिरी पाँचौं ७६१८ धौलागिरी छैठौं ७२६८ गुर्जा हिमाल ७१९३ चुरेन हिमाल ६५७०, सिता हिमाल ६६११, मानापाथी मुकुट पठा, चुचुरा लगायतका हिमशिखर ६००० मिटर भन्दा अग्ला ५१ वटा पिकहरु नेपाल पर्वतारोहण संघले सूचिकृत गरेको छ ।
सर्वाङ ग्लेसियर, छङवराङ ग्लेसियर, कोरु ग्लेसियर जस्ता प्रख्यात हिमनदी तथा धवलागिरी बेसक्याम, फ्रेन्च बेसक्याम्प, धम्पुस पास, हिडेन भ्याली, अन्नपूर्ण बेस क्याम्प, लगायत सबै हिमालमा बेसक्याम्पले अझ जिल्लालाई सम्भावित साहसीक पदयात्रा तथा आरोहणका लागि रोमाञ्चक छन् ।
२. पहाडः–
जिल्लाका अधिकांश जमीन हिमालले मात्र ओगट्नुको अलावा उच्च पहाडी पर्वत घाँटीहरुले पनि म्याग्दीको शोभा बढाएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,(साविकको घार गाविस)मा पर्ने पुनहिल दृष्यावलोकनका लागि विश्व विख्यात छ । यो धुरी अन्नपूर्ण फेरोको उत्कृष्ट दृष्यावलोकनको भ्यू प्वाइन्ट मानिन्छ । त्यस्तै मोहरे डाँडा(४३८०), खोप्रा लेक(३९९५), आसमानको धुरी(३५०७), रायचौ धुरी (५७२४), मालिका धुरी ३१६९, भित्रिवाङ धुरी ३५३१, बरुणको धुरी ३२७३, सापोङ धुरी ५००७, निस्कोट धुरी ३०३३, जुग्जा मालिका धुरी ३७२१ लगायत २००० मिटर भन्दा अग्ला भ्यू पोइन्टको रुपमा विकास गर्न सकिने गौश्वारा, झाँक्रीपानी, पुलाहश्रम, टोड्के जस्ता डाँडाहरु पनि यहाँ थुप्रै छन् । उच्च पहाड क्षेत्रका अनकन्टार भीर पहराहरु भीर मौरी र सीलाजीतको पाखा छन् । अनौठा खालका भू–दृष्यहरु अजंगका पहरा, विशाल निर्जन भुमी, बक्यानहरु, भेडा, चौरी, गाइ भैसीका गोठ तथा चरन क्षेत्र थप आकर्षणका रुपमा लिन सकिन्छ ।
३. जलश्रोत ः
धौलागिरी हिमश्रृङ्खला र अन्नपूणृ हिमश्रृङ्खलालाई कालीगण्डकीको खोँचले छुट्याएको छ । यही नै खोज हो जुन अन्धगल्छीको रुपमा संसार कै गहिरो रुपमा कृतिमानी छ । कालीगण्डकी, मयाग्दी खोला, रघुगंगा, मिरस्ती खोला, रुम खोला, दरखोला, गुरगंगा खोला जस्ता खोलानाला म्याग्दी नदी र कालीगण्डकीले आफूमा समाहित गराएका छन् । यो जिल्लाको प्रख्यात बेनी जोमसोम सडक खण्डमा पर्ने रुप्से झरना, दरखोलाको झरना, हिस्तान, नारच्याङ झरना, मराङ खोलामा अवस्थीत झरना, सिंगा तातोपानी कुण्ड, दर्मीजा तातोपानी कुण्ड, मुदी तातोपानी कुण्ड, नारच्याङ तातोपानी, पाउद्वार तातोपानी, मुदीको तातोपानीको झरना, बगर तातोपानी जसता अनेकन तातोपानी कुण्डहरु प्रकृतिक चिकित्साक तथा हटस्प्रीङका लागि उल्लेख्य श्रोतकोरुपमा रहेका छन् । सशस्त्र द्वन्द्वले १० वर्ष सम्म थलीएको यस जिल्ला २०६२÷०६३ को सफल जनआन्दोलनले दिएको परिवर्तनले यस जिल्लामा असंख्य साना ठुला विद्युत आयोजना, कायाकीङ, ¥याफ्टीङ गर्न जिल्लाका म्याग्दी नदी तथा काली गण्डकीलाई उपयोग गर्न सकिन्छ ।
वनजंगल ः– जिल्लाको लगभग ३०–३५% भू–भाग वनक्षेत्रले ओगटेको छ । वन आफैमा प्रकृतिक सुन्दरता, वातावरणीय सन्तुलन, जैवीक विविधताका मुख्य आधार हुन् । अन्नपूर्णसंरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष म्याग्दीले पनि ओगटेको छ । सामुन्द्रीक सतहको ८०० देखि ८१६७ मिटर सम्मका भू–धरातलीय अवस्थाले तराइमा पाइने रुख क्रमश, चाँप, साल, सीसौ देखि कोणधारी चौडापाते झाडी,२७ प्रजातिका लालीगुराँसका जात, बुकी फुल वनस्पतीहरु ठुलाठुला लौठ सल्लाका जंगल पाइन्छ । भनिन्छ अति दुर्लभ वन्यजन्तु, यती, हिमचितुवा पनि यहीक्षेत्रमा बसोबास गर्दछन् । कस्तुरी, मृग, राते, घोरल, झारल, नाउर भालु, बाघ, चितुवा, फ्याउरो, ब्वाँसो, लोखर्के, रेडपाण्डा, बँदेल आदी बन्यजन्तुहरु पनि यहाँ पाइन्छ । डाँफे, मुनाल, फोक्राँस, कालीज, च्याखुरा लगायत हिमाली चराचुरुङ्गीको बासस्थान रहेको छ। यस्ता वन क्षेत्र पर्यापर्यटन अनुसन्धान, जंगलसफारी, जैविक विविधता अवलोकन गर्ने जस्ता पर्यटकीय गतिविधिका श्रोत बन्न सकदछन् ।
धार्मिक तथा ऐतिहासीक स्थलः– आन्तरीक तथा बाह्य पर्यटकहरुलाई आध्यन अवलोकन तथा र्दशनिय धार्मिक स्थलहरुको पनि यस जिल्लामा कमी छैन । पूराण प्रशिद्ध ऋषि पुलस्त्य पुलहको तपोभूमि पुलाहश्रम(पछै) राजा रहुगण तथा जडभरतको धयान स्थल, प्रशिद्ध गलेश्वरधाम, प्रशिद्ध तिर्थस्थल ऋखार क्षेत्र, खयर बराहक्षेत्र, जगन्नाथ, गाजने, मालिकास्थान, ताकमकोट, ज्यामरुककोट, निधिकोट, धारखोला, बेनी शिवालय, महारानीथान, गायत्री मन्दीर, बुद्ध बिहार लगायतका थुप्रै मठमन्दिर र देवस्थल तिर्थस्थलहरु यहाँ छन् । पूरातात्विक तथा ऐतिहासीक दृष्टीकोणले नोपल एकिकरण पूर्वको बाइसे चौवीसे राज्यकालमा शक्तिशाली पर्वत राज्यको राजधानी रहेको ठाउँ ताकम ढोलठान, डढेकोट, बेनी कोट, समेतले पर्यटकका लागि महत्वपूर्ण विषय बन्न सकछन् ।
सामाजिक पक्षः–
विभिन्न मानव जातजाती, जनजातीहरुको आ–आफ्नै मौलिकता, संस्कृती, परम्परा हुन्छन् । यस्ता फरकखालका परम्परा तथा सांस्कृतिक सम्पदाहरु पनि पर्यटकहरुको चासोका विषय वस्तु हुन् । म्याग्दी पनि विभिन्न जातजातीको सामाजिक सद्भाव पूर्वक बसोबास गरी आएको परम्परा छ । म्याग्दी विशेषत मंगोल पन मुलका मगर जातीहरुको बाहुल्य भएको र छन्त्याल, थकाली, गुरुङ, नेवारहरुको बसोबास छ । आर्य, खस, मुलका क्षेत्री, ठकुरी, ब्राह्मण, दमाई, कामी, सार्की आदी जाती जनजातीको बसोबास छ । नेपालकै अल्पसंख्यक छन्त्याल जातीको बसोबास पनि यो जिललामा छ । सबै जातीका आ–आफ्ना परम्परा, संस्कार, भाषाको अस्तीत्वमा छन् । कतिपय गाउँ एवम् ठाउँ विशेषका विशिष्ट परम्परा तथा संस्कृती समेत अनौठो खालका छन् । त्यस्ता विशिष्ट परम्परा मेला, चाडपर्व, रीतीरिवाज, रहनसहन, भेषभुषा, स्थानीय कला र शीपमा आधारित उत्पादन एवम् आस्थाका केन्द्रहरु पनि पर्यटकका लागि आकर्षक बस्तु हुन सक्छन् ।
पर्यटन विकासका सम्भावनाहरुः– परम्परादेखि खेतीपाती गर्ने भारतीय तथा ब्रिटिस सेनामा भर्ती हुने परम्परा रहेको यो जिल्ला हाल पनि बैदेशिक रोजगार नै यो जिल्लाको मुख्य आम्दानीको श्रोत हो । यहाँको वित्तीय आँकडा अनुसार विप्रेषण(रेमिट्यान्स) मात्रै वार्षिक ४ अर्ब भन्दा बढी भित्रिने गर्दछ । तयसको अलाबा खेतीपातीमा जीवन गुजारा चलाउने म्याग्दीबासी पर्यटन क्षेत्रमा आत्मनिर्भर त के कस्तुरीले आफ्नो सुगन्ध जंगलमा खोजे जस्तो छ । त्यती हुँदाहुदै पनि यस जिल्लामा वार्षिक ६० हजार बिदेशी पर्यटक भित्रने गरेको पाइन्छ । जसबाट जिल्लामा १२ करोड रुपैंया जिल्लामा भित्रिने आंकलन गर्न सकिन्छ ।
धौलागिरी तथा अन्नपूर्ण हिमश्रृङ्खला लगायत अन्य हिमाल तथा चुचुराहरु नै पर्यटकलाई दिने मुख्य आकर्षण हुन् । यि हिमाल तथा हिमश्रृङ्खलालाई विश्वलाई बेच्न सके जिल्लामा पर्यटकलाई दिनु पर्ने सुविधा बाटो, सञ्चार, सुरक्षा, व्यवस्थति होटलको व्यवस्थामा ध्यान दिन सके पर्यटकहरुको ओइरो नै लाग्ने प्रबल सम्भावना छ ।
पर्वतारोहणमा सम्भावना सँगसँगै पदयात्रा तथा दृष्यावलोकन पनि म्याग्दीको लागि बरदान सावित हुन सक्छ । विश्वको १० पदमार्ग मध्ये उत्कृष्ट पदमार्ग अन्नपूर्ण संरक्षण क्षेत्र सँग जोडिएको जिल्लाका घोडेपानी, पुनहिल क्षेत्र, दाना, तातोपानी, अन्धगल्छी, गलेश्वर तथा बेनी बजार क्षेत्रमा पर्यटकहरुको उत्साहजनक प्रवाह हुने गर्दछ । त्यस्तै म्याग्दी नदिको किनारा हुँदै धौलागिरी परिक्रमा, ढोरपाटन क्षेत्र, बेनी–ताकम–ढोरपाटन–डोल्पा पदमार्ग पनि विश्वका पर्यटकलाई लोभ्याउन सक्ने पदमार्ग हुन् । बेनी घुमाउने ताल नागी राम्चे खोप्रा ग्रामिण पर्यटन मार्ग, बेनी भगवती बेग कालापानी धौलागिरी आइसफल ट्रेक गलेश्वर पुलहाश्रम टोड्के ऋखार क्षेत्र धार्मिक पर्यटन ट्रेकको महत्वपूर्ण क्षेत्र हो । त्यस्तै बेनी चिमखोला, ध्यासीखर्क धौलागिरी बेसक्याम्प लेते पदमार्ग, बेनी जगन्नाथ टोड्के मालिका बीम पदमार्ग, बेनी ताकम मुदी गुर्जा गुर्जाघाट पर्यापर्यटन तथा जंगल सफारी बनबाचीङ वन्यजन्तु अवलोकन ट्रयाक । रत्नेचौर भकुण्डे, गौश्वारा, भकिम्लि, झाँक्रीपानी, निस्कोट रुम पदमार्ग जस्ता अनगिन्ति पदमार्ग तथा दृष्यावलोकनका लागि अति सम्भावना बोकेका ठाउँहरु छन् ।
पर्यटकहरुमा नयाँ ठाउँ र पदमार्गमा कौतुहलता रहने हुँदा जिल्ला भित्र लामा तथा छोटा दुरीका बैकल्पिक पदमार्गका पहिचान गरि आकर्षण बढाउन सकिन्छ ।
म्याग्दी जिल्लामा घना गुरासे जंगल, घोडेपानी क्षेत्र, कुइने मंगलेका घना बाक्ला जंगल, ढोरपाटन शिकार आरक्ष भित्र गुर्जाखानीका जंगली विविधताले इको टुरीजम(पर्य पर्यटन)कोविकास गर्न सकिन्छ ।
ग्रामिण पर्यटनः– हिजो आज ग्रामिण पर्यटन पनि पर्यटकका लागि आकर्षणका बस्तु बनेका छन् । प”र्ण पारिवारीक वातावरणमा पाहुनलाई स्वागत गरी ग्रामिण जनजिवनका बारेमा जानकारी गराई आयआर्जनका श्रोबढाउन सकिन्छ । मयाग्दीमा त्यस्ता खालका होमस्टे नागी, राम्चे, हिस्तान, खिवाङ शिख, पाउद्वार, कुँहु, पूर्णगाउँ, झिँ, नारच्याङ आदी ठाउँमा सञ्चालनमा आइ सकेका छन् । यस्ता होमस्टे चलाउन सकने गाउँहरु चिमखोला, दर्मीजा, पाखापानी, मल्कवाङ, गुर्जा देविस्थान, निस्कोट, बरंजा, अर्मन जसता थुप्रै गाउँहरु जो सांस्कृतिक हिसाबले धनी छन् ।
तातोपानीका कुण्डहरुः– म्याग्दी जिललाका विभिन्न भेकमा तातोपानीका कुण्डहरु छन् । जसमा प्रख्यात सिंगा तातोपानी, भुरुङ तातोपानी, पाउद्वार तातोपानी, दर्मीजा तातोपानी, गुर्जा–मुदी तातोपानीजसता तातोपानीका कुण्डमा डुबेर प्राकृतिक उपचार गर्ने र आनन्द लिने सक्ने भएकाले यस्ता कुण्डहरुको प्रचार प्रसारले आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षण गराउन सकिन्छ । त्यस बाहेक साँस्कृतीक पर्यटन, कालीगण्डकी, म्याग्दी खोलामा ¥याफ्टीङ, शैक्षिक क्षेत्रमा भएको विकाससँगै विद्यालय अवलोकन भ्रमण पनि आन्तरीक पर्यटन विकासमा आधार हुन सक्छन् । अनी हनि हण्टिङ, माउन्टेन क्लाइम्बिङ जस्ता विषयले पनि पर्यटन विकासमा टेवा पुग्न सक्छ ।
पर्यटकको विकासमा म्याग्दीका समस्याहरुः–
१. पर्यटन सेवामा व्यवस्थापन तथा प”र्वाधारको अभाव
२. प्रचार प्रसारको अभाव ।
३. सरोकारवालाहरु कमी ।
४. संस्थागत प्रतिस्पर्धा नहुनु ।
५. पर्यटनका बारेमा चेतना नहुनु ।
६. पदमार्ग छोटीदै जानु ।
७. जन निवर्चाचित जनप्रतिनिधिले पर्यटनका बारेमा चासो र ऐतिहासीक प”रातात्वीक, सांस्कृतिक सम्पदाको संरक्षण नहुनु ।
पर्यटन क्षेत्रको विकासमा भ”मिका रहने सरोकारवालाहरु ।
१. पर्यटन व्यवसायी
२. राजनैतिक पार्टीका नेताहरु सामाजिक अगुवाहरु
३. जिल्ला समन्वय समिति
४. गाउ तथा नगरपालिका
५. स्थानीय संघ संस्था,
६. नेपाल पर्यटनबोर्ड, पर्यटन तथा उद्योग कार्यालय
७. दातृ निकायहरु
८. नेपाल सरकार
जिल्ला जतिसुकै सम्पदाले धनि भएपनी प्रचुर सम्भावना देखीएतापनी यहाँका मुख्य सरोकारवालाहरुको प्रवल इच्छाशक्ती तत्परता लगनसिलता मेहनत नहुदा सम्म जिल्लाको पर्यटनको क्षेत्रमा सम्भावनालाई वास्तबिकतामा परिणत गर्न सकिदैन । तसर्थ खाचो भनेको उपयुक्त सोच र तदारुकता, आपसी एकता, वृहद जागरुकता हो ।
लेखक नेपाल रेडक्रस सोसाइटीका सभापती हुनुहुन्छ ।/म्याग्दी नेपाल साप्ताहिक बाट साभार
