म्याग्दी जिल्लाका सञ्चारकर्मीहरुको समूहले पर्यटकीय महत्वका स्थलहरुमा पुगेर प्रवद्र्धनको थालनी गर्नु आफैमा सराहनीय कार्य हो । म्याग्दी जिल्लालाई कार्यक्षेत्र बनाएका पत्रकारहरुले गरेको यो काम अहिलेको मात्रै पक्कै पनि होइन । नेपाल पत्रकार महासंघको अगुवाइमा बेनी नगरपालिका क्षेत्र भित्रको पर्यटकीय स्थलको प्रवद्र्धनका लागि पत्रकारहरुको अग्रसरताले समग्र विकासमा पनि टेवा पुग्ने नै छ । पर्यटन प्रवद्र्धनका लागि राज्यले भन्ने गरेको तीन खम्बे नीति आवश्यक पर्छ नै । सरकार नीजि क्षेत्र र सञ्चार । सरकारको तर्फबाट सहजीकरण तथा सहकार्य र उचित लगानी, नीजि क्षेत्रको लगानी तथा पत्रकारको प्रचारप्रसार हुने हो भने पर्यटनको विकासका लागि उचित खालको राम्रो कार्य पक्कै पनि हुन्छ नै ।
हिमाली जिल्ला म्याग्दी पर्यटनको उचित सम्भावना भएको जिल्ला हो । म्याग्दीका हरेक क्षेत्र पर्यटकलाई लोभ्याउनका लागि नै तयारी अवस्थामा बसेका हुन् कि जस्तो भान हुने खालका छन् । कुनै पनि स्थानहरुबाट उचित ध्यान खिच्ने खालका दृष्यहरु नदेखिएलान् भन्ने नै छैन । हामीले गर्ने काम र हामीबाट हुने कार्यको पनि केही प्रचार गरेको खण्डमा पर्यटकको आवागमनलाई बढावा दिन अवश्य पनि सकिन्छ । पत्रकारहरुको टोली पुलस्त्य पुलहाश्रम पुगेर पर्यटन विकासका लागि गरेको ११ बुँदे घोषणाले सबैको ध्यान तान्नका लागि नै हो भन्दा फरक पर्दैन । हरेक बुँदाहरुले पर्यटन अकर्षणकै लागि प्रयास गरेका छन् । पर्यटन क्षेत्र यस्तो क्षेत्र हो एक पटक लगानी गरेपछि त्यसले कालन्तर सम्म पनि ध्यान खिचिरहन्छ । प्रकृतिक दृष्य अनि प्रकृतिले नै दिएका चिजबिज देखाउने उद्देश्यलाई मजबुत बनाउनका लागि गरिनु पर्ने भनेको मात्रै भौतिक पूर्वाधार हो । पूर्वाधार निर्माण गरियो भने पचासौं वर्ष सम्म पनि त त्यो टिक्छ । त्यस्तो टिकाउ निर्माणका लागि हुने लगानीका सन्दर्भमा ध्यान केन्द्रीतगरेर एक पटकको लगानीले वर्षौं सम्म पनि पुग्ने हुनाले पनि यस क्षेत्रको सम्भावना र भविष्य पनि राम्रो छ ।
नेपाल पर्यटकीय सम्भावनाहरु धेरै भएको मुलुक हो भन्नेमा कुनै कसैको पनि दुइमत छैन । अहिलेकोअ वस्था हेर्ने हो भने पनि त्यसलाई नकार्न सकिने अवस्था छैन । वार्षिक सरदर अवस्था हेर्दा पनि भारत बाहेक तेश्रो मुलुकबाटै वार्षिक रुपमा भित्रने १० लाख भन्दा धेरै पर्यटकले पनि यसैलाई इंगित गरेको हुन्छ नै । हामी सँग सम्भावनाका ढोकाहरु धेरै हुँदाहुँदै पनि हामीले कति ढोका खोल्न सक्यौं कि सकेनौं भन्ने सवाल पनि उठ्नु पर्छ । सम्भावनालाई बढाउनका लागि पनि त मेहनत गर्नु पर्ने हुन्छ । कसैले केही थालनी गर्नु पर्ने हुन्छ र त्यो थालनीले पनि सबैको ध्यानलाई मलजल गर्नु पर्ने पनि त हुन्छ । कुन र के भन्ने सवाल उठ्नु पर्छ र उठेको पनि त छ । म्याग्दी जिल्ला भित्र पनि धेरै सम्भावना हुदै गर्दा पनि त्यसलाई सहजीकरण गर्ने र त्यो सम्भावनालाई यथार्थमा परिणत गर्ने तर्फ भने हाम्रो ध्यान पुग्न सक्यो कि सकेन त? त्यस तर्फ पनि ध्यान दिन जरुरी छ । बेनी नगरपालिकाले एक वडा एक पर्यटकीय स्थान पहिचान र प्रचार थालेको अवस्थामा त्यसै गरी सबैले गर्ने हो भने पनि थप ४५ वटा पर्यटकीय सम्भावनाका स्थानको पहिचान हुन्छ । पहिचान सँगै प्रचार उचितगर्ने र त्यसबाट स्थानीयले फाइदा लिन तर्फ पनि लाग्ने कि ?
म्याग्दी नेपाल साप्ताहिकबाट
