नेपाली युवाहरु बैदेशिक रोजगारीमा जाने भन्ने सपना मै दिनरात बिताउने गर्दछन् । बैदेशिक रोजगारीमा जाँदा त्यो ठाउँमा गर्ने मेहनत अनि हुने बाधा अड्चन भन्दा पनि उनीहरुमा हुने व्यस्तता र फुर्सदको समय भयो भने मनमा खेल्ने नकारात्मक अस्थिरताको जरो निकै गहिरो पक्कै छ । आफूले केही गर्ने भन्दा पनि अरुको बिरोध गर्ने र आफूले सकेसम्म केही प्रयासै नगर्ने मानसिकताले पनि पछिल्लो समय सबैको दिमागलाइ गिजोलेको पक्कै हो । सामाजिक सञ्जालमा मुलक र व्यवस्थाको बिरोधका स्वर देखाउँदै गालि र बिरोधका बिचारले मात्रै मुलुकको बिकास त पक्कै पनि हुदैन भन्ने हेक्का हुदा हुदै पनि त्यहीलाई नै अंगालेर दिन बिताइ रहेको अवस्था अहिलेको नेपाली पुस्ताहरुमा रहेको पाइन्छ । यसलाई सुधार गर्ने वा यसलाई छाडेर थप अगाडी बढ्ने कि भन्ने तर्फ ध्यान गएको भने पाउन सकिदैन ।
लामो समय सम्म बैदेशिक रोजगारीमा पुगेर स्वदेश फर्केपछि बेनीमा नमस्ते होटलबाट आफ्नो ब्यवसाय थालनी गर्नु भएका ताराप्रसाद आचार्य(बाबुराम आचार्य)ले अहिले बेनी नगरपालिका–९ गलेश्वरमा होटल याक बेनी प्रा.लि. नामबाट आफ्नो व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ । आफू एक जनाका लागि रोजगारीको खोजीमा भौतारिएको विगतलाई अरुले सम्झने अवस्था हुँदै गर्दा उहाँले अहिले २० जना भन्दा धेरैलाई रोजगारी सृजना गर्नुभएको छ । प्रयास गरेमा के हुन्छ हुदैन भन्ने सन्दर्भमा उहाँ यस क्षेत्रका लागि गतिलो उदाहरण हुनुहुन्छ । उहाँ जस्तै सानै उमेर देखि कामको खोजीमा म्याग्दी आउनु भएका राजन लामाले अहिले बेनीबजारको हस्पीटल चोकमा आफ्नो व्यवसाय सञ्चालन गर्दै उहाँले पनि १५ भन्दा धेरै रोजगारी सृजना गर्नुभएको छ । यी त प्रतिनिधि पात्र मात्र भए सम्भावना धेरै छ र काम गर्ने प्रयास गरेको खण्डमा सफल हुन सकिन्छ भन्ने उदाहरण बाबुराम आचार्य र राजन लामा हुनुहुन्छ ।
पछिल्लो समय मैले के गरेँ भन्दा पनि मलाइ के गरिदियो भन्ने सोचको बिकास भएको देख्न पाइन्छ । कुनै पनि काम आफूल गर्ने भन्दा पनि मेरा लागि किन गरिदिएन भन्ने ध्याउन्न मात्र नागरिकमा बढेको जस्तो देखिएको छ । राम्रो जागिर चाहिएको छ मलाइ भन्नेले आफूमा राम्रो जागिर खान सक्ने क्षमता विकास गरेको छु कि छैन भन्ने सम्म हेक्का नराखेको पाइन्छ । समय बलवान छ भन्नेहरुले त्यो समयलाई पनि आफ्नो पक्षमा पार्ने क्षमताकालागि प्रयास गर्ने तिर लाग्दैनन् । आफूले मेहनत नगरे सम्म सफलता पाउन सकिदैन त्यो थाहा छ तर पनि मैले सफता पाइन भन्नेहरुको पनि जमात पछिल्लो समय बढ्दै गएको छ । यसलाइ हेरेर समग्र निचोड निकाल्ने हो भने पछिल्लो समय नकारात्मक अस्थिरताले हाम्रो सबै क्षेत्रमा गिजोलेको हुनाले यसबाट हामी सबैले छटकारा पाउने वा यसलाई थप मजबुत बनाउने भन्ने तर्फपनि सोच्ने हो कि ? यहीँ र आफ्नो क्षेत्रमै बसेरै मेहनत गर्दा पनि सुन फलाउन सकिन्छ भन्ने उदाहरण खबराका चन्द्रबहादुर कार्की, गलेश्वरमा व्यवसाय गरी रहनु भएका बाबुराम आचार्य तथा हस्पिटल चोकका राजन लामाहरु उदाहरण हुँदै गर्दा पनि अरुलाई गालि मात्रै गरेर बस्ने हो भने न त आफू बनिने छ न त आफ्नो कारणले गर्दा अरु कोही बन्ने छन् ।
