नेपालमा लामो समय देखिको राजनितिक अस्थिरताले गर्दा पहिला भन्दा केहि फरक भएपनि सोचे जस्तो प्रगति हुन सकेको छैन। यस्तो बेलामा युवाहरूमा राजनिति प्रति वितृष्णा बढ्नु, नेताहरु प्रति असन्तुष्ट हुनु स्वभाविक हो । यस्तो बेलामा अभियन्ताका नाममा केहि थान चटकेहरू देखिनु, अराजकताको बलमा आफु पपुलिस्ट बन्नु, भ्रमको खेती गर्नु र धमिलो पानीमा माछा मार्न खोज्नु नौला बिषय होईनन् । तर यसको आयु लामो हुंदैन । सरकार मात्र स्थिर हुने हो भने यस्ता प्रवृतिहरु आफै कमजोर हुंदै जान्छन् ।
जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रका बिरूद्ध अहिले धावा बोल्ने काम भईरहेकोछ। यो पनि अस्थिर राजनितिको प्रतिफल हो । हाल नेपालको संबिधान अनुसार लोकतन्त्रको परिभाषा जनताले, जनताद्वरा जनताको प्रतिनिधी चुन्ने प्रक्रिया हो । जसको सुन्दर पक्ष आवधिक निर्बाचन मार्फत प्रतिस्पर्धाबाट श्रेष्ठता हांसिल गर्नु नै हो । जहाँ बहुमतको सरकार र अल्पमतको प्रतिपक्षको कल्पना गरिएको हुन्छ जुन ब्यबस्था संसार मै उन्नत मानिन्छ । चुनाबमा पार्टीहरू बीच प्रतिस्पर्धा हुन्छ । एउटै पार्टीको बहुमत आएमा सो पार्टीको नेतृत्वमा सरकार फर्मेसन हुन्छ र एउटै पार्टीको बहुमत नआएमा दुई वा दुई भन्दा बढी पार्टीहरु मिली सरकार बन्ने गरेको हुन्छ । अहिले नेपालमा भएको पनि त्यही हो । हामीलाई नेता मन नपर्न पनि सक्छ तर त्यसको पनि प्रक्रिया हुन्छ। जनताले आफ्नो नेता चुन्ने अधिकार राख्दछन र त्यहाँ चुनाब हराउन पनि सक्छन् तर संसद भएर आएपछि त्यस भन्दा माथीको सबै प्रक्रियामा उसले भाग लिन पाउँछ।
हाम्रो संसदिय ब्यबस्थामा संसदिय दलको नेता निर्बाचित भएको ब्यक्ति नै प्रधामनमन्त्री बन्ने प्रचलन छ । जसले गर्दा पद प्राप्तिका निम्ति तीन पटक निर्बाचित हुनुपर्दछ । जस अनुसार पहिलो पटक निर्बाचन क्षेत्र, दोस्रो पटक संसदिय दलको निर्बाचन र तेस्रो पटक प्रधानमन्त्रीको निर्बाचन । पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा जो अब्बल छ वा जो निर्बाचित हुन्छ उसैले नेतृत्व गर्न पाउँछ र त्यो ब्यक्ति सांसद संख्याको बहुमतका आधारमा प्रधानमन्त्री हुन सक्दछ ।
ईतिहांसलाई फर्केर हेर्दा २०४६ सालको जनआन्दोलनको जगमा मुलुकमा प्रजातन्त्र आयो र नेपालको संविधान २०४७ जारी भयो । जस अनुसारको प्रजातान्त्रिक ब्यबस्थामा राष्ट्राध्यक्ष राजा हुने र मुलुकको कार्यकारी अधिकार प्रधानमन्त्री संग रहेर राष्ट्र संचालन हुन्थ्यो जहाँ वंशको आधारमा राजा परिवर्तन हुंदै जाने हुन्थ्यो । तर २०६३÷०६३ को जन आन्दोलनले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र स्थापना ग¥यो । जस अनुसार जनताको छोरो राष्ट्र प्रमुखमा निर्बाचित हुन्छ । हामीले निरंकुस राजतन्त्र ब्यहोरेका छौं । नयाँ पुस्ताले त्यो देख्न पाएनन् सायद यसैले होला उनीहरु राजतन्त्र ठीक हो कि भन्दै छन । उनीहरूको बुझाई राजाले नै देश चलाउने हो भन्ने छ । उनीहरुले यो निरंकुश हुन्छ भन्ने पनि बुझेका छैनन् तर यथार्थमा चाहे प्रजातन्त्र होस या लोकतन्त्र देशको नीति बनाउने र देश चलाउने राजनीतिले नै हो । संसारभरि चाहे अमेरिका होस या भारत, जापान होस या बेलायत ती सबै देशहरूमा राजनितिले नै राज्य सञ्चालन गरिरहेका हुन्छन् । होला जापान र बेलायतमा राजा सहितको प्रजातन्त्र होला तर अमेरिका र भारतमा राष्ट्रपति सहितकै लोकतान्त्रिक गणतन्त्रको ब्यबस्था छ । लोकतन्त्र भित्र स्वतन्त्रता हुने हुंदा जनताले आफ्ना बिचारहरू खुलस्त राख्न पाउँछन । त्यसैले लोकतन्त्रको बिकल्प राजतन्त्र हुन सक्दैन ।
राजनितिक दलहरूलाई लाग्ने गरेको प्रमुख आरोप भ्रष्टचार संग जोडिएको हुन्छ । अमेरिका जस्तो देशमा निर्बाचन हुँदा बकाईदा ठुला ठुला ब्यापारीबाट चन्दा लिएर चुनाब खर्च गरेका हुन्छन् । भारत लगायत संसारका सबै लोकतान्त्रिक देशहरूमा ब्यापारी संगबाट सहयोग लिएर चुनाब क्याम्पेन नै चलाएका हुन्छन् । नेपालमा पनि सबै पार्टीहरूको आफ्नै आम्दानी हुदैन । सबै पार्टीहरू सहयोगबाटै चल्दै आईरहेका छन् । हो यतिबेला राजनीतिक दल र त्यसका मुल नेताहरूलाई ब्यापारी र बिचौलिया संग जोडेर भ्रष्टचार ग¥यो भनि बद्नामित गरिएको छ । त्यसैले यसमा दलहरु पारदर्शी हुनु जरूरी छ । त्यसैले अहिलेको समय ब्यबस्था परिबर्तनको होईन अबस्था परिबर्तनको हो । जनताको अवस्था परिवर्तन गर्न सरकारले जनपक्षिय र अर्थतन्त्र सुधारका कार्यक्रमहरु ल्याउनु पर्दछ । यो सब स्थिर सरकारले मात्रै गर्न सक्छ । जसरी क्रिकेट म्याचमा भन्ने गरिन्छ रन नबने पनि क्रिजमा टिकेर बस्न सकियो भने रन त बिस्तारै बन्दै जान्छ । त्यसरी नै सरकार स्थिर भयो भने बिस्तारै बिकासका काम पनि हुँदै जान्छन ।
हो, देशमा अस्थिरता छ। यस्तो बेलामा एकथरी यो देशमा केहि पनि हुँदैन यहाँ भविष्य छैन भन्ने जबर्जस्त भाष्य निर्माण गरिरहेका छन भने अर्का थरी अराजकताको बलमा नेताहरूले केहि गरेनन् भन्दै गाली गलौज कै स्तरमा उत्रेका छन् । लोकतन्त्रमा बोल्न पाईन्छ भन्ने नाउमा कतिपय आफुलाई अभियन्ता भन्नेहरू नै तल्लो स्तरमा झरेर लोकप्रियता कमाउन खोज्नु त्यो क्षणिकमा रमाउनु मात्रै हो । एउटै दलको बहुमत नआउँदा बर्ष बर्षमा सरकार फेरिएको हामीले देखेका छौं । अहिले अस्थीरता चिर्न दुई ठुला पार्टी मिलेर सरकार संचालन गरेका छन् । कमसेकम अबको चुनाब सम्म देशले स्थिर सरकार पाएको छ । सरकार बनेको दिन देखि नै देशमा केहि न केहि परिवर्तनका संकेतहरु देखिएका छन् । नेप्सेले केही उचाई लिएको छ । शेयर कारोवार बढेको छ। बैकमा अधिक तरलता छ। बिदेशी मुद्रा संचितिको अबस्था पहिला भन्दा धेरै राम्रो छ । चीन संगको बिआरआई परियोजना र भारत संगको बिभिन्न ब्यापार परियोजना संझौता भई कार्य अगाडि बढ्दैछन् । थानकोट सिस्नेखोला सुरूङ मार्ग होस या सिद्धबाबा सुरूङ मार्ग । बुटवल नारायणगढ राजमार्ग होस या मुग्लिन पोखरा । हुलाकी राजमार्ग होस या पुर्ब पश्चिम रेलवे मार्ग । मध्यपहाडी होस या कालिगण्डकी कोरीडोर । टियु रंगशाला होस या कर्णाली । फास्ट ट्रयाक होस या केरूङ–काठमाण्डौ रेल । हाईड्रोपावर होस या जंगली जडीबुटीको प्रशोधन तथा निर्यात । यी सबै कामले गति लिंदै छन् । तर हामी धैर्यता गुमाईरहेका छौं । हामीलाई बिकसीत राष्ट्रहरूकै अनुपातमा तीब्र गतिको बिकास चाहिएको छ । जुन तुरून्तै सम्भव छैन । नेपालको बर्तमान समस्या अस्थिर राजनिति हो । स्थिरता मात्र भयो भने देशले छलाङ मार्नेमा दुइमत छैन । तर अझै पनि जनतालाई अब देशमा केहि हुन्छ भन्ने परिसकेको छैन । त्यसका निम्ति सरकारले बिकासका कामलाई अझै तीब्रता दिनुपर्ने हुन्छ । अब कुनैपनि बाहनामा देशलाई अस्थिर बनाउने छुट कसैलाई पनि छैन।
सत्य कुरा अहिले नेपाललाई चाहिएको स्थिर सरकार हो । त्यसो भयो भने मात्र साँचो अर्थमा लोकतन्त्रको बलियो हुन सक्दछ। हाम्रा नेताहरुको कमीकमजोरीहरू धेरै होलान लोकतन्त्रमा पार्टी र नेता मन नपरे फेर्न पनि पाईन्छ । तर हामीले गर्ने बिकास हाम्रै सिमित साधन श्रोत र बजेटको आकारको आधार मै हो । कसैले आएर हाम्रो देश बनाईदिने हैन । देश बनाउने हामीले नै हो । वस्, मुलुकमा फेरि सरकार परिवर्तनका खेलहरु नहुन ।
परिस्थिति बिग्रीसकेको छैन । मतदाताहरु आफ्ना जनप्रतिनिधी संग रिसाए होलान तर मत परिवर्तन गरेका छैनन् । चाहे संघ÷प्रदेशको उपचुनाब होस या स्थानिय उपचुनाब अथवा अहिले कै स्ववियु चुनाब किन नहोस, २०८४ को चुनाबमा एमाले, कांग्रेस र माओबादी नै क्रमश प्रथम द्धितिय र तृतीय शक्तिको रूपमा आउने निश्चित देखिन्छ । चौथोको लागि प्रतिस्पर्धा रास्वपा र राप्रपा कै हो ।
त्यसैले सामाजिक संजालमा देखिए जस्तो देश खत्तम भएको छैन । तर अधिकांश सामाजिक संजाल प्रयोगकर्ताहरूको बिकृत रूप बिभिन्न लाईभ प्रसारण र समाचारहरूका कमेन्टमा हेर्न पाईन्छ । आफ्नै देश शक्तिशाली देश संग अन्तराष्ट्रिय स्तरको खेल खेलिरहेको हुन्छ तर गोल हान्न सकेन भने या क्रिकेटमा रन बनाउन सकेन र विकेट लिन सकेन भने लाईभ प्रशारण भएको च्यानलको कमेन्टहरू हेर्नै नसक्ने हुन्छन् । हाम्रो देशको प्रमुख या प्रतिनिधी मण्डल अन्तराष्ट्रिय स्तरका कार्यक्रममा बोलिरहेको हुन्छन् । तर हामी तल कमेन्ट सेक्सन बन्द गरेर हेर्नुपर्ने हुन्छ । हाम्रो समाज कहां पुगेछ ? नेपालीको पहिचान एक अर्का बीचको मानवता, हार्दिकता, समवेदना, सहयोग र सद्भावले नै चल्दै आईरहेको हो। तर हाम्रो लोकप्रियता प्राप्त गर्ने होडमा आफु राम्रो बन्ने र अरूलाई तल खसाल्ने परिपाटीको अन्त्य हुनुपर्दछ।
