मोदी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लामा पर्दछ । नेपाल सरकारको २०७३ फागुन २७ गतेको निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिका अन्तर्गत साविकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गाउँ विकास समितिलाई मिलाएर मोदी गाउँपालिका बनेको हो । यो गाउँपालिकामा रहेका ८ वटा वडाहरूको कूल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनणना २०७८ अनुसार कूल जनसंख्या १८ हजार सात सय ९४ रहेको छ । गाउँपालिका भित्र पुरुष आठ हजार आठ सय ५३ र महिला नौ हजार नौ सय ४१ रहेका छन् । यस गाउँपालिकाको पूर्वमा कास्की जिल्ला, पश्चिममा कुश्मा नगरपालिका र जलजला गाउँपालिका, उत्तरमा म्याग्दी र कास्की जिल्ला र दक्षिणमा कुश्मा नगरपालिका अवस्थित छ । यस गाउँपालिकाको सन्दर्भमा आदर्श सञ्चारका म्याग्दी सम्वाददाता अमृत बास्कुनेले गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति प्रमुख बिमल लामिछानेसँग गुर्नभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरीएको छ ।
गाउँपालिकामा मानव अधिकारको अवस्था कस्तो रहेको छ ? पालिकाले बनाउने नीति तथा कार्यक्रमलाई मानव अधिकारमैत्री बनाउनका लागि कस्तो भुमिका खेल्नुभयो ?
हाम्रो गाउँपालिकाको सन्दर्भमा भन्ने हो भने मानव अधिकारको अवस्था विगतको तुलनामा सन्तोषजनक रहेको छ । तथापी महिला बालबालिकाहरूमाथि हुने विभिन्न खालका घरेलु हिंसा तथा यौनजन्य हिंसाका घटनाहरूको अवस्था पनि नदेखिने होइन तर पनि यस्ता घटनाहरु विगतको तुलनामा निकै कम भएको मान्नु पर्छ । हामीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम एवम् वजेटमा पनि मानअधिकार र लक्षित वर्गको लागि विशेष प्राथमिकता दिएरै पारित गरेका छौं । मानव अधिकारको मूल्य र मान्यता सहितका विषयवस्तुहरू उठान गर्ने सवालमा अध्यक्षज्यूबाट पनि निकै ठूलो साथ र सहयोग पाएको अवस्थाले पनि यहाँ हामीलाई कुनै पनि प्रकारको समस्या छैन भन्दा फरक पर्दैन ।
गाउँपालिकाको न्यायिक समितिमा के कस्ता समस्याहरु आउने गरेका छन् र समाधानका लागि सहज असहज के छ ?
सामान्यतया न्यायिक समितिमा घरेलु झैझगडाका उजुरीहरु धेरै आउने गरेका छन् । लेनदेनका पनि प्रस्तै आउने गरेका छन् । खास गरी आर्थिक हिसाबकिताबका मिलान गर्नु पर्ने समस्याहरु आउने गरेको र त्यसलाई सहज तबरले नै मिलाउने गरेको छु । यहाँ समस्या आएको खण्डमा मेलमिलापलाई प्राथमिकता दिएर अगाडी बढ्ने गरीएको छ । सकेसम्म अन्य कानुनी झमेला तिर जाने भन्दा पनि आफ्नै थातथलोमै बसेर मिलान गर्ने तर्फ हाम्रो लक्ष र उद्देश्य पनि हुने गरेको छ । यसले गर्दा हामी सबैले सहज तबरले नै काम गर्दै अगाडी बढ्ने गरेका छौं । न्यायिक समितिमा आइ सकेको मान्छे बाहिर गएर कहिल्यै गुनासो गरेको र हारेको मानसिकता व्यक्त गरेको पाएको पनि छैन ।
न्याय सम्पादनमा केही असहज हुने गरेको छ कि छैन ? दवाव झेल्नु परेको अवस्था छ कि छैन यहाँलाई ?
झै झगडा मिलाउने भने पछि सजिलो हुने कुरा पक्कै पनि होइन । तर मैले कहिल्यै पनि समस्या र असहजताको रुपमा लिएर काम गरेको छैन । अनि रह्यो दवावको कुरा मैले न्याय सम्पादन गर्दा कसैले पनि अन्याय परेको महशुस गर्दैन भने कसरी दवाव आउने । अनि अर्को कुरा हाम्रो अध्यक्षज्यूले पनि महिला तथा बालबालिका र लक्षित वर्गको कामलाई प्राथमिकता दिने गर्नुहुन्छ । खासमा पालिकामा पनि कतिपय कामहरुमा मैले काम गर्ने भन्दा पनि उहाँकै उपस्थितिमा हुन्छन् कामहरु र त्यसरी हुँदा मैले केही गर्नै परेन भन्दा पनि फरक पर्दैन । किन भने महिलाले नेतृत्व गरेको नमुना गाउँपालिका हो हाम्रो भने यहाँ कुनै अन्याय हुने कल्पना सम्म गर्न नसकिने कुरा हो ।
गाउँपालिकामा हुने कामहरुका लागि नीति नियम तथा कानुन तथा बजेट बनाउने सन्दर्भमा के कस्तो भूमिकाहरु हुने गरेको छ ?
हामीले जनताका लागि गर्न चाहेको अर्थात् जनताका लागि आवश्यक पर्ने कानुन सबै सहज तरिकाले बन्ने गरेको छ । महिला तथा मानव अधिकारसँग सम्बन्धीत कानुनका लागि मैले आग्रह मात्र गर्दा पनि सहज तबरले कानुनहरु निर्माण हुने गरेको छ । महिलाले नेतृत्व गरेको गाउँपालिका भएकोले पनि हुन सक्छ लक्षित वर्गका लागि हुने काम तथा उनीहरुका लागि योजनाहरु पनि प्रयाप्त छन् । महिला मानव अधिकारका क्षेत्रमा बजेट राम्रै बनाइएको छ । सरसर्ती भन्ने हो भने विभिन्न शिर्षकहरुबाट ५० लाख हाराहारीमा बार्षिक रुपमा बजेट हाम्रो गाउँपालिकामा खर्च हुने गरेको छ ।
उपाध्यक्ष हुँदै गर्दा कुनै सहज असहज केही महशुस भएको छ ?
सामान्यतया अन्यत्र अध्यक्ष पुरुष र उपाध्यक्ष महिला हुने गरेको जस्तो अभ्यास देखिएको भए पनि हामी हाम्रो पालिकामा त्यो भन्दा फरक देखिन्छौं । अध्यक्ष महिला हुनुहुन्छ र उपाध्यक्ष पुरुष छौ यहाँ कुनै समस्या छैन । कोही कसैले केही भन्लान् भन्दा पनि हामीले जनताको पक्षमा काम गर्नका लागि उपाध्यक्ष भन्दा पनि अध्यक्ष नै महिला हुँदा राम्रो र सजिलो हुने रहेछ । कानुन निर्माण होस या बजेट बिनियोजनका लागि अध्यक्षबाट पूर्ण रुपमा समर्थन मात्रै नभएर प्रस्ताव गरे भन्दा बढी नै बजेट बिनियोजन हुने पनि गरेको हुँदा हाम्रो पालिकामा महिला, बालबालिका तथा लक्षित वर्गको क्षेत्रमा सहज तरिकाले काम हुने गरेको छ ।
शिक्षा, स्वास्थ्य र खानेपानीको अवस्था के कस्तो छ पालिकामा ?
हाम्रो मोदी गाउँपालिकामा हाल सम्मको अवस्था हेर्दा खानेपानी सहज छ । घरमा सुत्केरी हुने शुन्य हाम्रो लक्ष हो र हामी त्यसमा पनि प्रतिबद्ध छौं । कहिले काँही अस्पताल लैजादै गर्दा बाटैमा सुत्केरी भएको अवस्था भए पनि घरमा हुने छैनन् । भौतिक विकासले मात्र समृद्धि आउन सक्दैन भन्ने पनि हाम्रो सोँच हो । त्यसकारण भौतिक विकास र मानवीय विकासलाई सँगसँगै जोडेर अगाडि नीति, कार्यक्रम र बजेट बढाउन हामी सचेत छौँ । मानवीय विकासलाई सँगसँगै लैजाने खालका कार्यक्रमहरू हाम्रा माथि उल्लेख गरिएका सबै लक्षित वर्गहरूले अनुभूति गर्नुहुनेछ । शिक्षाको पनि नतिजाहरु हामीले सोचेको जस्तो आउने गरेका छन् ।
