कहिलेकहीँ एक्लै घोत्लिन्छु र झस्किन्छु,
फ्याट्ट मरीगए मेरो शरीर घाट पुराएर जलाइन्छ कि! भनेर ,
जिन्दगी को प्रयोगशाला मा प्रयोग भएको ,
यो थोत्रो शरीर जलाईन्छ कि भनेर,
मैले दिएको छु,
मरे पछिको म अस्पताल लाई
फेरी अर्को प्रयोगशाला मा प्रयोग होस भनेर,
डाक्टर
मैले छोडेपछि मेरै शरीरलाई
भाग लगाउनु शरीरका
काम लाग्ने अङ्गहरू
जो प्रतीक्षारत छन् धैर्यपूर्वक
जसको प्रतीक्षा छ, जे को लागि,
उही अङ्ग ,
बचेखुचेका मांसपिण्ड ,
जे मा प्रयोग हुन्छ, त्यही गर्नू।
मेरो सबै भन्दा प्रिय स्वप्नशील आँखा
सकारात्मकताको ज्योति बलेकाहरूलाई दिनू
मिल्छ भने मेरा प्रिय ओठहरू
सङ्गीत सुसेल्नेलाई लागि दिनू
प्रिय बोली बोल्नेलाई दिनू।
सबैभन्दा पीर त मलाई
सबैको पीर बोक्ने मुटुको छ
यो मुटु कसैलाई नदिनु है डाक्टर!
यो मुटु दियौ भने कसैलाई
मैले जस्तै पीर बोकी हिँड्नेछ उसले,
किन कोही बाचोस!
मेरो पीरको पिरामिडमा उभिएर,
किन कसैको मुटुको धमनीबाट
रक्तसञ्चारमा रगत भित्र आँसु घुल्न पाओस्
सक्छौ भने डाक्टर !
मेरो मुटुलाई चिरेर हेरिदिनु,
म तिम्रै हुँ भन्नेलेको चोटले
कति थिलथिलो भएको रहेछ भनेर
अनि थाहा पाउने छौ
यति पिल्सिएको मुटु
दिन मिल्दैन कसैलाई।
सक्छौ भने डाक्टर!
मेरो खुशी भन्नेले खुशी लुटिदिँदा,
कति कविता रोएथे भनेर !
अनि
अर्को एक चिज पनि हेरिदिनु है डाक्टर,
मेरो प्राण हौ भन्नेले,
घाँटी न्याकेर प्राण लैजाँदा
कति मुटु दबिएछ ,
तिमीलाई थाहा होला
मैले म बाचुन्जेल जे गरेँ
मुटुले गरे,
जे गरिन
हृदय ले गरिन,
बिन्ती छ, डाक्टर
मैले छोडेको मेरो मुटु नदिनु कसैलाई ।
