अमृत बास्कुने
रघुगंगा गाउँपालिकाको आयोजनामा खोपबाट बचाउन सकिने रोगहरुको रोकथाम, नियन्त्रण, निवारण र उन्मुलनका लागि खोपबाट बचाउन सकिने रोगहरुको सर्भिलेन्स, नमुना संकलन र व्यवस्थित ढुवानी कार्यका लागि स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिएको छ ।
गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुबाट प्रतिनिधित्व गर्दै सहभागी रहेकाहरुलाई खोपबाट बचाउन सकिने रोगहरुको रोकथाम लगायतका विषयमा विश्व स्वास्थ्य संगठनको पोखरा कार्यालयकी डा.स्मृती लामाले सहजीकरण गर्नुभएको थियो । गाउँपालिकामा खोपबाट बचाउन सकिने रोगहरुको नियन्त्रण, निवारण र उन्मुलनको लागि रोगहरुको खोजपड्ताल तथा निगरानीलाई तिब्रता दिने हेतुले कार्यक्रमको आयोजना गरिएको बताइएको थियो । त्यस्तै खोजड्ताल तथा निगरानी एवम् नमूना संकलन र ढुवानी जस्ता कार्यहरु एकिकृत रुपमा सञ्चालन गर्न सहज होस भनेर कार्यक्रम तय गरीएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।
अभिमुखीकरणमा महामारी देखा परेमा तत्काल रोकथाम तथा नियन्त्रणका कार्यहरु स्थानीय तहबाटै गर्ने तथा खोपबाट बचाउन सकिने रोगहरूको समयमै पहिचान गर्न सशक्त सर्भिलेन्स प्रणाली सुदृढ गर्ने बताइएको थियो । स्थानीय तहमा खोपबाट बचाउन सकिने रोगको नमूना संकलन, परीक्षण र रिपोर्टिङ्गलाई समयानुकूल, गुणस्तरीय र विश्वसनीय कसरी बनाउन सकिन्छ भन्ने तर्फ पनि सचेत गराइएको थियो । गाउँपालिका मातहतका स्वास्थ्य चौकी प्रमुख तथा स्वास्थ्य संस्थाका फोकल पर्सनहरूलाई अभिमुखीकरण कार्यक्रममा समावेस गराइएको थियो । तालिम मार्फत सूचना व्यवस्थापन, सर्भिलेन्स र रिपोर्टिङ्ग क्षमतामा वृद्धि गर्ने, साथै समिक्षा बैठक मार्फत प्रगति मूल्याङ्कन, समस्या पहिचान तथा समाधानको योजना निर्माण सुनिश्चित गर्ने ध्येयले कार्यक्रम तय गरेको प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीका राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

