प्रदेश जनस्वास्थ्य कार्यालयको चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न कार्यक्रमहरुतर्फ ९८ प्रतिशत भौतिक प्रगति भएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले भौतिक प्रगति शत प्रतिशत नजिक गरेको भए पनि वित्तिय प्रगति भने ६८ प्रतिशत हासिल गरिएको कार्यालय प्रमुख भूवन ठकुराठीले जानकारी दिनुभयो । चालु वर्षमा बाल स्वास्थ्य कार्यक्रमतर्फ म्याग्दी जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना कायम गरीएको तथा जिल्लामा एचपिभी खोप अभियान तथा नियमित खोपको सुरुवात, खोपसम्बन्धी पुनर्ताजगी तालिम समेत भएको बताउनुभयो । उहाँका अनुसार खोपको समीक्षा र सुष्म योजना अद्यावधिक, जिल्लास्तरीय पोषणको समीक्षा, ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था लेखाजोखा र बालरोगको एकीकृत व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।
एचपिभी खोप अभियान सफलतापूर्वक सम्पन्न भएको, संस्थागत सुत्केरीको पहुँच वृद्धि, घरमा सुत्केरीको दर घटेको, मातृ तथा नवशिशु मृत्युदर घट्दै गैरहेको, मासिक बुलेटिन प्रकाशनलगायत कार्यलाई कार्यालयले सबल पक्ष मानेको कार्यालय प्रमुख ठकुराठीले बताउनुभयो ।
कार्यक्रमकै अवसरमा सूर्ति तथा मदिराजन्य पदार्थ नियन्त्रण, नियमन सम्बन्धी सरोकारवालाहरुबीच समन्वयात्मक वैठक समेत भएको थियो । जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्यायले सूर्तिजन्य पदार्थ तथा मदिरा नियमन एवं नियन्त्रण गर्ने कानुनी व्यवस्थाको बारेमा सहजीकरण गर्नुभएको थियो । उहाँले सूर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने कानुनी व्यवस्था र सूर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने ऐन २०६८ को बारेमा सहजीकरण गर्नुभयो ।
जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायतको सहभागीता रहेको थियो ।
