एजेन्सी, १६ फागुन – ओस्कार धेरै पटक राजनीतिक कारणले विवादित बन्ने गरेको इतिहास छ। कहिले जातीय भेदभाव त कहिले लैंगिक विभेदको आरोप ओस्कारले खेप्दै आएको छ। ओस्कारको मञ्चलाई थुप्रै कलाकारले राजनीतिक अभिव्यक्ति दिने स्थानका रुपमा पनि प्रयोग गर्छन्। फिल्म क्षेत्रको सबैभन्दा ठूलो पुरस्कारको ८९ औँ संस्करण पनि त्यसबाट अछुतो रहेन। यस पटकको ओस्कारमा सबैको तीर मुख्यतः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका नीतिहरुप्रति सोझियो।
ओस्कारको चर्चा सुरु नभइकनै ट्रम्पले हलिउडमा आफ्ना धेरै दुश्मन तयार गरिसकेका थिए। यसपटक फ्लोरेन्स फोस्टर जेन्किन्स फिल्मसहित २० पटक ओस्कार मनोनयनमा परिसकेकी अभिनेतृ मेरिल स्ट्रिपलाई ट्रम्पले ‘ओभररेटेड’ संज्ञा दिएका थिए। त्यसमाथि मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि प्रतिबन्ध लगाउने उनको विवादित निर्णय, मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने उद्घोष र जलवायु परिवर्तन धोखा हो भन्ने भनाइप्रति हलिउडका धेरैजसो हस्तीहरु सहमत हुन सकेनन्।
यस पटकको ओस्कारमा सबैभन्दा ठूलो चर्चा पायो इरानी निर्देशक अस्गर फरहादीको बहिस्कारले। द सेल्सम्यान सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म घोषित भए पनि उनी ओस्कार ग्रहण गर्न गएनन्। उनले ओस्कारका लागि पठाएको एक वक्तव्य समारोहमा पढियो, जसमा उनले एकेडेमीसहित सम्बन्धित सबैलाई धन्यवाद दिँदै अमेरिकामा मुस्लिम राष्ट्रका नागरिकलाई प्रवेशमा रोक लगाउने ट्रम्पको अमानवीय कानुनबाट छ ओटै राष्ट्र अपमानित भएको बताएका छन्। यो कानुनले डरको सिर्जना गरेको र विश्वलाई ‘हामी र हाम्रा शत्रु’का रुपमा विभाजित गरेको भन्दै यसबेला समभावको ठूलो खाँचो रहेको स्पष्ट पारेका छन्। यसको प्रतिउत्तरमा इरानका विदेशमन्त्री जावद जारिफले द सेल्सम्यानको टोलीका कारण आफू गौरवान्वित भएको बताएका छन्।
त्यस्तै समारोहका एक प्रस्तोता गाएल गार्सिया बर्नलले पनि ट्रम्पको आलोचनामा समय खर्चिए। उनले भने, ‘एक ल्याटिन अमेरिकी, एक आप्रवासी कामदार र एक मान्छेका रुपमा म हामीलाई एकअर्काबाट विभाजित गर्न खोज्ने जुनसुकै पर्खालको विरोधमा छु।’ ओस्कार प्रमुख सेरिल बुन आइज्याकले पनि आफ्नो मन्तव्यमा कलाको कुनै सीमाना नहुने उल्लेख गरिन्। उनले भनिन्, ‘आजको रात कलाको कुनै सीमाना हुँदैन भन्ने कुराको प्रमाण हो। विश्वभरका सर्जकहरु अटुट सम्बन्धबाट गाँसिएका हुन्छन्, जुन निकै शक्तिशाली र स्थायी छ।’
त्यस्तै ओस्कार समारोहका उद्घोषक जिम्मी किम्मेल पनि सुरुवातदेखि नै ट्रम्पप्रति आक्रमक रुपमा प्रस्तुत भए। उनले मञ्चबाटै ट्रम्पलाई मेन्सन गर्दै ट्वीट पनि गरे:
रेड कार्पेटमा उत्रिएकी एक निर्देशक आभा डुभेर्नेले एक लेवनानी डिजाइनरको पहिरन लगाइन्। यसबाहेक यसपटकको ओस्कारले अर्को तरिकाले पनि ट्रम्पनीतिको आलोचना गर्यो। २०१६ मा श्वेतहरुको कब्जामा परेको भन्दै आलोचना खेपेको ओस्कारले यो साल पहिलो पटक मुस्लिम अभिनेतालाई पुरस्कृत गर्यो। उत्कृष्ट फिल्म घोषित भएको मुनलाइटका अभिनेता मार्सेला अली उत्कृष्ट सहअभिनेता बने।
त्यस्तै सिरियाली द्वन्द्वमा उद्दारकर्ताका रुपमा कार्यरत स्वयंसेवकहरुबारे निर्मित छोटो डकुमेन्ट्री द ह्वाइट हेल्मेट उत्कृष्ट बन्यो।
उता पहिले यौन दुर्व्यवहारको आरोप लागेका केसी एफ्लेक उत्कृष्ट अभिनेता छानिए पनि उस्तै प्रकृतिका आरोपी बर्थ अफ अ नेसनका निर्देशक नेट पार्कर भने मनोनित पनि भएनन्। त्यस्तै ‘होमोफोबिक’ भएको आरोप लागेका ह्याक्स रिजका निर्देशक मेल गिब्सनको पनि खास कुरा काटिएन। यसरी माफी दिने कुरामा ओस्कारले दोहोरो मापदण्ड अपनाएको आरोप पनि लागिरहेको छ।
Previous Articleछात्राहरुका लागि सेनेटरी प्याड बनाउने तालिम
Next Article डेनमार्कका राजकुमारलाई पछ्याउँदै महिला