राजकुमार योकिम आफ्नो गाउँ आउने पूर्व सूचना पाएका गाउँलेहरु आ–आफ्नो जिम्मेवारी साथ काममा खटिएका रहेछन्। बिहान ११ः३० बजे राजकुमारसहित उनका सुरक्षा, संचार र केयर डेनमार्क, केयर नेपालका कर्मचारी तिवारीको आँगन आइपुगे। फूलको गुच्छा, माला र अविरले गाउँलेहरुले राजकुमार नेतृत्वको टोलीको भब्य स्वागत गरे। तिवारीको घरमा नयाँ पाहुना आइपुगे। गाउँलेहरु जिज्ञासु, कौतुहल देखिन्थे। सबै नयाँ पाहुना हेर्दै मख्ख देखिए।
ढुङ्गा छापेका आँगनमा कुर्सी, टेवल मिलाएर राखिएका थिए। आँखामा घाम नपरोस् भन्नकै लागि त्रिपाल टाँगिएको थियो। सोही आँगनमा औपचारिक कार्यक्रम सुरु भयो। गाउँलेहरु नेपालीमा बोल्न नपाउँदै राजकुमारलगायतको टोलीलाई गाउँलेका कुरा अंग्रेजीमा अनुवाद गर्नेहरु साउती मार्न थाल्थे। डेनमार्क केयरको आर्थिक सहयोगमा केयर नेपालले स्वाँरा सघन गाउँ बिकास केन्द्रको साझेदारीमा खोप्लाङमा गरेको सहयोगबारे केयर नेपालका गोरखा प्रमुख माधव ढकालले ससर्ती तथ्याङ्क सुनाए। केयरले खोप्लाङ, छोप्राक, हर्मी, गाँखु लगायत गाबिसमा भूकम्पपछि दुई करोड ५४ लाख लगानी गरिसकेको छ।
सहयोग दिनेको कुरा सुनेका गाउँलेहरुले सहयोग लिनेको कुरा तव सुन्न पाए जव खोप्लाङ कृषि सहकारीकी अध्यक्ष दुर्गा तिवारी उठेर बोल्न थालिन्। केयरले दिएको सहयोग तिवारीले मात्रै कहाँ हो र? गाउँलेहरु सबै अर्थात् सहकारीमा आबद्ध १२१ जना महिलाहरुले समान रुपमा पाएका रहेछन्। बंगुरपालन, बाख्रापालन, तरकारी खेति तालीम, बीऊबिजन, भ्रमण, सिंचाइ गर्न कुलो निर्माणमा सहयोग, प्लास्टिक पोखरी निर्माणलगायतमा केयरले सहयोग गर्दै आएको तिवारीले सुनाइन्। महिलाहरु मात्रै आबद्ध रहेको उक्त सहकारीले काउली, बन्दा, गाँजर, लसुन, प्याज, बेसारलगायत तरकारी ब्यबसायीक रुपमा खेति गर्दै बिक्री गरी मनग्य आम्दानी लिन थालिसकेको रहेछ।
गाउँलेहरुले तरकारी खेति गरे, उत्पादन पनि भयो तर संकलन केन्द्र थिएन, बजारको पहुँच थिएन। केयर नेपालको सहयोगमा स्वाँरा सघन गाउँ बिकास केन्द्रले तरकारी संकलन केन्द्र बनाइदियो, गोरखा बजार, डुम्रे, चरौंदीलगायत क्षेत्रमा तरकारी बिक्री गर्न सकिने गरी बजार खोजिदिएछ। सहकारीकी अध्यक्ष तिवारीले भनिन्, ‘घरपरिवार र केयर नेपाल, स्वाँरा सघन गाउँ बिकास केन्द्रको सहयोगले सामुहिक रुपमा तरकारी खेति गर्ने प्रेरणा मिलेको हो।’
तरकारी बिक्रीबाट आएको आम्दानीको हरहिसाव महिलाहरु आफैँले पारदर्शी तवरले राखेका छन्। केयरले हरहिसाव कसरी पारदर्शी राख्ने भन्नेबारे समूहमा आबद्ध सदस्यलाई बित्तिय ब्यबस्थापन सम्बन्धी तालीम पनि दिइसकेको रहेछ। यी सबै कुरा एकोहोरो सुनेर बसिरहेका राजकुमारले सोधिहाले, ‘उत्पादित तरकारी बजारसम्म कसरी पुर्याउनुहुन्छ? गाउँबाट बजार कति टाढा पर्छ? अरुले पनि तरकारी खेति गरेका छन् ब्यापारीले किन तपाइँहरुले उत्पादन गरेको तरकारी किन्ने? उपभोक्ताले किन खाने?’ प्रश्नको बर्षा भइहाल्यो।
जवाफमा तिवारीले भनिन्, ‘गाउँबाट बजार पुग्ने यात्रुबहाक बस एउटा मात्रै छ। थुन्से, बोरा, क्रेटमा तरकारी राखेर त्यही बसमा बजार पुर्याउँछौं। सहकारीको आफ्नै जीप छैन। गाउँबाट बजार १५ किमी टाढा हो। बर्खाको बेला कच्ची सडक हिलो हुँदा उत्पादित सबै तरकारी बिक्री हुँदैन। बिक्री गर्न नसकिएका तरकारी सुकाएर राख्छौं। साग छ भने गुन्द्रुक बनाउँछौं। हामीले उत्पादन गरेका तरकारी अर्गानिक हो, उपभोक्ताले मात्रै होइन ब्यापारीले पनि मन पराउँछन्।’
तरकारी उत्पादन गरी बेचेको पैसाले के गर्नुहुन्छ? राजकुमारले गरेको प्रश्नमा तिवारीको जवाफ दिइन्, ‘छोराछोरी पढाउन, घरखर्च चलाउन पुगेको छ।’ तरकारी बेचेर आम्दानी भएको रकम शिक्षामा लगानी भएको भन्ने सुनेपछि राजकुमार खुसी भए। ‘छोराछोरीलाई राम्रोसंग पढाउनुहोला’ उनले भने। राजकुमारले स्थानीय पुतलीखेतमा पुगेरै तरकारी खेति गर्न समस्याहरु के–के छन् भनी सोधे। जवाफमा किसानहरुले सिंचाइ अभाव भएको र जीप नहुँदा बजारीकरणमा समस्या परेको बताए। प्याज, लसुन, गोलभेंडा, काउली तरकारी बाह्रै मास फल्ने/नफल्नेबारे राजकुमारले किसानहरुसँग जिज्ञासा राखे भने एक सिजनमा कति आम्दानी आउँछ भन्ने जिज्ञासा राखेका थिए। गोलभेडा बिक्री गरी एक सिजनमा २५ हजार रुपैंया कमाएका छौं भन्दै किसानहरुले तरकारी खेतिलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
खेतबाट पुनः तिवारीको घर फर्केका राजकुमारले स्थानीयस्तरमा उत्पादन भएको धानको चामलबाट बनाइएको परिकार (खाना) खाए। गुन्द्रुकको अमिलो अचार, काउली र आलुको तरकारी र कुखुराको मासुसंग उनले खाना खाएका हुन्। केयर नेपाल, डेनमार्क दुतावासको निमन्त्रतामा दश दिने अनौपचारिक भ्रमणका लागि राजकुमार शनिबार नेपाल आइपुगेका थिए। केयर डेनमार्कको आर्थिक सहयोगमा केयर नेपालमार्फत् गोरखालगायत बिभिन्न जिल्लामा संचालन भइरहेको कार्यक्रम अवलोकन गर्न अनौपचारिक भ्रमणको सिलसिलामा उनी नेपालमा छन्।यस्तै, राजकुमारले आइतबार अपरान्ह गोरखाको गाँखु गाबिसमा केयर नेपालले पुनर्निर्माण गरेको स्वास्थ्यचौकी भबन अवलोकन गर्न पुगेका थिए। गाँखुमा उनले भूकम्प प्रतिरोधी नमूना घर, तरकारी संकलन केन्द्र, खानेपानी आयोजनाको अवलोकन गरेको केयर नेपालका गोरखास्थित प्रमुख माधव ढकालले बताए। केयरमार्फत् गोरखाका बिभिन्न गाबिसमा संचालित भूकम्प प्रतिकार्य कार्यक्रम, जिविपोपार्जनमा सुधार ल्याउने कार्यक्रमहरु, यौन तथा प्रजनन स्वास्थ्य, प्राकृतिक स्रोत ब्यबस्थापन र बिभिन्न प्रकोपका पूर्वतयारीबारे भइरहेका कार्यक्रमको अवस्थाबारे जानकारी लिन राजकुमार नेपाल भ्रमणमा आएका हुन्।
राजकुमारसंग अन्तरक्रियामा भूकम्पपीडितहरुले जिविकोपार्जनमा सुधार ल्याउने बिभिन्न खालका कार्यक्रममा सहयोग जारी राख्न आग्रह गरे। यस्तै एम्वुलेन्स खरिदमा सघाउन पनि गाँखुका भूकम्पपीडितले आग्रह गरेका थिए।
राजकुमारले गाँखु स्वास्थ्यचौकी प्रमुख ललिता गुरुङलाई स्वास्थ्यचौकीमा कत्तिको बिरामी आउँछन् र बिरामीले उपचार पाइरहेका छन् त भनेर सोधे। जवाफमा उनले दिनहुँ कम्तिमा ५० जना बिरामी आउने गरेको र जटिल रोग लागेकाहरुको थप उपचार जिल्लाका अस्पतालमा हुँदै आएको जानकारी गराइन्। राजकुमार गोरखाको भूकम्पप्रभावित खोप्लाङ र गाँखु गाउँ पुगेर अपरान्ह तनहुँको बन्दीपुरतिर लागेका छन्।