काठमाडौं, १० फागुन – नेपाल राष्ट्र बैंकले मूल्य बृद्धिदर लक्षित सीमाभित्र रहने दाबी गरेको छ। राष्ट्र बैंकले गत असार ३० गते यस वर्षको मौद्रिक नीति ल्याउँदा ७.५ प्रतिशतको सीमाभित्र मूल्य बृद्धि रहने अनुमान गरेको थियो। छिमेकी मुलुकमा समेत मूल्य बृद्धि तल झरेकाले नेपालमा पनि लक्षित मात्रै मूल्य बृद्धि रहने नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले बताए।
मंगलबार मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा राष्ट्र बैंकले अटो लोनमा कडाई गर्दै पहिलोपटक मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) निर्धारण गरेको छ। राष्ट्र बैंकले निजी सवारीका लागि अटो लोनमा मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको छ।
अब निजी सवारी साधन खरिद गर्दा ५० प्रतिशत रकम आफैले भुक्तान गर्नु पर्ने भएकोछ। यदि १ करोड रुपैयाँ पर्ने गाडी किन्न लागिएको छ भने अब बैंकहरूले ५० लाख रुपैयाँमात्र ऋण सुविधा दिनेछन्।यस अघि अटो लोनमा ९० प्रतिशतसम्म बैंकहरूले कर्जा लगानी गर्दै आएका थिए।
राष्ट्र बैंकले अटो लोनमा तोकेको यो सीमा निजी सवारी साधनमा मात्र हो।सार्वजनिक सवारी साधन, सेवाको लागि प्रयोग हुने र भौतिक पूर्वाधारमा प्रयोग हुने सवारी साधनमा भने यो सीमा लागु नहुने गर्भनर नेपालले बताए।राष्ट्र बैंककाअनुसार यस वर्षको पहिलो ६ महिनामा बैंकहरूले अटोमा १ खर्ब ४२ अर्ब कर्जा लगानी गरेका छन्।
Previous Articleसर्वदलीय बैठक : स्थानीय निर्वाचनमा आम सहमति
Next Article अभ्यास खेलका लागि १९ सदस्यीय क्रिकेट टोली घोषणा