शीतोष्ण बागवानी विकास केन्द्र, मार्फा, मुस्ताङ्गले संघ, प्रदेश र स्थानिय तहका कृषि प्राबिधिकहरुलाई ‘प्लान्ट प्रोपागेसन एण्ड नर्सरी म्यानेजमेन्ट’ विषयक ३ दिने तालिम प्रदान गरेको छ । फलफूल तथा तरकारीका गुणस्तरिय बिरुवा तथा वीउ उत्पादन गर्नको लागि कृषि प्राविधिकहरुलाई दक्ष बनाउने हेतुले उक्त तालिमको आयोजना गरिएको केन्द्रले जनाएको छ ।
शीतोष्ण हावापानीमा हुने फलफूल तथा तरकारीहरुमा गरिने प्रसारणका विविध विधि र प्रविधिहरु देखाउने र सिकाउने कार्य तालिमको अवसरमा गरिएको थियो । गुणस्तरिय विरुवा उत्पादनका लागि माउबोट तथा रुटस्टकको ब्यवस्थापन नर्सरीको स्थापना तथा ब्यवस्थापनको वारेमा समेत कृषि प्राविधिकहरुलाई ब्यवहारिक रुपमा सिकाउने काम पनि कार्यक्रममा गरिएको शीतोष्ण बागवानि विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयको भनाई थियो ।
केन्द्रका प्राविधिक सहायक लक्ष्मण बुढाको संयोजनमा भएको तालिममा १६ जिल्लाका १८ जनाको सहभागीता रहेको थियो । पाल्पा र गुल्मी बाट २÷२ जना तथा पाल्पा, गुल्मी, काभ्रे, धनकुटा, मोरङ, झापा, पर्वत, मनाङ, ललितपुर, मुगु, नवलपरासी पश्चिम, चितवन, धादिङ, स्याङ्जा, सुनसरी र जाजरकोट जिल्लाबाट १÷१ जना प्राविधिकहरु गरी १४ जना पुरुष र ४ जना महिला सहभागि भएका थिए ।
तालिममा धेरै ब्यवहारिक ज्ञान दिने प्रयास गरिएको तथा सकेसम्म सहभागिहरुलाई बगैंचा तथा नर्सरीमा नै लगेर तालिम दिएको आत्रेयको भनाई छ । शीतोष्ण वागवानी विकास केन्द्र मार्फामा करिव ६० प्रतिशत व्यवहारिक र ४० प्रतिशत जति सौद्धान्तिक कक्षाहरु दिईएको थियो । तालिममा सहभागिहरु छनौट गर्दा अनलाईन दरखास्त आह्वान गरीएको थियो ।
तालिममा शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको अबलोकन भ्रमण तथा विभिन्न गतिविधि वारे सैद्धान्तिक र ब्यवहारिक जानकारी गराइएको थियो । त्यस्तै शीतोष्ण फलफूलहरुमा विरुवा प्रसारण विधिहरु र तिनको उपयोगिता, विरुवा प्रसारणमा माउबोट, त्यसको महत्व र त्यसको ब्यवस्थापन विधिहरु, विरुवा प्रसारणमा रुटस्टक, त्यसको महत्व र त्यसको ब्यवस्थापन विधिहरुको सैद्धान्तिक र व्यवहारीक पाटाहरु सहभागीलाई जानकारी गराइएका थियो ।
फलफूल तथा तरकारीको गुणस्तरिय विरुवा उत्पादनका लागि नर्सरीको महत्व तथा ब्यवस्थापन, गुणस्तरिय विरुवा उत्पादनका ग्राफ्टिङ्ग र बडिङ्गका विधिहरु र केन्द्रमा भईरहेका कार्यहरुका बारेमा पनि व्यवहारीक जानकारी गराइएको थियो ।
गुणस्तरिय विरुवा उत्पादनका लेयरिङ्गका विधिहरु र केन्द्रमा भईरहेका कार्यहरु, गुणस्तरिय विरुवा उत्पादनका लागि बानस्पतिक तन्तु प्रजनन् विधि र केन्द्रमा भईरहेका प्रयासहरुका बारेमा पनि सहभागिले जानकारी पाएका थिए । बानस्पतिक तन्तु प्रजनन्मा प्राईमेरी र सेकेण्डरी हार्डेनिङ्ग र यसको महत्व तथा केन्द्रमा भईरहेका कार्यहरु, सायनको मैनबाट उपचार विधि, टप वर्किङ्ग तथा नेचुगी गर्ने तरिका र यसका फाईदाहरुका बारेमा तालिमका सहभागिकोे जिज्ञासा मेटाउने कार्य भएको थियो । बोर्डो मिश्रण तथा बोर्डो पेष्ट बनाउने तरिका तथा माउबोट, नर्सरीमा यसको उपयोगिता एवम् शीतोष्ण फलफूल नर्सरीमा लाग्ने मुख्य मुख्य रोग तथा कीराहरु र तिनको ब्यवस्थापनको पाटाहरुका बारेमा पनि सहभागिले जानकारी लिएका थिए ।