सङ्गीत श्रोता
खास समाचार छ- देशले विदेशबाट गुलाब खरिद गरिरहेको छ। र, खासै समाचार छैन- सट्टामा देशले कति लाख वैंशालु जिन्दगीहरु अरबतिर बेचिरहेको छ? केही त छन् यता पनि रहलपहल ठिटापाटी, जसका हातमा देशले गुलाब होइन, एसिडको पिचकेरी थमाइरहेको छ। अनि यो मुलुकको पुलिङ्ग ‘कर्णाधार’ आफ्ना इच्छाहरुमा ‘अवरोध’ आइपरेको देखेर प्रेमिकाको इच्छामाथि एसिड हानिरहेको छ।
सहर सरकफरक-सरकफरक गर्न थालिसकेको छ- भ्यालेन्टाइन डे आउँदैछ, प्रेम गर्ने दिन आउँदैछ। ‘प्रेम दिवस’ वा ‘प्रणय दिवस’का नाममा बजारमा विज्ञापनहरु बजिरहेका छन्। प्रकट हुनलाई प्रेम कुनै दिन कुरेर बस्छ र? बस्दैन! प्रेम कुनै दिन कुरेर बस्दैन, जसरी भोकले आउँदो वर्षको भतेरको प्रतीक्षा गर्दैन। बजार त ग्राहकको ‘मन जित्न’ तीजदेखि दशैंसम्म, भ्यालेन्टाइनदेखि क्रिसमससम्मको बढाइँचढाइँ गर्छ, गरिरहेकै छ। बजारलाई सामान बेच्नका लागि यस्ता थुप्रै ‘उत्सव’ चाहिन्छन्। भ्यालेन्टाइन डेको सबैभन्दा ठूलो उत्सव तिनै व्यापारीहरूले मनाउँदै छन्, जो गुलाब, कार्ड वा उपहारका अरु सामान बेच्न चाहन्छन्, नाफा कमाउन चाहन्छन्।
तर, देशको थितिबिती नाफाको सहरसम्म पनि आइपुगेको छैन। आउन खोज्छ, बल गर्छ। तर बलमिच्याइँले देशलाई सभ्यताको छेउछाउबाट अन्धताको पिठ्युँतिर घिच्याइरहेकै छ। घिच्याएर रितिथितिलाई सालिक र झण्डातिर खेदिरहेछ, झण्डालाई महेन्द्रतिर अनि महेन्द्रलाई चन्द्रशमशेर हुँदै जङ्गबहादुरतिर पुर्याइरहेछ। यस्तो बेला प्रेमले नाफाको हाटबजारसम्म पुग्न पनि पाइरहेको छैन। र, त प्रेम गर्ने जोडीहरू अभिभावकहरूद्वारा तर्साइएका छन्, अभिभावकहरू समाजको मूल्य–मान्यताबाट तर्साइएका छन्, अनि समाजको मूल्य राज्यको अर्थ–सांस्कृतिक व्यवस्थाबाट दाम्लिएको छ।
देशमा अहिले पनि दलित वा गैरदलितबीचको प्रेमसम्बन्धमाथि हिंसा भइरहेको छ। सम्बन्धहरु भत्काउन अभिभावक, समाज र परोक्ष रूपमा राज्य नै क्रियाशील छ। अहिले पनि ब्राह्मण बाउआमाहरू सन्तानको प्रेम गैरब्राह्मणसँग होला कि भनेर चनाखो भइरहेका छन्। अहिले पनि बहुसंख्यक पहाडी समुदायका युवायुवती मधेसी प्रेमीप्रेमिका बनाउन डराइरहेका छन्। अहिले पनि बहुसंख्यक युवायुवतीका आफूखुशी थालिएका प्रेम–सम्बन्धहरु समाजका परम्परागत मूल्यका अगाडि घुँडा टेक्न बाध्य छन्।
यहाँ बालबच्चालाई यस्तो फ्रेमभित्र राखेर हुर्काइन्छ, जसका कारण फरक भाषा, फरक समुदाय र फरक पहिचानसहित हुर्केको अर्को बच्चालाई साथी बनाउन ऊ हिच्किचाउँछ। जसको परिणाम किशोर भइसक्दा फरक जात, क्षेत्र वा समुदायको साथीलाई प्रेम गर्नै ऊ डराउँछ, किनकी उसको प्रेमलाई समाजको स्थापित संरचनाले मान्यता दिँदैन। अनि बजार यही मौका छोपेर वर्षको एकदिन उपहारसहित प्रेम–प्रस्ताव राख्न ‘अफर’ गरिरहन्छ।
नेपाली किशोरकिशोरीहरु प्रेम गरेकै कारण सजाय भोगिरहेछन्। प्रेमीहरुलाई प्रताडित गर्ने बलमिचाहाहरु राजनीतिमा झन् बलिया छन्। युवाहरुलाई यही बलमिच्याइँको समाजले नै त्यस्तो ‘केही’ सिकाएको छ। त्यही सिकेर त ‘पुलिङ्ग’हरु दमनका अनेक पिचकारी बोकेर हिंड्छन् र प्रेमिकाबाट चितासम्मैको ग्यारेन्टी खोज्छन्। तर जुध्नेहरु जुध्न छाड्दैनन्। सती जान इन्कार गर्ने युवतीहरू यो जमानामा पनि प्रेमका अभिलेखहरु अनुहारमा अङ्कन गरिरहेका छन्। देखिने अनुहार र नदेखिने आँतहरुबाट प्रतिरोध गर्नेहरुको सङ्ख्या बढ्दो छ।
नेताहरु भन्छन्- देशमा पुँजीवाद आइसक्यो, केजाति हाउगुजीवाद आइसक्यो। अनेक-अनेक आइसक्यो, कति त आइसकेर गइसके पनि होला। तर युवाहरूलाई प्रेम गर्नका लागि किन वर्षमा एकदिन मात्रै भ्यालेन्टाइन डे आउँछ? तीन सय पैंसट्ठी दिन यो समाज प्रेमविरोधी संरचना जोगाउने झण्डा उचाल्छ, एसिडको पिचकारी बाँड्छ। अनि एक दिन गुलाब बेच्न विज्ञापन गर्छ। हो, प्रेमका लागि यस्तो दिन कुर्नु वा उस्तो दिन पर्खाउनु पर्दैन। प्रेमीहरु हरबखत प्रेमका लागि तयार छन्। समयले नसघाइरहोस्, दूरीले छेकिनैरहोस्, देशले रोकिनैरहोस्- प्रेमको प्रतिरोध यात्रा जारी छ। किनकी यो पुँजीवादी (हाउगुजीवादी) रमझमसहितको अँध्यारोभित्र कुन गौंडामा एसिड लिएर को बसेको छ, केही ठेगान छैन। चोक-चौतारामा कुन मुखियाको चिन्तनले अनुहारमा पिचकारी हान्छ, केही ठेगान छैन।
किनकी देशमा अझै प्रेमका खातिर एसिडको पिचकारी पदबहालै छ।