बागलुङ, २९ माघ – नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्धका क्रममा भएका कमीकमजोरी र दुःखकष्टहरुप्रति क्षमायाचना गरेका छन्। उनले नेपाली लोकतान्त्रिक आन्दोलनमा जनयुद्धको भूमिका लामो समय स्मरणीय रहने भन्दै हानीनोक्सानीप्रति आफ्नो हिस्साको जिम्मेवारी लिने बताएका हुन्।
फागुन एक गते तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको दिनको अवसरमा माओवादीका पूर्व वरिष्ठ नेता समेत रहेका भट्टराईले पहिलोपटक औपचारिक र सार्वजनिक रुपमा क्षमा मागेका हुन्। उनले जनयुद्ध दिवसको अवसरमा सबै नेपालीमा शुभकामना पनि व्यक्त गरेका छन्। शनिबार राति फेसबुक स्टाटस लेख्दै नेता भट्टराईले जनयुद्धका सहिद, बेपत्ता र घाइतेप्रति सम्मान पनि व्यक्त गरेका छन्।
उनले फेसबुकमा युद्धकालीन महिला छापामारहरुको बन्दुक भिरिरहेको सामूहिक फोटो पनि पोस्ट गरेका छन्। तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते नेपालमा जनयुद्ध सुरु गरेको थियो। दश वर्ष लामो युद्धको २०६३ सालमा शान्ति सम्झौतासहित अन्त्य भएको घोषणा गरिएको थियो। माओवादी आन्दोलनसम्बद्ध विभिन्न पार्टीहरुले जनयुद्धको सुरुवात भएको दिनलाई ‘जनयुद्ध दिवस’का रुपमा मनाउँदै आएका छन्।
डा. भट्टराईको फेसबुक स्टाटसको पूर्णपाठः
ऐतिहासिक जनयुद्धको २२ औं वार्षिकोत्सव (फागुन १) को उपलक्ष्यमा सम्पूर्ण महान् शहीद, वेपत्ताजन तथा घाइते योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाज्यूभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु !
नेपालमा युगौंदेखि कायम रहँदै आएको सामन्ती उत्पीडनकारी राज्यव्यवस्थालाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याउने क्रममा१९९७ आसपासदेखि चल्दै आएको लोकतान्त्रिक आन्दोलनलाई उच्चतम विन्दुमा पुर्याउन युगान्तकारी भूमिका खेल्ने महान् जनयुद्धलाई नेपाली इतिहासले लामो समयसम्म स्मरण गरिरहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु !
जनयुद्धको शुरूदेखि अन्त्यसम्म महत्वपूर्ण नेतृत्वदायी अंगमा रहेर काम गरेको एकजना जिम्मेवार अभियन्ताको नाताले जनयुद्धका उपलब्धि र सबल पक्षका साथसाथै यसका कमिकमजोरी र दुर्बल पक्षको पनि आफ्नो हिस्साको जिम्मेवारी लिदैं यस ऐतिहासिक अभियानका क्रममा पर्न गएका दु:खकष्ट र हानिनोक्सानीप्रति सम्वन्धित सबैसंग क्षमायाचना गर्न चाहन्छु !
जनयुद्धको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई तीव्र विकास र समृद्धिको दिशामा लैजान नयाँ आधारमा एकताबद्ध बन्न सबैमा हार्दिक अपिल गर्दछु।
बाबुराम भट्टराईको फेसबुक स्टाटस