मुस्ताङको घाँसा देखि कागबेनी सम्मको क्षेत्र अर्थात् थाकखोला हुँदै नेपाल भर वसाइ सराइ गरेका थकालीहरुको मुख्य पर्व होली अर्थात् तोरन्ल बुधबार देखि बेनीमा शुरु भएको छ ।
थाकखोलाबाट बसाइ सराइ गर्दै देशका विभिन्न जिल्लामा पुगेका थकालीहरुले आजैका दिन देखि तीन दिन सम्म तोरन्ल मनाउने थकाली सेवा समाजका अध्यक्ष जगतनारायण गौचनले बताउनुभयो । म्याग्दी जिल्लालाई थकाली समुदायको बसोबासका आधारमा तीन क्षेत्रमा विभाजन गरीएको र आज बेनी क्षेत्रका थकालीहरुले बेनीमा पर्वको औपचारीक शुरुआत गरेका हुन् । म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले पश्चिम म्याग्दीको क्षेत्रलाई दरवाङ क्षेत्र, सदरमुकाम बेनी र आसपासका क्षेत्रलाई बेनी क्षेत्र र उत्तरी म्याग्दीको दाना केन्द्र मानेर त्यसको आसपासको क्षेत्रलाई दाना क्षेत्र गरी तीन क्षेत्रमा विभाजन गरेका छन् । समष्टिगत रुपमा एकीकृत हुदै गर्दा पनि पायक पर्ने हिसाबले क्षेत्र विभाजन गर्दा कार्यक्रमहरु गर्न र सहभागीता जनाउन सजिलो हुने भएकाले यस्तो गरिएको थकाली युवा परिवारका निवर्तनमान सहसचिव दिलीप गौचनले बताउनुभयो ।थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीको आयोजनामा सदरमुकाम बेनीस्थित थकाली समाज घरमा पर्वको औपचारीक शुभारम्भ गरिएको हो । तोरन्ल पर्वको अवसर आयोजित कार्यक्रमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले पितृको उद्धार र समुदायको एकतामा तोरन्ल पर्वको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । म्याग्दीमा थकाली जतिहरु संख्यात्मक हिसाबले हेर्दा कम देखिएतापनि संस्कार र संस्कृतिको जगेर्नाको हिसाबले हेर्ने हो भने निकै मजबुत र बलियो रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत सविन श्रेष्ठ लगायत विभिन्न क्षेत्रबाट उपस्थिती रहेको थियो । पर्वको अवसरमा बेनीमा थकाली समुदायले तारो हान्ने खेल(आर्चरी), भेषभूषा प्रदर्शनी र नाचगानलगायतका कार्यक्रमहरु आयोजना गरिएको छ । कार्यक्रमको औपचारीक उद्घाटन तथा तारा हान्ने खेल सुरु भएपनि होलीको रंग खेल्ने भोली आर्थत् फागु पूर्णिमाकै दिन हुने थकाली सेवा समितिका सचिव योगेन्द्रमान शेरचनले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा थकाली सेवा समाज नेपालका केन्द्रिय सदस्य शंकर शेरचन, थकाली यूवा समाज बेनी क्षेत्रका अध्यक्ष विजय भट्टचन, बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो ।
हिन्दू धर्मावलम्बीहरुले आफ्ना दिवङ्गत पितृको उद्दारका लागि श्राद्ध गरे जस्तै थकाली समुदायले तोरन्ल पर्व मनाउने अध्यक्ष गौचनले बताउनुभयो । आफ्नो पितृहरुको सम्झना गर्दै आफ्ना छोरी ज्वाँई, भान्जाभान्जी, आफन्तलाई मीठामीठा परिकारहरु बनाएर खुवाउने प्रचलन रहेको छ ।
थकालीहरुको नेपालमा १ क्षेत्र तथा अष्टेलिया, हङकङ र अमेरिकामा एक–एक क्षेत्र रहेको छ । नेपालमा पछिल्लो जनगणनाको तथ्याङ्क अनुसार थकालीहरुको जनसंख्या १३ हजार हाराहारी रहेको अध्यक्ष गौचनको भनाई छ । थकाली समुदाय नेपालको अल्पसंख्यक जातीमा पर्दछ ।
थकाली समुदायले मनाउने होली अर्थात् तोरन्ल पर्व शुरु
Previous Articleमंगला शिक्षा क्याम्पस स्ववियुमा अखिल प्यानल निर्विरोध
Next Article मालिका गाउँपालिकाले मनायो स्थापना दिवस