समाज राज्यको आधारभूत र महŒवपूर्ण एकाई हो । हाम्रो जस्तो पूर्वीय विचारप्रधान रहेको मुलुकमा समाजविनाको जनजीवनको कल्पना एक कठिन कार्य हो । राज्य, शासक तथा व्यक्तिले गरेका हरेक कार्य समाजबाट स्वीकार्य तथा अनुमोदित हुनुपर्छ । व्यक्तिलाई समाजबाट अलग गरेर विश्लेषण र मूल्यांकन गर्नै सकिँदैन । यसर्थ, समाजलाई सुधार गर्नु भनेको राज्यको सम्पूर्ण निकाय र अङगमा सुधार आउनु हो भन्ने तथ्य बिर्सनु हँुदैन । समाज र नागरिकका सोच, अभ्यास र अपेक्षा एकातिर हुने अनि राज्य र यसका निकायको प्रयत्न अर्कोतिर हुन गए भने मुुलुक र नागरिकको लागि त्यो विडम्बना सिवाय केही हुँदैन । हामीले समाजलाई यथार्थमा नै छाडिदिने वा विना लगामको घोडा सरह छोडिदिने तर परिवर्तन, सुधार, सदाचार तथा सुशासन सार्वजनिक निकाय वा सोमा काम गर्ने कर्मचारीबाट अपेक्षा गर्ने हो भने त्यो अपेक्षाले उपलब्धिको दर्शन पाउन कठिन छ । असल समाजको निर्माण नगरिकन व्यक्तिमा सदाचारिता प्रवद्र्धन गर्न कठिनाइ पर्छ । व्यक्तिमा सदाचार विकास नगरिकन सुशासनको परिकल्पना पनि सार्थक हुन सक्दैन । जब राज्यको हरेक क्षेत्रमा सुशासनको प्रवद्र्धन गर्न सकिन्छ तब मात्र सार्वजनिक निकायमा हुने भ्रष्टाचार, अनियमितता तथा अनुचित कार्य स्वतः कम भएर जान्छन् ।
हामी समाज कतातिर जाँदैछ भन्ने कुराको ख्याल गर्न सक्दैनौँ वा यसको संरचना, सोच एवम् गतिलाई आँकलन गर्न सक्दैनौँ भने यसैबाट उत्पादन हुने तथा संरक्षण प्राप्त हुने राज्यका अन्य निकाय वा पदाधिकारीबाट हुने कार्यको सम्बन्धमा पनि कुनै पनि अनुमान गर्न सक्दैनौँ । प्रशासन, शिक्षा, राजनीति तथा व्यापारमा जाने मानिस यही समाज र परिवेशमा नै उत्पीडित, संरक्षित तथा अभ्यस्त जनशक्ति भएकोले समाजमा जे जस्तो प्रवृत्ति, संस्कार, शैली रहेको हुन्छ, ती मानिसद्वारा प्रतिनिधित्व रहने हरेक क्षेत्रमा समेत उही प्रवृत्ति रहनु अस्वाभाविक होइन । नयाँ सार्वजनिक प्रशासनको अवधारणाले सरकार तथा सार्वजनिक क्षेत्रबाट सेवाप्रवाही संरचनाको अलावा सहजकर्ता तथा समन्वयकारी भूमिकाको अपेक्षा गरेको छ । नेपालको सन्दर्भमा समेत सन् १९९० पछि राज्यभन्दा गैरराज्य पक्षको संलग्नता व्यापक, प्रभावकारी एवम् व्यवस्थित हँुदै गएको सन्दर्भमा नागरिकको चासो र सरोकार अब बिस्तारै निजी क्षेत्रतिर आकर्षित हुँदै गएको देखिन्छ । यसैगरी विकास निर्माण तथा जनपरिचालनमा राज्यकोभन्दा गैरसरकारी क्षेत्रको बढी चासो, संलग्नता तथा प्रभाव बढ्दै गइरहेकोले नागरिकले प्राप्त गर्ने सेवाको नियमितता, गुणस्तर एवम् विश्वासनीयता जस्ता विषय झनै सान्दर्भिक हुँदै गएका छन् ।
सर्वत्र फैलिएको बेथितिको कारणले हाम्रो आचरण र संस्कारलाई नै क्रमशः सोही अनुसार संस्कृतीकरण गर्ने खतरातिर समाज उन्मुख हुँदै जानुले अब आउने पुस्तालाई हामी कस्तो संस्कार, समाज र शासन पद्धति दिँदैछौँ भन्ने विषयमा घोत्लिएर सोच्नैपर्ने समय आएको छ । जबसम्म समाजमा भएका यावत् विकृति, विसंगति अनि ती विकारसँग एकाकार हुँदै गएको हाम्रो व्यक्तिगत व्यवहार र जीवनशैलीलाई सही मार्गमा ल्याएर आफूमा सदाचारिता प्रवद्र्धन गर्न सक्दैनौँ तबसम्म सार्वजनिक निकायबाट सुशासनको परिकल्पना गरिनुको अर्थ रहँदैन । अनि जबसम्म सुशासनको प्रत्याभूति दिन सकिँदैन तबसम्म गरिबी, भ्रष्टाचार, अपराध तथा असुरक्षित समाजबाट हामीले मुक्ति पाउन सक्दैनौँ। समाज, संस्कार, आममानिसको व्यक्तिगत सोच, विचार र व्यवहारमा परिवर्तन नगर्ने तर सुशासन र समाधान प्रशासन र राजनीतिबाट मात्र खोजियो भने उपलब्धि हासिल गर्न सकिँदैन भनेर सबैले समयमा नै बुझ्न जरुरी छ ।
Previous Articleप्रेममा एसिडको पिचकारी
Next Article आमाहरुलाई दुव्र्यसन सम्बन्धी सचेतना