सोल, २० माघ – संयुक्त राष्ट्र संघका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपति निर्वाचनमा आफू उम्मेदवारी नदिने बताएका छन् । बानले आकस्मिक पत्रकार सम्मेलनम गर्दै आफू राष्ट्रपतिको दौडमा सामेल नहुने स्पष्ट पारेका हुन् ।
राजनीतिक परिवर्तन र देशलाई राष्ट्रिय एकतामा बाँध्ने आफ्नो आकांक्षा देशका अन्य नेतामार्फत् नै गराउन लगाउने पनि बानले पत्रकारसँग भने । उनले यो निर्णयबाट आफ्ना सुभेच्छुकको चित्त दुःखे पनि आफू राष्ट्रपतिको उम्मेदवार नहुने दृढता व्यक्त गरे ।
बनले अहिलेसम्म आफू राष्ट्रपति निर्वाचनमा भाग लिने औपचारिक घोषणा गरेका छैनन् । पत्रकार सम्मेलन पूर्वतयारीबिनै भएको थियो । उनी जनवरी १२ मा स्वदेश फर्किएका थिए । उनले सम्हालेको राष्ट्र संघको महासचिवको दोस्रो पाँचवर्षे कार्यकाल गत वर्षको अन्त्यमा समाप्त भएको थियो । उनले आफूसँग सहकार्य गर्न चाहने तथा सहयोग लिन इच्छुक सबैलाई सघाउन र परामर्श दिन आफू तयार रहेको पनि सार्वजनिक गरेका छन् ।